आइतबार, ११ असोज २०७७
samadhannews
Bardan Online

आफ्नै गाउँ फर्की आएँ

मङ्गलबार, ०१ पुष २०७६

समाधान संवाददाता
पोखरा

रंगकर्मी अनुप बराल २ महिनादेखि पोखरामा रंगकर्ममा लागिरहेका छन् । उनका लागि पोखरा नयाँ ठाउँ होइन । उनले यहीँबाट रंगकर्मका सुरूआती चरण पार गरेका थिए ।

२ दशकअघि एक कविले ‘अनुपलाई रोक पोखरा’ भन्ने कविता लेखे । कविताले अनुपलाई रोक्न सकेन । उनी काठमाडौं पुगे । काठमाडौंले पनि अनुपलाई रोकेन । रंगकर्मको भोक मेटाउन उनी मुम्बईस्थित नेसनल स्कुल अफ ड्रामामा अध्ययन गर्न पुगे । भारतको रंगकर्ममा चर्चित हस्ती जन्माएको यो कलेजमा ३ वर्ष अध्ययन गर्दा धेरैले यो स्कुललाई ‘पागलहरू बस्ने ठाउँ’ भन्थे ।

नभनून् पनि किन ? स्कुलमा परीक्षा दिन कुनै कक्षाकोठामा बसेर होसियारीपूर्वक लेख्न पर्दैनथ्यो । १ महिनाअघि नै सूचना बोर्डमा परीक्षाका प्रश्न टाँसिएका हुन्थे । यो परीक्षा होस्टलमा बसेर वा शिक्षकसँग बसेर पनि दिन पाइन्थ्यो ।

अध्ययनमा लेक्चरभन्दा बढी अभ्यास हुन्थ्यो । दाहिने हातले लेख्नेलाई देब्रे हातले लेख्न लगाउँथे । परीक्षामा सोधिने प्रश्नको उत्तर कुनै पनि पुस्तकमा पाइँदैनथ्यो । भारतका चर्चित अभिनेता जन्माउने यस स्कुलमा ३ वर्ष पढेपछि अनुप काठमाडौं फर्किए । उनलाई मुम्बईमै बसेर रंगकर्ममा लाग्ने अवसर पनि थियो । सहकर्मीले कर पनि गरिरहेका थिए ।

अनुपलाई त्यतिबेलै लागेछ, ‘नेपाली भाषा र संस्कृतिमा आधारित भएर जति काम गर्न सक्छु, त्यति विदेशमा सक्दिनँ ।’ काठमाडौं फर्किँदा पनि रंगमञ्चको अभाव थियो । अनुपले रंगमञ्चलाई अघि बढाए । उनका उत्पादन दयाहाङ राई, सृजना सुब्बा लगायत अहिले नेपाली रंगमञ्चमा सफल छन् ।

पोखराबाटै रंगमञ्चमा लागेका अनुप काठमाडौं–मुम्बई–काठमाडौं हुँदै फेरि पोखरा फर्किएका छन् । नेपाल साहित्य महोत्सवमा लेखक सरस्वती प्रतीक्षाले उनलाई सोधेकी थिइन्, ‘पोखराको गति र तपाईंको गति मिलेको छ ?’

अनुपले जवाफ फर्काए, ‘पोखराको गति नै मेरो गति हो ।’ उनको एउटा पुरानो सपना रहेछ ः बाकसमा जतन गरी राखेको । ‘त्यसैलाई समात्ने कोशिस गरराखेको छु,’ अनुपले भने ।

अनुप अहिले पोखरामा रंगमञ्च जमाउने ‘स्पेस’ खोजिरहेका छन्, रंगकर्मका सबै गतिविधि गर्न सकियोस् । १ एउटा सहरलाई जीवन्त बनाउन पनि कलाकर्म चाहिने महसुस गरेको उनले सुनाए ।

प्रस्तोता प्रतीक्षाको प्रश्नमा उनले आफू जन्मिएको ठाउँमा अभिभावकसँग बस्न पनि पोखरा फर्किएको बताए । रंगकर्मका लागि स्पेस आफैं बनाउने बताएका अनुपले भने, ‘मनले पोखरा फर्कौं भन्यो, मानेँ । राम्रो काम आफैंले सुरू गर्नुपर्छ ।’

‘आफ्नै गाउँ फर्की आएँ’ सत्रको प्यानलमा रंगकर्मी अनुपसँगै युवा उद्यमी राम गुरुङ थिए । लेखक सरस्वती प्रतीक्षाले सुरूमै भनिन्, ‘धेरै देशले वस्तु उत्पादन गर्छ र विदेश निर्यात गर्छ । हामी यस्तो देशमा छौं, जहाँ युवा उत्पादन गरेर विदेश निर्यात गर्छौं ।’

यसरी नै विदेश निर्यात हुन चाहेका थिए, कास्की घलेलका राम गुरुङ । २०५८ सालमा उनी बेलायत जान लाग्दा दलालको फन्दामा परे । भारतको बाटो हुँदै बेलायत जान खोज्दा भिसा नक्कली प¥यो । मुम्बई एयरपोर्टबाट बेलायतका लागि जहाज चढे । जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा थप यात्रु राख्न ओर्लियो । जहाजभित्रै बसिरहेका गुरुङलाई अचानक दिल्लीका अध्यागमनका सुरक्षाकर्मीले पक्राउ गरे ।

गुरुङ दक्षिण एसियाकै ठूलो तिहाड जेल पुगे । भारतका विद्यार्थी नेता कन्हैया कुमार जेल बसेपछि तिहाड जेल अझ चर्चित भएको छ । दसैं तिहार छेक थियो । तिहाड जेलबाहिर पनि दसैं उत्सव चलिरहेको थियो । बाहिर पटका पड्काएर मनोरञ्जन लिइरहेका थिए । गुरुङ भने यो अन्कन्टार जेलमा आँसु चुहाइरहेका थिए ।

साढे २ महिना जेल बसेपछि उनी डेढ लाख धरौटीमा रिहा भए । उनलाई रिहा गर्न पारिवारिक स्तरमा सम्बन्ध रहेका पोखराका किरणलाल श्रेष्ठ गएका थिए । छुटेपछि उनलाई घर फर्कन मन लागेन । बेलायत जाने भनेर गुरुङले १२ लाख सकिसकेका थिए । गुरुङलाई छुटाउन गएका श्रेष्ठले गाउँ फर्कन ’कन्भिन्स’ गरे । गुरुङ माने, र फर्किए ।

घलेलको बौद्ध सिर्जना युवा क्लबका अध्यक्ष रहेका गुरुङ सामाजिक सेवामा उत्तिकै दत्तचित्त थिए । उनले आफ्नै अगुवाइमा घलेलमा लघु जलविद्युत आयोजना बनाएर गाउँ झिलिमिली पारिसकेका थिए । १९ वर्षकै उमेरमा आफूले यो काम गरेको बताउँदै गुरुङले सुनाए ।

पोखरामा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको प्रदर्शनी हेरेपछि थोरै पानीले पनि बिजुली निकाल्न सकिन्छ भन्ने उनले थाहा पाए । उनले आफ्नो घरमा बिजुली बाल्ने सपना देखे । जब गाउँ गएर यो कुरा गरे, गाउँलेले सबै घरमा बिजुली बाल्न पाउनुपर्ने कुरा राखे । त्यसपछि गाउँ नजिकैको घट्टेखोलाबाट बिजुली निकालियो, गाउँ झिलिमिली भयो ।

नेपालमा माओवादी द्वन्द्व तीव्र थियो । गुरुङका छोरा लाहुरे हुने वा विदेश जाने चलन झनै बढेको थियो ।सन् २००९ मा बेलायती नागरिक रिचल रसेल घलेलकै बमबहादुर घलेल आधारभूत विद्यालयमा स्वयंसेवी बनेर आइन् । ३ महिनाका लागि आएकी रसेलको घलेलकै बुद्धिबहादुर गुरुङसँग प्रेम बस्यो । रसेल बेलायत फर्किइन र आफ्ना प्रियतमलाई पनि बोलाइन् ।

उनीहरू बेलायत गएको ३ वर्षपछि विवाह उत्सव मनाउने निर्णयमा पुगे । संस्कार अनुसार मिल्ने साथीका रुपमा रसेलले राम गुरुङलाई विवाह उत्सवमा सहभागी हुन निम्तो दिइन् ।

गुरुङ बेलायत गए । रसेल दम्पत्ति नियमित काममा जानुपर्ने भएकाले गुरुङलाई लन्डनस्थित वाटरपार्क घुम्न लगाए । पार्कमा ‘केबल स्की’ लगायत खेल र मनोरञ्जनको व्यवस्था थियो । जब गुरुङ वाटरपार्क घुम्न थाले, तालैतालको सहर पोखरामा पनि यो काम गर्न सकिने उनलाई लाग्यो ।

उनले त्यहाँका अधिकारीहरूसँग कुरा गरे । पोखराको दिपाङ तालको फोटो गुगल म्यापबाट दिए । ती बेलायती अधिकारीले दिपाङ तालमाथि केबल स्कीको थ्रिडी भिडियो बनाएर दिए । गुरुङलाई तुरुन्त पोखरा फर्किन मन लाग्यो ।

४ महिना बेलायतमा बिताएर काठमाडौं उत्रिएलगत्तै गुरुङ नेपाल पर्यटन बोर्ड मातहतको पर्यटन उद्योग महाशाखा पुगे । पोखराको दिपाङ तालमा यो खेल खेलाउन सकिने बताए ।

तत्कालीन लेखनाथ नगरपालिकामा निवेदन दिए । सर्वदलीय बैठकमा योजना पेश गरे । भिडियो देखाए । सबैले राम्रो भने । तर जब ताल भाडामा दिने कुरा आयो, त्यसपछि यसो गर्न नसकिने भन्दै सबै पन्छिए ।

यत्तिकैमा गुरुङको भेट नेपालका प्रथम क्यानोनिङ गाइड राजेश लामासँग भयो । लामाले मर्दी हिमाल पदयात्राबाट फर्किँदा घलेलमा राम्रो झरना देखेको सुनाए । यो झरनामा क्यानोनिङ गर्न सकिनेबारे कुरा भएपछि गुरुङले उनलाई बोलाए । लामाले क्यानोनिङको सम्भावनासँगै नेपालका धेरै ठाउँमा काम गर्दा पनि सञ्चालन हुन नसकेको तीतो अनुभव पनि सुनाए ।

घलेलको कुदी झरनामा क्यानोनिङ परीक्षण भयो । त्यो सफल भयो । तर यसलाई निरन्तरता दिन चलाउने मान्छे भेटिएनन् । त्यसपछि गुरुङ आफैंले यो सञ्चालन गरे ।

अमेरिकन क्यानोनिङ एकेडेमीका संस्थापक रिच काल्सनले यो झरनामा क्यानोनिङ गर्न स्थानीय र १६ जिल्लाका युवालाई क्यानोनिङ गाइड तालिम दिए । अहिले पोखरा क्यानोनिङ घलेललाई चिनाउने ब्रान्ड बनेको छ ।

बेलायत जाने सपनाले तिहाड जेल पुगेका गुरुङ बेलायत त पुगेकै थिए । तर उनी त्यहाँ रहिराहन सकेनन्, चाहेनन् । आफ्नै गाउँ फर्केर सामाजिक उद्यमशीलतामा लीन भए ।

समाजसेवा र उद्यमशीलतामा दुवैलाई उत्तिकै समय दिइरहेका गुरुङले पोखराबाहेक अन्यत्र पनि क्यानोनिङ फैलाइरहेका छन् । उनी घान्द्रुक, स्याङ्जा, पर्वत लगायत ठाउँमा पनि युवालाई तालिम दिएर उद्यमी बन्न सघाइरहेका छन् ।

सम्बन्धित खबर