मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

मेरी हजुरआमाको कथा

सोमबार, १५ बैशाख २०७७

किरण गुरुङ


एकादेशमा, एउटा राजा थिए ।
होइन,..होइन,..हाम्रो देशमा अहिले राजा छैनन् ।
..............................................
एकादेशमा एउटा ठूलो घर थियो । कथा सुरु हुन्छ, झगडाबाट । एक दिन, त्यस घरको दुईवटा धुरी खाँबो बीच बेस्सरी ठूलो झगडा परेछ । एउटाले भन्दो रहेछ- "यो घरको छान‍ो मैले अड्याएको छु ।" अर्कोले भन्द‍ो रहेछ "म‌ैले" झगडा यति चर्को भयो कि फैसला गर्नै गाह्रो पर्‍याे ।


मेरी हजुरआमाको कथा यत्ति मै सकिएको छैन । अहिले पनि झगडाको महाभारत जारी छ । यो युग, देश र समय अनुसार विभिन्न रूप र रंगमा पुनारावृत्ति भइरहेको छ । सायद यो झगडा अहिले नेपालमा सिहंदरवारलाई केन्द्र मानेर मञ्चन भइरहेको छ।


जोरीपारी र शत्रु हाँसेर रमिता हेर्ने नै भए । आसेपासे, चम्चे, हुक्के, ढुक्के, चिलिमे, दले, बले, गुटे, सुटे, जे जति थरीका छन् सबै - स्वार्थको झुन्डहरू झगडाक‍ो आगोमा घिउ थप्ने मात्र भए ।


झगडाको धुँवा चार दिशा फैलन थाल्यो । चारै दिशाका नन्दी-भृङ्गी, शुण्डा-मशुण्डा, छौंडा-छौंडीहरू जाग्न थाले । भूतप्रेत,पिशाच, मशान,ख्याक, किच्कन्नी, सबै दुष्ट आत्मा र विचारहरू सल्बलाउन थाले । त्यसैले झन, झगडाले सजिलै अन्त्य हुने छाँट देखाएन ।

एक दिन, बाटो हिड्ने एकजना बज्रुकले सल्लाह दिए- "किन आपसमा झगडा गर्छौ ? छानालाई सोध्नु, दूधको दूध पानीको पानी निसाफ भइहाल्छ नि ।" बटुवाको सल्लाह दुवैलाई चित्त बुझ्यो र छानालाई सोधे- "हामी २ मध्ये को बलियो ?"


अघिदेखि झगडा सुनिरहेको छानो झन् के कम थियो र ? यी सबैलाई मैले नै ओतेर जोगाएको छु भन्ने घमण्ड उसमा छँदै थियो । र बम्केर चिच्याइ पनि हाल्य‍ो - "मलाई धेरै रिस नउठा । मैले नओतेको भए उहिल्यै भत्किएर, मक्किएर र कुहिएर जमीनमा मिलिसकेका हुन्थ्यौं, केको को बलियो ? बलियो सलियोको कुरा छाड, म भन्दा ठूलो यो घरमा कोही छैन ।"

छानोको कुरा सुनेपछि चुपचाप उभिरहेको भित्ताको पर्खाललाई लाटो रिस उठ्यो - "धेरै फुर्ति नलगाऊ, हामी (भित्ताको पर्खाल) नभएको भए उहिल्यै गर्ल्याम गुर्लम भएर ढलिसक्थ्यो । बडा ठूलो हुँ भन्ने घमण्ड गर्छौ ? तिमीहरू सबै चुप लाग, हामी नभए घरै बन्दैन । नभए यो घरको मालिक र यसमा बस्ने मान्छेहरूलाई सोध, को ठूलो हो ? "


झगडा साम्य हुने त कुरै भएन, झन चर्कदै गयो । धुरी खाँबो बीचको झगडा छानो र भित्तामा पनि सल्कन थाल्यो । को बलियो भन्ने झगडाको विवाद को ठूलो भन्नेमा परिणत भयो । यसरी झगडा बढ्दै जाँदा सज्जन होइन, दुर्जन धेरै देखिन थाले । बुद्धिमान होइन, सबै मुर्ख देखिन थाले ।


स्वार्थ र घमण्डले विवेक भ्रष्ट हुँदै गयो । र मति हराउँदै गयो । अहिलेसम्म चुप लागेर बसेक‍ो घरको जग, य‍ो झगडामा उनलाई कसैले स्थान नदिएपछि, सबैले हेपेको ठानेर रिसले काम्न थाल्यो । काम्दा सानो सानो भुँइचालो आए जस्तै भयो । "म यो घरको आधार जग हुँ, तिमीहरू सबैलाई मैले अड्याएको छु, कसैले फुर्ती नहाँक । यो जगतक‌ै ठूलो मैं हुँ ।" यसरी जग पनि झगडामा सामेल भयो ।

त्यसैले झगडा टुंगिने कुरै भएन, झन चर्कदैं गयो । झगडाले झन रूप फेर्दै गयो । को भन्दा को कम ? कोही कम भएन । यसरी यो झगडा महाभारत बन्यो ।

हामी कथा सुन्ने अलमलमा पर्‍याैं । हजुरआमाले यत्तिकैमा कथा सक्नुभयो ।
तर हाम्रो जिज्ञासा भने मेटिएन र हामीले हजुरआमासँग सोध्यौं- " को हो त बलियो र ठूलो ?" रात छिप्पिसकेको थियो । हजुरआमाले भन्नुभयो- "अहिले चुप लागेर सुत, भोलि बिहान भन्छु।"


बिहान खाना खाने बेलामा दाजुभाइक‍ो झगडा पर्‍याे । हजुरआमा आएर सम्झाउनु भयो - "बाबु ! झगडा गर्ने मान्छे कोही ठूला हुँदैनन्, बलिया पनि हुँदैनन् र झगडा गर्नेहरूको कहिल्यै जीत पनि हुँदैन ।"


त्यसपछि हाम्रो जिज्ञासा शान्त भयो । यसरी हजुरआमाले यो झगडालाई मान्छेसँग जोडेर भन्नुभयो - "जब मान्छे कमजाेर हुन्छ, निहुँ खोज्छ, झगडा सुरु गर्छ र अन्तमा जीतको नाटक रच्छ ।"

मेरी हजुरआमाको कथा यत्ति मै सकिएको छैन । अहिले पनि झगडाको महाभारत जारी छ । यो युग, देश र समय अनुसार विभिन्न रूप र रंगमा पुनारावृत्ति भइरहेको छ । सायद यो झगडा अहिले नेपालमा सिंहदरवारलाई केन्द्र मानेर मञ्चन भइरहेको छ।

पढेर सुन्नेलाई सुनको माला,
सेयर गरी भन्नेलाई फूलको माला,
अहिले यो कथा सिंहदरवार जाला, भन्ने बेला खुरूरू आउला ।

२०७७ वैशाख १५ , पाेखरा

सम्बन्धित खबर