सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

‘नो माइन्ड’ मा मेरो अनुभव

सोमबार, ३० भदौ २०७६
2350 पटक पढिएको

खिम लामिछाने काजी

वर्तमान अवस्थामा ध्यान, योगा, प्रणायम, तपस्या, मेडिटेसन जस्ता शब्द जनजिब्रोमा झुण्डिरहेको पाइन्छ । अहिलेको व्यस्त समयमा हरेकलाई ध्यानको आवश्यकता पर्छ । कतिपय चिकित्सकले नै औषधीको साथै ध्यान र योगा पनि गर्दै गर्नुस् भन्ने गरेको समेत सुनिन्छ ।

मुख्यगरी ध्यान तथा योगाका सेवा उपलब्ध संस्थामा ओशो ध्यान केन्द्र, आर्ट अफलिभिङ, ब्रह्मकुमारी, रामदेव, कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन), विपश्यना (गोयन्का), परमहम्स योगानन्द, योगोदा सम्यम सोसाइटी, राधेराधे, सद्गुरु, रामकृष्ण परमदेश, रमणमहर्शी, जर्ज गुर्डजाइफ लगायत संस्थामा पाइन्छ । २० वर्ष अगाडि साहित्य पढ्ने क्रममा मलाई ओशो साहित्य पढ्ने मौका मिल्यो । ओशो साहित्यले तत्कालिन अवस्थामा ओशो आश्रम पु¥यायो । केही वर्षसम्म ड्यानामिक (सक्रिय) ध्यान विधि गर्दै गएँ । विधि कारणले गर्दा ध्यानलाई निरन्तरता दिन सकिएन । ४ वर्ष आर्ट अफलिभिङ पोखरामा प्रणायम, योगा, सुदर्शन क्रिया तथा ४ दिने मौन ध्यान पनि गरियो । ध्यानले मेरो जीवनमा प्रत्येक्ष प्रभाव परेको अनुभूति भइरहेको थियो । ओशोको प्रवचन यूट्युबमा सुन्ने क्रममा फेरी मलाई सक्रिय ध्यान गर्न मन लाग्यो ।

खोज्दै पुगे ‘ओशो ध्यान केन्द्र ओशो उपवन आध्यात्मिक गाउँ’, दोबिल्ला, पोखरा । धेरै वर्षपछि फेरि ध्यान गर्दा निकै आनन्द आयो । पहिले गरेको ध्यानको विधि र ध्यान पश्चातको मनको शान्तिको अनुभव बिर्सेको थिइन । बिहान ७ः०० बजे ड्यानमिक गर्ने र कहिलेकाहीँ बेलुका ५ः३० बजे कुन्डलिनी ध्यान गर्न थालें । १ दिन ओशो उपवनका स्वामी योगानन्दजीले ‘नो माइन्ड’ मेडिटेसन सुरु हुँदैछ, तपाईं पनि सहभागी हुनुहोला, बेलुकी ८ बजेदेखि सुरु हुन्छ भन्नु भयो । समय व्यवस्थापन गर्न गाह्रो हुन्छ स्वामी, म आउँदिन होला भन्ने उत्तर दिएँ ।

‘नो माइन्ड’ भन्दा १ दिन पहिले कृष्ण जन्माअस्टमीको दिन १ दिने ध्यान शिविर उपवनले सञ्चालन गरेको थियो । उक्तदिन म बिहानदेखि साँझसम्म सहभागी भएँ । १ दिन भरी गरेको विभिन्न प्रकारको ध्यानले मलाई ‘नो माइन्ड’तर्फ आकर्षित गरायो । म सँगै मैले मेरो साथी डा.कृष्णमुरारी अधिकारीलाई लिएर गएँ । समय मिलाउन अलि समस्या नै थियो । अफिसबाट छुटेर ६ः३० बजे हामी आश्रम पुगीसकेका हुन्थ्यौं । खाना आश्रमै खाइन्थ्यो । आश्रमको अर्गानिक खाना निकै मिठो लाग्थ्यो । ध्यानमा क्याथर्सिस प्रोसेस हुने भएकोले मलाई ‘नो माइन्ड’ गर्न सजिलो भयो । ३ जना विदेशी महिला सहित २० जनाको सहभागिता थियो ।

ओशोद्वारा प्रतिपादित लगभग ६०० वटा ध्यान विधिमध्ये ड्याइनामिक र कुन्डनिली निकै लोकप्रिय छन् । मां अमृत साधनले भने अनुसार ओशोको नो माइन्ड मेडिटेटिभ थेरापी आधुनिक मानवको शारीरिक र मानसिक स्वास्थ्यको लागि आवश्यक छ । मेरो व्यक्तिगत अनुभवमा पनि ध्यान र योगा व्यस्त मानिसको लागि तनाव व्यवस्थापन गर्न उपयोगी छ । मैले वर्षौंदेखि ध्यान गर्दा तनावबाट मुक्त र सधैं आफुलाई फ्रेस रहेको पाउँथे । तर म ध्यानमा बस्दा विभिन्न विचारबाट मुक्ति पाउन सकेको थिइन । जुन मुक्ति मैले ‘नो माइण्ड’ बाट पाएँ । ओशोले सन् १९८८ तिर नो माइन्ड ध्यान विधिको सुरु गरेको पाइन्छ । जुन २ घण्टाको हुन्छ । पहिलो एक घण्टा जिवेरेस र अर्को १ घण्टा सब आशनमा पल्टेर ध्यान गर्नुपर्छ ।

सुरुको दिनमा २ घण्टाको ‘नो माइण्ड’ मध्ये सुरुको १ घण्टा जिवेरिस गरेपछि शव आसनमा बस्दा लगभग ३० मिनेट विचार शुन्यको अवस्थामा थिएँ ।

‘नो माइण्ड मेडिटेसन’ गर्नका लागि पहिले जिवेरिसबारे थाहा पाउनु जरुरी हुन्छ । सरल अर्थमा अनगर्ल प्रलाप गर्ने, अस्पष्ट उच्चारण । आफैंले नबुझ्ने भाषा बोल्नेलाई जिवेरिसभन्ने गरिन्छ । जब्बार नाम गरेका एक सुफी सन्तको नामबाट यो जिवेरिस भन्ने शब्द ल्याइएको हो । जब्बरले कहिल्यै कुनै भाषाको प्रयोग गरेनन् भनिन्छ । उनले सिर्फ अनग्रल र अन्टसन्ट कुरा बोल्थे । यद्यपि उनका हजारौं शिष्य थिए । उनले भन्ने गर्थे, ‘तिम्रो मन केही होइन, बस यही अनग्रल जिवेरिस हो । यो जिवेरिसलाई हटाएर हेर तिमीले आफ्नो आत्माको स्वाद पाउनेछौ ।’ । ‘भारतीय योग अनुसार जिवेरिस रेचकको एक प्रक्रिया हो । इसाई धर्म अनुसार यसलाई ध्यानको ग्लासोलेलिया विधि भनिन्छ, ‘टाकिंइन टंस’ पनि भन्ने भनिन्छ । सुफिफकिर जब्बरले अनेकौं व्यक्तिको गम्भिर प्रश्नको जवाफ अर्थहीन शब्दमा कराएर दिन्थे ।

जब्बर यो बताउन चाहन्थे कि उनीहरुको प्रश्न नै गलत छ । यसबाट सत्यको नजिक पुग्न सकिँदैन । सत्य जान्नको मन र मस्तिष्क खाली हुनुपर्छ । जिवेररिस अथार्थ आफ्नै दिमागले नबुझ्ने भाषाको प्रयोग गर्दै जाँदा मानिस होसपूर्वक पागल हुँदै जान्छ । पुरै सजगताका साथ विक्षिप्त हुँदै जान्छ । त्यसपछि मनमा भएको क्रोध, द्वश, भावना बाहिर आउँछन् । ओशोका अनुसार ‘नो माइन्ड’ सँगै डाइनामिक ध्यान गर्दा प्रभावकारी सिद्ध हुन्छ । ओशो भन्नुहुन्छ जिवेरिस मनको सफाइ गर्ने वैज्ञानिक विधि हो । जसले विचार र भावना बाहिर ल्याउन मद्दत गर्छ । जब हामी विचार शुन्य हुन्छौं, तब स्वम आर्फैलाई चिन्छौं ।

जस्तो हाम्रो शरीरको हातखुट्टा जति बेला हामीलाई आवश्यक पर्छ, त्यति नै बेला प्रयोगमा ल्याउने गरिन्छ । तर मस्तिस्कले भने २४ सै घण्टा काम गरिरहेको हुन्छ । हामीलाई चाहिने र नहाहिने विचार दिमागमा खेलिरहेको हुन्छ । सिर्फ ध्यानद्वारा मात्र हाम्रो दिमागलाई आराम दिलाउन सक्छौं । हाम्रो मनले अनेकन कुरा सोचिदिन्छ, सिर्फ ध्यानद्वारा नै हाम्रो मनलाई बसमा पार्न सक्छौं । जस्तो विविध कुलतमा फसेका व्यक्तिले आफ्नो मनलाई कन्ट्रोल गर्न नसक्दा तलतल लाग्छ । कुनै कुरा गर्न नपाएको खण्डमा हत्या र आत्महत्या जस्ता विकृत मानसिकता उत्पन्न हुन्छ । यो मनलाई शान्ति गराउने उत्तम उपाय ध्यान नै हो ।

ओशोका अनुसार “जिवेरिसको प्रोसेसमा अचेतन मन बोल्न सुरु गर्छ । आफ्नो मनभित्र गुम्सिएर रहेका कलुशित विचारलाई बाहिर ल्याएपछि मात्र गहिरो ध्यान गर्न सकिन्छ । जिवेरिस गर्ने क्रममा म भित्र रहेका भावना १ पछि अर्को गर्दै आइरेहेको पाए । कुनै रिस, क्रोधको रुपमा त कुनै हाँसो र आँसुको रुपमा । क्रोध आइरहेको बेला सिरानीलाई हिर्काउने वा हावामा बक्सिंङ र किक हिर्काउन मन लाग्दो रहेछ । सबै ध्यानकर्तालाई सुरु मै सिरानी दिइएको हुन्थ्यो । क्रोधलाई शान्त पार्न, जो सगं रिस उठेको हो, उसैलाई सम्झेर सिरानीलाई मुक्का हानिंदो रहेछ । १ घण्टाको यो प्रक्रियापछि संगीत बन्द हुन्छ । मन निकै शान्त भएको महसुस हुन्छ ।

‘नो माइण्ड’ को दोश्रो चरणमा मौन रहेर लम्पसार पेरेरशव आसनमा पल्टिनु पर्ने हुन्छ । पल्टेर श्वासप्रश्वासलाई ध्यान दिँदै थिए, केही बेरमा मेरो दिमागमा कुनै विचार आएन । पुरै विचार शून्यको अवस्थामा थिएँ म । भित्र १ प्रकारको आनन्दको भाव चलिरहेको थियो । म थिएँ, मेरो शरीर पल्टेको थियो तर मेरो मन थिएन । म पूर्ण रुपमा केही समयको लागि ब्ल्यान्क नै भएको थिएँ । शायद स्वर्गीय आनन्द भनेको त्यही नै हुनुपर्छ । यो मेरो पहिले दिनको ‘नो माइण्ड’को अनुभव थियो । ७ दिन लगातार यो ध्यान गर्दै गएँ, बिस्तारै सोचमा केही परिवर्तन, मनका रहर र इच्छामा केही परिवर्तन भएझैं लाग्यो । सातौ अथार्थ अन्तिम दिन उत्सव भयो ।

ओशोको ध्यानको एउटा पाटो उत्सव पनि हो । बिन्दास रुपमा आँखा चिम्लदाँ आनन्दले भिभोर भएको अनुभव भयो । उक्त दिन म र डा.अधिकारीले आफ्नो अनुभव पनि बाड्यौं । नो माइण्ड ध्यान गरेको पनि महिना पुगिसक्यो । तर त्यसको प्रभावले भने अझै आनन्दित बनाइरहेको अनुभुती भइरहेको छ । ध्यान त स्वस्थ अवस्था हुँदादेखि नै सुरु गर्नुपर्ने हुन्छ । त्यसैले मेरो जो जसलाई जुन संस्थामा रहेर सजिलो हुन्छ, त्यही संस्थाको ध्यान केन्द्र, आश्रममा गएर ध्यान गर्नु हुन अनुरोध गर्छु । ध्यान गरौं !

सम्बन्धित खबर