बुधबार, २७ कार्तिक २०७६
samadhannews
कम्युनिस्ट र दसैं

कम्युनिस्ट र दसैं

आइतबार, ०३ कार्तिक २०७६
1310 पटक पढिएको

सुरेन्द्र थापामगर

भरखर दशैं सिद्धिएको छ । दसैंको शुभकामनामा धेरै शब्द र पैसा खर्च गरियो । दसैंले कतिलाई खुसी दियो कतिलाई पीडा दियो त्यो आफ्नै समीक्षा छ । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाइ’ भन्ने कहावत यथावत नै छ । दसैंको पौराणिक कथा काल्पनिक किम्वदन्ती प्रशस्तै छन् । दसैं नेपालीको चाड हो । वा हिन्दु धर्मावलम्बीको मात्र चाड हो भन्ने बारे अझै गतिलो बहस भएको छैन । लहै लहैमा दसैंलाई सम्पूर्ण नेपालीको चाड बनाइएको छ । रामले रावणलाई बध गरेको सम्झनामा दसैं मनाइयो वा प्राचीन गंगा तटमा किसानले खेती भित्र्याएको खुसियालीमा दसैं मनाउने चलन चल्यो यसबारे प्रष्ट छैन । वास्तवमा राम–रावण थिए थिएनन्, यो मिथक हो वा वास्तविकता कसैले प्रष्ट भन्न सकेका छैनन् । तैपनि हामी कोरा कल्पनामा दौडिरहेका छौं ।

हाम्रो स्वभाव तथ्यमा होइन भ्रममा रमाउने छ । कम्युनिस्ट अन्य मानिसभन्दा अलि फरक हुन्थे । यति बेला कम्युनिस्ट औषत मानिसभन्दा कत्ति फरक छैनन् । उनीहरुको दिनचर्या आनीबानी सबै परिवर्तन भएको छ । आजकल कम्युनिस्ट कम्युनिस्ट जस्ता छैनन् । कांग्रेस कांग्रेस जस्ता छैनन् । सबै राजनीतिक दलमा वैचारिक विचलन देखा परेको छ ।

पहिले पहिले भनिन्थ्यो कम्युनिस्ट विशेष धातुले बनेका हुन्छन् । हामीलाई यसरी नै प्रशिक्षित गराइन्थ्यो । त्यतिबेला गौरवको अनभूति पनि हुन्थ्यो । कम्युनिष्ट स्वभाविकरुपमा प्रगतिशिल हुन्छन् । प्रगतिशिल भनेको पुरानो रुढिवादी परम्पराको विरुद्ध जानु हो । ऐतिहासिक भौतिक वादले रहस्यलाई विश्वास गर्दैनन् । तथ्य र वास्तविकतालाई विश्वास गर्छ । के हामी तथ्य र वास्तविकतालाई ग्रहण गरिरहेका छौं त ? विल्कुल छैनौं ।

परातनवादीलाई केही भन्नु छैन । आफुलाई परिवर्तनकामी भन्ने कम्युनिस्ट साँच्चै कम्युनिस्ट आचरणमा छन् त ? यति बेला कम्युनिस्ट ३ वटै सरकारमा छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा । कम्युनिस्ट दैवी शक्तिलाई विश्वास गर्दैनन् । तर कम्युनिस्ट पृष्ठभूमिबाट सत्तामा पुगेका राजा महाराजाले झैं रैतीलाई) टिका लगाइदिएको दृष्य छ्यापछ्याप्ती देखिन्छ । पहिले राजाले जे गर्थे अहिले हामीले त्यै गर्दै जाने हो भने उनीहरु र हामीमा के फरक प¥यो ? सामन्त सामु घोडा टेकेर लम्पसार परेझैं नेतागणसँग घुँडा टेकेर टिका थाप्ने चलन कम्युनिस्टले चलाउन सुहाउँदैन् । हिजो राजा कहाँ प्रधान मन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख टिका र आशिष थाप्न जान्थे । आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कहाँ लावालस्कर टिका थाप्न गएका छन् । मन्त्रीले आम नागरिकलाई रैती सम्झेर टिका लगाइदिएका छन् । मुख्यमन्त्री, प्रदेश मन्त्रीले पनि यै सिको गरेका छन् ।

हरेक पदका मानिस भुरेटाकुरे राजाका छनक दिन लागिपरेका छन् । दसैंको टिका थापेको र थाप्न आएको लावालस्कर फोटोमा देखाएर मानिस गौरव महसुस गरेका छन् । जेष्ठ नागरिकको सम्मान गर्नु, आपसी सद्भाव, मायाप्रेम गर्नु अन्यथा होइन । तर दसैंलाई दैवीशक्ति, आसुरी शक्तिको नाममा व्याख्या गरेर भ्रम सिर्जना गर्नु किमार्थ राम्रो होइन । चाडपर्वलाई सद्भाव बढाउने माध्यमको रुपमा लिनुपर्छ । राज्य धर्म निरपेक्ष भएका बेला राज्यका चरित्र धर्मनिरपेक्ष भएको छैन । राज्य सञ्चालन गर्ने राजनीतिक दलका चरित्र पनि बदलिएको छैन ।

दसैंको अवसर पारेर राजनीतिक दल संघसंस्थाले शुभकामना कार्यक्रम गरे । प्रत्येक शुभकामना कार्यक्रममा दसैंलाई प्रमुख महत्व दिएर अन्य चाडपर्वलाई यसो राखे झैं ब्यानरमा मात्र राखेको देखिन्छ । तिनलाई खासै महत्व दिइँदैन । दसैंले अन्य चाडपर्वलाई ओझेलमा पारेको छ । नेपालका सत्तासिन समुदायले अन्य समुदायलाई ओझेलमा पारे झैं । नेपालमा दसैं मान्ने पनि छन्, नमान्ने पनि छन् । टीका लाउने पनि छन् नलाउने पनि छन् । दसैं टीका आ–आफ्नै समुदायका संस्कारजन्य कार्य हुन् । दसैंलाई धर्मसँग लगेर जोडिदिन मिल्दैन । यो नितान्त मौलिक चाड हो । अनादिकालमा खेती थन्काएर खेती गर्ने ज्यावललाई पुजा गर्ने परम्पराबाट यो प्रादुभाव भएको देखिन्छ । कुनै दुर्गामाता र महिशासुरको काल्पनिक कथा भजाएर दसैंलाई मिथक बनाइएको छ । कम्युनिस्ट अथवा आलोचनात्मक चेत भएका व्यक्ति काल्पनिक मिथकमा विश्वास गर्दैनन् । तर यति बेला आफुलाई कम्युनिस्ट भन्ने धर्मकर्ममा विश्वास गरेर मन्दिर धाउन थालेका छन् । दसैंको बेलामा देवीदेवताका मन्दिर जाने र पुजाआजा गर्ने जिम्मा कम्युनिस्टको भागमा परेको देखियो । हिजो कम्युनिस्टले मन्दिर भत्काउँछन् भनेको सुनिन्थ्यो आजकल कम्युनिस्ट मन्दिर बनाउँछन् भन्ने सुनिन्छ । आस्तिकको लागि यो राम्रै खबर हो ।

कम्युनिस्टले धर्म मान्दैनन् भन्नको पछाडि निश्चित कारण छ । धर्मले मानिसलाई अन्धभक्त बनाउँछ । वर्तमान समयमा बाँच्नेभन्दा भविष्यको चिन्ता गर्न सिकाउँछ । नभएको स्वर्ग र नर्कको पाठ पढाउँछ । देखिनेभन्दा नदेखिने कुरालाई विश्वास गर्न सिकाउँछ । देखिने कुरा मिथ्या हो र नदेखिने काल्पनिक कुरा सत्य हो भनेर भ्रम सिर्जना गर्न बढी प्रेरित गर्छ । ऐतिहासिक भौतिकवादले यस्ता मिथ्या दर्शनलाई इन्कार गर्छ । कम्युनिस्ट अलौकिक शक्ति, देवी देवतामा विश्वास गर्दैनन् । विज्ञान र तथ्यलाई विश्वास गर्छन् । माक्र्सले दुनियाँलाई सम्झाउने गरि भनेका थिए ‘धर्म जनताको लागि अफिम हो ।’ साँच्चै आजसम्म उनको यो भनाइ सत्य सावित भइरहेको छ ।

धर्मको नाममा संस्कृति होइन, विकृति फैलिरहेको छ । यति बेला दसैंको मौलिक संस्कृति हराएर बजारले चाडपर्वलाई कब्जा गरेको छ । दसैं कसरी मान्नुपर्छ भन्ने कुरा पितापुर्खाबाट होइन, कर्पोरेट हाउसबाट सिक्ने गरिन्छ । आस्था र मनले मन्दिर जानेको संख्या अत्यन्त कम छ । लहैलहैमा मन्दिर गएर सामाजिक सञ्जालमा विज्ञापन गर्नेनै बढी छन् । देवी देवताको मन्दिरको लाइनमा कमरेड नै बढी देखियो । कम्युनिस्टको आफ्नो धर्म हुँदैन भन्थे । कम्युनिस्टले धर्मको नाममा शोषण गर्न दिँदैन भन्छन् । उनीहरुले एउटा धर्मको सर्मथन र अर्को धर्मको विरोध गर्दैनन् । तर दुखको कुरा आजकल कम्युनिस्ट एउटा धर्मको पक्षपाती भएको देखिन्छ ।

यो कम्युनिस्ट चरित्रसँग मिल्दैन । कम्युनिस्टले कसैको धार्मिक आस्थामा हस्तक्षेप गर्दैनन् । धर्म मान्न पनि पाइन्छ, नमान्न पनि पाइन्छ । यो नितान्त व्यक्तिगत मामिला हो । तर राज्यले दसैंलाई हिन्दु धर्म जोडेर राम र रावणको युद्ध असत्यमाथि सत्यको विजयको रुपमा चित्रण गर्नु अन्याय हुन्छ । राज्यको कुनै धर्म हुनु हँुदैन । त्यसमाथि ऐतिहासिक भौतिकवादले दिक्षित कम्युनिस्ट नेताले सञ्चालन गरेको देशमा धर्मको नाममा राज्यको ढिकुटी सिध्याउनु हुँदैन । राज्यले दक्षिणा देऊ म नयाँ नोट दिन्छु भन्नु कति जायज छ । राईको उघौली उधौली पर्वमा, गुरुङको ल्होसारमा, मगर र थारुको माघी पर्वमा पनि त ती समदायले आफ्ना इष्टमित्रलाई दान दक्षिणा दिन्छन् । त्यति बेला नयाँ नोट चाहिने कुरा राज्यलाई किन थाहा नभएको होला ?

विडम्बना त यो छ, न गलत प्रवृत्तिको विरुद्ध लड्दा आजका राज्य सञ्चालक जेलनेल परे त्यै प्रवृत्ति पछ्याउन किन लाज नलागेको होला । युवा पुराना संस्कृति, रुढिवाद र अन्धविश्वासको विरुद्ध जहाद छेड्ने कमरेड उमेर ढल्केपछि काँधमा गेरुवस्त्र निधारमा चन्दन लाएर भजन गाउँदै हिडेको दृष्यले कम्युनिस्ट आचरणलाई कुरीकुरी गर्छ । दुनियाँ बदल्छु भनेर मुठ्ठी उठाएर लाल सलाम गर्ने कमरेडहरु आज आफै बदलिएका छन् । कालमाकर््स भनेका थिए ‘दुनियाको व्याख्या धेरैले गरे तर मख्य कुरा बदल्नु हो ।’ कमरेडको चरित्र बदलिएको छ । सिंहदरबार र अन्य प्रदेशस्तरिय दरबारले कम्युनिस्टलाई आफूजस्तै बनायो । जुन वर्गको लागि उनीहरुले संघर्ष गरेका थिए त्यै वर्ग यति बेला टुहुरो छ । उनका नेता छैनन्, खास पाटी छैनन् ।

हिजो कम्युनिस्टको जुलुसमा पसिनाको गन्ध आउँथ्यो । आज विदेशी अत्तरको गन्ध आउँछ । कम्युनिस्टले मिठो खानै हुँदैन, राम्रो लाउनै हुँदैन भन्ने मेरो तर्क होइन । कम्युनिस्ट सम्मुनत जीवन बाँच्नकै लागि संघर्ष गरेका हुन् । तर बहुसंख्यक उत्पीडन वर्गलाई छोडेर नयाँ वर्गको उदय हुनु निश्चय पनि हामीले अपेक्षा गरेको कसमाजवादको संकेत होइन । आज कम्युनिस्टको आमसभामा निजी गाडीका लाइन देख्न पाइन्छ । गरिब मजुदर र किसान जुलुसमा कम देखिन्छन् । हामी समृद्ध भयौं की हामीले बाटो विरायौं ? हिजो पञ्चायती व्यवस्थाका हिमायती दौरासुरुवाल लाएर छातीमा राजाले दिएको तक्मा भिर्दा गौरव गर्थे । आजका कम्युनिस्ट पनि तक्माको लागि दौडधुप गरेको देखिन्छ । अहिलेका कमरेड भेट हुदा निजी गाडी, बंगला घर स्वास्थ्य र शिक्षामा लगानीको बारेमा मात्र भलाकुसारी गर्छन् । आखिर उनीहरु र हामीमा फरक के नै रह्यो र ?

सम्बन्धित खबर