बुधबार, ०७ फागुन २०७६
samadhannews
nepal telecome

बाग्चीलाई डिएससी साहित्य पुरस्कार प्रदान गर्दै सकियो आठाैं साहित्य महोत्सव

मङ्गलबार, ०१ पुष २०७६
1020 पटक पढिएको

समाधान संवाददाता
पोखरा

भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ लाई डिएससी दक्षिण एसियाली साहित्य पुरस्कार प्रदान गर्दै आएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण सोमबार सकिएको छ । देशविदेशमा साहित्यपारखीको उपस्थितिमा फेवा किनारमा चलेको महोत्सव विगत भन्दा भव्य भएको सहभागीले प्रतिक्रिया दिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाग्चीलाई २५ हजार डलरको (२७ लाख ५० हजार रुपैयाँ) राशिको पुरस्कार प्रदान गरे । पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’ मा परेका थिए । जसमा ‘हाफ द नाइट इज गन’ वाहेक मनोरञ्जन व्यापारी लिखित देयर इज गनपाउडर इन द एअर, माधुरी विजयको द फार फिल्ड, राजकमल झा लिखित द सिटी एन्ड द सी, पाकिस्तानी मूलका अमेरिकी लेखकद्वय सादिया अब्बास र जामिल जान कोचाईको क्रमशः द इम्प्टी रुम र नाइन्टीनाइन नाइट्स इन लोगार थिए । सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक विख्यात लेखक, साहित्यकार हरिश त्रिवेदी (भारत), जेरेमी ट्यम्बिङ (बेलायत), कारमेन विक्रमागामागे (श्रीलंका), रिफत मुनिम (बाङ्लादेश) र कुन्द दीक्षित (नेपाल) पुरस्कार घोषणा समारोहमा उपस्थित थिए ।

महोत्सवको अन्तिम दिन सोमबार नायक विपीन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरीसम्मले बहस गरे । महोत्सवकै अवसर पारेर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो कास्कीको लेखनाथ नगरपालिकामा पर्ने अर्घाैं अर्चलेमा शिरोमणि संग्रहालय अवलोकन, शिरोमणि विमर्श, काव्यवाचन तथा पदयात्रा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सनतकुमार वस्तीले लेखनाथ पौड्यालको कृति र प्रवृत्तिबारे जानकारी दिए । रोचक घिमिरेले पौड्यालका केही आनीबानी एवम् स्वभावगत किस्सा सुनाए । माधव वियोगीले पौड्यालका केही कविता वाचन गरे । उक्त अवसरमा अमर न्यौपानेले लेखनाथ नचिन्दै उनका कवितासँग प्रेम भएको प्रसंगसहित उनको कवितामा पाइने वेदान्त दर्शनबारे धारणा राखेका थिए । साथै कार्यक्रमका सहभागीले संग्रहालय अवलोकन गरे । वक्ताले काव्यवाचन गरेपछि सुरु भएको पदयात्रा अर्घाैंदेखि कालिकासम्म पुगेर टुंगिएको थियो ।

सोमबारको पहिलो सत्र रह्यो, पात्रको तयारी । यसमा स्वेच्छा राउतसँग गफिए, विपीन कार्की, सुरक्षा पन्त र सौगात मल्ल । यो सेसनमा उनीहरुले फिल्ममा पात्रको भूमिका निर्वाह गर्न अपनाएका र गरेका संघर्षको बेलिविस्तार लगाए । महिनौं लगाएर गरेको तयारीपछि फिल्म आउँदा आफूहरु एक्साइटेड हुने गरेको उनीहरुको भनाइ थियो । कतिपय अवस्थामा पात्रको तयारी नगरी पनि सुटिङ गर्नुपर्दाका क्षणहरुबारे पनि उनीहरुले बेलिविस्तार लगाए । पछिल्लो समयमा बनिरहेका फिल्ममा नायकनायिका मात्र नभई सहायक अर्थात् सहनायकको भूमिका पनि खोजी हुन थालेको उनीहरुले बताए । साथै कतिपय अवस्थामा सहायक पात्रलाई पनि स्थापित गर्न सकिने उनीहरुको भनाइ थियो । फिल्मभरि अभिनय हुँदैमा त्यो नायकनायिका हुने र छोटो भूमिका हुँदा सहनायक हुने अवस्था नरहेको उनीहरुले बताए । त्यो त पात्रले निर्वाह गर्ने भूमिका र अभिनयले निर्देश गर्ने उनीहरुको भनाइ थियो ।

महोत्सवमा अर्काे सेसन रह्यो, विदेशी मिडियामा नेपाल । यसमा सुम्निमा उदास, दीपक अधिकारी, रजनीश भण्डारीलाई छलफलमा उतारे पावन माथेमाले । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरेका उदास, अधिकारी र भण्डारीले त्यहाँका सञ्चारमाध्यमले नेपालका विविध पाटोलाई कसरी हेरिरहेका छन् भन्ने मात्र जानकारी गराएनन्, सँगै नेपालका सम्पदालगायत कला, संस्कृति आदिलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्नेमा पनि बहस गरे । विदेशी मिडियामा नेपालका सगरमाथा, कुमारी जात्रा आदि विषयले कसरी स्थान पाएका छन्, कस्ताकस्ता इस्युमा अन्तर्राष्ट्रिय मिडियाले कभरेज गर्न चाहन्छन् भन्ने विषयमा पनि उनीहरुले छलफल गरे । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसअघि गएको भूकम्पलगायतका बेला विदेशी मिडियाले नेपाललाई कसरी केन्द्रमा राखेर समाचार प्रकाशन, प्रसारण गरे भन्ने विषयमा समेत चर्चा भयो ।

यही समयमा आफ्नै गाउँ फर्की आएँ शीर्षकमा अनुप बराल, राम गुरुङ र सरस्वती प्रतीक्षा छलफलमा उत्रिए । कर्मथलो छाडेर आफ्नो जन्मथलोबाटै सुकर्म गरिरहेका अर्थात् समाजको विकासमा केही गरौं भनेर लागिपरेका बराल र गुरुङले बाल्यकालदेखि युवावस्थासम्म आफ्नो गाउँठाउँलाई कसरी, कस्तोकस्तो अवस्थामा देखियो भन्नेबारे चर्चा गरे ।

महोत्सवमा इङ्लिस एन्ड भर्नाकुलर लिटरेचर्स इन साउथ एसिया शीर्षकमा पनि बहस भयो । यो शीर्षकमा हरिश त्रिवेदीसँग सञ्जीव उप्रेतीले अन्तर्संवाद गरे । उनीहरुले दक्षिण एसियामा अंग्रेजी भाषा एवम् त्यसका भाषिकाको अवस्थाबारे चर्चापरिचर्चा गरे ।

महोत्सवमा छाउ विद्रोह शीर्षकमा पनि संवाद चल्यो । यसमा थिए, मोहना अन्सारी, शृंखला खतिवडा, मेनुका ढुंगाना र राज सरगम । उनीहरुले पश्चिम नेपालमा व्याप्त रुढीवादी परम्परा छाउबारे छलफल गरे । छाउ जस्तो कुसंस्कार समाजमा व्याप्त रहेसम्म यहाँको विकास सम्भव नहुनेमा उनीहरुले जोड दिए । यसको अन्त्यका लागि समाजमा सर्वप्रथम सचेतना जगाउनुपर्ने र त्यसका लागि राज्यका तर्फबाट पहलकदमी आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

महोत्सवको अर्काे सत्र रह्यो, कहाँ आइपुग्यो सिंहदरबार ? यो सत्रमा सहभागी थिए, मानबहादुर जिसी, किरण गुरुङ र सोमलाल सुवेदी । उनीहरुलाई छलफलमा ल्याए, अमृत सुवेदीले । नेपाल संघीयतामा गएर तीनै तहको निर्वाचन भएर गाउँगाउँमा सिंहदरबार जाने भनिए पनि जनताले त्यो सुविधा नपाएको उनीहरुले बताए । त्यसमा केन्द्र सरकारले अझै पनि आफूले स्थानीय एवम् प्रदेश सरकारलाई अधिकार दिन अप्ठ्यारो मानेको उनीहरुको भनाइ थियो । जबसम्म स्थानीय एवम् प्रदेश सरकारलाई स्वायत्त बनाइँदैन, तबसम्म विकास सम्भव नभएको उनीहरुले बताए । साथै स्थानीय एवम् प्रदेश सरकारले आआफ्नो क्षेत्रबाट काम गरिरहे पनि त्यसको प्रभाव देखिन केही समय लाग्ने उनीहरुको धारणा थियो । यही समयमा अर्काे सेसन चल्यो, राइटिङ दि पास्ट । यसमा अमिताभ बाग्ची र अजपा शर्माले छलफल गरे । विगतमा फर्किएर लेख्नु गाह्रो काम रहेको उनीहरुले बताए । साथै लेखनका लागि धेरैजसो इतिहासमा भर पर्नुपर्ने बाध्यता रहेको उनीहरुकोउ भनाइ थियो ।

यसपछिको अर्काे सेसन रह्यो, शिवालिक सभ्यताको । यसमा सौरभको एकल प्रस्तुति रह्यो । सौरभले शिवालिक सभ्यताको सुरुवात, यसबारेका भ्रम, यसको विस्तारलगायत विषयमा आधारित रहेर आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । शिवलेकको एकतिहाइ दक्षिण र उत्तर क्षेत्र लिएर नेपाल निर्माण भएको उनले बताए । यससम्बन्धी पुरातात्विक वस्तु भने नपाइएको उनको भनाइ छ । शिवालिकका सबै सभ्यतामा पुग्न एउटा सामान्य खोजबाट नसकिने उनले बताए । नेपालमा नेवार, खस र मैथिली सभ्यता रहेको उनको भनाइ छ । यसलाई नेपाल एवम् नेपालीहरुले गोरव गर्नुपर्ने उनले बताए । महोत्सवमा हाउ सेल्फी जर्नलिज्म इज अन्डस्ट्र्यान्डिङ डेमोक्रेसी सेसन चल्यो । यसका वक्ताहरुले पछिल्लो समय पहिलो हुने नाउँमा जथाभावी समाचार प्रसारण गरिरहेको अवस्थाबारे चर्चापरिचर्चा गरे । साथै त्यसले लोकतन्त्रमै खतरा निम्त्याउने उनीहरुको भनाइ थियो ।

यसपछि थियो, हिन्दी कविता वाचन र मानुषी विमर्श । उक्त समयमा कुलदीप कुमारले हिन्दी कविता वाचन गरे भने प्रदीप गिरीले मानुषी विमर्शमा धारणा राखे ।

सम्बन्धित खबर