बिहिबार, २५ असार २०७७
samadhannews
nepal telecome

जसले पैसा हाल्यो लोकगीत उसकै हो

आइतबार, २९ मङि्सर २०७६
1650 पटक पढिएको

समाधान संवाददाता, पाेखरा

पहिला पहिला सबैले चिनून् २÷४ जनाले ‘नोटिस’ गरून् भनेर चर्चित हुनकै लागि गाइन्थ्यो । तर म ठ्याक्कै गीत गाएरै चर्चित हुन्छु भन्ने थिएन । जे गरेर भए पनि मान्छेले ‘नोटिस’ गर्ने हुन्छु भन्ने थियो । बीचमा केही समय भात खानलाई पनि गीत गाइयो । गीत गाउँदा धेरै अवसर पाइने, प्रतियोगिताहरूमा जितिने र पैसा पाइने । त्यसले कोठाभाडा तिर्न सकिने ।

जीवनकालमा समयअनुसार आफ्नो रूचि, बाध्यता, आफ्ना सपना परिवर्तन हुँदै जानेरहेछन् । आठ÷नौ वर्षको हुँदा फिल्म खेलेर हुन्छ कि, किताब लेखेर हुन्छ कि गीत गाएर हुन्छ, कसैले चिनोस् भन्ने थियो । प्लस टु पढ्ने बेला हाम्रो समाजै त्यस्तो भइदियो कि लोक गीतबाट मैले छिटो अवसर पाएँ ।

हाम्रोमा साहित्यिक सम्मेलन, पुस्तक, पत्रपत्रिका निकाल्ने धेरै थिएन । फिल्म खेल्न पहुँच थिएन । त्यहाँ हुन्थ्यो के भने, लोकगीत कार्यक्रम र प्रतिस्पर्धा हुन्थ्यो । मेला महोत्सव हुन्थ्यो । त्यहाँ बढी लोकगीतका दर्शक÷स्रोता हुन्थे ।

त्यही पनि लोकगीत गाएर हिट हुन्छु भन्ने थिएन । स्वतस्फूर्त म लोकगीत÷संगीततिर धकेलिएको हुँ । मैले पहिलोचोटी गीत सुन्दा कुनै रेडियो वा सञ्चारमाध्यम वा टेप रेकर्डरबाट सुनेको हैन । मेरै गाउँमा मेरो हजुरबाले गाएको कुनै एउटा भजन सुनेको हुँ । मेरी आमाले गाएका रत्यौली सुनेको हुँ ।

हाम्रो देशको सञ्चार र प्रविधिको गति यति छिटो परिवर्तन भइदियो कि मैले उत्ति नै खेर, केही महिनापछि टेपरेकर्डरबाट गीत सुन्न थालेँ । मेरो सानो मस्तिष्कमा समाजका गीतहरूले प्रभाव पारिरहेको थियो । भजन, रत्यौली र त्यहाँको पञ्चेबाजामा बजाइने लोकलयहरू बसिरहेको थियो । कालान्तरमा रेडियाबाट जे सुने, त्यहीँबाट सिक्न थालेँ ।

ती गीत ‘ओरिजिनल’ लोकगीतभन्दा अलि परिमार्जित र परिष्कृत थिए । अहिले पनि धेरै ठाउँमा लोकगीत गाउने÷बजाउने चलन छ, तर पहिलाकै जस्तै छैन । तर मैले गीत बनाउँदा यो÷यो ठाउँ घुम्छु र यो÷यो भाका टिपेर रेकर्ड गर्छु भनेँ । यो मैले दुःख पाउने काम थियो हो । किनकी, हाम्रो क्षेत्र बाग्लुङतिर यो चलन धेरै घटिसकेको छ ।

पहिला जस्तो कम्तिमा हप्ताको एकचोटी भजन, रत्यौली वा पञ्चेबाजा गाउने चलन कम भइसकेको छ । चोखो भाकाहरू अहिले पाइँदैनन् । हामी पुरानो भाकाबाट प्रभावित हुन्छौं । मैले हरिदेवी कोइरालाको ‘पाइनँ खबर’ सुनेँ भने ‘ए लोकगीत भनेको यस्तो हुन्छ’ भन्ने हुन्छ । र मैले कुनै नयाँ गीत बनाएँ भनेँ उहाँले आफ्नो परिवेशमै बसेर बनाएजस्तो गीत बनाउन सक्दिनँ ।

मैले त्यहाँको समाज नै देखेको छैन, म त त्यो समाजमा छँदै छैन । म त काठमाडौंमा हुन्छु । मेरो मस्तिष्क र मेरा गीत मिडियाबाट प्रभावित भइसकेको छ । मैले ती गीतबाट प्रभावित हुँदै लोकगीत बनाउँछु । त्यसमा प्राविधिक रूपमा केही परिस्कृत गरेर नयाँ गीत बनाउँछु ।

मेरो चर्चित गीत ‘गलबन्दी च्यातियो’ विवादमा तानिएपछि लोकगीत कसको हो भन्ने प्रश्न पनि उठेको छ । अहिलेको सन्दर्भमा जसले पैसा हाल्यो लोकगीत उसकै हो । तर लोकको अर्थ के हुँदोरहेछ भने कसैको पनि औपचारिक अधिकार नभएको । वर्षौंदेखि पुस्तादेखि पुस्ता हस्तान्तरण हुँदै आएको ।

जसरी यो पहाड खोलानाला, घाम र हामी कसरी बन्यौं भनेजस्तै हाम्रो गाउँमा गाइने भजन पहिलोचोटी कसले बनाएको हो ? मैले त पहिलोचोटी मेरो हजुरबाले ‘मायै मायामा चलेको छ संसार’ भन्ने गीत सुनेँ । मेरो हजुरबाले पनि आफ्नो हजुरबाबाट सुन्दै आएको भाका हो । तर म आफूलाई व्यक्तिगत रुपमा लोकगीतको विषयमा अभागी पुस्ता सम्झन्छु । किनभने हाम्रो समयमा आउँदा हाम्रो समाजको दृष्टिकोण र जीवनशैली पनि परिवर्तन भएको छ ।

तर लोकगीतप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन । लोकगीत भनेकै चराचुरुंगी कराएको, उकाली÷ओराली गरेको, दाउरा, घाँस काटेको, परपर पधेँरीमा पानी लिन गएको, रातभरि जाँतो पिसेर गाउने गीतलाई मानिन्छ ।

तर हाम्रो पुस्ताको जीवनशैली र लवाइखवाइ फेरिइरहेको छ । मेरो गीतमा हाम्रै पुस्ताको शैली आउनु स्वभाविक जस्तो लाग्छ । तर मैले भनिहालेँ, हामी अभागी पुस्ता हौं । हामीले लोकगीत गाउँदा अलिकति ट्रयाक छोड्यौं भने गाली खाइन्छ । मैले दोहोरी ‘ब्याटल’ गरेपछि गीत बिगारेँ भनेर भयंकर गाली खाएँ । यही फेवाताल किनारमा मैले छायांकन गरेको थिएँ । अघिल्लो पुस्ताले गीत बिगा¥यो भनेर कति त म हिँडेको बाटै हिँड्नुभएन । तर मेरो पुस्ताले ‘क्या दामी यार । ब्रो दोहोरी त खतरा हुँदोरैछ नि’ भने ।

किनभने लोकगीत भन्नेबित्तिकै म ‘कन्फ्युज’ हुन्छु । लोकगीत भनेको भाषा हो कि, चालचलन र संस्कार हो कि म आज पनि स्पष्ट छैन । लोकगीत मात्रै हैन, अरू खालका विषयका कुरा पनि भाइरल हुने संस्कार बसिसकेको छ ।

पत्रकारिताको माध्यमबाट होस् चाहे लेखनको माध्यमबाट, कुनै सामाजिक चरित्र वा गीत संगीतको माध्यमबाट होस् विभिन्न माध्यमबाट भाइरल हुने काम भइरहेको छ । यो लोकगीतमा मात्र लागु हुँदैन ।

(पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गायक सपुतले व्यक्त गरेको विचारको सम्पादित अंश)

सम्बन्धित खबर