आइतबार, १६ चैत २०७६
samadhannews
nepal telecome

सम्झना दिल्ली सम्झौताको

बुधबार, ०७ फागुन २०७६
980 पटक पढिएको

तारा पाखे
आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल मन्त्र, आदर्श मार्गदर्शक सिद्धान्त मान्दै आएको छ नेपाली कांग्रेसले । सोभियत संघबाट कम्युनिस्ट शासनको पतनसँगै आफूलाई समाजवादी भन्ने पूर्वी युरोपका कम्युनिस्ट राज्यहरुबाट समेत कम्युनिस्टहरुको पराजय राष्ट्रिय विखण्डनपछि समाजवाद र नेपालमा प्रजातान्त्रिक समाजवादी दर्शनका प्रयोगकर्ता, नेपाली कांग्रेसका मूर्धन्य नेता संस्थापक, आदर्श नेता विपीको स्वर्गारोहण पछिको कांग्रेस दिशाविहीन, व्यक्तिगत महत्त्वाकांक्षाको परिपूर्तिको साधन बन्दै छ । नेताहरु समेत राजनेता बन्न सक्नु भएन ।

२००७ साल पुस २५ गतेको पोखराकै वृहत प्रदर्शन, कांग्रेसका थरिथरि रोचक, रोमाञ्चक, भ्रामक अनेकौं अफवाह देखे सुनेको हिजै झैं लाग्दछ । ७० वर्षको लामो कालखण्ड विवाद, विद्रोह मै बिते, विपी, सुवर्ण, गणेशमान, गिरिजाको विराट व्यक्तित्व, सिद्धान्तनिष्ठा, त्याग तपस्या वलीदानी संघर्षद्वारा पटक, पटकका आन्दोलनहरुलाई सफलताको शिखरमा पु¥याएर लोकतन्त्रको जगेर्ना गर्न सफल भनेर गौरव गर्ने कांग्रेस, नेपालीलाई दासत्वबाट मुक्ति दिलाई आधुनिकता, स्वतन्त्रता र सम्मानित बनाउने कांग्रेस, विश्वमै उत्कृष्ट संविधान निर्माण गर्न सफल भनेर गौरव गर्ने कांग्रेसको आजको अवस्था ? कठै ! कति दयनीय छ !

राष्ट्रियताका सवालमा ‘भारतकै राजा बनाउँछौँ । नेपाल पनि भारत वर्षमै मिलाऔं, मिलौं भन्दा राजाले स्वीकार गरेका तर विपीले कडा प्रतिवाद गर्नु भएर जोगिएको ?’ भन्ने कतिपय इतिहासकारहरूले उल्लेख गर्नुभएको कुरा पनि सुनिएकै हो ।

विपीले दिल्ली सम्झौतामा राजा र राणाहरुसँग छलफल नगरी किन सामेल हुनुभयो ? राजा, राणा र कांग्रेसको त्रिपक्षीय सम्झौता भने पनि स्वार्थवश भारतीय जालजन्जालमा जकडिएका राजा, राणा र कांग्रेसलाई सहजै प्रभावित वा बाध्य पारियो । राणाका हातबाट सत्ता फुत्कनै लागेको थियो । अकूत सम्पत्ति जोगाउन पनि उनीहरु जे जसो गर्न पनि तयार हुँदा हुन् । राजाको अवस्था भारतकै आधार बेगर टिक्नै नसक्ने अवस्था थियो भने करिब करिब सफल भइसकेको क्रान्तिमा किन विपी अपमानित सम्झौतामा सरिक हुनु भयो होला । प्रजातन्त्र दिवसहरूमा यस प्रश्नले निकै रन्थन्याउँदछ । राजालाई पाल्पा पु¥याउने योजना बनाएर विपीको वाह्य हस्तक्षेपबाट जोगाउने योजना सफल हुन सकेन । सशस्त्र युद्ध शान्तिपूर्ण उपायको अवस्था नभए पछि मात्र अन्तिम उपाय मान्ने वहाँको नीति नै थियो । आखिर शान्तिपूर्ण उपायद्वारा केही गर्न सकिने ठानेर नै सहमत हुनुभयो होला, आखिर मर्ने त नेपाली नै थिए ।

राजालाई जसरी कांग्रेसले शिरै चढायो, विपीले त अनेकौं यातना भोगेर मृत्युदण्डसम्म दिन तयार ‘राजाको घाँटीमाथि आफ्नो घाँटी जोरिएको, सम्म सार्वजनिक अभिव्यक्ति समेत दिनु भयो तर राजाले त्यसको महत्त्व बुझेनन् । सिक्किमको दुर्गतिमा पुग्न लागेको मुलुकलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै आवाज उठाएर राष्ट्रियताको जगेर्ना गर्दै आत्मवलीदान गर्न तयार देशभक्तलाई ‘अराष्ट्रिय तत्व’ भनेर निन्दा गरियो । तै पनि राजालाई विपीले छाड्नु भएन । किन भने ‘राजा जति राष्ट्रवादी अरू हुँदैनन् ।’ भन्ने राजनीतिज्ञहरुको विश्लेषण छ, पनि ।

विपीले मुस्ताङमा नेपाली सेनाका सुवेदार वंप्रसादको चिनिया सैनिकको गोली प्रहारबाट मृत्यु भएको सम्बन्धी घटनामा त्यतिबेलाका प्रबल शक्तिशाली चाउएनलाई र पण्डित नेहरूलाई माफ मगाउनु कम महत्त्वपूर्ण कदम थिएन, राष्ट्रियताका पक्षमा । आजको असंलग्न परराष्ट्र नीति र राष्ट्रियता ढलपल, ढलपल देखिन्छ, स्वयं नेपाली काँग्रेस किन प्रतिकारमा खुलेर मैदानमा उत्रन सक्दैन ?

यस छोटो प्रसंगमा गन्थनलाई यहीँ विश्राम दिँदै दिल्ली सम्झौतालाई अस्वीकार गरी भारतलाई चिढाएर विपीले युद्ध जारी राख्नु भएको भए राणासँगै मुलुककै स्वतन्त्रता त गुम्ने थिएन ? किन भने त्यति बेला लौहपुरुष भनिने भारतीय उपप्रधानमन्त्री सर्दार पटेलले नेपालभन्दा पनि बलशाली कतिपय राज्यहरु सहित २०० भारतीय राज्यहरुलाई समेत कठोरतापूर्वक संघमा मिलाएका र नेपालप्रति पनि त्यस्तै रवैया राख्दथे । अवस्था जटिलै थियो ।

हो, त्यस्तो अवस्थामा राष्ट्रियताका पक्षमा जीवन वलिदानी राष्ट्र भक्त नेपालीहरुका निमित्त निश्चयनै सह्य हुने कुरा थिएन र मुक्ति सेना गुरिल्ला युद्धतर्फ लाग्दो हो । यदि यसो भएको भए कतिपय मुलुकहरु सयौं वर्ष राष्ट्रिय स्वतन्त्रताका निमित्त बलीदानी संघर्षमा जुटेर अनिर्वचनीय पीडामा रहेझैंको अवस्था त निश्चित थियो । यस्तै दूरदर्शी बाध्यता थियो कि वीपीको ?

यस पावन अवसरमा नेपालको निर्माण, संरक्षण र नागरिक अधिकार, स्वतन्त्रताका निमित्त आत्म वलिदान गर्नु हुने प्रातः स्मरणीय ज्ञात अज्ञात समस्त सहिदप्रति सविनय भाव पूर्ण सुमनाञ्जलिसहित नमन । अस्तु ।

सम्बन्धित खबर