शुक्रबार, १० माघ २०७६
samadhannews
nepal telecome

‘बेस्ट सेलर’ रिक्सा चालक

आइतबार, २९ मङि्सर २०७६
700 पटक पढिएको

विकास रोकामगर
पोखरा

मनोरञ्जन व्यापारी आम मान्छेभन्दा फरक नाम । जस्तो कि त्यो कुनै व्यापारी हो जसले मनोरञ्जनको व्यापार गर्छ । तर, उनी व्यापारी होइनन्, लेखक हुन् । आफैं स्वीकार्छन्, ‘मेरो नाम मनोरञ्जन व्यापारी हो । तर, म मनोरञ्जन पनि गर्दिनँ र व्यापार पनि गर्दिनँ ।’

बंगाली भाषी लेखक व्यापारी भारतीय दलित समुदायका हुन् । जसले औपचारिक शिक्षा लिने अवसर कहिले पाएनन्, सारा बालापन खानाको खोजीमा बित्यो । र भेदभावमा बित्यो । बंगलादेशबाट भारतको बंगाल आएका उनी शरणार्थी शिविरमा बालापन बिताए । उनलाई लाग्छ, ‘शरणार्थी जीवन जेलजस्तो हुन्छ । त्यहाँ कुनै छुट हुँदैन ।’

गरिबमाथि पनि अत्ति गरिब परिवारमा जन्मिएका व्यापारीको बहिनी सानै उमेरमा मृत्यु भएपछि झन् दुखले घेर्‍यो । घरमा खाना र लगाउन समस्या हुन थालेपछि खाना खोज्दै हिँडेको तीतो विगत छ ।

‘भारतको सारा ठाउँ कहाँ खाना पाइन्छ भनेर हिँडेको छु,’ व्यापारी भन्छन्, ‘कुकुरको मुखबाट खाना खोसेर खाएको मान्छेबाट त्यति धेरै आस्था पनि राख्नुहुन्न ।’ लगाउने कपडाको अभावमा लाज ढाक्न मच्छड झुल ओडे र त्यही आस्था लुकाउन साँझमात्रै बाहिर निस्कने गरेको सुनाउँछन्, उनी ।

जब उनी २० वर्षको उमेर बाँचिरहेका थिए, त्यतिबेला भारतमा नश्लवादीले भोकविरुद्ध युद्ध घोषणा गरे । चिया पसलमा कसैले भोकविरुद्ध आन्दोलन सुरु भएको थाहा पाएपछि उनी पनि त्यहीबाट ‘आन्दोलनकारी’ बनेका थिए । भन्छन्, ‘नश्लवादी र सरकारको लडाइँ भइरहेको थियो । शरीरमा कपडा थिएन । किन प्रहरीले समायो सोध्दा उत्तर थियो, भोकको विरुद्ध,’ भन्छन्, ‘चिया पसलमा पाइने ज्ञान विश्वविद्यलायमा पाइँदैन । मैले चिया पसलबाट ज्ञान प्राप्त गरें ।’

जब व्यापारी ठीक २४ वर्षको उमेरमा दौडिरहेका थिए । त्यतिबेलासम्म पनि उनी साँवा अक्षर चिन्दैन थिए, जान्दैन थिए । तर, नश्लवादीको पक्ष लिएर आन्दोलनमा होमिएकै कारण जेल परे । त्यसपछि उनको जीवनले नयाँ कोल्टे फेर्‍यो । जेलमै त हो उनले अक्षर चिनेको । जेलमा पनि शब्द नचिनेकै कारण थप दुख पाए । त्यही दुखले उनले पढ्न सिक्न थाले ।

युद्ध, आन्दोलनबारे व्यापारीको आफ्नै तर्क र सिद्धान्त छ । उनी कुनै वादबाट उत्पे्ररित भएर आन्दोनल वा विद्रोह गर्छन् भन्ने मान्न तयार छैनन् । भन्छ्न, ‘जब समाजमा शोषण हुन्छ । तब जनता बोल्छन् । उनीहरु आफ्नै कारण लड्छन् । उनीहरु माक्र्स, लेनिनवाद या माओवाद पढेर युद्ध गर्दैनन् ।’

सामान्य रिक्सा चालक आज भारतको ‘बेस्ट सेलर’ लेखक भएको छ । उनी आफू रिक्सा चालकबाट सफल लेखकसम्म पुग्नुमा आफ्नो इच्छाशक्ति भएको बताउँछन् । भन्छन्, ‘जो जिउन चाहन्छन् । उनीहरुलाई मार्न कसैको क्षमता हुँदैन । म पनि स्कुल गइन । अक्षर जानिनँ । तर पत्थर तोडेर आफ्नो नाम उच्च बनाएँ । यसरी त यहाँ आए ।’

लेखनसम्म पुग्नुमा मनोरञ्जनको केही रोचक कथा छ । एकदिन उनी आफ्नै रिक्सा चलाइरहेका थिए । त्यसदिन बिहान उनी एउटा किताबमा पढेका थिए, ‘जीजिविषा ।’ शब्द त पढे तर, अर्थ थाहा भएन । रिक्सामा एउटी महिला चढ्न आइन् । उनले तिनै महिलालाई साधे, जीजिविषा भनेको केहो ?’ उत्तरमा पाए, ‘जिनेकी तमन्ना । अर्थात बाँच्ने रहर । तर तिमीले कहाँ पढ्यौ ?’

आफू धेरै पढ्ने र किताब प्रेमी भएको बताएपछि ती महिलाले भनिछन्, ‘म पनि पत्रिका निकाल्छु । त्यसमा केही लेख न त ।’ त्यसदिन थाहा भयो उनी महास्वेतादेवी रहेछिन् । महास्वेतादेवीलाई आफ्नै रिक्सामा भेटेपछि आफूलाई रोक्न सकेनन्, खुट्टामा झुके ।

जब पछि साँच्चिकै उनले लेखेको स्टोरी पत्रिकामा छापियो । धेरैले पत्याएनन् । तर, केही समयपछि अरुले पनि माग्न थाले । दिन थाले । ‘सुरुमा छापिइसकेपछि कसैले पनि पत्याएन । तर, पछि सबैले माग्न थाले । लेख्दै गएपछि लेखक भएँ,’ उनी सुनाउँछन् ।

आफूले धेरै अध्ययन नगरेको तर, जति अध्ययन गरेको त्यति भने पुग्दो भएको उनले सुनाए । पोखरामा भइरहेको नेपाल लिटरेचर महोत्सवमा दिनेश काफ्लेसँग कुरा गर्दै उनले भने, ‘मेरा मन पर्ने लेखक ४ जनामात्रै छन्, महास्वेतादेवी, समरेज बशु, विनय मोहम्मद र श्रीलाल शुक्र ।’ उनी आफ्नो किताब कथा नभएर सत्यतामा आधारित हुने बताउँछन् ।

‘हर कहानी र कथामा लेखक आफैं मौजुद हुन्छ । लेखक जिइरहेको हुन्छ । मेरो किताबमा पनि कहीं न कहीं बाँचेको छु,’ भन्छन्, ‘मेरो किताबमा साहित्य नखोजेहुन्छ । तर, सत्य भेटिन्छ ।’

उनी आफू लेखक भूइँमान्छेको कथा आफैं उत्तार्न नै बनेको सुनाउँछन् । ‘आफ्नो किताबमा मैले त आफ्नो जीवन उतारेको हुँ । जुन तपाईंलाई विश्वास नै छैन । कहिले भोग्नु भएको छैन,’ भन्छन्, मान्छेहरु घरको अग्लो छतबाट रिक्सावालको कथा लेख्छन् । तर, उनीहरु दैनिकी कसरी गुजारिरहेको छ , त्यो जान्दैनन् । त्यही देखाउन नै मेरो लेखन सुरु भएको हो ।’

सम्बन्धित खबर