बुधबार, २७ कार्तिक २०७६
samadhannews
राजनीति, यौन र समाज

राजनीति, यौन र समाज

बिहिबार, ३० असोज २०७६
2990 पटक पढिएको

अमृत श्रेष्ठ

एउटा राजनीतिकर्मीले अनैतिक आचरणमार्फत् गुमाएको सामाजिक प्रतिस्ठा कहिल्यै फिर्ता हुँदैन । के एउटा नेता जीवित हुँदासम्म परीक्षणमै हुन्छ त ? एउटा राजनीतिकर्मी मृत्यु पर्यान्त मात्र नेता बन्न सक्छ ? एउटा राजनीतिकर्मीको बेदाग अवसानले मात्र नेता प्रमाणित गर्छ ? तमाम प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।

जस्तै विपी कोइराला, किसुन जी, गणेशमान सिंह, सुशील कोइराला, शैलजा आचार्य, मदन भण्डारी, मनमोहन अधिकारी, मरिचमान श्रेष्ठ आदिले बेदाग मृत्युवरण गर्नुभो । भलै राजनीतिक विचारका आधारमा खोट देखियो होला तर अनैतिक ठहरिने कर्म गर्नुभएन । उहाँहरु त स्वर्गीय हुनुभो, हाम्रोमा आजका दिनसम्म जीवित हुँदै आश लाग्दो र राजनीतिमा पास अंक दिन मिल्ने पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, गगन थापा, राम कार्की, प्रदिप गिरी, घनश्याम भुसाल, महेश आचार्य, प्रदीप पौडेल, लेखनाथ न्यौपाने, भीम रावल लगायत धेरै नेता हुनुहुन्छ । तर उहाँहरु जीवनकालभर पनि बेदाग जीवित रहन सक्नु हुन्छ त ? कति कठीन छ व्यावहारिक राजनीति । आजको मुल विषय पनि यही हो । उपभोगी भौतिकवादी चरित्रले अकुत सम्पत्ति र छाडा यौन जीवनलाई नै अन्तिम सुख ठान्छ । त्यसैले होला ठूलो जनमत प्राप्त गरेर सरकारमा पुगेका धेरै नेता भ्रस्टाचार या यौन काण्डबाट जोगिन सक्नुभएको छैन ।

दुखको विषय नेकपाको सरकार बनेको २ वर्ष नबित्दै आधा दर्जन भन्दा बढी कम्युनिस्ट नेता नैतिक रुपमा स्खलित हुनुभएको छ । जसका कारण सबै राजनीतिक दल र नेतालाई नोक्सान भएको छ । किनकि समाजले राजनीतिकर्मीलाई हेर्ने दृष्टिकोण नकरात्मक बन्दै गएको छ । एउटा अखिल वा नेविसंघको नेताले बिहे गर्छु भन्दा वर र बधु नपाउने स्थिति आजको यथार्थ हो । विसं २०४६ देखि ०६६ सम्म जुनसुकै राजनीतिक दलसँग आवद्ध राजनीतिकर्मी पनि सामाजिक रुपमा सम्मानित थिए । तर अहिले हामी कहाँ छौं ? राजनीति विशुद्ध समाज सेवा हो, तर राजनीतिलाई जब शक्ति आर्जन र व्यापारको विषय बनायौं तब हामी समाजमा अछुत जस्तै अपमानित बन्यौं । अहिले हत्या, अपहरण, बलत्कार, भ्रस्टाचार सबै राजनीतिको पर्यावाची शब्द बनेको छ । विचार र योजनामा कहिल्यै बहस हुन पाएन, खाली नकरात्मक घटना र यसको पक्ष विपक्षमा मात्रै बहस गर्नु हाम्रो दिनचर्या भयो ।

हामी जुनसुकै व्यवस्था अबलम्वन गरौं वा संविधानमा जे सुकै लेखौं, यो अमुर्त नै हुन्छ । यसलाई मुर्त बनाउने राजनीतिक नेतृत्वको कार्यशैली र आचरण नै हो । यी दुवै विषयमा वर्तमान (सरकार) चुकेको छ । प्रजातान्त्रवादी विचारले एउटा नागरिक अनि उसको अधिकार र स्वतन्त्रतालाई महत्व दिन्छ भने साम्यवादी विचारले सरकारको शक्तिलाई महत्व दिन्छ । अहिले नेपालको सरकार साम्यवादी विचार गठित हो त्यसैले स्वभाबिक रुपमा जनता भन्दा सरकार संग आबध्द दल र नेता कार्यकर्ता नै प्राथमिकतामा हुन्छन भलै संविधानले यो परिकल्पना गरेको छैन ।

यौन आचरणलाई नै विषय बनाएर कम्रेड यानप्रसाद गौतम उर्फ आलोकलाई साविक माओवादीले द्वन्द्वकालमा ‘मृत्युदण्ड’ नै दिएको थियो । तर पनि नेता तथा कार्यकर्तामा यौन अभ्यास र आचरणमा बदलाव देखिएन । हरि पराजुली, शेरबहादुर तामाङ वा कृष्णबहादुर महरा सबै विपरित लिंगीप्रतिको व्यवहार वा अभिव्यक्तिको कारण आफ्नो हैसियत गुमाउन परेको छ । केशव स्थापित, शेरधन राई, देवेन्द्र पराजुली, रामबहादुर थापा लगायत नेताको यौनकाण्ड अहिले पनि बहसमै छ । यौनका बारेमा समाजसँग डराउने अनि ढाकछोप र झुट बोल्दा यो विषय ठूलो चासो र आलोचनाको विषय मात्र नभै अपराधको विषय बन्न गएको छ ।

राजनीतिक क्षेत्र मात्र हैन समाजका हरेक क्षेत्रसँग यौन जोडिएको छ र सायद मानिसले बोल्नै नचाहने र बोलिहाले पनि झुट बोल्ने विषय पनि आफ्नो यौन जीवनको बारेमै होला । पंक्तिकारको रोचक अनुभव के छ भने स्नातकोत्तरको थेसिसका लागि पोखरा उपत्यकाभित्र महिला देहव्यापारको विषयमा गरेको अनुसन्धानका बेला १ जना महिला यौनकर्मीलाई हालसम्मको अन्दाजी यौन साथी संख्याको बारेमा प्रश्न गर्दा पहिलो मेरो भेना हो र अधिको त्यो दाइमात्र हो भन्ने जवाफ मिलेको थियो । जब कि ४ वर्षदेखि उनको पेसा देहव्यापारमात्र थियो । समाजका प्रतिष्ठित राजनीतिज्ञ, धर्म गुरु, व्यापारी, नामी दामी कलाकार, शिक्षक र उच्च ओहदाका कर्मचारी धेरै मान्छेका यौन काण्ड बाहिरिएका छन् । तर समाजले असामान्य घटनाको रुपमा मात्र हैन ठुलो अपराधको रुपमा हल्ला गरिरहेको हुन्छ । सायद हामी जो कोही पनि आफ्नो यौन जीवनको बारेमा खुल्ला बहस गर्ने र झुट नबोल्ने संस्कारको विकास भएको भए यौनको विषयलाई लिएर कोही पनि दुखी र निरास हुनपर्ने थिएन ।

केही दिन अघिमात्र सभामुख कृष्णबहादुर महराको यौनकर्म बलात्कारको रुपमा परिभाषित हुदै सामाजिकीकरण भयो । अपराधिक र अनैतिक घटनाको रुपमा अथ्र्याइएपछि सभामुख पदबाट राजिनामा दिनुको विकल्प थिएन । तर पछि आरोपी महिलासँगको सम्बन्धलाई गहिरिएर हेर्दा र अतित केलाउँदा त्यो परस्त्री गमन मात्र थियो, बलत्कार थिएन । अनैतिक कर्म थियो अक्षम्य अपराधिक कर्म थिएन । परस्त्री गमन र परपुरुष गमन हाम्रो समाजमा अप्ठेरो विषय हो तर अनौठो विषय होइन ।

महराजी ले अनैतिक कर्म स्वीकार्दै जनतासँग क्षमा मागी पदबाट राजिनामा गरेको भए पद गुम्ने त थियो । तर सायद उहाँको प्रतिष्ठा गुम्ने थिएन । धेरै ठूलो विपत्ति र विमति उहाँले एउटा गल्ती लुकाउन धेरै झुट बोल्नु र थप गल्ती गर्न तयार हुनुले नै उहाँको राजनीतिक अवसान निश्चित गर्‍यो ।

सहमतिमा हुने यौन सम्बन्ध कानुनीरुपमै पनि अपराध हैनन् । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले दोस्रो कार्यकालमा आफ्नै कर्मचारी मोनिका लेबेन्स्कीसँग यौन सम्बन्ध राखे । लेबेन्स्कीले सार्वजनिक गरिन्, सामाजिक चर्चाको विषय बन्यो । राष्ट्रपति क्लिनटनले अमेरिकी जनतासँग र आफ्नो जीवनसाथी हिलारी रोधन क्लिन्टनसँग माफी मागे सबैबाट क्षमा पाए । कार्यकाल सकेर राष्ट्रपति पदबाट बिदा लिँदै गर्दा उनको राजनीतिक उचाई र लोकप्रियतामा कमी आएन । संसारमा मान्छे मात्र एउटा यस्तो प्राणी हो, जसले गल्तीबाट सिक्छ र सभ्य समाजले जहिले पनि आफ्नो गल्ती स्वीकार गर्ने मानिसलाई महान ठान्छ । जस्तो अमेरिकी जनताले राष्ट्रपति क्लिन्टनलाई ठाने । कतिपय सभ्य समाज भएका न्यायलयले त आफैं गल्ती स्विकार गर्ने अपराधीलाई आधा सजाय मिनाह गर्छ । बिपी कोइराला यौनका विषयमा उदार र पारदर्शी हुनुहुन्थ्यो । तर पनि त्यो बेलाको नेपालको बन्द समाजले पनि कहिल्यै प्रश्न गरेन किनकि जो खुलेर बोल्छ उसलाई सुनिन्छ मात्र प्रश्न गरिँदैन ।

फिल्मी क्षेत्रमा जस्तो ‘कास्टिङ काउच’ राजनीतिमा पनि व्याप्त छ । चलचित्र क्षेत्रमा नायिकालाई सुपरहिट फिल्म बन्छ, कथा राम्रो छ, कथा पढ्न नगरकोट जाऊँ भन्ने प्रस्ताव र नायकलाई फिल्म हिट हुन्छ, तिमी कति पैसा दिन्छौ भनेजस्तो राजनीतिमा पनि अवसरको लागि आधाआधि त्यस्तै–त्यस्तै मोल मोलाइ हुन्छ । तर कुतर्कमार्फत् सामान्यकरण गरिन्छ । त्यसलाई यौन हिंसा वा बलात्कार मानियो भने त्यतिनै बढी होला जति यसलाई लिगल देहव्यापारभन्दा बढी लाग्न सक्छ । कानुनीरुपमा उमेर पुगेका महिला र पुरुषबीच सहमतिमा हुने यौन सम्बन्धलाई यौन हिंसा वा अपराध मानिँदैन । आजको जटिल प्रश्न उधारो आश्वासन पछि सहमतिमा गरिएको यौन सम्बन्ध चित्त नबुझेपछि बलत्कारको रुप धारण गर्ने गरेको छ र यसबाट पुरुषनै पीडित भएको देखिन्छ । तर पनि अन्य क्षेत्रका मानिसलाई जसरी साहनुभुति प्रकट गर्न वा क्षमा गर्न सकिन्छ, राजनीतिकर्मीलाई त्यो क्षम्य हुँदैन । किनकि उसले समाज बदल्ने अठोट र वाचा गरेको हुन्छ ।

हाम्रा अधिकांश नेताले आफ्नो छोराछोरीलाई राजनीतिमा सक्रिय हुन निषेध गर्नुहुन्छ । यतिसम्म कि आफ्नो छोराछोरीलाई स्ववियु निर्वाचन हुने क्याम्पसमा पनि पढाउनुहुन्न । किनकि उहाँहरुलाई थाहा छ, राजनीतिक जीवन कष्टकर त छँदैछ, यसमा शोषण पनि छ । तर जुन राजनीतिक जटिल र शोषण युक्त हुन्छ त्यसले नेतृत्व वर्गको वर्गीय उत्थान त हुन्छ । तर निमुखा जनता र पिछडिएको वर्गको उत्थान हुँदैन । राजनीतिक जीवन सामान्य, सरल र सम्मानित हुनुपर्छ । जस्तो नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुँदै अमेरिकन राष्ट्रपति ओबामादेखि चिनियाँ राष्ट्रपति सि जिङपिङसम्म ।

आर्थिक प्रलोभनले भ्रष्टीकरण बनाउँछ भने यौन आशक्तिले बद्नाम गराउँछ । हामीले महान् भन्ने बिपीदेखि गान्धी हुदै माक्र्ससम्म कोही पनि यौन क्रियादेखि अलग वा अछुत थिएनन् । तर बदनाम हैन । किनकि यौन प्राकृतिक हो र सुन्दर हुन्छ, जबसम्म यो सामाजिक जीवनमा निजी र गोपनीय रहन्छ ।

श्रेष्ठ नेपाली कांग्रेस कास्कीका युवा नेता हुन् ।

सम्बन्धित खबर