शुक्रबार, १० माघ २०७६
samadhannews
nepal telecome

बालबालिकालाई मोबाइल कोकिन सरह

आइतबार, २९ मङि्सर २०७६
313240 पटक पढिएको

अमृत सुवेदी
पोखरा २८

बच्चा अगाडि प्लेटमा खाना । आँखा र ध्यान मोबाइलमा । मोबाइलमा देखाइन्छ, कुनै कार्टुन वा युट्युबमा बजिरहेको हुन्छ कुनै गीत । आजकाल बच्चालाई यसरी खाना खुवाइन्छ । अहिलेका बालबालिका मोबाइल नहेरी खानै खाँदैनन् । बालबालिकाको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको यस्तै चिन्ता छ । उनीहरु भन्छन्, ‘हाम्रा बाबुनानी मोबाइल वा टिभीबिना रहनै नसक्ने भए । बालबालिकालाई अभिभावकले एडिक्ट बनाइरहका छन् ।’

खासमा बालबालिकाको हातमा हुनुपर्ने के हो ? मोबाइल कि पुस्तक ? नेपाल लिचरेचर फेस्टिभलको दोस्रो दिनको एउटा सत्रमा यही विषयमा छलफल भएको छ । सत्रको नाम थियो, ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ छलफलमा थिए, मनोपरामर्शदाता करुणा कुँवर, विद्यालयमा सामाजिक शिक्षालाई नेपालीमा बनाउन अभियान चलाइरहेका इन्जिनियर डाक्टर वसन्त गौतम र साहित्यकार तथा लेखक बिना थिङ तामाङ । उनीहरुसँग सहजीकरणमा थिए, भवसागर घिमिरे ।

मोबाइल हेरेर मात्र खाना खाने गरी अभिभावककै कारण बालबालिकालाई एडिक्ट बनाएको बिना थिङले बताइन् । मोबाइल बालबालिकाको होइन यो अभिभावकको समस्या भएको मनोपरामर्शविद करुणाको भनाइ छ ।

‘अभिभावकले आफ्ना लागि कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन् । बालबालिकाका विषयमा सोच्दैनन् । यदी अभिभावक सचेत भएको भए आज यो विषयमा छलफल नै गर्नु पर्दैनथ्यो,’ लागु पदार्थ कोकिन र मोबाइल प्रयोगलाई जोड्दै कुँवरले भनिन्, ‘अभिभावकले बालबालिकालाई कोकिन दिइरहनुभएको छ, आफैं पनि कोकिन प्रयोगकर्ता भइरहनुभएको छ ।’

स्क्रिन टचवाला ग्याजेटको प्रयोगले विषयको कारण वा प्रश्न गर्ने ब्रेनलाई कोकिन प्रयोग गरेजत्तिकै असर गरिरहेको एकअध्ययनले देखाएको कुँवरले बताइन् । बढी इन्टरनेट एडिक्सनमा लाग्ने रोगको नामाकरणसमेत भइरहेको र त्यसलाई सेल्फी टी भनिने उनको भनाइ थियो । सेल्फी लिएर अपलोड गर्न असाध्यै उत्सुक रहने र कहिलेकाँही बिरामी भएर भर्ना नै गर्नुपर्ने अवस्थासमेत यो रोगबाट आउने कुँवरले बताइन् । इन्टरनेट अडिक्सन भनेर रोककै रुपमा प्रमाणित भइसकेको पनि कुँवरको भनाइ थियो ।

डा. वसन्तले बालबालिकाको कल्पनाशीलता टिभीले नै मार्छ भन्ने विकसित देशमा धेरै पहिले आइसकेको र अहिलेमात्र नेपालमा ग्याजेटको विषय आइपुगेको बताए । ‘जापानजस्तो विकसित देशमा पनि बालबालिका हुर्काउने ग्याजेट होइन किताब चाहिन्छ भन्ने छ,’ उनले भने, ‘घरबाहिर उनीहरुले खेल्ने ठाउँ नै छैन । परिवारले पनि पढाइमा आकर्षित गर्न खाजेकै छैनौं । विद्यालयमा त रटान भइहाल्यो ।’

बिना थिङले अहिले यो घरघरको समस्या भएको बताइन् । अभिभावकले बालबालिकालाई मन्द विष खुवाइरहेको उनको भनाइ थियो । सूचनासँग नजिक हुनैपर्छ तर कुन समयपछि ? भन्ने कुराको सूची बनाउनुपर्ने उनको भनाइ थियो । ‘अभिभावकलेमात्र गरेर हुँदैन । हाम्रा केटाकेटी भ्रममा बाँचिरहेका छन् । बच्चाहरुको सहभागितामा रुटिङ बनाऔं । माथिबाट नलादौं । शिक्षकहरुले चाहने हो भने पठन संस्कृतिको विकास गराउन सक्छन्,’ उनले भनिन्, ‘घरबाहिरका कार्यक्रममा उनीहरुलाई आकर्षित गराउनुपर्‍यो ।’

मनोमरामर्शविाद करुणाले आफ्नो घरको अनुभव पनि सुनाइन् । ‘१३ वर्षकी छोरी र ८ वर्षको छोरो छ । उनीहरुलाई ग्याजेटबाट टाढा राख्न प्रोजेक्ट वर्क नै आयो भने केही समय दिएर काम गराउँछु । एउटा कोठमामात्र चल्ने गरी इन्टरनेटको व्यवस्था मिलाएकी छु । त्यसले मनिटरिङ गर्न सजिलो भयो । टच स्क्रिन सामान प्रयोग गर्न अहिलेसम्म दिएको छैन,’ उनले भनिन्, ‘जब सुरुदेखि नै बानी पार्दै लगेपछि समस्या गर्दैन । समस्या त मोबाइलको बानी परेसकेपछि पर्ने हो ।’

अहिलेको अवस्थामा एकातिर हजुरबा आमा एक्लो, अर्कोतिर बालबालिका एक्लो भइरहेको उनीहरुको निचोड थियो । अहिलेका अभिभावकसँग बालबालिकाकालाई सुनाउने कथा नै नरहेको बिनाको भनाइ थियो ।

‘अभिभावकहरुसँग बाबुनानीलाई भन्ने कथा नै छैन । हजुरबा आमासँग टाढा छन् केही कथा सुनाउने ट्रेन्डलाई जनयुद्धले पनि असर गर्‍यो,’ उनले भनिन्, ‘अहिले जमाना बदलियो, एकपछि अर्को युट्युबमा हेरिरहेका छन् । बालबालिका डल हुँदै गइरहेका छन् ।’

डा. वसन्तले बिल गेट्स्जस्तो धनाढ्य व्यक्तिले पनि १४ वर्ष पुगेपछिमात्रै मोबाइल दिएको किताबमै लेखेको स्मरण गर्दै समयअनुसार प्लान बनाउनुपर्ने बताए ‘मोबाइल बिनाको जीवन त अब हुँदै हुँदैन । यत्ति हो त्यसको प्रयोग कसरी गर्ने बालबालिकाकालाई सिकाउने हो । पठन संस्कृतितर्फ बालबालिकालाई आकर्षित गराउने तरिका खोज्नुपर्‍यो,’ डा. वसन्तले भने ।

अत्याधिक मोबाइल प्रयोगका कारण छटपटाउने, नखाने, नसुत्ने र बिरामी पर्दै जाने समस्या बालबालिकामा देखिने कुँवरले बताइन् । ११ वर्षमाथि सबैभन्दा बढी टिनऐजमै धेरै साइबर क्राइमका घटना भइरहेको उनको भनाइ थियो ।

‘हाम्रा बालबालिकाले के गर्दै छन्, कोसँग कुरा गर्दै छन् भनेर अभिभावकले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अभिभावकले बालबालिकालाई ग्याजेट दिँदा गर्वको महसुस गर्न छोड्नुपर्छ । पहिले आफ्नो मनिटरिङ गर्नुस् । तपाई आफैं सामाजिक सञ्चालनमा कति भुलिरहनुभएको छ । मूल्यांकन गर्नुस् ।’

सम्बन्धित खबर