सोमबार, ३० भदौ २०७६
samadhannews
२ वर्षपछि फेरि देखियो शापुको प्रकोप

२ वर्षपछि फेरि देखियो शापुको प्रकोप

शुक्रबार, २० भदौ २०७६
1980 पटक पढिएको

विकास रोकामगर
पोखरा

ट्युबलाइटको उज्यालो कोठाभरि थियो । बेडमा सुकमायाकी ३८ दिनकी छोरी सुतिरहेकी थिइन् । उज्यालो वरिपरि एउटा सेतो रङको पुतली लामो समयदेखि घुमेकोघुम्यै थियो । उनले पुतली धपाउन खोजिन् । पुतली उडेर झन् छोरीको छेउमै आयो ।

त्यसको केही समयपछि सुकमायाकी छोरी असामान्य ढंगले रुन कराउन थालिन् । हेर्दाहेर्दै आँखा रातो हुन थाल्यो । उनले ‘छोरी रोएर आँखा रातो भयो होला !’ भन्ठानेर उतिसारो वास्ता गरिनन् । तर, जब बिहान छोरीको आँखा पूरै सुन्निएको र नानीभित्र केही सेतो दाग देखिन थाल्यो तब उनी आत्तिइन् ।

सुकमायाले छोरीलाई हिमालयन आँखा अस्पताल पुर्‍याइन् । डाक्टरले उनको आँखाबाट पुतलीको रौं निकालेर औषधी गरिदिए । आँखाको भित्री पर्दामा पिप जमिसकेको थियो । डाक्टरले उपचारका लागि काठमाडौं रिफर गरे । त्यतिञ्जेलसम्म ढिला भइसकेको थियो । ३८ दिनमात्र भएकी उनकी छोरीले सेतो पुतलीकै कारण एउटा आँखाको दृष्टि नै गुमाउनुपर्‍यो ।

तीज मनाउन माइत गएकी ४० वर्षीय स्वीकृति १ हप्तापछि घर आइन् । लामो समय माइत बसेकाले ओछ्यानमा धुलो बसेको थियो । उनले ओछ्यान मिलाउँदै गर्दा एउटा सेतो पुतली देखियो । सेतो पुतली देखिएको एकैछिनमा उनको आँखा चिलाउन थाल्यो ।

आत्तिँदै अस्पताल पुगेकी उनलाई डाक्टरले परीक्षणपश्चात समस्याको कारण सेतो पुतली नै देखाइदिए । उनी अहिले तिलगंग आँखा अस्पतालमा डाक्टरको निगरानीमा छन् ।

बुधबार बिहान नुहाएर गम्छाले पुछेपछि पोखराका १९ वर्षीय किशोरलाई आँखाको यस्तै समस्या आइपर्‍यो । जाँच गर्दा डाक्टरले उनको आँखाको मुख्य कारक पनि सेतो पुतली नै भएको जिकीर गरे ।

पछिल्लो २ वर्षपछि पोखरामा फेरि सेतो पुतलीको कारण आँखामा लाग्ने खतरनाक रोग देखा परेको छ । जुन रोग सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने शापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भएको डाक्टरको दाबी छ । सेतो पुतलीका कारण आँखामा लाग्ने शापु यस्तो रोग हो, समयमै अस्पताल नगए दृष्टि नै गुम्न सक्छ ।

४४ वर्षअघि पोखराबाटै फैलिएको रोग
सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पोखराबाटै फैलिएको चिकित्सकको दाबी छ । नेपालमै पहिलो पटक विसं २०३२ मा १६ वर्षमुनिका बालबालिकामा यो रोग देखिएको थियो । यो रोग पत्ता लगाएका डाक्टर मदनकुमार उपाध्याय भन्छन्, ‘यो रोग पहिले ‘आँखा पाक्ने रोग’ मै सीमित थियो । तर, पछि आँखा पाक्नेभन्दा गम्भीर प्रकृतिको देखियो ।’ लामो अनुसन्धानपछि उनै डाक्टर उपाध्यायले यो रोगलाई ‘शापु’ नाम दिएका थिए ।

२ वर्षअघि पोखरामा ५ वर्षको अन्तरालमा यो रोग देखिएको थियो । त्यसको २ वर्षपछि यसपटक शापुको प्रकोप पोखरामै देखिएको छ । यस वर्ष भदौ १६ गतेअघिबाट पोखरामा यो रोग देखिएपछि बिहीबार काठमाडौंबाटै डा. उपाध्यायसहितको टोली पोखरा आइपुगेको छ । यो प्रत्येक २ वर्षमा देखा पर्ने खतरानाक रोग भएको उनको भनाइ छ ।

अहिले पोखराबाट देशका अन्य क्षेत्रमा पनि शापुु फैलिएको विपि कोइराला नेत्र अध्ययन केन्द्रकी आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले जानकारी दिइन् । उनले यकीन तथ्यांक नभए पनि हालसम्म करिब १५ हजार जना यो रोगबाट प्रभावित भइसकेको बताइन् । तर तीमध्ये कतिजना यही रोगले दृष्टिविहीन भए भन्ने तथ्यांक छैन । ‘प्रत्येक ५ जनामा १ जनामात्रै अस्पतालको सम्पर्कमा आउँछन् । यो समस्या सहरमा भन्दा गाउँमा बढी भएकाले पनि यकीन तथ्यांक निकाल्न गाह्रो छ,’ उनले भनिन् ।

डा. खरेलले पछिल्लो समय शापुु रोग महामारीकै रुपमा फैलिँदै गएकोमा चिन्ता व्यक्त गरिन् । ‘यो रोगले छोटो समयमै आँखामा समस्या पार्छ,’ उनले भनिन्, ‘यसलाई थोपा औषधीले काम गर्दैन । इन्जेक्सन वा शल्यक्रिया गर्नुपर्छ ।’ उनले शल्यक्रिया गर्न १५ देखि २० हजारसम्म खर्च लाग्ने जानकारी दिइन् ।

गण्डकी प्रदेशमा धेरै
सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पछिल्लो समय गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएका छन् । बिहीबारसम्म मात्रै हिमालय आँखा अस्पतालमा यही समस्या लिएर ६ जना बिरामी पुगेका छन् । गण्डकीमा पनि कास्की जिल्लालाई यो रोगको धेरै जोखिममा रहेको हिमालय आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङ बताइन् । उनले अस्पतालको सम्पर्कमा आएका ३५ पीडितमध्ये कास्कीका मात्रै ३० जना बिरामी रहेको बताइन् ।

‘पछिल्लो पटक सन् २०१७ मा देखिएको थियो । त्यसको २ वर्षपछि फेरि यो वर्ष देखिएको छ,’ डा गुरुङले भनिन्, ‘यो रोग प्रत्यके २÷२ वर्षमा देखिँदै आएको छ । बुधबारमात्रै एकैदिनमा ४ जना बिरामी भर्ना भएका छन् ।’ यस वर्ष भदौ १६ गतेभन्दा अघि १ जना र त्यसपछि ५ जना अस्पतालको सम्पर्कमा आएको उनले सुनाइन् ।

४८ घन्टाभित्रै अस्पताल नपुर्‍याए ज्योति गुम्न सक्छ
धेरै कारणले आँखामा समस्या आउन सक्छ । तर त्यो शापुुकै कारण हो भनेर कसरी छुट्याउने त ? डा उपाध्याय भन्छन्, ‘आँखा अचानक रातो हुँदै जान्छ, आँखाको नानीमा सेतो दाग देखिन थाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुँदै जाने शापुुको लक्षण हो ।’

आँखा होस् या अन्य समस्या । सबैभन्दा पहिले धेरै नेपालीको बानी आफैं डाक्टर बन्ने छ । तर, त्यस्तो हेलचक्य्राइँ नगर्न डा. उपाध्याय सुझाउँछन् । ‘आफैंले मेडिकलबाट आइ ड्रप किन्ने हाल्ने गर्नु हुँदैन । तत्काल अस्पताल पुर्‍याइएन भने ज्योति नै गुम्न सक्छ,’ उनको सुझाव छ ।

सेतो पुतली उज्यालो बत्तिमा बढी आकर्षित हुने हुनाले त्यसबाट बच्न उनले सुझाए । ‘सेतो पुतलीको सीधैं संसर्गबाटमात्रै यो रोग लाग्छ भन्ने हुँदैन । पर्दा, सिरक, टाबेल झ्याल लगायतबाट पनि आँखामा समस्या निम्त्याउन सक्छ,’ उनले भने, ‘यसले एउटा आँखाको मात्रै दृष्टि गुम्छ । अर्कोलाई सर्दैन ।’

शापु रोग आँखामा समस्या देखिएको ४८ घन्टाभित्र उपचार भए निको हुन सक्ने डा. उपाध्यायले जानकारी दिए । ‘४८ घन्टाभित्र उपचार भए निको नै हुन्छ भन्ने होइन । तर तत्काल उपचार गर्दा आँखाको ज्योति गुम्ने खतरा कम हुन्छ,’ उनले भने । उनका अनुसार बालबालिकामा सेता पुतलीबाट धेरै जटिल समस्या देखिने गरेको छ । शापु लागेका बिरामीको आँखा समयमै अप्रेसन नै गर्नुपर्ने भएकाले पनि समयमै अस्पताल पुर्‍याउनु पर्ने चिकित्सक बताउँछन् ।

पत्ता लागेको छैन कारण
सेतो पुतलीका कारण शापुु लाग्ने भए पनि इन्फेक्सन वा अरु केही कारणले हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । ४४ वर्ष भइसक्दा पनि यसको मुख्य कारण किन पत्ता लाग्न सकेन त ? ‘टक्सिन वा अन्य केही कारणले हो भन्ने अझै पत्ता लगाउन सकेका छैनौं ।

सायद मेरो पालामा नलाग्न पनि सक्छ । तर, यसैको खोज गर्न दोस्रो, तेस्रो पुस्ता आइसकेको छ,’ डा. उपाध्यायले भने । कारण पत्ता नलाग्दा उपचारमासमेत समस्या परिरहेको उनको भनाइ छ ।

उनले सेतो पुतलीकै कारण कसरी शापुु फैलन्छ भन्ने विषयमा पुतलीकै बारे अझै बढी अध्ययन गरिनुपर्ने बताए । त्यसका लागि आफ्ना घर वरिपरि वा अन्य कुनै ठाउँमा सेतो पुतली र त्यसका कारण समस्या आइपरे खबर गर्न उनको आग्रह छ ।

कसरी चिन्ने शापु पैलाउने पुतली ?
डाक्टरहरुका अनुसार सेतो पुतली करिब ३ सय प्रजातिका छन् । त्यसमध्ये १ प्रजातिको सेतो पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ ।

यो उज्यालो वस्तु जस्तै बत्ति, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सक बताउँछन् । पोथी सेतो पुतलीले अन्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिएको डा. रञ्जुले जानकारी दिइन् । यो रोगबाट प्रभावितको रेकर्ड राख्ने प्रणाली नभएकाले प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले यसमा चासो देखाएको छ ।

निर्देशनालयका वरिष्ठ अधिकृत डा. भोजराज गौतमले सरोकारवाला स्वास्थ्य संस्थासँग मिलेर रेकर्ड राखिने बताए ।

सम्बन्धित खबर