बुधबार, १४ असोज २०७७
samadhannews
Bardan Online

आमाप्रति- कविता

बिहिबार, ११ बैशाख २०७७


सिर्जना बस्नेत

एउटा यस्तो कुनै दिन छैन होला
ती आमाले मलाई बिर्सेको
या फोन नगरेको
या नसोधेको
कस्तो छ तलाई ?
हिजो नराम्रो सपना देखे
कैयौ प्रश्नका बाढीहरु
प्रत्येक दिन एकै श्वासमा खन्याउँछिन ती आमा ।

कहिलेकाहि झर्किन्छु र रिसाउछु
काम छैन कति सोध्या हो, जहिले
सन्चै छु, पकाएर खाए
एकै साासमा त्यसैगरी उत्तर दिन्छु म ।

एउटा यस्तो कुनै चाड छैन होला
ती आमाले मलाई नसोधेको
दशैैंं होस् या सक्रान्ति
जैले पनि, के के पकाएकी थिएँ
तँलाई सम्झे, खानै मन लागेन
खाना खानु अघि र पछि
सुत्नु अघि र उठे पछि
म गर्भमा आएदेखि नै
चाहेर पनि बिर्सेकी छैनन् ती आमाले ।

एउटा यस्तो कुनै दिन पनि छैन होला
उनको शब्दमा माया
आँखामा करुणा
ह्रदयमा सन्तानप्रतिको
डर, चिन्ता र पिर नझल्किएको
व खुशी, शान्ति र दिर्घायुको
प्रार्थना, आशीर्वाद नमागेको ।

अनि यस्ता कुनै दिन पनि आएनन्
आफ्नो खुशीको लागि
सुख सयलले बसेको
चाहे आफू भोको बसेर होस्
वा मेला पर्म गरेर होस्
पटपटी फुटेका ती हातखुट्टा हेर्दै हेर्दै
उनी बाँँच्दै रहिन, हाँस्दै रहिन ।

मेरा जस्तै अपुरा सपनाहरु
नहोस् है तिमीहरुको
पढ, पढनु पर्छ
लेख लेखिरहनु पर्छ भन्थ्यौ
कुन्ठा बोकेर होइन
हाँसेर बोलेर खुल्नु पर्छ भन्थ्यौ
मन लागेको खानुपर्छ
लाउनु पर्छ पनि भन्थ्यौ
सुखले कमजोर बनाउँछ
दुःखले खारेर जिउन सिकाउछ भन्थ्यौ ।

त्यो पाखुरीको टुप्पोको घाँस
तैले काट्न सक्छेस भनेर नै पठाउथ्यौ
पानी चुहिँदा
त्यो खरको धुरी
तैले पनि टाल्न सक्छेस् भन्थ्यौ
मार्ने गोरुहरुको दाइँमा
पुच्छर निमोठेर भए पनि धपाउनु पर्छ भन्थ्यौ
जहिले पनि,
किन गर्न सकिदैन ?
सकिन्छ सक्नु पर्छ भनेर नै प्रोत्साहित ग¥र्यौ
भाइ र तँ मा
आकार प्रकार फरक होला
संरचना एउटै कोख हो भन्थ्यौ ।

न गाजल टिकी लगाउन सिकायौ
न कोरीबाटी चुलठी
न लजाउन न राम्री हुन नै
राम्रो श्रृंगार, गहना र लुगाफाटाले
असुन्दरलाई सुन्दर होइन
मनको सुन्दरतालाई मैलो बनाउछन भन्थ्यौ ।

सिकायौ त निडर
आत्मविश्वासी र आत्मनिर्भर हुन
आँखामा आँखा जुधाएर
आवाजमा आवाज थपेर
लाजलाई कुल्चेर
उदांगो गर्वसँग छाती उठाएर जिउन मात्रै होइन
सगरमाथा शीर हिड्न सिकायौ
जीवन, काल र समय चक्र हो
घुमिरहन्छ, घुम्नु पर्छ भन्थ्यौ
आरोह, अवरोह, दुःख पिडा
आइरहन्छन आउनु पर्छ भन्थ्यौ
मर्दै जिउनु र भेटिदै छुट्टिनुले
सम्बन्धहरु जीवन्त बनाउछन भन्थ्यौ
सबै पाएर रम्नु भन्दा
सबै गुमाएर मुस्कुराउनुको
आनन्द सिकायौ

मेरा लागि सधै यस्तै दिन आओस्
र भनिरहन सकुँ
संसारकी सबैभन्दा राम्री, असल र प्रिय
अरुकी जस्तै तर पृथक
घर, देश, परदेश र पृथ्वी नै तिमी
सुर्य, चन्द्र, आकाश र धर्ती
गायक, नायक, शिक्षक, डाक्टर
ब्युटिसियन, सेफ सबै नै तिमी
कबि तिमी अनि कबिता तिमी

एउटै रुप भगवानको
सबै रङ्ग जाति र धर्म बिच
मात्र जननी
तिम्रो मिठो दूध जस्तै
तरल, पवित्र, शित्तल र सत्य
अनि पानस जस्तै
तेल थप्दै, थप्दै
सधै आमा नै बनिरहनु
उन्ज्यालो, उर्जा र न्यानो यसैगरी दिइरहनु, दिइरहनु ।

(हाल एडमन्टन क्यानाडा)

सम्बन्धित खबर