सोमबार, ०६ माघ २०७६
samadhannews
nepal telecome

भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउँछौंः मन्त्री लम्साल

बिहिबार, १७ पुष २०७६
830 पटक पढिएको

प्रस्तुतिः ईश्वर देवकोटा

भ्रमण वर्ष २०२० लाई सफल रुपमा कार्यान्वयन गर्न गण्डकी प्रदेशमा यहाँ र यहाँको मन्त्रालयको जिम्मेवारी छ । तयारी कसरी गरिरहनु भएको छ ?
नेपाल भ्रमण २०२० लाई उल्लाहसपूर्ण रुपमा मनाउनका लागि गण्डकी प्रदेश लागिरहेको छ । नेपाल सरकारले घोषणा गरेको सबै कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नु प्रत्येक नेपालीको उत्तिकै दायित्व हो । त्यसमा पनि नेपालकै पर्यटनको राजधानी गण्डकी प्रदेशले यो कार्यक्रमलाई थप उल्लाहसपूर्ण रुपमा मनाउन लागिरहेको छ । सन् २०२० को जनवरी १ तारिखका दिन पोखरामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका लागि विशेष कार्यक्रमको अयोजना गरेका छौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा प्रदेश भित्रका ८५ वटै स्थानीय तह, ११ वटै जिल्ला समन्वय समिति, राजनीतिक दल, पर्यटन व्यवसायी, सरकारी तथा गैरसरकारी संघ, संस्था, शिक्षक, विद्यार्थी, सर्वसाधारण आम नागरिक लगायत समाजका सबै तह र तप्काका जनताहरुको उल्लेख्य सहभागिता रहनेछ ।

यसैगरी हामीले यो वर्षलाई उत्सवका रुपमा मनाउने सोच बनाएका छौं । नेपाल सरकारको भ्रमण वर्ष २०२० का साथै यही वर्षलाई गण्डकी प्रदेश सरकारले छिमेकी देशका पर्यटकहरुको आकर्षण वर्षका रुपमा समेत मनाउने गरी हामी अगाडि बढेका छौं । यो वर्ष गण्डकी प्रदेश सरकारले छिमेकी मित्रराष्ट्र चीन र भारतका विभिन्न सहरमा पुगेर त्यहाँबाट घुम्ने चाहने पर्यटकहरुलाई नेपालसम्म ल्याइपु¥याउने गरी ‘टुरिजम सेल्स मिसन’ सञ्चालन गर्ने सोचमा छौं । यसले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० दुवैलाई सफल बनाउन मद्दत पु¥याउने हामीले विश्वास लिएका छौं ।

सरकारले कार्यक्रम मात्रै घोषणा गर्ने तर पर्याप्त तयारीमा ध्यान नदिने, समन्वय पनि नगर्ने गुनासो सुनिन्छ नि ?
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी देशका पर्यटकहरुको आकर्षण वर्ष २०२० घोषणाका लागि घोषणा गरिएका कार्यक्रम मात्रै होइनन् । यी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि हामीले प्रदेशस्तरमा भ्रमण वर्ष समिति गठन गरी सचिवालय समेत सञ्चालन गरिसकेका छौं । त्यसैगरी गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाहरुमा जिल्लास्तरीय समिति र स्थानीय तहहरुमा पनि पालिकास्तरीय समितिहरु गठन गरिसकेका छौं । गण्डकी प्रदेशमा आएका पर्यटकहरुलाई घुम्न सहज होस् भनेर हामीले प्रदेशभित्रका प्रमुख १ सय १० पर्यटकीय गन्तव्यहरुको नेपाली र अंग्रेजी दुवै भाषामा पुस्तक प्रकाशन गरेका छौं । ती प्रमुख गन्तव्य मध्ये ४४ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास र विस्तारका लागि प्याकेज कार्यक्रमका रुपमा चालु आर्थिक वर्षका लागि १७ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । यसका अतिरिक्त संघीय सरकार र प्रदेश सरकारबाट अन्य थुप्रै पर्यटकीय गन्तव्यहरुको विकासका विभिन्न कामहरु भइरहेका छन् । भ्रमण वर्षको कार्यक्रम संचालनका लागि कार्यविधि बनाएका छौं । भ्रमण वर्षलाई लक्ष्य गर्दै हामीले प्रदेश नम्बर १, २, ३ र ५ का विभिन्न सहरमा पुगेर ‘टुरिजम सेल्स मिसन’ अभियान सञ्चालन गरिसकेका छौं भने, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशमा निकट भविष्यमा जाँदैछौं । यी सबै कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, सरकारी, गैरसकारी संघ, संस्था तथा निजी क्षेत्रका प्रतिनिधिको उल्लेख्य मात्रामा सहभागिता छ । हाम्रो तयारी र समन्वय कस्तो छ भन्ने विषय यसैबाट प्रष्ट हुन्छ, यस विषयमा थप टिप्पणी गर्नुपर्ला जस्तो लाग्दैन मलाई ।

कार्यक्रम र यस्तै तयारीले २० लाख पर्यटक भित्रिने आधारमा विश्वस्त हुनुहुन्छ त ?
सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्रिने कुरामा हामी पूर्ण विश्वस्त छौं । गतसाल पनि १२ लाखभन्दा बढी पर्यटकहरु हाम्रो देश आएको तथ्यांकले देखाइसकेको छ । त्यसमा पनि गाडीबाट गुडेर आउने भारतीय पर्यटकहरुको संख्या पूर्णरुपमा माथिको अंकमा समावेश गर्न सकिए जस्तो मलाई लाग्दैन । यसरी आउनेहरुको संख्या पनि ठूलो छ । यसका साथै यही वर्ष मात्रै मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिङ पिङ र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल भ्रमण गर्नुभएको छ । अरु थुप्रै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख पनि आउने कार्यक्रम छ । यसले सम्बन्धित देशका पर्यटकलाई नेपाल आउन सहज वातावरण सिर्जना गर्छ । स्थिर सरकार, शान्ति सुरक्षाको चुस्तदुरुस्त खालको व्यवस्थापन, पूर्वाधार निर्माणमा भएको दु्रतगतिको विकास आदि कारणले पनि यो वर्ष नेपालमा २० लाख मात्रै होइन त्यो भन्दा बढी नै पर्यटक आउँछन् भन्ने विषयमा म ढुक्क छु ।

प्रदेश आफैंले पनि ११ वटा जिल्लाका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो । भ्रमण वर्ष लक्षित गरेर तिनीहरुको प्रचार कसरी भएको छ ? पूर्वाधार निर्माणमा मन्त्रालयको चासो छ कि छैन ?
गण्डकी प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा हाम्रो प्रदेशको समृद्धिको पहिलो आधार पर्यटनलाई नै मान्दै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गर्दै आइरहेको सर्बविदितै छ । प्रदेश सरकारले गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन मानेपछि हाम्रो मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा प्रदेश भित्रका १ सय १० प्रमुख पर्यटकीय गन्तव्यहरु र अन्य सहायक गन्तव्यहरुको समेत सूची तयार गरी पुस्तक प्रकाशन गर्‍यौं ।

चालु वर्षमा विनियोजित बजेटले भ्याउने सम्मको पूर्वाधार निर्माणको काम यसै वर्ष र बाँकी कामहरु पनि आगामी वर्ष हुँदै जान्छन् । पूर्वाधार निर्माणका साथै त्यस्ता पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि पनि अंग्रेजी र नेपाली भाषामा सचित्र पुस्तक प्रकाशन गरेका छौं । पर्चा, पम्प्लेट, स्टिकर, ब्रुसर बनाएका छौं । विभिन्न निकायहरुसँगको सहकार्यमा त्यस्ता क्षेत्रको प्रचारप्रसारका लागि भिडियो तथा अडियो डकुमेन्ट्री तयार गर्ने, होमस्टेहरु मार्फत् त्यस्ता गन्तव्यहरुको प्रचारप्रसार गर्ने जस्ता कामहरु भइरहेका छन् ।

होमस्टेलाई प्रदेश सरकार आफैंले पनि लगानी सहितको प्रवद्र्धन गरिरहेको छ । नतिजा कस्तो पाउनुभयो ? भ्रमण वर्षमा होमस्टेलाई कसरी जोड्नुहुन्छ ?
गण्डकी प्रदेश सरकारले प्रदेशभित्र ३ सय सामुदायिक होमस्टे निर्माण गर्ने लक्ष्यका साथ पहिलो वर्ष ३० करोड रकम विनियोजन गरेका थियौं । पहिलो वर्ष प्रदेशभित्र स्थापना भएका होमस्टे मध्ये २ सय ७४ वटा सामुदायिक होमस्टेले प्रदेश सरकारको अनुदान प्राप्त गरी पूर्वाधार निर्माणका विभिन्न कामहरु समेत गरिसकेका छन् । २ सय ७४ वटा सामुदायिक होमस्टे मध्ये कुन होमस्टेले कति अनुदान पायो र त्यसबाट के–के काम भयो सो विषयलाई समेटेर मन्त्रालयले सामुदायिक होमस्टे दर्पण प्रकाशन गरेका छौं ।

चालु आर्थिक वर्षका लागि पनि मन्त्रालयले सामुदायिक होमस्टेको प्रवद्र्धनका लागि २५ करोड रकम विनियोजन गरेको छ । यसबाट हामी केही नयाँ र केही विगतदेखि चलिरहेका होमस्टेको प्रवद्र्धनका लागि सामुदायिक होमस्टेमा पूर्वाधार निर्माण तथा सशक्तीकरणका कामहरु गर्दैछौं । प्रदेश सरकारले होमस्टेमा गरेको लगानीको राम्रो प्रभाव समुदायमा देखिन थालेको छ । गाउँघरका होमस्टेहरुमा पाहुनाहरु आउने जाने क्रम बढिरहेको छ । स्थानीय समुदायमा स्थापना भएका होमस्टेका कारण होमस्टे संचालकको मात्र नभई स्थानीय दुध, तरकारी, फलफूल तथा मासुजन्य वस्तुहरु उत्पादन गर्ने किसानहरुको आयआर्जनमा वृद्धि हुन थालेको छ । त्यति मात्र होइन राम्रो गाउन र नाँच्न जान्ने युवायुवतीहरुको समेत आयआर्जनको माध्यम बन्दै छ, होमस्टे । कतिपय होमस्टेहरुमा त महिनामै ३ देखि ४ हजार पाहुनाहरु आउने गरेको तथ्यांक हामीसँग छ । सहर केन्द्रित बसाइसराईका कारण खाली भएका गाउँघरका बस्तीहरु विस्तारै भरिदैँछन् । हराउँदै गएको पुरानो गीतसंगीत र संस्कृतिको संरक्षण हुन थालेको छ । यति मात्रै नभई, होमस्टेलाई लक्षित गरेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले होमस्टेमा अर्गानिक खेती कार्यक्रम नै अगाडि सारेको छ भने कृषि विकास बैंकले होमस्टेका संचालकहरुलाई सहुलियत ब्याजदरमा प्रति परिवार २० लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । प्रदेश सरकारले आफ्ना कर्मचारीहरु परिवार सहित होमस्टेमा घुम्न जाऊन भनेर १ महिनाको तलब सुविधासहित १ हप्ताको पर्यटन बिदा दिने कार्यक्रम ल्याएको छ । होमस्टेमा गरेको लगानीको प्रतिफलका लागि यस बाहेक थप पुष्टि गरिरहनु पर्ला जस्तो मलाई लाग्दैन ।

भ्रमण वर्षमा आउने पाहुनाहरुलाई स्वागत गर्नका लागि अहिले हाम्रा होमस्टेहरु आतुर छन् । भ्रमण वर्षको अवसर पारेर आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको स्वागत, सत्कार र सम्मानका लागि हाम्रा होमस्टेहरुले स्वागत गेट, तुल, ब्यानर टाँगिरहेका छन् । मौलिक भेषभुषा र संकृतिबाट होमस्टेमा आउने पाहुनाहरुलाई मोहित बनाउने गरी तयारी गरिरहेका छन् । हामीकहाँ आउने पर्यटकहरु यहाँ भएको ‘नेचर, कल्चर र एडभन्चर’को आनन्द लिन आउने हुन् । होमस्टेहरु यिनै पर्यटकीय गन्तव्यको छेउछाउमा नै छन् । त्यसैले पनि हामीलाई विश्वास छ, भ्रमण वर्षको अवसर पारेर आउने पर्यटकहरु मध्ये दृश्यवालोकन (साइट सिन)का लागि गएका पर्यटकहरु यिनै होमस्टेमा बस्नेछन्, खानेछन् र रमाउँनेछन् । जसबाट स्थानीय समुदायको आयआर्जनमा टेवा पुग्नेछ ।

सम्बन्धित खबर