शनिबार, २१ मङि्सर २०७६
samadhannews
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट

गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट

शुक्रबार, १३ मङि्सर २०७६
490 पटक पढिएको

राजाराम कार्की
काठमाडौं

केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरू बैंक धाउँथे । आजकाल वित्तीय पहुँच सहज भएकाले बैंकर्सहरू आकर्षण नारा दिएर ग्राहकका घरदैलामा पुग्न थालेका छन् ।

उनीहरूले आफ्ना संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलासम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेपछि बैंकप्रतिको विश्वास बढ्दै गएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता छ ।

नागरिकलाई सर्वसुलभरूपमा गुणस्तरीय वित्तीय सेवा पु¥याउनु केन्द्रीय बैंकको महत्वपूर्ण काम मानिन्छ । ऋणी श्यामसुन्दर श्रेष्ठ भने बैकप्रति अलग्गै धारणा राख्छन् । उनले शुरु शुरुमा चित्तबुझ्दो गरी सेवाग्राहीलाई रिझाउने र पछि १ वर्ष नपुग्दै कर्जामा चर्का ब्याज वृद्धि र बचतमा कम ब्याज दिएर ग्राहकलाई झुलाइराखेको बताउँछन् ।

बैंकको ब्याजमा एकाधिकार रहेको व्यापारी कृष्णसुन्दर माकाजुको भनाइ छ । ‘कुन बैंकमा बचत गर्ने सेवाग्राही रनभुलमा परेका छन्,’ उनले भने, ‘चर्को ब्याजदरको अलवा बैंकहरूले विभिन्न बहानामा सेवा तथा अन्य शुल्क थुपारेर ऋणीहरूको चित्त दुखाइरहेको गुनासो छ । बैंकहरूले व्यापक नाफाआर्जन गरेका छन् । उनीहरूले आफ्नो नाफा विभिन्न पत्रिकामा प्रकाशित गरेर ग्राहकमा आफ्नो विश्वास जमाउन खोजेको देखिन्छ भने अर्कातिर बैंकका प्रमुख कार्यकारीेहरूले उल्लेख्य तलब भत्ता बुझिरहेका छन् ।

अर्थशास्त्रका जानकार भवानी खनालका अनुसार वित्तीय सेवामा नागरिकको पहुँच स्थापित हुनु महत्वपूर्ण हो । तर, नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुबै हुनुपर्ने तथा वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुवै पक्ष सुदृढ हुन जरुरी रहेको बताउँछन् । नेपाल जीवनस्तर सर्वेक्षण २०६६÷६७ का अनुसार ४० प्रतिशत घरपरिवार ३० मिनेटभित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र सहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ । सहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजिकको वाणिज्य बैंकको शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ । १ घन्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय सहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट छ ।

सो सर्वेक्षणका अनुसार करिब २० प्रतिशत घरपरिवारले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार सन् २०१४ मा कूल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ । सर्वेक्षण अनुसार शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंकिङ सेवामा पहुँच रहेको देखिएको छ ।

विश्व बैंकले अघिल्लो वर्ष गरेको संघीय संरचनामा लघुवित्त सेवाको पहुँचसम्बन्धी अध्ययन अनुसार ८१ प्रतिशत घरपरिवार आधा घन्टाभन्दा कम समयमा कुनै न कुनै वित्तीय संस्थामा पुग्नसक्ने स्थिति देखाएको छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएको छ । सो अनुसार २०७१ असारमा बैंक तथा वित्तीय संस्थाको संख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थपिएकोले २०७६ साउनमा १ सय ७१ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ सय ६ सय ५० थियो ।

सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा पुर्‍याउने नीति छ । सोअनुरूप २०७६ असारसम्म ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएकोे छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार मंसिर ४ गते सम्म नेपालभर वाणिज्य बैंकको संख्या बढेर ७ सय ४१ पुगेको छ ।

मोबाइल बैंकिङ् प्रयोगकर्ताको सख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ् प्रयोगकर्ताको संख्या ५ लाखबाट बढेर ९ लाख पुगेको छ । बैंँक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थामा निक्षेप र कर्जा खाताको सङ्ख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार थियो ।

विसं २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार थियो । रासस

सम्बन्धित खबर