शुक्रबार, १० माघ २०७६
samadhannews
nepal telecome

कफीगफ विथ मैयाँ

आइतबार, २० पुष २०७६
1200 पटक पढिएको

विकास रोकामगर/युवराज गुरुङ ‘युनिश’

लेकसाइडको एउटा क्याफे । साँझको करिब ४ बजेको समय । क्याफेको बाहिरी टेबलमा हामी कसैको प्रतीक्षामा बसेका छौं । टेबलमा लस्करै राखिएका छन् २ वटा कफी कप । र त्यसबाट कफीको मात्रा विस्तारै विस्तारै घट्दै छ । जसलाई पर्खिरहेका छौं, उनी आइपुगेकी छैनिन् ।

‘हेल्लो… कहाँ आइपुग्यौ ?’ करिब आधा घण्टासम्मको प्रतीक्षापछि फोनबाट सोधिन्छ, ‘कति बेला ?.. एए…लल… । अँ.. त्यहीं.. हो । …लल.. छिटो … ।’

माथिल्लो तलामा छ क्याफे । त्यही क्याफेको बाहिरी भागमा बसेका हुन्छौं, त्यहाँबाट भुइँतला सर्वांग देखिन्छ । तल आइपुगे उनीहरु आइपुगे । सायद बाल्कोनीमा बसिरहेका हामीतिर ध्यान गएन । फेरि फोन गरिन् ।

‘आऊ आऊ माथि आऊ तिमीहरुलाई देखिसक्यौं,’ फोन राम्रोसँग नउठाउँदै जवाफ दिन्छौं । पहिले बसेको ठाउँबाट उठ्यौं र टेबल फेर्‍यौं । त्यहाँ २ जनाबाहेक अरु बस्न नमिल्ने बनाइएको थियो । तर मान्छे भएका थियौं ४ जना । टेबल फेर्नुको विकल्प रहेन ।

‘नमस्ते ….. नमस्ते……’ सबैले एकअर्काको अनुहारमा हेर्दै औपचारिकता पूरा गर्छौं । थाहा छ कि सबैलाई यो औपचारिकता मन परिरहेको छैन । सबैभन्दा सजिलो सबैलाई हात हल्लाउँदै ‘हाई…भन्न पाए !’ त्यही अनुभूत भइरहेको छ ।

टेबलको पश्चिम कुर्चीमा बस्दै सँगै आएकी साथीसँग रिश्मा परिचय गराउँछिन्, ‘ऊ भाइकी बुहारी ।’

‘भाइकी बुहारी !’ अनायस मुखबाट कुरा फुस्किन्छ ।

हाहाहा….हाहाहाहा…

एकछिन् सबै मज्जाले हाँसेपछि उनी आफैं आफ्नो भनाइको मतलब सुधार्छिन्, ‘भाइकी बुहारी होइन । भाइ बुहारी । मेरोमात्रै बुहारी ।’

वेटर मेनु लिएर त्यहाँ उभिइसकेको हुन्छ ।

मेनु एकछिन हातमा पल्टाइराख्छिन् र केहीबेर पछि बल्ल जवाफ रिश्मा दिन्छिन्, ‘हट चकलेट । तिमीले के लिने ?’ बुहारीतिर हेर्दै प्रश्न गर्छिन् । बुहारीले पनि त्यसैमा टाउको हल्लाएपछि फेरि भन्छिन्, ‘हट चक्लेट २ वटा ।’

‘हामी तिम्रो स्टोरी गर्न चाहन्छौं । के गर्दैछौ ? कहाँ छौ ?’ केही औपचारिक गफतिर मोडिन्छौं । तर, उनी हाम्रो प्रश्नलाई ‘बाल’ दिँदिनन् । आफैं प्रतिप्रश्न गर्छिन्, ‘युनिश ! तिमी विदेशबाट कहिले आयौ ? हङकङ गाको थियौ होइन ?’ एकछिन त्यहाँ हङकङको कुरा हुन्छ । र फेरि हामी प्वाइन्टमै मोडिन्छौं, ‘रिश्मा अचेल किन हरायौ ? के छ योजना ?’

रिश्मा गुरुङ । चलचित्र कबड्डी आइसकेपछि नेपाली रजतपटमा छाएकी नायिका । फिल्ममा उनले मैयाँकी भूमिका निभाएकी छिन् । जुन पात्रको भूमिका यसरी हिट भयो कि सबैको मनमा मैयाँ बसिन् । त्यसै फिल्मबाट उत्कृष्ट नायिका अवार्ड पनि पाइन्, । देशविदेश घुमिन् । कबड्डीकै ३ सिक्वेलमा देखिइन् ।

त्यसपछि ‘झुम्की’ फिल्म खेलिन् । त्यसमा उनले एउटी सोझी थरुनी युवतीको भूमिका निभाएकी छिन् । र त्यसपछि …….. त्यसपछि उनका फिल्म नेपाली बजारमा देखिँदैन ।

‘कता हराइन् रिश्मा ?’ सबैको मनमा यही एउटा प्रश्न त बाँकी बचेको थियो, ‘के उनले फिल्म पाउनै छाडेको हो ?’

हामी तिनै रिश्मासँग कफी गफका लागि त पर्खिरहेका थियौं, लेकसाइडको त्यो हिमालयन क्याफेमा ।

पोखरा पृथ्वीनारायण क्याम्पसबाट भर्खरै मास्टर पढाइ सकिन् । पढाइ सकियो । फुर्सदमा छिन् । तर, उनलाई अब फिल्म क्षेत्रमा फर्किनु छैन । फिल्मको भूत उनीबाट उत्रिसकेको छ । ‘अब के गर्ने ?’ त्यो पनि योजनामा छैन । तर, ढुक्कले भन्छिन्, ‘फिल्ममा त अब फर्किन्नँ । मबाट फिल्मको भूत उत्रिसक्यो ।’

मूलधारको नेपाली चलचित्र र एकाध गुरुङ फिल्ममा सशक्त भूमिका निभाएर रिश्माले वाहीवाही कमाइन् । ‘एक्कासि फिल्म क्षेत्रबाटै कसरी टाढिने सोच पलायो ?’ प्रश्न गर्छौं ।

‘फिल्म क्षेत्र सोचेकोजस्तो रहेनछ । पहिले हामी स्थापित हुनलाई कम्प्रोमाइज गर्छौं । तर, एक लेबलमा पुगिसकेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गरिरहन खोज्छन्,’ सुरुमा ‘त्यस्सै’ सामान्य जवाफ दिएकी उनले पछिमात्रै खुलिन्, ‘त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा बाहिरिनु नै उत्तम लाग्यो ।’

चञ्चले छिन्, रिश्मा । चकचके छिन् । चलचित्रकी मैयाँ झैं रिसालु छिन्, तर, मायालु पनि छिन् ।

नेपाली फिल्म क्षेत्रमा प्रवेश रिश्माको धमाकेदार भयो । दयाहाङ राई, सौगात मल्लसँग फिल्म खेलिन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गरे । फिल्म हिट होइन सुपरहिट भयो । धेरै समीक्षकको आँखामा फिल्मले सकारात्मक दृष्टिकोण छोड्यो ।

केही गुरुङ भाषाको फिल्ममासमेत अभिनय गरेकी उनी ‘चुजी’ नायिकाको रुपमा चिनिन्छिन् । उनी चिनिएको नाम रिश्मा होइन, कबड्डीकी मैयाँ हो । तर, उनका लागि भने यो कुरा स्वीकार्य छैन । हट चक्लेट मुखसम्म पुर्‍याएर फेरि टेबलमा राख्दै भन्छिन्, ‘मलाई त झुम्कीको भूमिका सबैभन्दा मन परेको हो । मैयाँभन्दा झुम्कीको देवकी भूमिकाबाट म सन्तुष्ट छु ।’

खासमा रिश्मालाई फिल्म क्षेत्र मन नपरेको होइन । तर, त्यसभित्रको प्रवृत्तिबाट भने आजित छिन् । जता मन्टो फर्कायो, त्यतै शोषण । ‘अरुले जस्तो मैले सेक्सुअल हेरस्मेन्ट त भोग्नु परेन । तर, श्रम शोषण भने धेरै भोगेकी छु,’ दुखेसो पोख्छिन्, ‘एग्रिमेन्ट गरेको पैसा पनि नपाउने र उल्टै आफ्नै खर्चमा हिँडिहरन त सधैं सकिँदैन नि !’

जति पनि फिल्म खेलिन्, रिश्माले कुनै पनि फिल्मबाट पूरा पारिश्रमिक पाएकी छैनन् । कति माग्नु ? अब त उनलाई पनि अत्यार लागिसकेको छ । ‘फिल्मले त्यति धेरै कमाउँछ । तर हामी कलाकार एग्रिमेन्टअनुसारको पारिश्रमिक पनि पाउँदैनौं,’ सुनाउँछिन्, ‘तर, कुरा पैसाको होइन । आत्मसम्मानको हो । त्यसरी आफैंलाई गिराएर काम गर्दिनँ ।’ उनले नेपाली फिल्म क्षेत्रमा कलाको सम्मान नभएको बताइन् ।

बीचमा केही समय पढाइका लागि फिल्मबाट टाढा भइन् । तर, मास्टर सकिन् । र त्यसपछि पोखरा घारीपाटनको आफ्नै कोठामा ‘रिजर्ब’ बस्न थालिन् । फिल्मका अफर भने नआएका होइनन्, कुनै स्क्रिप्ट मन परेन । कुनैमा केही मन परेन ।

‘अब के गर्ने प्लान छ त त्यसो भए ?’ फेरि सोध्छौं ।

‘केही नगर्ने । तर, सोच्दैछु कुनै सानोतिनो जागिर गरौं कि !’ अन्तिममा भने उनले योजना सुनाउँछिन्, ‘काम सानोतिनो हुँदैन । तर, योग्यताको कुरा रहन्छ । मास्टरी सकेर रिसेप्सनमा पनि के जानु है ! हाहा..’

सम्बन्धित खबर