शनिबार, २१ मङि्सर २०७६
samadhannews
विद्याकाे राजनितिक पुनराेदय

विद्याकाे राजनितिक पुनराेदय

सोमबार, १६ मङि्सर २०७६
1590 पटक पढिएको

अमृत सुवेदी
पोखरा

इतिहासले देखाउँछ, नेता र नेतृत्व २ प्रकारले जन्मिन्छ । एउटा प्रक्रिया वा राजनीतिक आन्दोलनबाट र दोस्रो घटना वा परिस्थितिबाट । विद्या भट्टराई अहिले दोस्रो तरिकाबाट नेता भइन् । समाजशास्त्र पढेकी र राजनीतिलाई छामेकी विद्या चुनावअघि यही भन्थिन्, ‘म घटना र परिस्थितिले राजनीतिमा होमिएँ । म नेतृत्व स्थापित गर्ने अभियानमा छु ।’

विद्या विद्यार्थी आन्दोलनबाट राजनीतिमा देखिइन् । महिला आन्दोलन हुँदै प्राज्ञिक क्षेत्रतिर लागिन् र पार्टीगत राजनीतिबाट ओझेल परिन् । एउटा त्यस्तो दुखद् घटना भयो, जसले विद्यालाई राजनीतिमा युट्र्न नै गराइदियो । २०७५ फागुन १५, विद्याका निम्तिमात्रै होइन, देशकै निम्ति दुखद् घटना थियो ।

कामको सिलसिलामा ताप्लेजुङको पाथिभारा पुगेर फकिँदै गर्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ज्यान गयो । जुन घटनामा विद्याले श्रीमान गुमाइन्, देशले १ आशा गरिएका युवा मन्त्री तथा नेता गुमायो ।

त्यही घटना जसले शोकलाई शक्तिमा बदल्दै विद्यालाई राजनीतिमा पुनरागमन हुन बाध्य पा¥यो । २०७६ मंसिर १४, उपनिर्वाचनको मिति तय भयो । रवीन्द्रको निधनपछि कास्कीमा हुने उपनिर्वाचनमा सुरुदेखि नै विद्याको चर्चा चलिरह्यो । चर्चाकाबीच पनि विद्या भन्थिन्, ‘म अहिले नै राजनीतिबारे सोच्न सकेकी छैन । आफैं दाबी गर्ने त कुरै भएन । पार्टीले निर्णय गरें, त्यो पछिको कुरा भयो ।’

कास्की २ को उपनिर्वाचनमा विद्याको विकल्पमा नेकपा नेता बामदेव गौतमदेखि अहिले प्रदेश १ को प्रमुख नियुक्त भएका सोमनाथ प्यासी, रवीन्द्रका सहपाठी धनराज आचार्य, भीम कार्कीसम्म आकांक्षी थिए । तर, विद्याले चाहेको हकमा उनी नै पहिलो विकल्प थिइन् ।

अन्तत नेकपाले विद्याको विकल्प देखेन । विद्या नै उपयुक्त पात्र रहेको ठम्याइ गर्दै कास्की २ को उम्मेदवार बनाएर मैदान ओराल्ने निर्णय ग¥यो । २०५७ सालमा राजनीतिबाट प्राज्ञिक क्षेत्रमा लागेकी थिइन्, विद्या । २० वर्षपछि पार्टीको निर्णयलाई सम्मान गर्दै सांसद बन्ने होडमा चुनावमा होमिइन् ।

विद्यालाई उम्मेदवार बनाउनुका पछाडि विभिन्न जित्ने आधार नेकपाले देखेको थियो । एक त रवीन्द्रको निधनपछि उनीप्रति जनताको सहानुभूति रहन्थ्यो । अर्को विद्या राजनीतिक परिवारमा जन्मेकी, विद्यार्थी आन्दोलन र संघर्षबाट उठेकी, वैचारिक र प्राज्ञिक क्षेत्रमा लागेकी व्यक्ति भएका कारण पनि उनी उपयुक्त उम्मेदवार भएको नेकपाको ठम्याइ थियो ।

उनको उम्मेदवारीको टुंगो लागेलगत्तै प्रतिस्पर्धीका रुपमा पाका नेता खेमराज पौडेललाई कांग्रेसले टिकट दियो । खेमराज लामो समय कांग्रेसमा निष्ठाको राजनीति गरेर पनि अवसर नपाएका त्यागी नेता थिए । उनको उम्मेदवारीसँगै केन्द्रदेखि जिल्ला र क्षेत्रका वडासम्मै एकताको सन्देश गएको कांग्रेसको दाबी थियो । १६ आकांक्षीमध्येबाट खेमराजले टिकट पाएपछि सबै १ भएको उद्घोष गर्दै कांग्रेसले चुनावी अभियान थाल्यो । चुनावी सारगर्मी बढ्दै जाँदा जीत कसको हुन्छ यसै भन्न सक्ने अवस्था थिएन ।

विद्या वा खेमराज जसले चुनाव जिते पनि झिनो मतान्तरले जित्ने धेरैको अनुमान थियो । नेकपाले भने पहिलेभन्दा ५ हजार मतान्तर बढाउँदै १३ हजार ८ सय ४६ जित्ने दाबी गरेको थियो । कांग्रेसले थोरै मतले भए पनि जित्ने दाबी गरिरहेको थियो ।

अन्तत विद्या ८ हजार ४ सय ३ मतान्तरका साथ कास्की २ बाट निर्वाचित भएकी छन् । विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याए । मत परिणामलगत्तै खेमराजले विद्या र नेकपाका नेतालाई मतगणनास्थलमै भेटेर बधाई दिए । समाजवादी नेपालका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याएर तेस्रो भए । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाए । साझा पार्टीकी राजनी केसीले ९ सय ४२ मत ल्याइन् । मत परिणाम अनुसार नेकपा र कांग्रेसबाहेक १९ उम्मेदवारको जमानत जफत र ६ सय मत बदर भएको छ ।

गएको निर्वाचनमा रवीन्द्रले ८ हजार ५ सय ४६ मतान्तरले चुनाव जितेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए ।

अहिले ७१ हजार ८ सय ७१ मतदाता पुगेका थिए । त्यसमध्ये ४५ हजार ५ सय ४६ अर्थात ६३.४० मात्रै मत खसेको छ । त्यसको ५४.२७ प्रतिशत मत ल्याउँदै विद्या विजयी भइन् । रवीन्द्रले ह्याट्रिक मारेको क्षेत्रमा उनकै पत्नी विद्याको इन्ट्री भएको छ ।

विद्यार्थी आन्दोलन–संघीय सांसद
विद्याको जन्म नै राजनीतिक परिवारमा भयो । विद्या प्रधानमन्त्रीका केपी शर्मा ओलीका पूर्व पराराष्ट्र सल्लाहकार राजन भट्टराईकी बहिनी हुन् । राजन राजनीतिमा सक्रिय हुँदा विद्याको पनि आकर्षण बढ्दै गयो । स्कुले जीवनमै विद्या अखिलसँग नजिक थिइन् । अनेरास्वयुले गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तित्वकला जस्ता अतिरिक्त क्रियाकलाप र कार्यक्रममा उनी सहभागी हुन्थिन् ।

२०४२ साल कक्षा ७ मा अध्ययन गर्दादेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियनसँग नजिक भएर काम गरेको विद्या सुनाउँछिन् । २०४५ सालमा भारतले नाकाबन्दी ग¥यो । अनेरास्ववियुले आन्दोलन चर्कायो । त्यस बखत विद्यालाई राष्ट्रियताको विषयले तान्यो । त्यसपछि उनी विद्यालयहरुमा संगठन विस्तार अभियानमा सहभागी भइन् । एलएलसी पास भएर विद्या पद्मकन्या क्याम्पसमा भर्ना भइन् । पद्मकन्या क्याम्पस विद्याको राजनीतिक उर्वर समय नै बन्यो । उनी त्यहाँ प्रारम्भिक कमिटी हुँदै विद्यार्थी आन्दोलनमा होमिन थालिन् ।

विद्यार्थी आन्दोलनसँगै २०४७ सालमा अखिल नेपाल महिला संघतिर पनि उनको प्रवेश भयो । अनेरास्ववियु र अनेम संघ दुवैतिर विद्याको सक्रियता बढ्यो । विद्या त्यहीबेला अनेम संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्ष भइन् ।

२०४७ सालमा जन सांस्कृतिक परिवारको सदस्य बनेकी विद्याले त्यसै साल नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन् । २०४८ सालमा पोखरामा अनेरास्ववियुको ११ औं राष्ट्रिय सम्मेदन थियो । उनी त्यो सम्मेलनमार्फत राष्ट्रिय परिषदमा निर्वाचित भइन् । त्यसको पछिल्लो वर्ष उनले एमालेको वडा सदस्य लिएर पार्टीको राजनीति थालेकी थिइन् ।

२ पटकसम्म पद्मकन्या क्याम्पस स्ववियु सभापति उमेदवार थिइन्, विद्या । तर, जीत हासिल गर्न सकिनन् । २०५० सालमा भने उनी अनेरास्ववियु महिला विभाग प्रमुख बन्न सफल भइन् ।

२०५५मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारीमा थिइन्, विद्या । उनी सचिव हुँदा रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्दिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

२०५९ देखि आंशिक शिक्षकका रुपमा प्राध्यापन पेसामा लागेकी उनी अनुसन्धानका कामहरुमा सहभागी भइन् । जनआन्दोलन ०६२÷०६३ पछि नेकपा एमालेको संघीय मामला विभागको सदस्य भएर काम गरकी विद्यासँग उच्च शिक्षा पाठयक्रम निर्माण समितिको सदस्य भएर काम गरेको अनुभव पनि छ ।

२०६६ मा प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्यामपसको तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष भएकी विद्या सार्कस्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था वियोन्ड बेइजिङ कमिटीमा कार्यक्रम संयोजकको रुपमा कार्यरत रहिन् ।

त्रिभुवन विश्वविद्यालयमाको खुल्ला सेवा आयोग परिक्षा पास गरी २०७२ सालदेखि आरआर क्याम्पसमा स्थायी रुपमा उपप्राध्यापकको जागिरे भइन्, विद्या । स्थायी जागिर थालेको ४ वर्षमै रवीन्द्रको निधनपछिको घटनाक्रमले कास्की–२ को उम्मेदवार बनायो । कास्की २ का जनताले जिताएपछि उनै विद्या अब भने प्रतिनिधि सभामा सांसदको रुपमा प्रतिनिधित्व गर्ने भएकी छन् ।

रवीन्द्रसँगको भेट, विवाह र राजनीतिक पुनरागमन
विद्या र रवीन्द्र दुवै जना विद्यार्थी आन्दोलनमा थिए । विद्या काठमाडौंमा र रवीन्द्र पोखरा । अनेरास्ववियुकै कार्यक्रममा २०५० सालतिर उनीहरुको चिनजान भएको हो । विद्या अहिलको महिला विभाग प्रमुख हुँदा रवीन्द्र अनेरास्ववियुको कोषाध्यक्ष थिए । उनीहरुले एउटै सचिवालयमा काम गरे ।
अखिलमा सँगै काम गर्दा उनीहरु नजिक हुन थालेपछि सर्कलमा चर्चा र कुरा चल्न थाल्यो । दुबै जना राजनीतिक आन्दोलनमा लाग्न असहज ठानिन्, विद्याले । ‘दुबै राजनीति गर्दा कहिले दाइसँग जोड्ने, कहिले प्रेमीसँग जोड्ने,’ विद्याले भनेकी थिइन्, ‘महिलाको पनि स्वतन्त्र विचार छ भनेर नलिएको मैले महसुस गरें । म विद्यार्थी आन्दोलनमा नबस्दै राम्रो हुन्छ भनेर म अखिलको सचिव भएको ३ महिनापछि छोडेर अनेमा संघ गएँ ।’

यहीबीच रवीन्द्र र विद्याको विवाहको कुरा चल्यो । रवीन्द्रका सहपाठी धनराज आचार्यले मध्यस्तकर्ताको भूमिका खेले र २०५६ सालमा उनीहरुले विवाह गरे । स्नातकोत्तर गर्दागर्दै विवाह भएपछि विद्याले राजनीतिक बाटो बदलेर प्राध्यापनतिर लागिन् ।

रवीन्द्रलाई राजनीतिक रुपमा अघि बढाउन उनले हर दुखमा प्रोत्साहन गरिन् । २ छोरा जन्माइन् र हुकाउँदै थिइन् । रवीन्द्रको आकस्मिक निधनले राजनीतिक नेतृत्वको बाटोमा ल्याइपु¥यायो । अब पारिवारिक र राजनीतिक दुबै जिम्मेवारी पूरा गर्नुपर्ने अवस्थामा उनी आइपुगेकी छन् । उनकै भनाइअनुसार तत्काल राजनीतिमा आउने उनको विचारै थिएन । घटना र परिस्थितिले राजनीतिमा पुनरागमनमात्रै गराएन्, जनताको प्रतिनिधि नै बनाएर उपनिर्वाचन संसद पु¥यायो ।

सुरु भयो विद्याको परीक्षा
उम्मेदवारको टिकट पाएर चुनावी प्रचारमा होमिँदा पनि विद्यामाथि तिनै कुराहरुले उठे । रवीन्द्रसँग जोडेर आरोप लगाउनेदेखि आँसुको राजनीति गरेको, कायकिरिया पूरा नगरेर संस्कृतिमाथि प्रहार गरेको जस्ता कुरा उठेका थिए । प्रतिनिधि सभा संसदमा पुगेपछि पनि उनीमाथि यस्ता कुराहरु अवश्य उठ्न छाड्ने छैनन् ।

रवीन्द्रमाथि जोडेर आउने प्रश्नमा विद्याको प्रतिउत्तर हुन्थ्यो, ‘अनुसन्धान गर्ने निकाय पनि छ । दोषी ठहरिए कारबाही गर्ने सरकारको निकाय पनि छ । कानुनभन्दा माथि कोही हुँदैन, त्यसैले म आफैं दोषी छु भने पनि कारबाही भोग्न तयार छु ।’

हर दुख र प्रहारमा सहने शक्ति रवीन्द्रबाटै सिकेको विद्या बताउँछिन् । एनसेल काण्डदेखि वाइडबडी काण्डसम्म रवीन्द्रको नाम जोडिएर आरोप लगाउँदा आफूले उनीमाथि प्रश्न गरेको र रवीन्द्रको जवाफपछि त्यो आरोपमात्र रहेको उनको भनाइ थियो । अब पनि राजनीतिमा प्रश्नको सामना, आरोपको खण्डन र जनताप्रति उत्तरदायी भएर अगाडि बढ्नुपर्ने बाटोमा उनी आइपुगेकी छन् ।

राजनीतिमा स्वच्छ छबि बनाएर काम गर्ने र आफैं प्रतिवद्धता पूरा गर्नैपर्ने चुनौती उनीसामु आएको छ । रवीन्द्रले देखेको सपना पूरा गर्ने र सधैं जनताप्रति उत्तरदायी रहने बताउँदै चुनावी मैदानमा होमिएकी विद्याको परीक्षा सुरु भएको छ । यो परीक्षामा विद्याको काम कस्तो हुन्छ, त्यसले नै उनको भविष्यको मार्गचित्र कोर्ने छ ।

जनताले गरेको विश्वास र आस्थामाथि कहिल्यै अपमान नगर्ने विद्याको संघल्प छ । ‘म सधैं जनताप्रति बफादार हुनेछु । जनताको अभिमतलाई सम्मान गर्नेछु,’ विद्या भन्छिन्, ‘पार्टीले गरेको विश्वासलाई न्याय गर्ने छु । सुख दुखमा सँगै हुने छु । जनताले हरबखत साझेदारी र खबरदारी गर्न सक्ने छन् ।’

सम्बन्धित खबर