सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

साहित्यमा खुसीको वर्ष

मङ्गलबार, १४ असोज २०७६
320 पटक पढिएको

पोखराबाट उदाएका स्थापित साहित्यकारले २०७६ असोजको दोस्रो साता नेपाली साहित्यलाई थप २ कृति दिए । पागलबस्ती उपन्यासबाट मदन पुरस्कार हात पारेका सरुभक्तले १७ वर्षपछि उपन्यास ‘प्रतिगन्ध’ गृहनगर पोखराबाटै सार्वजनिक गरे । उनकै समकालीन कवि तीर्थ श्रेष्ठले त्यसको ३ दिनअघि कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ काठमाडौंबाट सार्वजनिक गरे । पोखरा आफैंमा शालीन छ । यही शालीनताले जन्माएको छ थुप्रै साहित्यकार । जसले पोखराको माटोबाट उठेर राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव छाड्न सफल भएका छन् । यही क्रमको निरन्तरता हो सरुभक्त र तीर्थ श्रेष्ठका पछिल्ला कृति । कम बोल्ने बढी लेख्ने स्वभावका सरुभक्तको यो सातौं उपन्यास हो ।

त्यसो त उपन्याससहित उनका ४ दर्जनभन्दा बढी कृति आइसकेका छन् । कति पाण्डुलिपि प्रकाशनको लाइनमा छन् । कति कृति कागजमा लेखिन बाँकी छन् सरुभक्तको मस्तिष्क भण्डारबाट । कृतिको संख्यामात्र थपेर पाठकलाई अलमलमा पार्ने बानी छैन सरुभक्तको । बरु विस्तारै लेख्छन्, मथिंगल हल्लाउने गरी लेख्छन् । विज्ञान कथा हुन् या नाटक, मुक्तक, कविता, वा बाल उपन्यास । उनका सबै कृति अब्बल कोटिका छन् । त्यसो त फरासिलो स्वभावका तीर्थको कलम पनि कम चोटिलो छैन । बोलिचाली अनि हाँसिमजाकमा बेस्सरी खुल्ने तीर्थका कविता पढ्दै मन तरंगित हुन्छ । अझ भनौं आन्दोलित हुन्छ ।

पोखरामा विक्रम संवतको ३० को दशकमा एउटा गज्जबको माहोल थियो । केवल साहित्यमात्र होइन कला र संगीत विकासका लागि यो दसकले ठूलै सकारात्मक धक्का पुर्‍यायो । यो अभियानका अगुवा पनि सरुभक्त र तीर्थहरु नै थिए । संगीतमा विक्रम गुरुङ, सरोजगोपालहरु अनि कलामा दुर्गा बराल ‘वात्स्यायान’हरु मरिमेटेर लागेका थिए । त्यतिबेलै जन्मेको पोखरेली युवा सांस्कृतिक परिवार ९पोयुसाप० अझै क्रियाशील छ । साहित्य, कला र संगीतको उत्थानमा निरन्तर क्रियाशील छ । सरुभक्तले आफ्नो नयाँ उपन्यास गर्नका लागि काठमाडौं रोजेनन् । अनि उपन्यासको कथामा समेटिएको विदेशी भूमि पनि रोजेनन् । रोजे पोखरा अनि रोजे उही पोयुसापको ब्यानर । जसबाट अझै प्रष्टिएको छ उनको पोखराप्रतिको माया अनि पोयुसापप्रतिको स्नेह ।

यो वर्ष सरुभक्त र तीर्थकै समकालीन उषा शेरचनले ‘आधि’ उपन्यास ल्याइन् । अनि विदेशमा रहेका विक्रम गुरुङ नेपाल फर्केर सांगीतिक प्रस्तुति गरे । पोयुसापको संस्थापनाकालीन स्रस्टाको यो ‘उपहार’ पक्कै पनि सुखद संयोग हो । त्यसो त साहित्य कुनै भूगोलमा सीमित हुँदैन । तर पनि पोखराको साहित्यिक उत्पादनले राजधानी काठमाडौंसँग प्रतिस्पर्धा गर्न सक्छ । प्रतिस्पर्धा मात्र गर्दैन अब्बल नतिजा हात पारेको छ र पार्नेछ पनि ।

मंगली कुसुमबाट धर्मराज थापा, प्राकृत पोखराबाट मुकुन्दशरण उपाध्याय, अनि पागलबस्तीबाट सरुभक्तले मदन पुरस्कार हात पारिसकेका छन् । पछिल्लो समय आख्यानमा उदाएका गनेस पौडेल, तीर्थ गुरुङ अनि सरस्वती प्रतीक्षाहरुले अब्बल लेखनी पस्केका छन् । गनेसको ‘पैताला’, तीर्थको ‘पाठशाला’ र सरस्वतीको ‘नथिया’ प्रकाशन भएका वर्ष बेस्ट सेलरमा परे । यसले पनि पोखराको साहित्यिक माटोको गन्ध अन्यत्र छर्न मद्दत पुर्‍याएको छ । पोखरा, गण्डकी अनि नेपालकै साहित्यलाई चुलीमा पुर्‍याउन पोखरेली साहित्यकारको मेहनतले निरन्तरता पाओस् शुभकामना ।

सम्बन्धित खबर