सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

चाउथेमा नेपालकै अत्याधुनिक कोल्ड स्टोर

मङ्गलबार, ३१ भदौ २०७६
6270 पटक पढिएको

समाधान संवाददाता
पोखरा

कोल्ड स्टोर नभएकै कारण सास्ती खपेका कास्कीका किसानलाई अब राहत मिलेको छ । सिजनमा मूल्य नपाएकै कारण पनि तरकारी सस्तो भाउमा बेच्नुपर्ने बाध्यता हटेको छ । नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिबाट पोखरामा ६ करोड रुपैयाँको लागतमा कोल्ड स्टोर (शीत भण्डार) खुलेको छ ।

गण्डकी प्रदेश सरकारको अनुदानमा पोखराका ३ जना व्यवसायीले कोल्डस्टोर सञ्चालनमा ल्याएका हुन् । प्रदेश सरकारको साढे २ करोड र बाँकी व्यवसायीको लगानीमा कोल्डस्टोर खोलिएको सञ्चालक समितिका लेखनाथ पौडेलले बताए । निजी सरकारी साझेदारीका आधारमा ३ सय २० टन तरकारी तथा फलफूल स्टोरेज गर्न सकिने गरी कोल्डस्टोर निर्माण गरिएको हो ।

काठमाडौं, बुलवल लगायत ठाउँमा पनि आधुनिक कोल्डस्टोर खुलिरहेका भए पनि पोखरामा प्रयोग गरिएको नेपालमै पछिल्लो प्रविधि भएको निर्माण कम्पनीको दाबी छ । जर्मनी तथा अमेरिकी प्रविधिलाई भारबाट प्राविधिक झिकाएर कोल्डस्टोर निर्माण गरिएको हो । बिनाविषादी नयाँ प्रविधिबाट फलफूल फकाउने र ताजा बनाएर राख्ने गरी कोल्डस्टोर निर्माण गरिएको भारतीय प्राविधिक उमेश चौहानले जानकारी दिए ।

‘नेपालमा एकातिर सबैभन्दा बढी केरा कुहिरहेका थिए भने अर्कोतिर बजारमा विषादीयुक्त केरा बिक्री भइरहेको छ,’ प्राविधिक चौहानले भने, ‘पोखरामा यस्तो प्रविधि जडान भएको छ । फलफूल पकाउन पनि सकिन्छ र लामो समयसम्म भण्डार पनि गर्न सकिन्छ । स्टोरका फलफूल स्वाथ्यका लागि फाइदाजनक पनि हुन्छ ।’

सन् २००१ मा भारतमा यस्तो प्रविधिको सुरुआत भएको थियो । नासाद्वारा बनाइएको मेसिन जडान गरिएको निर्माण कम्पनीले बताएको छ । कोल्डस्टोरमा फलफूल, तरकारी, दूध दही, माछामासु राख्न सकिन्छ । ‘यो घरघरमा हुने फ्रिजको ठूलो आधार हो । जहाँ ० देखि ३० डिग्रीसम्मको तापक्रम मेन्टेन गर्न सकिन्छ,’ चौहानले भने, ‘यसमा केरा, आँप पकाउन सकिन्छ । बजारमा जति तरकारी जान्छ, त्यसबाहेक स्टोरमा राखेर किसानले फाइदा लिन सक्छन् ।’

साढे ६ रोपनी क्षेत्रमा निर्माण भएको कोल्डस्टोरमा नेपाली किसानका उपजमात्र राखिने सञ्चालक समितिका अध्यक्ष अमरबहादुर बानियाले जानकारी दिए । ‘हामी भारतबाट आएका उपज स्टोर गर्ने छैनौं । यहाँ नेपाली उत्पादनले मात्रै ठाउँ पाउने छन्,’ बानियाले भने ।

सञ्चालक अमरबहादुर र लेखनाथ पौडेलले पहिलेदेखि नै कृषि उपजकै क्षेत्रमा काम गर्दै आएका थिए । ३ वर्ष अगाडिदेखि कोल्डस्टोर निर्माण गर्ने योजनासहित उनीहरुले भारतको लखनउ, दिल्ली, पटना लगायत ठाउँमा पुगेर यो प्रविधिको अवलोकन गरेर फर्केका थिए । उनीहरुले २० वर्षका लागि जग्गा लिजमा लिएर कोल्ड स्टोर निर्माण गरेका हुन् । कोल्डस्टोर निर्माणसँगै सञ्चालकले अर्गानिक उत्पादन गर्ने सोच बनाएका छन् ।

सुन्तला बोटबाट टिपेको ८ घण्टाभित्रै फ्रिजिङ गरेको राम्रो मानिने भएकाले बोटबाट टिप्नेबित्तिकै फ्रिजिङ गर्ने गाडी खरिद गर्ने योजनामा रहेको सञ्चालक लेखनाथ पौडेलले जानकारी दिए ।

प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले अब तरकारी नबिकेकै कारण, मूल्य नपाएकै कारण डोजर लगाउनुपर्ने स्थिति आइनपर्ने बताए । गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा यस्तै कोल्ड स्टोर निर्माणको तयारी छ । किसानले कृषि उपजमा राखेको मूल्य सञ्चालकले बढी नलिउन् भनेर सरकारले दर कायम गर्ने मन्त्री थापाको भनाइ छ ।

‘कोल्ड स्टोर सञ्चालकले चर्को मूल्य लिने र फेरि महँगो पर्ने अवस्था आउनु भएन । किसानले सस्तोमा स्टोरेज गर्न पाउनुपर्‍यो,’ कृषिमन्त्री थापाले भने, ‘सरकारले दररेट कायम गर्छ । अनि बजारमा सटेज आउन हुन नदिन कोल्ड स्टोर सञ्चालकहरुले पनि अब कृषिमा हात हाल्नुपर्छ ।’

अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पनि दूध नबिकेर फालेको, तरकारी नबिकेको डोजर लगाएका खबर अब सुन्न नपर्ने बाटोमा सरकार हिँडेको बताए । ‘स्टोर गर्न नपाएका कारण यस्ता समस्या आएका हुन् । ठूलाठूला स्टोर बनेपछि यस्तो समस्या आउँदैन,’ कोइरालाले भने, ‘यो व्यापार घाटासँग पनि सम्बन्धित छ । स्टोर गरेर बजार पठाउन थालेपछि आयात कम हुन्छ ।’

प्रदेश सरकार कहाँ छ ? कोल्डस्टोरमा हेर्नुस्ः मुख्यमन्त्री
खै प्रदेश सरकार कहाँ छ, प्रदेश सरकारले के गर्‍यो भनेर प्रश्न गर्नेप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा आएर हेर्न भनेका छन् । ‘कहाँ छ प्रदेश सरकार भन्छन् । प्रदेश सरकार चाउथेको शीतभण्डारमा छ भन्छौं अब,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकार नभएको भए आजको दिनमा यो उद्घाटन हुने थिएन ।’

प्रदेश सरकार नभएको भए बने हाले पनि यति चाँडो नबन्ने ठोकुवा गरेर भन्न सक्ने मुख्यमन्त्रीले बताए । प्रदेशले सानो सानो काम गरिरहेको बताउँदै आजको रोम पनि आजभोलि नबनेको उनको भनाइ थियो ।

‘रोम आज सम्पदाको सहर बनेको छैन । रोम एक दिनमा बनेको थिएन भन्ने एउटा भनाइ नै छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘विकास गर्न समय चाहिन्छ । अग्रगमनका लागि समय चाहिन्छ । तर, समय चाहिन्छ भनेर पर्खेर बस्दैनौं ।’

१५ महिनाकै अवधिमा प्रदेशले खै कहाँ के गर्‍यो भनेर टिप्पणी गर्नलाई केही समय पर्खिन मुख्यमन्त्रीले आग्रह गरे । केही समय पर्खे अर्को चुनावमा मूल्यांकन हुने मुख्यमन्त्रीको भनाइ छ । सरकारले कथा हालेर नबस्ने बताए ।

‘सरकारले कृषिमा थुप्रै योजना अगाडि सारेको छ । यो त सुपारीमात्रै बाँडेको हो । भोज खाने दिन त पछाडि छ,’ मुख्यमन्त्रीले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् । हामीले देखाउन चाहिँ खाजेका छौं ।’

कृषिलाई समृद्धिको आधार मानेको गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ५ वर्षमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने दाबी गरे । कृषिमा आत्मनिर्भर हुन अहिलेको उत्पादन दोब्बर पार्नुपर्ने भएकाले सरकारले थुप्रै कार्यक्रम चलाइरहेको मुख्यमन्त्रीको भनाइ थियो ।

प्रदेशले जनवायुमैत्री नमूना कृषि गाउँ, कृषि मोडल फार्म, कोल्ड स्टोर निर्माण लगायत कार्यक्रम गएको वर्षदेखि नै चलाइरहेको मुख्यमन्त्रीले बताए । १ पालिका १ शीत भण्डार बनाउने योजना सरकारको रहेको उनको भनाइ थियो । शीत भण्डारमा राख्न कृषि उपज चाहिने भएकाले उत्पादनमै जोड दिएको मुख्यमन्त्रीको भनाइ छ । ‘हाम्रो मुख्य चुनौती बाँझो जमिनलाई कसरी हराभरा बनाउने भन्ने हो,’ मुख्यमन्त्रीले भने, ‘करार खेतीको ऐन बनाउँदै छौं । चक्लाबन्दी गरेर खेती गर्न प्रदेशले थालिसकेको छ ।’ उत्पादन बढाउने र पोखरामा ठूलो आधुनिक प्रशोधन केन्द्र बनाउने योजना सरकारले अगाडि बढाइसकेको मुख्यमन्त्रीले बताए ।

सम्बन्धित खबर