शनिबार, २१ मङि्सर २०७६
samadhannews
विद्या र खेमराजकाे शिष्ट र शालीन प्रचारशैली

विद्या र खेमराजकाे शिष्ट र शालीन प्रचारशैली

बुधबार, ११ मङि्सर २०७६
9720 पटक पढिएको

समाधान संवाददाता, पाेखरा

कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि उक्त क्षेत्र खाली थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई टिकट दिँदा प्रतिपक्षी दल कांग्रेसले पार्टीमा लामो समय योगदान पुर्‍याएका खेमराज पौडेललाई चुनावी मैदानमा उतारेको छ । विद्यार्थी राजनीतिबाट खारिएकी विद्या र राजनीतिमै ६ दसक बिताएका खेमराज आआफ्ना चुनावी एजेन्डा लिएर मतदातामाझ पुगेका छन् । प्रचारप्रसारको अन्तिमसम्म आइपुग्दा सम्म २ उम्मेदवारको प्रचारशैली शिष्ट र शालीन छ । पार्टीवृत्तमा गालीगलोज चले पनि यी २ उम्मेदवारले त्यो शैली अपनाएनन् । प्रस्तुत छ दुवै उम्मेदवारसँग चुनावी अभियान केन्द्रित अन्तर्वार्ताः

अरुलाई गाली नगर्ने राजनीतिको पक्षमा छु
विद्या भट्टराई, नेकपा उम्मेदवार (कास्की २)

— पहिलोपटक चुनाव लड्दाको अनुभूति कस्तो भाछ ?
स्ववियु चुनाव त लडेकी थिएँ । यस्तो चुनाव पहिलो नै हो । म नलडे पनि पटकपटक नजिकबाट अनुभूति गरेकी थिएँ । फरक खालको माया, जनताको सद्भावचाहिँ आफैंले अनुभूति गर्न पाएकी छु ।
— मतदाताको प्रतिक्रिया कस्तो छ ?
नसोचेको घटना भयो । रवीन्द्र अधिकारीलाई गुमायौं । राम्रो नेता हुनुहुन्थ्यो, त्यसको कसरी पूर्ति होला भन्ने चिन्ता छ । ५ वर्षका लागि चुनिएको नेकपाको सरकारले काम गरोस् भन्ने छ । जनअपेक्षा धेरै छ । सरकारले धेरै काम गर्नुपर्नेछ । मतदाताहरु रवीन्द्र अधिकारीलाई सम्झेर भावविह्वल हुने गरेको पाएकी छु । यति धेरै माया रवीन्द्रजीले कसरी सम्हाल्नुभएको रहेछ भनेर मलाई ऊर्जा प्राप्त भएको छ । मेरो आत्मविश्वास बढेको छ ।
— मतदाताको प्रतिक्रिया कस्तो छ ?
रवीन्द्रजी सम्झेर आमाबुवाहरु भाव विह्वल हुनुभएको हुन्छ । त्यसले मलाई बढी जिम्मेवार बन्नुपर्ने अनुभूति गराएको छ । उहाँहरुको सद्भाव, प्रेम र मायाले मलाई ठूलो आत्मविश्वास दिएको छ । धेरै जनताको माया रवीन्द्रजीलाई रहेछ । त्यो मायालाई मैले पनि कायम गरेर जानुपर्छ भन्ने लागेको छ । सम्बन्ध राखेर जानुपर्छ भन्ने लागेको छ ।
— के भनेर भोट मागिरहनुभएको छ ?
५ वर्षका लागि हामीले जुन घोषणापत्र बनाएका थियौं, त्यसैलाई आधार बनाएकी छु । घोषणापत्रका प्रतिबद्धता केही पूरा भइसकेका छन् । केही बाँकी छन् । बाँकी प्रतिबद्धता पूरा गर्छु भनेकी छु । पूर्वाधार विकास अन्तर्गत क्षेत्र नम्बर १ र ३ सँग जोड्ने सडक पूर्वाधार बनाउने काम पूरा भएको छ । पोखरा चक्रपथ निर्माण गर्नुपर्ने छ । पोखरा विमानस्थल निर्माण पूरा गर्न सघाउनु छ । पहिलो कुरा पूर्वाधार विकास र त्यसमा पनि सडक पहिलो प्राथमिकता छ । पोखरा महानगरपालिकाको २१, ३३, १६ र २० जस्ता वडाहरु अझै दुर्गम जस्ता छन् । तिनमा सडक पूर्वाधार अझै पूरा भएको छैन । नयाँ सडक निर्माण गर्नुपर्ने छ । पुराना सडकलाई स्तरोन्नति गर्नुपर्नेछ । दोस्रो कुरा भनेको हामी पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । त्यसका लागि पोखरा विमानस्थल समयमा पूरा गर्नुपर्छ । प्रदेश सरकार र संघ सरकार त्यसका लागि उत्तरदायी भएर लाग्नुपर्छ । त्यसका लागि हामी लाग्छौं भनेर मैले भनेकी छु । पोखरामा पर्यटन विद्यालय आवश्यक छ । वन विज्ञान क्याम्पस छ, त्यसलाई स्तरोन्नति गर्नुपर्छ । प्रविधिसँग जोडेर सामुदायिक विद्यालयलाई स्तरोन्नति गर्नुछ । जस्तोसुकै उपचारका लागि काठमाडौं जानु नपर्ने गरी पोखराकै क्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्नुपर्छ भनेर म लागेकी छु ।
उत्पीडितहरुका समस्या छन् । श्रमिकका समस्या छन् । महिलाका समस्या छन् । पेसागत समस्या छन् । तिनलाई सम्बोधन गर्ने गरी ऐन नीति नियम बनिरहेको छ र त्यसलाई कार्यान्वयन गर्न म लाग्छु । युवाहरुलाई सार्वजनिक र निजी क्षेत्रमा कसरी रोजगारी उपलब्ध गराउने भनेर म लाग्नेछु ।
— तपाईं सांसद हुने नीति निर्माण गर्न कि विकास ?
हाम्रो निर्वाचन क्षेत्रको धेरै ठाउँमा जनताको पहिलो आवश्यकता विकास हो । सांसद भएर नीति निर्माणमा लाग्ने कुरा छँदैछ । तर मैले मेरो निर्वाचन क्षेत्रको आवश्यकतालाई ध्यान दिनुपर्छ । विकास निर्माणका लागि पहल गर्नुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर मैले विकास निर्माणमा पनि भूमिका खेल्नुपर्छ भन्ने ठानेकी छु ।
— चुनाव जित्ने आधार के छ ?
कम्युनिस्ट पार्टीको जनमत र जनाधार नै मैले चुनाव जित्ने आधार हो । जनतासँग जोडिएको रवीन्द्र अधिकारीको सम्बन्ध । उहाँले ३÷३ पटक जित्नुभएको हो । उहाँले भोटको सम्बन्धमात्रै जनतासँग राख्नुभएन । छोराको सम्बन्ध, भाइको सम्बन्ध, साथीको सम्बन्ध, अभिभावकको सम्बन्ध, गुरुको सम्बन्ध, चेलाको सम्बन्ध र अभिभावकको सम्बन्ध थियो । अहिले ३ तहमा कम्युनिस्ट पार्टीको सरकार छ । त्यसले जनतामा राम्रो सम्बन्ध बनाएको छ । जनतालाई थाहा छ कि राम्रो काम गर्ने भनेको कम्युनिस्टले नै हो । अझै राम्रो काम पनि कम्युनिस्टले गर्छ भन्ने जनतामा विश्वास छ । अब चुनाव जितेर कम्युनिस्ट सरकारसँग समन्वय गरेर जनताका काम गर्न सक्ने कम्युनिस्ट उम्मेदवारले हो भन्ने जनतालाई थाहा छ । अर्काे पार्टीकोले जित्नुभयो भने त केबल सरकारले गरेन भन्नेमात्रै त हुन्छ नि ।
— रवीन्द्र अधिकारीको श्रीमती हुनुका नाताले उम्मेदवार हुनु तपाईंको सबल र दुर्वल दुवै पक्ष हो भन्ने छन् । विपक्षीका नेताले रवीन्द्र अधिकारी गणतन्त्रवादी हुनुहुन्थ्यो, वंशवादी हुनुहुन्थेन भनेर आलोचना गरेका छन् नि ?
म पनि गणतन्त्रवादी हुँ । गणतन्त्रको योद्धा हुँ । हिजो गणतन्त्रको आन्दोलनमा म पनि थिएँ । चर्चा मेरो भएन होला । गणतन्त्रको आन्दोलनलाई सफल बनाउने कुरामा म पनि संलग्न थिएँ । लामो समयदेखि राजनीतिक आन्दोलनमा थिएँ । सायद म अनेरास्ववियुमा थिइनँ, आन्दोलनमा थिइनँ भने रवीन्द्रजी र मेरो प्रेम नहुन पनि सक्थ्यो, विवाह नहुन पनि सक्थ्यो । हाम्रो सम्बन्ध भनेको आन्दोलनले बनाएको हो, राजनीतिले बनाएको छ । आन्दोलनकारीका रुपमा भएको सम्बन्ध हो । मैले प्रचार गरिनँ तर लामो समयदेखि राजनीतिमै थिएँ । तर म प्राज्ञिक क्षेत्रमा भएको हुँदा राजनीतिको कुरा प्रचार गरिनँ । म ४७ सालदेखि नै पार्टीको संगठित सदस्य थिएँ । लगातार छु । पार्टीको विभागमा बसेर काम गरें । बुद्धिजीवी फाँटमा बसेर काम गरें । तर मैले आफ्नो प्राज्ञिक मर्यादालाई असर गर्ने गरी आफूलाई राजनीतिक कार्यकर्ताको रुपमा प्रचार गरिनँ । मलाई रवीन्द्र अधिकारीको श्रीमती हुनुमा गर्व छ । किन कि एउटा उचाइ बोकेको, जनताले सम्मान गरेको व्यक्तित्वको श्रीमती हुनुमा मलाई गर्व छ । तर श्रीमती भएरमात्रै आएको हो कि हैन भन्ने भोलि देखिन्छ नि । भन्नेहरुले जे भने पनि म त्यता जान्न । गाली गर्ने र आरोप लगाउने राजनीतिक परम्पराको पक्षमा म छैन । रवीन्द्र अधिकारी पनि हुनुहुन्थेन ।
— तपाईंले रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमात्रै गर्नुभयो भनेर पनि आलोचना भयो नि ?
मैले किरिया गरिनँ होइन, परिमार्जित तरिकाले काजकिरिया गरें । रवीन्द्र अधिकारी पर्यटन, नागरिक उडड्यनमात्रै होइन संस्कृति मन्त्री पनि हुनुहुन्थ्यो । संस्कृतिमन्त्रीका हैसियतमा उहाँले धेरै संस्कृतिविद्सँग छलफल गर्नुभएको थियो । हाम्रा संस्कृतिलाई कसरी रुपान्तरण गर्ने, सरल सहज बनाउने भनेर सल्लाह गर्नुहुन्थ्यो । उहाँमा नवीन विचार थियो । उहाँको भावनालाई सम्मान गर्दै किन परिमार्जन नगर्ने भनेर घर परिवारमा सल्लाह भयो । आमाबाबा, भाइहरु, बैनीहरु, छोराहरु र नातागोता सबैले ठिक छ भनेरै सल्लाहमा हामीले त्यति दिन किरिया गरेका थियौं । कास्की त्यस्तो ठाउँ हो, जहाँ एकल महिलाले रातो पहिरन लगाउने अभियान सुरु भएको थियो । उनीहरुको आत्मविश्वास कार्यक्रम गरेको ठाउँ हो । यस्तो ठाउँमा पनि ममाथि यस्तो आरोप लगाउने कुरा कहाँबाट आयो ? त्यो केवल चुनावी मसला मात्रै हो ।
— चुनाव जित्दा कति मतान्तर होला ?
पहिलेभन्दा मत बढ्छ । मात्रात्मक कुराभन्दा पनि जनतासँगको सम्बन्धको कुरा हो । ३ तहका कम्युनिस्ट सरकारले जनतासँग मजबुद सम्बन्ध बनाएका छन् । जनताका धेरै काम गरेका छन् । त्यस कारण हिजोको भन्दा मत बढ्छ नै । जनताका अपेक्षा धेरै छन् । हो, सरकारले ती धेरै अपेक्षा पूरा गर्न अझै धेरै काम गर्नुपर्नेछ ।

आक्षेप लगाउने होइन जनमत जित्नुपर्छ
खेमराज पौडेल, नेपाली कांग्रेस उम्मेदवार

कांग्रेसमा जीवनको ऊर्जा खर्चिनुभयो । पहिलो पटक चुनावी मैदानमा होमिनु भएको छ । ६० वर्ष लाग्यो है सांसदको टिकट पाउन ?
हो, म पहिलो पटक चुनावमा उठेको छु । त्यसैले मसँग संसदमा पुगेर पनि जनताको माझ केही गर्न नसकेको लज्जा छैन । मसँग संसद पुगेर कुनै अनियमिततामा मुछिएको दाग पनि छैन । मसँग राजनीतिमा लागेर कसैमाथि अन्याय गरेको अनुभव पनि छैन । मसँग छ त जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ इच्छा । अर्को कुरा टिकट पाउनुलाई मात्रै पार्टीको राजनीतिको सफलता मानिनु हुँदैन । सांसद बन्नका लागिमात्रै राजनीति गरिनु हुँदैन । यदि त्यसरी गरिन्छ भने त्यहाँ स्वार्थ जोडिएको हुन्छ । जब स्वार्थ जोडिन्छ, तब इमान्दारिता र निष्ठा हराउँछ । १६÷१७ सालदेखि हरेक गतिविधि र आन्दोलनमा संलग्न हुँदै आएँ । टिकटको सवालमा जहिले पार्टीको नजरमा परें र उपयुक्त देख्यो, यतिबेला खेमराजको आवश्यकता छ भन्ने महसुस गर्‍यो तब टिकट दिएको छ । अब म पार्टीको निर्णयलाई न्याय गर्दै संसद पुगेर जनताको वकालत गर्नुपर्छ भन्ने मान्यतासहित चुनावी मैदानमा होमिएको हो ।
-चुनावी मैदानमा होमिँदा र घरदैलोमा पुग्दा के भनिरहेका छन् त कास्की–२ का मतदाताले ?
उम्मेदवारी मनोनयनसँगै जनताको घरदैलोमा पुगें । जति मतदाताले भेटें, उहाँले हौसला थपिरहनुभएको छ । म अझ ऊर्जाशील हुँदै गइरहेको छु । सबैले सद्भाव नै राखेको पाएँ । कांग्रेसले राम्रो उम्मेदवार उठायो भन्ने प्रतिक्रिया आइरहेको छ । जतिलाई भेटें, भेटिरहेको छु, सबैको भनाइ छ, खेमराज गुरु जित्नुपर्छ है । मैले जीत नजिक पुगेको महसुस गरेको छु ।
लालकिल्ला मानिएको यो क्षेत्रमा तपाईं आफैं चाहिँ कति सुरक्षित देख्नुहुन्छ ?
जनताले २ तिहाई बहुमत दिएर बनेको जुन कम्युनिस्ट सरकार, राजनीनिक क्रान्ति पूरा भएर समृद्धितिर जानुपर्ने सरकार गलत बाटोतिर हिँडिरहेको छ । अहिले देखमा कुशासन व्यस्त छ । भ्रष्टाचार मौलाएको छ । जनताहरु निराश छन् । सरकार जुन दिशामा जानुपर्ने थियो, त्यता जान नसक्दा जनतामा निरासा छ । त्यसैले पार्टीमा पनि अब यो बेला कांग्रेसले गर्नुपर्छ, एक हुनुपर्छ भनेर लागेको छ । जनताको निरासालाई चिरेर सरकारलाई सही दिशामा लैजानुपर्छ । सरकारलाई खबरदारी गर्न कांग्रेस अहं भूमिका खेल्नुपर्छ भनेर पार्टी १ ढिक्का भएको छ ।
अर्को कुरा कुनै क्षेत्र कुनै पार्टीको स्थायी वा अस्थायी पकड हुन्छ भन्ने हुँदैन । १ पटक १ पार्टीले जितेको ठाउँमा अर्को पार्टी सजिलै आउन सक्छ । लालकिल्ला मानिएको कास्की क्षेत्र नम्बर २ सधैं लालकिल्लै रहन्छ भन्ने कुनै पनि आधार छैन । प्रत्येक निर्वाचनहरुमा फरक आवश्यकता र नयाँ व्यक्तिको खोजी हुन्छ र त्यस्तै व्यक्तिलाई जिताउँछ । पहिले रवीन्द्रको आवश्यकता देखे र जनताले जिताए । अब पनि उही पार्टीको आवश्यकता छैन भन्ने जनताले बुझिसके ।
सधैं गुटउपगुट र प्रतिघातको बिम्ब बनेको कांग्रेस अहिले चाहिँ १ भयो भन्ने आधार के त ?
सबै कांग्रेसीले महसुस गरे । जुन रुपले जानुपर्ने थियो, त्यसरी नहिँड्दाखेरी लोकप्रिय पार्टी कांग्रेसलाई जनताले रुचाएनन् । कांग्रेसजत्तिको लोकप्रिय पार्टी अरु छैन । त्यही पार्टी एक भएर नजाँदा जनताले साइजमा राख्न खबरदारी गरेका थिए । अब एकजुट भएर जाउँ, राष्ट्रका निम्ति तिमीहरुको आवश्यकता छ भनेर जनताले भनिराखेको केन्द्रदेखि जिल्लासम्मका सबै नेताले महसुस गरेका छन् । त्यसरी नै सबै नेता र आकांक्षीसमेत जनताको घरआँगनमा पुगिरहनुभएको छ ।
यो उपनिर्वाचनमा जनताको घरआँगनमा गएर के भनेर भोट मागिरहनुभएको छ ? के हुन्, चुनावी एजेन्डा ?
१ त सरकार गलत बाटोमा गयो, यसरी नै जान दिने हो भने अझै गलत बाटोमा जान्छ भनेर जनतालाई बुझाएका छौं । दोस्रो निर्वाचन भइसकेपछि विकास निर्माणका कुरा पनि हुन्छन् । जनताका चाहानामा निरासा छाइरहेको छ । विकास र सुशासनले बाटो बिराएको छ । यो क्षेत्रमा ११ वटा वडाहरु छन् । त्यसमा कतिपय ग्रमिण क्षेत्र छन् । तिनले महानगरको सुविधा पाउन सकेका छैनन् । गाउँ र सहरबीचको खाडल घट्नुपर्नेमा अझ बढिरहेको छ । महेन्द्रपुल, पृथ्वीचोकवासी जुन सहरी सुविधा पाएका छन्, निर्मलपोखरी, भरतपोखरी, कृस्ती, मौजा, भलामका नागरिकले पाएका छैनन् । पर्यटकीय केन्द्र पोखरा ती ठाउँसम्म बिस्तार हुनै सकेको छैन । ती क्षेत्रको विकाससँगै विश्व पर्यटकीय गन्तव्य पोखरा अझ दरिलो बनाउन सकिन्छ । कृषिको अधुनिकीकरण, अव्यवस्थित सहरको व्यवस्थापन गर्नु अर्को आवश्यकता हो । मैले यिनै कुरासँगै भ्रष्टाचार, अनियमितता र कुशासनकाविरुद्ध संसदमा उभिएर आवाज राख्छु ।
सुकुम्वासी आयोगको अध्यक्ष हुँदा गर्न नसकेको लालपुर्जा दिने काम अब सांसद भएर सक्नुहुन्छ त झन् ?
सुकुम्वासी आयोगको अध्यक्ष हुँदा सकेको, नसकेको भन्दा पनि समयका अभावले गर्नै पाइएन । २०५५ सालमा आयोगको अध्यक्ष हुँदा काम गर्दागर्दै निर्वाचन आइहाल्यो । ७ महिनामा के गर्न सक्नु ? गर्नै पाइएन नि । नापी नक्सा लिन बर्खाले असर ग¥यो । निर्वाचनका बेला आयोग नै खारेज नै भयो । त्यसैले सुकुम्वासीलाई पूर्जा दिलाउन लगत संकलन भएर पनि पूरा काम गर्न पाइएन । अब सांसद बनाउनुस्, तपाईंहरुको पक्षमा लड्छु भनेको हुँ ।
यो उपनिर्वाचनमा व्यक्तिगत लाञ्छना लगाउनेसम्मका काम भए भन्ने सुनिन्छ नि ?
यो निर्वाचन कुनै पार्टी वा व्यक्तिसँग नभएर विषयसँग सम्बन्धित निर्वाचन हो । सरकारले जुन किसिमले काम गरेको त्यो विषयसँग प्रतिस्पर्धा हो । हाम्रो प्रतिस्पर्धा पछौटे पनसँग हो । जनताको दुर्दशालाई न्यूनीकरण गर्ने मुख्य एजेन्डा हो । त्यसकारण मैले न कुनै हत्कन्डा अपनाएको छु, न कुनै व्यक्तिलाई प्रतिस्पर्धीको रुपमा हेरेको छु । निर्वाचनमा मबाट कुनै गालीगलोज र कसैलाई अपमान गरेको छैन ।
कतै पार्टीका नेता तथा कांग्रेसका साथीहरुबाट कुनै व्यक्तिमाथि केही कुरा आए होलान् तर मैले कसैमाथि लाञ्छना लगाएको छैन । बरु विपक्षी पार्टीका साथीहरुले निर्वाचन आचारसंहिता मिचेको उजुरी परेको सुनेको छु । मैले न नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई गाली गरेको छु न अरु कुनै मान्छेलाई चोट पुग्ने कुरा गरेको छु । कांग्रेसका नेताहरुले भनेका रहेछन् भने त्यसको जवाफ उहाँहरुले नै दिनुहोला । म त निर्वाचन स्वच्छ हुनुपर्छ, कसैमाथि आक्षेप लगाएर होइन, जनताको मन जितेर जानुपर्छ भन्ने मान्यता राख्छु ।
विद्या भट्टराईले रवीन्द्र अधिकारीको सपना पूरा गर्छु भनेर लाग्नुभएको छ । अनि तपाईंलाई जित्न सजिलो होला ?
रवीन्द्र अधिकारीलाई ३ पटकसम्म यो क्षेत्रका जनताले जिताएकै हुन् । सांसद र मन्त्री भएकै कारण विकास निर्माणको नेतृत्व गरे भन्ने कुरा होला । तर, ती विकासका योजनामा त सरकारकै लगानी हुने हो । अनि विकास गर्छु भनेर गएपछि गर्ने त्यही नै होला । साढे १२ वर्ष उहाँ सांसद हुनुभयो । १२ वर्ष भनेको लामो समय हो । खास परिवर्तन देखिएन । भन्न त रवीन्द्रको उत्तराधिकारी भनेर उम्मेदवार प्रस्तुत गरिएको छ । गणतन्त्रमा कोही उत्तराधिकारी हुँदैन । रवीन्द्र अधिकारीले के सपना देख्नुभयो, थाहा छैन । तर, उहाँहरुले रवीन्द्रको सपना पूरा गर्ने कुरा गरिरहनुभएको छ । सपना पूरा गर्ने त जनताको हो । म त जनताको सपना पूरा गर्छु भनेर हिँडेको छु । मैले त ३ देखि ४ हजार मतान्तरले चुनाव जित्ने हिसाब गरेको छु ।

सम्बन्धित खबर