आइतबार, २८ असार २०७७
samadhannews
nepal telecome

लेकसाइड २४ घन्टा खोल्नुपर्छः ज्याक तामाङ

बुधबार, १६ पुष २०७६
4420 पटक पढिएको


पर्यटन व्यवसायमा कसरी आउनु भयो ?
पोखराभन्दा पहिला काठमाडौं झरेको थिएँ म । काठमाडौं झर्दा १७÷१८ वर्षको थिएँ होला ! खोटाङबाट काठमाडौं झरिसकेपछि पर्यटन क्षेत्रमै लागें । ४ वर्ष जति ठमेलमा काम गरें ।

हिप्पीहरु ज्यादा आउँथे । व्यवसायीहरु विदेशीको मात्रै भर पर्ने । नेपालीहरु होटल, रेस्टुरामा त पाइलै नटेक्ने । मैले थाहा पाए अनुसार प्रायजसो होटेलहरु नेपालीलाई त रुम नदिने । यसरी पर्यटन क्षेत्रमा काम गर्दागर्दै मलाई यो व्यवसायमा रुचि सुरु भएको हो । ठमेलमा काम गर्दागर्दै विदेशतिर लागें, ४ वर्ष युरोपमा बिताएँ । स्वदेश फर्किसकेपछि पर्यटन व्यवसायमै लाग्ने पहिलेदेखि नै चाहना थियो । काठमाडौं बस्दा पनि पोखरा त आइरहेकै ठाउँ हो ।

चिनजानका साथीहरु पनि थिए पोखरामा । भेटघाट हुँदा ‘सानोतिनो व्यवसाय केही गरौं न’ भनेर छलफल पनि गथ्र्यौं । पर्यटक रेस्टुराहरु त्यति राम्रो थिएनन् । गोरा साथीहरु पनि थिए मेरो । साथीहरुसँग यसो खान भनेर बस्यो त्यस्तो स्तरीय केही पनि नहुने । पिजा भनेर मगायो । पिजा जस्तो पनि नहुने । साथीहरुले नै, ‘ल है तैले एउटा स्तरीय विदेशी रेस्टुरेन्ट खोलिस् भने राम्रो हुन्छ,’ भनेर सल्लाह दिए । लौ, ट्राई गरौं न त भनेर सुरु गरेको । अहिलेसम्म चलिरहेको छ । यसरी नै मेरो व्यावसायिक जीवन सुरु भयो ।

रेस्टुरेन्टको नाम बिजी बी कसरी जुर्‍यो ?
सुरु गर्ने बेलामा त्यस्तो धेरै सोचेर राखेको नाम त होइन । मान्छेलाई सुन्दा क्याचेबल, फनी टाइपको होस् भन्ने हिसाबले राखेको हो । त्यति धेरै महत्व पनि दिइएन । अलिअलि कन्फ्युज त थिएँ । बिजी बी भन्नेबित्तिकै ‘बच्चाहरुका लागि बनेको रेस्टुरेन्ट हो’ जस्तो ठान्दिने हुन् कि भन्ने पनि लागेको थियो । तर, जुन दिनदेखि व्यवसाय सुरु गर्‍यौं त्यही दिनदेखि नै बिजी बी नाम जस्तै व्यस्त रह्यो । व्यस्त मौरी नै भयो । इन्डियन हिरो अनिल कपुर पनि पोखरामा सुटिङ चलिरहेको बेलामा यहाँ आउनुभयो । नेपाली सेलिब्रेटीदेखि ठूला राजनीतिक नेताहरु पनि पोखरा आउँदा बिजी बीमा नआई त फर्किनु हुन्न ।

व्यवसायमा कस्ता उतार चढाव आए ?
हुन त मान्छेहरुलाई धेरै ग्राहक आइदिए जस्तो लाग्छ । तर, यहाँ त धेरै गेस्टहरु आएर आज नआइदिए हुन्थ्यो जस्तो पनि हुने कहिलेकाहीं । टिएनजरदेखि बार रेस्टुरेन्ट जान्छु भन्ने सबैको रोजाइमा बिजी बी परेको छ ।

रेस्टुरेन्टको सुरुआती समयमा विदेशी पर्यटकहरुमै निर्भर थियौं हामी । आक्कल÷झुक्कल आए हो नत्र नेपाली गेस्ट त रेस्टुरेन्टमै आउनु हुन्थेन । जुन बेला ‘इराक वार’ भयो । त्यतिबेला निकै गाह्रो भएको थियो । बिहान खोलेर बेलुकासम्म एउटा मान्छे नआउने । बिजनेस त पुरै सखाप भयो । ‘एउटा वारले यस्तो स्थिति आउँछ भने पछि के होला ?’ भन्ने सोचाइ पनि आयो । विदेशमै बसेको भए राम्रो हुन्थ्यो होला ? किन छोडेर आएँ भन्ने सोचाइमा पुगेको थिएँ ।

५÷६ महिना भएको त थियो एउटै ग्राहक नआएको । त्यसपछि विस्तारै कभर हुँदै आयो । द्वन्द्वकालमा पनि अलिअलि मन्दी आएको थियो । तर, पनि हामीले गेस्टहरुलाई दिनुपर्ने सेवा दिन बाँकी राखेनौं । धेरै रेस्टुरेन्टहरु त्यो समयमा बन्द पनि भए । त्यो समयमा नभएका अफवाह पनि फैलाइन्थ्यो । सबै अप्ठ्यारा पार गर्दै हामी यहाँसम्म आयौं ।

लेकसाइडलाई रातभर जागा राख्ने कि ९ बजेपछि बन्द गर्ने विषयमा थुप्रो बहस पनि भए । प्रहरीको लाठीले बिजी बीलाई आतंकित बनाएको त छैन ?
अंग्रेजीमा एउटा भनाई छ नि, ‘लिटिल नलेज इज डेन्जरस ।’ पर्यटकीय क्षेत्रमा बसेर, यही व्यवसाय गर्ने मान्छेले ९ बजे नै रेस्टुरा बन्द गर्न त पर्यटक द्रोही हुनुपर्‍यो । सोच्न पनि सकिन्न, तपाईं नै सोच्नुस् न, काम गर्न गएको ठाउँ त नौलो लाग्यो भने एकैछिन सबै नियाल्न मन लाग्छ । विदेशी हुन् या स्वदेशी पर्यटक । उनीहरु त छुट्टी मनाउन आएको हो पोखरामा । रेस्टुरा, बारमा जाने रमाइलो गर्ने भनेर पो उनीहरु यहाँ आउँछ । ९ बजे नै बन्द गरौं भन्नु त आफ्नै खुट्टामा बन्चरो हानौं, भनेको जस्तो भएन र ?

जसले लेकसाइड ९ बजे नै बन्द गरौं भनेर भन्नु भएको छ, उहाँहरुको व्यक्तिगत समस्या होलान् । व्यक्तिगत समस्या त आफैंले समाधान गर्नुपर्‍यो नि । मैले सुनेको, ‘बार, रेस्टुरेन्टले हल्ला बढी गरे रे !’ बार, रेस्टुरेन्ट भनेको नै हल्ला गर्ने ठाउँ हो त । कानेखुसी गर्दै साउती मार्न कोही रेस्टुरेन्टमा जान्छ ?

शान्त वातावरण चाहिने भनेको होटेललाई हो । रमाइलो गर्न आएको हो, आज राति २ बजेसम्म रमाइलो गर्‍यो, भोलि दिउँसो १ बजेसम्म सुत्ला । आफ्नो ग्राहकलाई कसरी २ बजेसम्म सुत्ने वातावरण मिलाउने भनेर सोच्ने हो नि । साउन्ड प्रुफ रुम बनाएर हुन्छ कि के गरेर हुन्छ । आफ्नो व्यवसायका लागि त आफैं सोच्ने हो नि । हामीले पनि भर्खरै रिसोर्ट सञ्चालनमा ल्याएका छौं । हन्ड्रेड प्रसेन्ट साउन्ड प्रुफ भनेर बनाएका छौं । होला, टेक्निकल ज्ञान त्यति साह्रो नभएकाले हन्ड्रेड प्रसेन्ट नै नहोला । तर, एटी प्रसेन्ट त साउन्ड प्रुफ हुन्छ । प्रविधिमैत्री बन्न छोडेर एकजनाले मार्बल लगाएर ६ तले भवनमा होटल सञ्चालनमा ल्यायो भने, मैले त्यसको भन्दा अग्लो बनाउँछु भन्ने होड छ ।

ल माने, रेस्टुरेन्ट ९ बजे नै बन्द गर्‍यौं रे ! मोटरसाइकल हिन्छ, गाडी हिँड्छ । बाटै बन्द गर्ने भोलि ? भन्ने बेलामा त सबै विज्ञहरु बसेर छलफल गरेको भन्छ । तर, यो सबैभन्दा ठूलो भुल हो ।

नराम्रो कुरा फैलन कत्ति समय लाग्दैन । मेरा साथीहरुले फोन गरेर सोध्छन्, ९ बजेदेखि लेकसाइड बन्द हुने रे ! के हुँदै छ ? तर, हामीले ९ बजे बन्द गरेका छैनौं । विदेशीहरुले थाहा पाइसके । उनीहरुले त ९ बजे बन्द हुन्छ भन्ने सोचेको छ । भलै हामीले मुद्दा जित्यौं । तर, ब्याड न्युज त गइसक्यो नि । जित मात्रै पर्याप्त थिएन । हामीले म्यासेज पनि पठाउन सक्नुपथ्र्यो । पर्यटकहरुलाई आवश्यक परे दिनरात सर्भिस दिन सक्छौं भनेर भन्न सक्नुपथ्र्यो ।

तपाईंको भनाइको मतलब लेकसाइडलाई चौबिसै घन्टा खुलाउनुपर्छ ?
हाम्रो बुझाइ नै गलत छ । न यहाँको पर्यटन व्यवसायीले बुझ्छ न, प्रशासनले, न पर्यटन विज्ञ हुँ भन्नेले । ट्वान्टी फोर हावर, खोल्न रेस्टुरेन्ट व्यवसायीहरुले मात्र हो र ?

उदाहरणका लागि हामीले विदेशतिरको हेर्न सक्छौं । बार, रेस्टुरेन्ट बेलुका ६ बजेदेखि रातको मेक्सिमम ३ बजेसम्म खुल्छ । ३ बजेपछि त बेकरीहरु आउनुपर्छ । कफी सप आउनुपर्छ । त्यसरी हो ट्वान्टी फोर आवर खोल्ने । यहाँको मान्छेको दिमागमा के छ भने, ट्वान्टी फोर आवर भन्ने बित्तिकै बार, रेस्टुरेन्ट मात्रै खोल्ने । कसले बिहान ४ बजे उठेर रक्सी खान्छ ?

मै हुँ भन्ने पर्यटन व्यवसायी विज्ञलाई सोध्नुस्, चौबिसै घन्टा रेस्टुरेन्ट खोल्ने भन्छ । तर, यो त सबै जना मिलेर खोल्ने हो । रेस्टुरेन्ट कति बेलासम्म खोल्न ? बार कतिबेलासम्म ? कफीसप बिहान ४ बजेदेखि खोल्ने तालिका बनाऊँ न ।

अर्को कुरा, प्रदेश सरकारले बनाउने भनेको इन्जोय जोनको बारेमा पनि मान्छेहरुलाई धेरै भ्रम भयो । वास्तवमा इन्जोय जोन भनेको मानिसहरुले सोचेजस्तो अवैध क्रियाकलाप हुने ठाउँ होइन र हुनुहुँदैन । त्यहाँ त पर्यटकलाई चाहिने सुविधा एकै ठाउँमा हुनुपर्छ । खाने, खेल्ने, रमाउने र दिनरातभर सक्रिय भइरहने सुविधा हुनुपर्छ । त्यस्तो इन्जोय जोन त पोखरालाई चाहिएकै छ । प्रदेश सरकारले ल्याएको त्यस्तो प्रस्तावको पनि अरु त अरु हाम्रै पर्यटन व्यवसायी साथीहरुले पनि नबुझिकन विरोध गरेको देख्दा म छक्क पर्छु ।

व्यवसायमा कसरी सफल बन्ने ? चुनौती कस्ता छन् ?
सबैभन्दा पहिला त मेहेनत गर्नुपर्‍यो । लगनशील हुनपर्‍यो । मुख्य कुरा त के व्यवसाय हो त्यो विषयमा ज्ञान हुुनुपर्‍यो । असम्भव भन्ने केही छैन मान्छेहरु चन्द्रमामा पनि पुगिसके ।

तर, अहिले के चलिरहेको छ भने तल १० जना घैंटो थापेर बस्छन्, माथि मुहानमा के भइरहेको छ भन्ने विषयमा कसैलाई चासो छैन । पर्यटन व्यवसायमा पनि ठ्याक्कै यही भइरहेको छ । जति आउँछ त्यसलाई तँछाडमछाड गर्‍यो । मेरोमा मान्छे मन पराएर आएको छ भने, अर्कोले पनि गेस्टलाई मन पर्ने सर्भ गर्नुपर्‍यो ।

आफूले कति लगानी गरेर कति प्रोफिट गर्ने हो पहिले नै योजना हुनुपर्‍यो । एकजनाले हजार रुपैयाँमा कोठा दियो भन्दैमा आफूले पनि उसको दाँजोमा लागेर ५ सयमा दिएर त हुँदैन । आफ्नो मार्केट आफैं बनाउन पर्‍यो । देखासिकी बढी छ । मलाई तपाईंको नाम मन पर्‍यो भन्दैमा तपाईंको नाम मैले राख्दैमा म तपाईं जस्तो बन्न त सक्दिनँ ।

हाम्रो देशमा ठूला—ठूला प्रोजेक्ट पनि फेल भइरहेका छन् । प्रोजेक्ट राम्रो हुँदा हुँदै पनि फेल भएका छन् । फूलबारी रिसोर्ट नराम्रो हो त ? ऊसँग पैसा थियो । सिंगापुरतिर कता देख्यो बनायो ।

ठिक छ, ऊसँग त्यो विषयमा ज्ञान भएन । तर, त्यो विषयमा ज्ञान भएका अरु पनि थुप्रो छन् । हायर गर्न त सक्छ नि त उसले । हुन् त, राम्रो कुरा हो चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले हस्पिटालिटी क्षेत्रमा लगानी गर्दैछु भनेर भन्नु भयो । सबैले ताली बजाए । कता हुन्छ डाँडाकाँडामा वेलकमको तयारी पनि भए ।

आफैं बुझ्नुस् भएको फूलबारी रिसोर्टलाई हामी मेन्टेन गर्न सक्दैनौं । अरु नयाँ खोज्दै हिँड्छौं । हुन त, उहाँलाई यसो भन्न नमिल्ला । लगानी गर्न सक्नेहरुले भएको संरचनालाई मेन्टेन गर्न खोज्नुपथ्र्यो ।

सम्बन्धित खबर