सोमबार, २४ चैत २०७६
samadhannews
nepal telecome

भाइ भए भरोसा

बिहिबार, ०६ चैत २०७६
9930 पटक पढिएको

विमला भण्डारी

तारिणीप्रसाद कोइरालाको चर्चित ‘वेश्या’ कथामा भाइको भरोसा पाउने बित्तिकै धन्दाकी एउटी युवती क्रान्तिमा होमिन्छे । अपसोच, आजको हाम्रो समाजमा क्रान्तिकारी पृष्ठभूमिकै महिलालाई पुरुष वेश्याले माखे साङ्लोमा पार्छन् । २०७६ फागुनको सुरुमै दुर्गा न्यौपानेले सामाजिक सञ्जालमा लेखिन्, ‘महरा निर्दोष सावित हुँदा रोशनी शाही दोषी भइनन् ?’ समाज सधैं यस्तै बेरितले चल्दै छ । १२ वर्ष अगाडिका कट्टर राजा विरोधी पत्रकार विनोदमणि दिक्षितले लेखे, ‘यो गणतन्त्रभन्दा पञ्चायत धेरै माथि थियो !’ अहिले अर्जुन ज्ञवाली, सुरेन्द्र केसी, प्रेम कैदीजस्ता स्वतन्त्र नागरिक वा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सत्यलाई निर्धक्क आत्मसात गरिरहेकै छन् ।

कोरोनाको डर छ । तर सरकारको भर छैन । मानौं काल भयंकर स्वरुपमा नाँचिरहेको छ । लेखनाथ पौडेलको काल महिमा जताततै व्याप्त छ । पोखराको लेकसाइडलाई दक्ष प्रजापतिको बिथोलिएको सभा जस्तो देखें । सुनसान–सुनसान । पर्यटन व्यवसायका १ जिम्मेवार पदाधिकारीले भने, ‘२० प्रतिशतमात्रै पाहुना छन् …!’ यहाँ वीरेन्द्र वंश नासको बेलाजस्तै स्थिति छ । फागुन २५ मा यातायात व्यवसायीले भाइरसबारे जनचेतना जगाउने एउटा कार्यक्रम राखे । अञ्जली भण्डारीले सरसफाइमै जोड दिइन् । सांसद कुमार खड्काले मिडियाले अनावश्यक हल्ला फैल्याएको आरोप लगाए । काला बजारियाले झनै मौका छोपेका छन् । सरकार त्यता पटक्कै ध्यान दिँदैन । कलाहिन नाटक मात्रै देखाउँछ । भ्रष्टाचार विरोधी आन्दोलन रोक्ने सरकारको सुअवसर यही हो । मैले झर्लक्क ज्ञानेन्द्र शाहीलाई सम्झें । थोरै दिन अगाडि उनले मलाई गज्जबको सरप्राइज दिएका थिए ।

फागुन ३ गते पृथ्वीचोकबाट स्कुटरमा सिर्जनाचोकतिर जाँदै थिएँ । रवि होटलको अगाडि उभिएर ज्ञानेन्द्र शाही साथीसँग कुरा गरिरहेका थिए । स्कुटरको गति स्लो गर्दै ठम्याएर हेरें, ज्ञानेन्द्र शाही नै थिए । अचम्म लाग्यो । सरकारी नेकपाका युवा संघले प्रतिबन्ध लगाएको ठाउँमा ज्ञानेन्द्र शाही ढुक्कै देखिए । उनी प्रचण्डलाई भनिरहेकै छन्, ‘प्रचण्ड तिमी एक छिनमात्रै सुरक्षा फौज नलिई हिँड त ….!’ ज्ञानेन्द्र शाहीको आँट र जाँगर सलामयोग्य छ । बोलचाल थिएन । बोल्न मन लाग्यो । ‘स्कुटर घुमाएर नजिकै लगेर रोकें । साथीसँग कुरा गर्दै उनले मतिर हेरे । ‘ज्ञानेन्द्र शाही होइन ?’ मैले सोधें । ‘नमस्ते दिदी, हो म ज्ञानेन्द्र शाही नै हुँ !’ उनी मुस्कुराए ।

‘प्रतिबन्धित क्षेत्रमा आउनु भएछ ?’
‘आज यहाँ (रवि होटलमा) नेपालका लागि नेपाली अभियानको पश्चिमाञ्चल भेला छ, यसैले आएको हुँ । दिदी, बिना हातहतियार आफ्नो मुलुकमा घुम्न पाउने हक त पञ्चायतमा पनि थियो नि है न र ?’ ज्ञानेन्द्रजीले मैलाई सोधे । ‘म बिमला भण्डारी । पत्रकारिता गर्छु !’ नमस्ते गर्दै म छुट्टिएँ, ‘मौका परे फेरि कुरा गरौंला !’ ‘हुन्छ दिदी, बोल्न पाएर खुसी लाग्यो ।’

म घुमेर आफ्नै बाटो लागें । मनमा कुरा खेले । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगाडि नेपाली १ ठाउँबाट अर्को ठाउँ जान पाउँदैनथे । अर्को राज्यले थुन्थ्यो । बाइसे–चौबिसे राज्य थिए । यही आतंकका कारण जनताले बलियो केन्द्रीय सत्ताको चाहना राखेका थिए । शाहको नेपाल एकीकरणको अभियानलाई सघाएका थिए । शाह राष्ट्र निर्माता बने ।

समयको लामो अन्तरालपछि फेरि नेपाली आफ्नै देशभित्र घुमफिर गर्न नपाउने भए । माओवादीले ८० प्रतिशत भूभागमा आफ्नो राज्य स्थापित गरेको बतायो । जनता त्रासमा बाँच्न बाध्य भए । माले–मण्डले–मसाले एउटै हुन् भन्ने कम्युनिस्ट विरोधी छविका गिरिजाप्रसाद कोइराला माओवादीसँग हात मिलाउन पुगे । शान्ति वार्ता गरे । जनताले शान्तिको सास फेरे । तर त्यो पिसाबको न्यानोजस्तो भयो । डबल नेकपाको सरकार बनेपछि छौंडा र अरिंगालको आतंक अचाक्ली बढ्यो । खुला सभाका वक्ता ज्ञानेन्द्र शाहीलाई सुर्खेतमा पुलिसले पक्राउ गरेर कठोर यातनाका साथ काठमाडौं लग्यो । मानौं ज्ञानेन्द्र शाही जंगबहादुरका पालाका लखन थापा हुन्, जसलाई पिंजडामा कोचेर काठमाडौंमा लगी विभत्स हत्या गरिएको थियो । ज्ञानेन्द्र शाही चितवनमा मरणासन्न हुने गरी कुटिए ।

मण्डले भनेको सूर्य थापा वा कमल थापा होइनन् । सत्ताका आडमा गुण्डागर्दी गर्ने सबै मण्डले हुन् । ज्ञानेन्द्र शाही प्रतिमनमा ठूलो सद्भाव थियो । उनले दिदीभन्दा मैले छुट्टै विश्वासको आभास पाएँ । माकुराको जालमा झिँगा पर्छ । त्यस्तो जालमा बाघ–हात्ती पर्दैनन् । माकुरे जालले ज्ञानेन्द्रलाई छेक्दो रहेनछ । यो छोटो जम्काभेटपछि झनै सम्मान भाव जाग्यो । पछि नारायणहरि तिवारीले बताए, ज्ञानेन्द्र शाहीले २७ जिल्लाका प्रतिनिधि अभियन्तालाई प्रशिक्षण दिएछन् । अरिंगालले नदेखैझैं गरे छन् । मरिच आफ्नै रागले चाउरिन्छ ।

पुण्यप्रसाद प्रसाईं मिडियामा बोल्छन्, ‘भारतको उक्साहटमा निर्वाचित सरकारलाई राजा महेन्द्रले अपदस्थ गरे । यी २ दूरदर्शी नेता मिलेका खण्डमा नेपालमा समृद्धि आउँथ्यो !’ आजसम्म भारतले लगातार त्यस्तो भूमिका खेलेको छ । अब त प्रायः सबै नेपालीले त्यो बुझेका छन् । सबैले चाल पाइसकेकै सत्य हो, भारत निर्वासित बिपी कोइरालाले भारतको त्यही धुत्र्याइँ बुझेपछि राजासँग घाँटी जोडेका थिए । सायद त्यसैले मदन भण्डारीले बिपीलाई मन पर्ने नेता बताए । अपशोच, अझै पनि नेपालका कम्युनिस्ट बिपीको दूरदर्शिताको सम्मान गर्न चाहँदैनन् । पूर्व राजा ज्ञानेन्द्र शाह नाँच्दा प्रचण्ड थरर्र काम्दै कराए, ‘जनताले चाहे यस्ता पूर्व राजालाई खरानी बनाइदिन सक्छन् !’ विचरा, आफैंलाई जनताले घृणाले थुकिरहेको पत्तो नपाएझैं गर्छन् । वैद्य, बाबुराम वा विप्लवसँग होइन, प्रचण्ड अहिले आफ्नै पार्टीका सिनियर अध्यक्षसँग मारामार गरिरहेका छन् । फागुन १५ गते रमेश खरेलले यही सन्दर्भ सम्झाए ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान थाल्ने सहमति भएछ । खरेल संयोजक र शाही सहसंयोजक बन्ने निधो गरिएछ । देवेन्द्र सिटौला भाँड्न पुगेछन् । अन्तिम घडीमा रमेश भागे । ज्ञानेन्द्र शाही घाइते बाघजस्तै गर्जे । ज्ञानेन्द्र शाहीलाई अझै जनताको बलियो समर्थन देखिन्छ । जनताले राहत खोजेका छन् । कोरोना भाइरसको भय फैलाएर सरकार कालो बजारियालाई सघाइरहेको छ । भ्रष्टाचार विरोधी १ जना निहत्था युवालाई आमा–दिदीबैनीले आशाको केन्द्र बनाइरहेका छन् । भन्दै छन्, ‘भाइ भए भरोसा !

सम्बन्धित खबर