सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

शाकाहार – मानव चेतनाको गन्तव्य

मङ्गलबार, १४ असोज २०७६
3050 पटक पढिएको

डा. वसन्त गौतम

पशुबलिलाई बेठिक भन्नु र शाकाहारको कुरा गर्नु भनेको राम्रै गाली खानु हो नेपालमा । झन् दशैंको बेलामा शाकाहारको कुरा गर्‍यो भने त मान्छे उग्र भइहाल्छन् र ‘डलर खाएर’ हिन्दू धर्म ‘सिध्याउन’ लागेको आरोप लगाइदिन्छन् । उनीहरुका कुरा सुन्दा यस्तो लाग्छ, नेपालमा हिन्दू हुनु भनेको ‘जनावरको बलि दिनु’ र मासु लुछ्नु हो र त्यही मात्र हो ।

बाल्यकालमा मैले अलिअलि मासु खाएँ । बाहुन परिवारमा जन्मेहुर्केकाले खसीबोकाको मासु मात्रै खान पाइन्थ्यो । नियमित खाने कुरा भने थिएन, मासु एउटा ‘विशेष’ खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो । आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आइपुग्थ्यो । यसरी हेर्दा मेरो बाल्यकाललाई म बढीमा २० प्रतिशत मात्रै मांसाहारी मान्न सक्छु । कुखुराको अण्डा समेत खान नहुने मानिन्थ्यो, तर गाउँका केही ‘आँटिला’ ले अण्डा र कुखुराकै मासु पनि खान थालिसकेका थिए । ती आँटिलामध्येमा पर्न आफूसँग भने गाँठ र आँट दुवै थिएन ।

शिक्षा र रोजगारीका लागि सहर पस्न थालेपछि काठमाण्डौंको काँठका बाहुनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो । अत्यन्त ‘स्वादिष्ट’, ‘सम्मोहनकारी’ र ‘शक्तिशाली’ मस्मलाई चिनेपछि त्यसबाट जोगिन कसले सकोस् १ खसीबोका मात्रै खान पाउने भनेर तोकिएका बाहुनले प्लेटका प्लेट ‘भैंसी’ पनि सखाप पार्न थाले । कलेज पढ्दाका ३ वर्षमा सय प्लेट चानचुन ‘भैंसी’ मेरा पेटमा पनि पसे हुन् ।

स्नातक तहको अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासु धेरै खाइयो । चीनमा सागपात पनि धेरै प्रकारका पाइन्थे तर मासु धेरै सस्तो लाग्थ्यो । ‘चिनियाँले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन् ।’ भनेर हाँसो गर्थे त्यहाँ बस्ने विदेशी । साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँको खानपिन हेर्दा । अहिलेको स्थिति कस्तो छ, थाहा भएन ।

चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाइयो । खसीको मासु महँगो पर्दथ्योे । खसीको मासु सामान्यतया मुसलमानहरुले सञ्चालन गरेका पसलमा बढी पाइन्थ्यो । सेकुवा खान मन लागे हामी ती पसलहरुमा जान्थ्यौं । गाईको मासु खानबाट भने जोगिने सक्दो प्रयास गरियो । नेपालमा छँदा खाँदै नखाए बराबर थियो माछा, चीनमा त्यसको पनि परिमाण बढ्यो । नेपाल फर्केपछि कुखुरा र खसीको मासुलाई मात्रै निरन्तरता दिईयो ।

दोश्रो प्रवासका लागि २०५९ मा जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो । त्यहाँ पनि माछा–मासु नखाई टिक्न नसकिने स्थिति छ । ‘शाकाहारी हुँ ।’ भनेर कसैले भन्दा धेरैजसो जापानी छक्क पर्छन् र सोध्छन्, ‘अण्डा पनि खाँदैनस् ?’ वा ‘माछा पनि चल्दैन ?’ । कतिपय भोजनालयमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्रा मात्रै छानेर शाकाहारी व्यक्तिलाई दिइएका जस्ता कुरा पनि सुनिन्छन् । परम्परागत जापानी खानामा माछा र समुद्री जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ ।

जापानमा शाकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई । तर नेपाल फर्कनुभन्दा केही महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत सावित गरिदियो ।

१ शुभचिन्तक जापानी वृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा । कुनै १ जापानी बौद्ध सम्प्रदायद्वारा संचालित त्यो मन्दिर हँसमुख बुद्धको रहेछ । प्रवचनकर्ताका अनुसार उनीहरु हँसमुख बुद्धलाई मैत्रेय बुद्ध मान्दा रहेछन् । पछि मैले ईण्टरनेटमा खोजेर पढेको थिएँ, यो मान्यता राख्ने बौद्धमार्गी संसारका अरु केही ठाउँमा पनि रहेछन् ।

मन्दिरमा भव्य र सुविधापूर्ण प्रार्थना र ध्यान कक्ष थिए । प्रवचनपछि हामीलाई सामूहिक, व्यक्तिगत प्रार्थनामा सहभागी गराइयो र भोजनालयतिर लगियो । त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ । हामीकहाँ आफूलाई शाकाहारी भन्ने दूध भने खान्छन् तर त्यहाँ दूधसँग सम्बन्धित भोजन पनि छँदै थिएनन् । त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ । खाना अत्यन्त सन्तुलित, पौष्टिक र स्वादिष्ट थियो ।

त्यहाँको भोजनले मांसाहारलाई निरन्तरता दिन मेरो मनले बनाएका बहानाहरुलाई भने गतिलै धक्का दियो । त्यसको केही वर्ष अघिबाट म मासु खानका लागि गरिने पशुपंक्षीको बध र तिनलाई दिइने यातनाकाप्रति म संवेदनशील हुँदै गईरहेको थिएँ । तर मासु छोड्न सकिरहेको थिइन । मैले खोजेका बहाना ‘माँसाहार जत्तिको पौष्टिक शाकाहार नहुन सक्छ ।’, ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं ।’, ‘जापानमा शाकाहारी हुनु असम्भव छ ।’ आदि प्रमुख थिए । तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्ति नै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराइदियो ।

केही विशेष घटनाले मान्छेको संवेदनालाई बढाइदिँदा रहेछन् । छोरीको जन्म एउटा यस्तै घटना बन्यो मेरा लागि । एउटा नयाँ मानव जीवनको सुरुआत र हुर्काइलाई नजिकबाट हेर्दाहेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालें । मान्छे वा जनावर, सबैको जीवन उत्तिकै अद्वितिय, अनुपम सौन्दर्य हो भन्ने बोध गहिरो हुँदै गयो म मा । जीवनको हत्या घोर कुरुपता हो, यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ र कसैको हत्याबाट आफनोे भोजन जुटाउनु मानवीय कर्म हुँदै होइन भन्ने मान्यता अब मेरो मनमा गहिरो गरी बस्यो ।

साउदी अरेबियामा कार्यरत १ जना भाइबाट एउटा इमेल प्राप्त हुनु अर्को घटना बन्यो । त्यो इमेल त्यहाँको एक बहुचर्चित नृशंश हत्याकाण्ड बारे थियो । केहि फिलिपिनोले १ जना पाकिस्तानीको हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिविधिलाई क्यामेरामा कैद गरेका थिए । पछि ती नरभक्षी समातिएपछि ती फोटो बाहिर निक्लेका रहेछन् ।

भाइको इमेलमा धेरै फोटा थिए । मृत पाकिस्तानीको लाश काठको फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टा निकालिएको, उसको छाती फोरेर २ भाग लगाइएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटा थिए। ती सबै राक्षस अत्यन्त आनन्दित ‘पिकनिक’को मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध र डर थिएन । ती मध्येका केही उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए । त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीर पनि थिए, अनि केही ठूला ड्रमजस्ता भाँडामा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटा पनि थिए । सबै घटनाक्रम खसी, बोका काटेर गरिनेजस्तै थिए ।

१÷२ दिनमा ती राक्षसको पापको घैंटो फुटेछ । त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही, भोजन विषाक्तताको समस्याले गर्दा अस्पताल भर्ना भएछन् । त्यसपछि १÷१ गर्दै सबै कुरा बाहिर आएछ । साउदी सरकारले ती मध्ये धेरैलाई प्राण दण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ । आंगनै सिरिंग गर्ने तस्बीर हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केही समय ।

त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृष्य झल्झली आँखामा आउन थाले । मासु खान थालेपछि तिनै दृष्य आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अप्ठेरोे परिश्थितिमा बाँचें म धेरै दिन । ती तस्बीर छउन्जेल बेलाबेला हेरिने र मनस्थिति खल्बलीइरहने भएकाले केही समयपछि सबै तस्बीर मेटें मैले । अरु कसैलाई पठाउँदा पनि पठाइँन मैले ती तस्बीर, किनभने त्यस्ता तस्बीर हेर्नु भनेकै पनि एउटा हिंसा आहार हो । फेरि कतिपय मान्छेमा ठूलो मानसिक विचलन नै ल्याइदिन सक्छन यस्ता तस्बीरले । त्यसको केही वर्ष पहिला इराकमा अन्सर अलसुन्नाका आतंककारीले नेपाली दाजुभाइको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिले नै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ ।

यी घटनाले मलाई मानव र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए । ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें । १० वर्ष हुन लाग्यो, मेरोे उक्त निर्णयमा म अडिग छु र शाकाहारबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक लाभको प्रशश्त अनुभव गरिरहेछु ।

मानवजाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको सुरुआती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने कुरा बहसको विषय हुन सक्छ । बौद्धिक विकास नभइसकेको आदिम मान्छेका लागि मांसाहार शायद बाध्यता पनि थियो । किनभने उसले कृषि कर्म जानिसकेको थिएन र प्रकृतिमा उपलब्ध वनस्पति पनि चिनिसकेको थिएन । त्यो युगमा मान्छेले जनावरको मात्र होइन मान्छेकै पनि मासु खान्थ्यो ।

मासुकै कुरा भइसकेपछि जनावरको वा मान्छेको – खासै फरक नमान्दा हुन्छ । अहिले मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको ठान्छौं हामी । तर माथि उल्लेख गरिएको साउदी अरेबियाको घटनाले हामीलाई अर्कै सोच्न बाध्य बनाउँछ । तन्त्रका नाममा बच्चालाई बलि दिने घटना हाम्रै वरिपरि पनि यदाकदा देखिएकै छ । केही समय अगाडिसम्म कुनैकुनै समाजमा बच्चाको सालनाल समेत खाने गरिएको सुनिन्थ्यो । यस्ता कुरा अपवाद हुँदै गएपनि जनावप्रतिको मानव व्यवहार भने अझै आमरुपमै अत्यन्त क्रुर र दानवीय छ । संसारभरि भोजनका लागि तुलनात्मक रुपमा सुधा र कमजोर जनावरको यातनापूर्ण हत्या गरिन्छ, र धेरैजसो यस्ता हत्यालाई न्यायोचित ठहर्‍याउन धर्मको खोल ओढाउने गरिन्छ ।

गहनतम मानवीय संवेदनाले मांसाहारलाई कदापी स्वीकार्न सक्दैन । प्रकृतिको सबैभन्दा चेतनशील प्राणीले अर्को चेतनाको हत्या गर्नु र आफनो भोजन बनाउनु यसै पनि विडम्बना हो । मानवीय चेतनाको लागि सुहाउने कुरा होइन यो । शारीरिक तहमै उभिएर हेर्दा पनि मांसाहार मानव शरीरका लागि आवश्यक छैन र यसले ठिक गर्दैन भन्ने प्रमाणित भइसकेको छ । जीव वैज्ञानिकका अनुसार मानव शरीरको बनावट, विशेष गरी मुख र पाचन प्रणालीको संरचना शाकाहारी भोजनका लागि उपयुक्त छ । प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको छ । मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको पनि हो तर अहिले मासु जत्तिकै वा त्यो भन्दा पनि बढी पौष्टिक शाकाहारी खानेकुरा जति पनि भेटिन्छन् । त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावर मार्नुपर्ने कुरामा कुनै दम देखिँदैन ।

मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने व्यवहार भने झन् झन् हिंसात्मक बन्दै गएको छ । चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानव जाति अहिंस्रक बन्दै जानुपर्ने हो तर त्यो हुन सकेको छैन । मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहार नै हुनसक्छ । मासुको परिमाण बढाउन अचेल पशुपंक्षीलाई अनेक अप्राकृतिक खानेकुरा खुवाइन्छ र धेरै थरी एण्टिबायोटिक पनि दिइन्छ । मासु सेवनसंगै त्यस्ता तत्व मानव शरीरमा प्रवेश गर्छन् । अर्को तिर, हत्या गरिँदाको क्षण पशुपंक्षीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन् । ती विषाक्त रसायन पनि मासु हुँदै मान्छेको शरीरमा प्रवेश गर्छन् । यस्ता रसायनले मासुले मान्छेमा तनाव र चिन्ता बढाउँछन् र विभिन्न रोगका कारण बन्छन् । मासु खान पालिएका जनावरका कारण संसारमा धेरै नयाँनयाँ रोग पनि फैलिरहेका छन् ।

मांसाहारको पक्षमा दिइने अर्को एउटा तर्क हो, ‘मानव जातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ’ । तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिन्छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ । खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग्गिएको हो । बाघभालूले मासु खान नपाउँदा तिनको अस्तित्व नै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवस्थामा हो, मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन ।

फेरि मान्छे जंगली जनावरको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुलाई केही समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ । यी जनावरलाई तिनको प्राकृतिक जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याइ सकेको छ । उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो ।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिइन्छ, विगतमा देउताकै नाममा नरबलि पनि दिइन्थ्यो । ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाइन्छ भन्ने विडम्बनापूर्ण परम्परा छन् मान्छेका । कतिपय मन्दिरमा कुनै अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई–तड्पाई मार्यो, त्यति नै धर्म र पुण्य कमाईने विश्वास गरिन्छ । के क्रुरता र हिंसा धर्म हो ? अनि हामीले आफनो क्रुरता र हिंसालाई छोप्न धर्म, परम्परा र कथित शास्त्रको गज्जबको खोलपनि तयार पारेका छौं । पशुबलिका विरुद्ध र शाकाहारका पक्षमा कसैले चुईंक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै पाखुरा खैंचिदै आउने धेरै छन् । तर के कुनै पनि शास्त्र कुनै विषयको अन्तिम सत्य हुनसक्छ ? र अर्कोतिर, कुन शास्त्रको कुरा गर्ने ?

शास्त्र त शाकाहारका पक्षमा पनि लेखिएका छन् । अझ खासमा भन्ने हो भने त इसाइ र इस्लामको दाँजोमा हिन्दू धर्ममा शाकाहारको दर्शन विस्तारित र व्यापक छ । हिन्दूले कम्तीमा उपनिषद् कालदेखि नै शाकाहारको गरिमाको चर्चा गर्दै आएका छन् । त्यसकारण, शाकाहारको कुरा गर्नु हिन्दू विरोधी हुनु होइन । संसारमा मासु नखाने हिन्दू मासु खानेभन्दा बढी छन् । हिन्दूत्वको नाममा मासुप्रतिको आसक्ति नेपालमा बढी छ ।

नवरात्रलाई सात्विक पूजा आराधनाको समय मानिन्छ धेरैतिर । हामीले भने त्यसलाई जीवहत्याको पर्व बनाएका छौं र अहिले आएर त्यसमा जूवातास र रक्सी पनि थपेका छौं । दशैंलाई आफूभित्रको पशुभावलाई त्याग्ने (‘बलि दिने’) पर्व बनाउनुपर्ने हो तर हामी त्यही भावलाई आफूभित्र अझ बढाइरहेछौं ।

विभिन्न चाडपर्वमा हाम्रो समाजले बलि दिने जनावर तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन् । राँगा, खसी, बोका, च्यांग्रा आदिलाई महिषासुरको अवतार मानेर बलि दिने हामीले अझसम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुन सक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफनो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्) । तर हामी बाघ वा सिंहलाई खसीबोका र राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं, हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हिनताबोधलाई लगेर आफूभन्दा कमजोर र सुधाजनावर माथि खन्याउँछौं ।

हाम्रा कतिपय मन्दिर मानसिक शान्ति पाइने र आध्यातिक तरंग अनुभव गर्न सकिने ठाउँभन्दा पनि जनावरका वधशाला मात्रै लाग्छन् । र हाम्रा पेट आइन्स्टाइनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरका चिहान मात्रै हुन् । पशुबलि र शाकाहारको कुरा गर्दा मानव चेतना र विवेकलाई सर्वोपरि राखेर हेरिनुपर्छ र हामीले आफैंसंग सोध्न सक्नुपर्छ के खानको लागि अर्को कुनै जीवनको हत्या गर्नु उन्नत मानव चेतनाको गरिमालाई सुहाउने कुरा हो ? र मानव चेतनाको गन्तव्य अझ हिँसात्मक बन्दै जानु हो कि समग्र जीव जगतप्रति करुणाभाव बढाउँदै जानु हो ?

सम्बन्धित खबर