सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

काँग्रेसमा नेतृत्व छलाङ

बिहिबार, १६ असोज २०७६
3620 पटक पढिएको

सञ्जीव पौडेल

परिवर्तन एक निरन्तर प्रक्रिया पनि हो । परिवर्तनको गति सामान्यतया प्राकृतिक हुन्छ । समयक्रमसँगै विविध विषयका प्रक्रिया पनि परिवर्तन भई नै रहन्छन् । कहिलेकाहीं यस्तो परिस्थिति निर्माण हुन्छ कि, प्राकृतिक तवरबाट सामान्य रूपमा हुने परिवर्तनले मानवका असीमित इच्छा आकाङ्क्षा परिपूर्ति गर्न सक्दैन । यस्तो परिस्थितिमा समयलाई भेट्न विशेष प्रक्रिया अपनाउनुपर्ने हुन्छ । त्यसलाई नै क्रान्ति भनिन्छ । यस्तो क्रान्तिका लागि छलाङ मार्नुपर्ने हुन्छ । समयलाई भेट्ने क्रममा यसरी छलाङ मार्नुपर्ने परिस्थिति कहिले व्यक्तिलाई आवश्यक पर्छ भने कहिले समूह र राष्ट्रलाई नै आइपर्छ ।

हाम्रो शासन व्यवस्थाले पनि समय समयमा छलाङ मारिसकेको छ । ७ दशकको अवधिमा संविधान निर्माणमै हामीले ७ पटक संविधान फेरेर इतिहास रचिसकेका छौं । यस क्रममा राणा शासनदेखि राजतन्त्रसम्मको बिदाई देशले गरिसक्यो । राजनीतिक परिवर्तनमा देशले छलाङ मारेकै हो ।

आफूलाई प्रजातन्त्रको नेपाली मसिहा ठान्ने नेपाली काँग्रेस सैद्धान्तिक रूपमा प्रजातन्त्रको एक्लो रखवारी गर्छु भनी हुँकार गर्छ । नयाँ संविधान निर्माणमा आफ्नो सबैभन्दा ठूलो भूमिका रहेको बताउने काँग्रेसले संघीय संरचनालाई आफैंले आत्मसात गर्न नसक्नु निरीहपना हो । संघीय स्वरूपलाई मूल मर्मका रूपमा स्विकारेको नयाँ संविधान आफ्ना कारण मात्र लागु गर्न सम्भव भएको भन्ने अनि आफ्नो पार्टीको आन्तरिक संरचनालाई चाहिं पुरानै ढर्रामा अद्यापी कायम राख्नुले काँग्रेसको वर्तमान नेतृत्व परिवर्तनलाई तुरुन्तै कार्यान्वयन गर्न असक्षम देखिन्छ ।

पार्टीको आन्तरिक संरचनालाई यसअघिको अधिवेशनमा नै संघीय स्वरूपमा ढाल्नु पर्ने काँग्रेस भर्खर जन्मेका राजनीतिक दलजत्तिको व्यावहारिक र सचेतसमेत नदेखिनु काँग्रेसका दिनगन्ती सुरु हुने सङ्केत हुन् । काँग्रेसले विधान संशोधनमार्फत महासमिति बैठक बसेका बेलामै जसरी पनि संघीय संरचना निर्माण गरी ७ प्रदेशमा प्रादेशिक नेतृत्व सुम्पिनुपर्ने थियो तर त्यसो भएन । प्रादेशिक तहमा प्रदेश सरकारसँग वैचारिक बहस गर्ने सामथ्र्य भएको प्रादेशिक नेतृत्व तयार नभएसम्म पार्टी गतिविधि सजीव र चलायमान बन्न सक्तैन । यतिबेला नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान पनि सकिइसकेको छ । आफू पूर्ण रूपमा जागृत नभएको काँग्रेसी नेतृत्वले कसरी यसका स्थानीय नेता–कार्यकर्तालाई जागरुक तुल्यायो होला ? जागरण अभियानमा देशैभरि नेतृत्वप्रति कार्यकर्ता पङ्तिले पोखेको असन्तुष्टिबाट काँग्रेसी नेतृत्वमा चेत खुल्नुपर्ने हो तर खुलेको देखिँदैन ।

अर्कातिर प्रतिपक्षका रूपमा पनि नेपाली काँग्रेसले सशक्त भूमिका निर्वाह गर्नै सकेन । संसदमा काँग्रेस टुहुरो अल्पमतमा छ । संसदीय पद्धतिमा आफूलाई निकै अभ्यस्त ठान्ने काँग्रेस संसदमा सभामुखको एकातर्फि अभिव्यक्ति र सत्तासीन दलको प्रवक्तारूपी भूमिकाप्रति मौन रहनुले काँग्रेसको निरीहता प्रस्तुत गर्छ । यस्तो अवस्थामा सशक्त बन्न नसक्ने काँग्रेस संसदीय प्रक्रियामा समेत चुकिरहेको छ । गौरवशाली प्रजातान्त्रिक इतिहास बोकेको नेपाली काँग्रेस पार्टी गणतन्त्रको समेत संरक्षक बन्न सक्नुपथ्र्यो । तर काँग्रेस नेतृत्व यति सुस्त र अन्योलग्रस्त छ कि यसले देशको समग्र नेतृत्व कहिल्यै गर्नै नसक्ने अवस्थामा पुग्ने डर भइसक्यो । जतिबेला पार्टी गतिविधि सर्वाधिक तीव्र हुनुपर्ने थियो, त्यही समयमा पार्टी गतिविधि सर्वाधिक शिथिल रह्यो ।

काँग्रेसको शीर्ष नेतृत्व यति लाचार भयो कि राष्ट्रपति जस्तो अति उच्च संस्थामा आसीन व्यक्तिले आफ्नो पदीय मर्यादा बिर्सेर खिसिट्युरी गर्दा पनि पार्टी करिब–करिब चुप छ । काँग्रेसमा देशभरि, सत्तासँग, प्रतिस्पर्धी राजनीतिक दलसँग सहकार्य र प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गर्न सक्रियतापूर्वक खट्ने नेतृत्व आवश्यक छ । पाको नेतृत्वले नीति बनाउने र युवा नेतृत्व पार्टी हाँक्ने गरी आन्तरिक संरचना तयार गरेर अगाडि बढेमा मात्र पार्टीले समसामयिक आवश्यकता सम्बोधन गर्ने सामथ्र्य राख्छ ।

एकादुई अन्य सांसदका फाट्टफुट्ट प्रस्तुती बाहेक संसदमा एक्लो प्रतिपक्षको भूमिकामा गगन थापा मात्रै देखिन्छन् । जसले संसदमा काँग्रेसलाई थोरै भए पनि जिउँदो राखेको छ । एक्लो व्यक्ति पार्टीकै भूमिकामा संसदमा प्रस्तुत हुनुपर्ने अवस्था आउनु भनेको काँग्रेसका लागि ऐतिहासिक बिडम्बना हो । अर्कातिर पार्टी संरचनामा काँग्रेसीजनले गगन थापालगायतका उच्च राजनीतिक सम्भावना बोकेका युवालाई हस्तक्षेपकारी केन्द्रीय समितिको उच्च नेतृत्वमा आउन दिएका छैनन् र लागेपुगेसम्म दिँदैनन् पनि । काँग्रेसका अधिकांश महाधिवेशन प्रतिनिधि केन्द्रमा लामो समयदेखि बोलावाला मच्चाउँदै आएका केही नेतृत्वका व्यक्तिगत गुटका गोटीका रूपमा चयन हुन्छन् ।

अलि फरक सम्भावना बोकेको स्थानीय नेतृत्वलाई अगाडि आउन नदिएर सुनियोजत रूपमा वडा स्तरबाटै पाखा लगाएर आफ्नो डम्फू बजाउने व्यक्तिलाई चयन गर्ने प्रवृत्ति काँग्रेसी नेतृत्वको पुरानै प्रवृत्ति हो । यसैले पार्टीमा नयाँ नेतृत्वको खडेरी परेको हो । अहिले जसरी शीर्ष नेतृत्वको वैकल्पिक शक्तिका रूपमा केही सीमित युवा देखिएका छन्, ती पार्टीको उच्च नेतृत्वले लगाएको बार भत्काएर जबरजस्ती आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरी उदाएका अनुहार हुन् । यस यथार्थलाई मध्यनजर गर्दा पनि के देखिन्छ भने जबरजस्ती उदाएको यो नेतृत्वले चुनौतीलाई अवसरमा बदल्न सहजै सक्छ । यही युवा नेतृत्वले कडा नैतिक दबाब सिर्जना गरेकाले नै पार्टीले गणतन्त्र र संघीयता एकसाथ स्विकारेको हो । त्यसैले पनि अब काँग्रेसले आफ्नो नेतृत्वमा छलाङ नमारी जनतामा मत्थर हुँदै गएको विश्वासको पुनप्राप्ति गर्न सक्दैन ।

पार्टीमा प्रवक्ताका रूपमा विश्वप्रकाश शर्माको उपस्थितिपछि पार्टीका गतिविधिले अलिकति प्राण पाएका छन् । मिडियाको प्रयोगमा निकै कमजोर रहेको काँग्रेसले पछिल्लो समय समसामयिक गतिविधिबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न थाल्यो । यसले पार्टीमा थोरै भए पनि आशाका शुभ सङ्केत सम्प्रेषण गरेको छ । प्रजातन्त्रको असल हिमायती भन्ने तर पार्टीका गतिविधिमा कहिल्यै प्रजातान्त्रिक अभ्यास नगर्ने रोगबाट ग्रस्त बन्दै गएको पार्टीलाई थोरै भए पनि औपचारिकता प्रदान गर्ने क्रम सुरु भएको छ । यसले अरूलाई केही असर नपरेको देखिए पनि काँग्रेसमा चरम आस्था भएका युवापुस्तामा अलिकति भए पनि आशाको दियो बालेको छ । यत्ति आश सञ्चरण हुनु पनि काँग्रेस जीवित रहने केही चम्किला रेखा देखिनु हो । आफैं प्रजातान्त्रिक अभ्यास नगर्ने पार्टीले राष्ट्रलाई कसरी प्रजातन्त्रको अभ्यास सिकाउन सक्छ ? प्रश्न गम्भीर छ, यसको उत्तर युवा नेतृत्वले मात्र दिन सक्छ ।

यी सबैखाले परिदृष्यका बीचमा नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा छलाङ मार्न सकेन भने काँग्रेस काँग्रेसी विरासतलाई धान्न सक्ने अवस्थामा रहने छैन । काँग्रेसी विरासत धान्न अब गफ जोतेर हुँदैन, चुड्की बजाएर हुँदैन । बूढो गोरुले भकारो ओगटेको जस्तो अवस्थामा पञ्चायतकालदेखि निरन्तर हालीमुहाली गरेको उही पुस्तालाई कार्यकारी जिम्मेवारी दिइरहनु भनेको पार्टी पनि संगठकिन हिसाबले वृद्ध बन्दै जानु हो । बूढो र शक्तिहीन भएपछि सिंहले समेत शिकार गर्न सक्दैन । काँग्रेस बूढो भइसकेको छ । यसलाई नवीकरण गरी जीवन्तता प्रदान गर्न नेतृत्वको नवीकारण जरुरी छ । यसका खातिर नेतृत्व चयन प्रक्रियामा छलाङ आवश्यक छ । पार्टीको सुन्दर भविष्यका लागि यसमा प्राण भर्न सक्ने सिर्जनात्मक र रचनात्मक सीप, क्षमता र सामथ्र्य भएका युवाहरू नै कार्यकारी पदमा पुग्नु जरुरी छ ।

काँग्रेसको दोस्रो पुस्ता शीर्ष नेतृत्वमा रहेका बेला तेस्रो पुस्ता सशक्त बन्न नसक्दा आशलाग्दो उत्तराधिकारी नेतृत्व कार्यकर्ता पङ्तिले ठम्याउन सकेन । अघिल्लो अधिवेशनमा तेस्रो पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वमा उभ्याएर दोस्रो पुस्तालाई विस्थापित गरेको भए काँग्रेस यो दयनीय अवस्थामा पुग्ने थिएन । अब त्यही तेस्रो पुस्तालाई शीर्ष नेतृत्व सुम्पिने हो भने पार्टी घिटिघिटि हुने अवस्थामा पुग्ने छ । तसर्थ काँग्रेसको तेस्रो पुस्ताले पार्टी सत्तामा रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारीमा रही काम गर्ने जुन अवसर प्राप्त ग¥यो, त्यही नै राजनीतिक प्राप्ति मानेर पार्टीका लागि बलिदानी दिनुपर्ने छ ।

तेस्रो पुस्ताको नेतृत्वमा रहेको दुरदर्शिताको अभावले नै यो परिस्थिति सिर्जना भएको हो । तसर्थ तेस्रो पुस्तालाई सिद्धान्त तथा नीति निर्माणको गहन जिम्मेवारी सुम्पिँदै चौथो पुस्ताले पार्टीको नेतृत्व सम्हाल्न आफूलाई तयार बनाउँदै देशभर त्यसको गृहकार्य सञ्चालन गर्न जरुरी छ । तेस्रो पुस्ता काँग्रेसले गरेका गलत कार्यको साक्षी मात्र बनेन, कतिपय गलत फाइदा पनि यसले उठायो । तसर्थ पार्टीलाई विशुद्ध वैचारिक र समयसापेक्ष बनाएर प्रस्तुत गर्न यो पुस्ताले जनताबाट विश्वास आर्जन गर्ने सम्भावना अत्यन्त न्यून छ । यसको क्षतिपूर्ति काँग्रेसले दोस्रो पुस्ताबाट सिधै चौथो पुस्तामा शीर्ष नेतृत्व हस्तान्तरणपछि मात्र गर्न सक्छ । यसो हुन सकेमा मात्र काँग्रेसले समयको आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन गरी क्रान्तिकारी छलाङ मार्न सक्नेछ । अनि मात्र काँग्रेसले आफ्नो विरासत धान्दै भविष्यमा पनि इतिहास लेखिन लायक परिवर्तनको सशक्त नेतृत्व गर्न सक्नेछ ।

विचारलाई समयानुकूल व्यवहारमा परिवर्तन गर्ने सामथ्र्यसहितको युवानेतृत्व काँग्रेसभित्र वर्तमानको टड्कारो आवश्यकता हो । यसका लागि देशभरका सचेत सक्रिय कार्यकर्ताको सचेत पङ्तिले एउटा जबरदस्त हस्तक्षेप गरी युवालाई सशक्त नेतृत्वमा उभ्याउन अत्यावश्यक भइसकेको छ । भ्रष्टाचार, गुटबन्दीमा डुबेर पद लोलुप बनिसकेको शीर्ष नेतृत्वले बूढो गोरुले भकारो ओगटेझैं नेतृत्व सम्हालिरहेको अब पनि टुलुटुलु हेरेर बसिरहने हो भने काँग्रेस धमिरा लागेको दलिनजस्तै कमजोर बन्ने छ । यदि यो समयमा पनि युवाले हस्तक्षेप गर्न सकेनन् र पार्टीमा नयाँपन दिन सकेनन् भने काँग्रेस रित्तिदै जाने निश्चित छ ।

‘थुतिन्छ पत्ता जब खात खात, सिदिन्छ शोभा अनि फूलबाट’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कावितांशले भनेझैं काँग्रेस ठूलो पार्टी हुँ भनेर असल र सक्रिय कार्यकर्ताले पार्टी परित्याग गर्दा चुपचाप बसेका कारण गत निर्वाचनमा खुम्चिएर चाउरी परेको अवस्थामा पुग्यो । चाउरी परेको पार्टीमा अझै पनि चाउरी परेका वृद्धलाई नै नेतृत्व सुम्पिरहने हो भने काँग्रेसका निष्ठावान् कार्यकर्ताले संस्मरण लेखेर बसे हुन्छ । यसर्थ पनि काँग्रेसमा जुनसुकै हालतमा पनि नेतृत्वको छलाङ आवश्यक र अपरिहार्य छ । काँग्रेसमा केन्द्रदेखि स्थानीय तहसम्म जति युवा बाँकी छन्, तिनले बेलैमा बुद्धि पु¥याई पार्टीलाई नयाँ शिराबाट सञ्चालन गर्ने आँट, साहस र बलिदानी एकैसाथ गरून् । तब मात्र काँग्रेस बाँच्ने छ र भविष्यमा यसले देशको नेतृत्व गर्ने आश जनतामा रहिरहने छ ।

अझ भनौं अन्य शक्तिले राष्ट्रियता र प्रजातन्त्रमा आँच पुर्‍याउने गतिविधि सञ्चालन गरेमा त्यसको सशक्त प्रतिकार गरी देशको रखबारी गरिरहन सक्ने छ । यो ऐतिहासिक आवश्यकतालाई मनन गरी काँग्रेसले नेतृत्व शुद्धीकरणको यो प्रक्रिया अवलम्बनमार्फत एक छलाङ मारोस् । देशको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकारी शक्ति पत्तासाप हुनु भनेको हुर्कँदै गरेको गणतन्त्रको बिरुवा उखेलिनुसरह हुने छ । तसर्थ देशको प्रजातान्त्रिक विकाससँगै समग्र समृद्धिका लागि काँग्रेसले आफूभित्र धराशायी बनिसकेको प्रजातन्त्रको दह्रो जग पुनर्निर्माण गरोस् । यो चुनौतीलाई अवसरमा बदल्दै प्राप्तितर्फ डो¥याउन युवाको सीप, क्षमता, आधुनिकता र जिम्मेवारी बहन गर्न सक्ने तागतको एकीकृत प्रयोगबाट मात्र सम्भव छ र यो जरुरी छ ।

सम्बन्धित खबर