शुक्रबार, २१ चैत २०७६
samadhannews
nepal telecome

‘सहायक श्रीमान्’ लाई उत्कृष्ट डकुमेन्ट्री अवार्ड

बुधबार, ०७ फागुन २०७६
960 पटक पढिएको

समाधान संवाददाता
काठमाडौं

नेपालको लोपोन्मुख बहुपति प्रथामा आधारित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ ।

गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ ले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको हो । राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० देशका ८० वटा फिल्म प्रतिस्पर्धामा थिए ।

वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरिन् । निर्णायक मण्डलका सदस्य एवं स्वीजरल्यान्डको विश्वप्रसिद्ध लोकार्ने चलचित्र महोत्सवका ‘ओपन डोर’ संयोजकका थिबाउट बाराकले ‘सहायक श्रीमान’ ले नेपालमा लामो समयदेखि विद्यमान बहुपति प्रथालाई कलात्मक रुपमा पर्दामा उतार्न सफल भएको बताए ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काममात्रै बाँड्दैनन्, श्रीमती पनि एकआपसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका ३ वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले डकुमेन्ट्री क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

सम्बन्धित खबर