मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

‘बाँझा खेतबारीका दिन फर्किए’

शुक्रबार, १९ बैशाख २०७७
27510 पटक पढिएको

दिलीपप्रताप खाँड

मेयर, वालिङ नगरपालिका स्याङ्जा

स्रोत र साधन भनेको पैसा मात्र होइन । मानव संशाधन सबैभन्दा ठूलो स्रोत हो । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था र नागरिकले हामीलाई कोरोनाविरुद्दको अभियानमा साथ दिनुभएको छ । सबैतिरबाट सकरात्मक साथ प्राप्त भएको छ ।


नगरपालिकालाई प्राप्त अधिकार हामीले वडालाई हस्तान्तरण गरेका छौं । र, वडाले टोललाई प्रदान गरेको छ । राहत वितरणका क्रममा भएका गुनासो समाधान गरेका छौं । राहत बाँड्दा कुपनको व्यवस्था गरिएको छ । हामीले गरिब नभनी खाद्यान्न अभाव भएका नागरिक भनेका छौं । आजको गरिब भोलि धनी हुनसक्छ र आजको धनी भोलि गरिव हुनसक्छ नि ! नगरपालिकाले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । लकडाउनका कारण नबिकेका कृषिजन्य उत्पादन खरिद गरेर त्यसलाई बिक्री गर्ने व्यवस्था गरेका छौं ।


बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनको राख्ने जिम्मा वडाध्यक्षलाई दिइएको छ । कोभिड १९ सम्बन्धी प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कार्यविधि बनाएका छन् । त्यसमा क्वारेन्टाइनमा बस्नेलाई पैसा दिने, क्वारेन्टाइनको स्तर के हुनुपर्छ भनेर तोकिएको छ । तर, कार्यविधि एकातिर र काम अर्कोतिर भएको छ । कार्यविधिमा तोकिएको क्वारेन्टाइनको स्तर हामीले बनाउन सक्ने अवस्था छैन । तारे होटलजस्तो स्तर हाम्रा ठूला अस्पतालले पनि कायम गर्न सक्नु हुँदैन ।


हरेक पालिकामा फरकफरक नीति भएकाले काम गर्न अन्योल सिर्जना भएको छ । कार्यविधिअनुसार बजेटको व्यवस्था पनि छैन । हाम्रै नगरपालिकाको क्वारेन्टाइनमा बस्नु भएकाहरुले भत्ता माग्न थालिसक्नु भयो । कार्यविधिमा त्यो पैसा कोभिड १९ राहत कोषबाट दिने भन्ने उल्लेख छ । आर्मी, प्रहरीमार्फत पैसा आउँछ भनिएको छ तर कहाँबाट आउँछ भन्ने उहाँहरुलाई पनि थाहा छैन ।
क्वारेन्टाइनमा कस्ता व्यक्तिलाई राख्ने हो भनेर तोकिए पनि अरु कोरोनाको शंका गर्दा धेरै ठाउँमा दुख पाएको स्थिति छ । आफू बच्नुपर्छ भनेर वालिङबासी पूर्ण सतर्क हुनुहुन्छ । सडकमा हिँड्ने बटुवालाई हामीले आफ्नै खर्चमा झन्डै ४ हजार छाक खाना खुवाएका छौं ।


यस वर्षका विकासका कार्य पूरै असर परेको छ । भोलि कोरोनाले भयावह रुप लिएर मृत्यु भए विकासको के अर्थ ? त्यसैले सबैभन्दा पहिले हामीले आफ्नो जीवन बचाउनुप¥यो । विस्तारै लकडाउनलाई असर नपर्ने गरेर विकास निर्माणका आयोजना अघि बढाउने गरी छलफल भएको छ ।


कोभिड १९ १० प्रतिशत चुनौती र ९० प्रतिशत अवसर पनि हो । विदेशमा रहनुभएका वालिङबासीले अब हामी फर्किन्छौं भनेर भन्नुभएको छ । हामी उहाँहरुले ल्याउने सिप र स्रोतको सदुपयोगमा लाग्छौं । उहाँहरुले काम गर्ने क्रममा लगानी आवश्यक भए नगरपालिका ग्यारेन्टी बसेर लगानीमैत्री वातावरण बनाएर कोरोनालाई अवसरको रुपमा लिन्छौं ।


विदेश र सहरबाट गाउँ फर्किनु भएकाहरु १४ दिनको क्वारेन्टाइन बसाइ सकेर खेतीपातीमा लाग्नुभएको छ । उत्तर फर्किएका पहाडमा सुन्तला र कागती तथा दक्षिणतर्फ फर्किएका पहाडमा एभोकाडो रोप्ने काम भएको छ । विदेशमा बगाएको पसिना नेपालमा बगाइयो भने दोब्बर प्रगति गर्न सकिन्छ भन्ने भावना उहाँहरुमा जाँगेको छ । यस्तो भावना भएका युवाहरुलाई स्थानीय तहले उत्पादनमा बदल्नुपर्छ ।


गाउँका खेतबारीका दिन फर्किएका छन् । हामीले पहिल्यै खेतीका लागि गाउँगाउँमा यन्त्रहरु वितरण गरेका थियौं । ती यन्त्रको राम्रै सदुपयोग भएको छ । गाउँमा बाँझो जमीन पाउन गाह्रो भइसकेको छ ।


कोरोनाका कारण केही योजना भने यस वर्ष प्रभावित भएका छन् । आँधिखोला करिडर र ४ लेनको हाइवे निर्माण प्रभावित भए पनि अन्य साना आयोजनामा खासै प्रभाव परेको छैन । सहुलियत दिएर उत्पादनमा लगानी गर्ने वातावरण बनाउन सकियो भने फड्को मार्न सक्छौं ।


स्थानीय पालिका हुँदैनथ्यो भने ‘विचरा’ मात्र भन्न सकिन्थ्यो । खास गरेर माथिल्लो निकायको कुनै भूमिका देखिँदैन । हाम्रो केन्द्र सरकारलाई समेत तल्लो निकायको खासै महत्व भएजस्तो लाग्दैन । सबै नागरिक निराश रहिरहँदा उत्साहित बनाउन प्याकेज ल्याउनु पर्ने थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप प्रोत्साहित गर्ने विषयमा सरकारले सोचेजस्तो लाग्दैन ।


काम गर्नका लागि हरेक पालिका सक्षम छन् भन्ने करा कोरोनाले देखाएको छ । अहिले प्रदेश र केन्द्र सरकारले हामीसँग डाटा बुझ्ने काम मात्र गर्नुभएको छ । अस्पतालमा अलिअलि स्वास्थ्य सामग्री पठाएजस्तो लाग्छ । त्यही पनि जिल्लाका ११ तहले ३३ लाख रुपैयाँँ जिल्लालाई बुझाएर एकमुष्ट सामान खरिद गरेका छन् । अहिले स्वास्थ्य सामग्रीको कुनै अभाव छैन । हामीले ८ महिनालाई पुग्ने स्वास्थ्य सामग्री भण्डार गरेर राखेका छौं ।


यो बेला सरकार कुर्ने बेला होइन । नागरिक आफै सचेत हुनु आवश्यक छ । अहिलेको खाली समयमा हरेक नागरिकले भोलिका लागि योजना बनाउनुपर्छ । अब हिजोको नेपाल रहँदैन, हिजोको विश्व रहँदैन । यो नयाँ अवसर खोज्ने समय हो । त्यसैले के गर्दा समाज र देशको भलो हुन्छ भन्ने योजना बनाएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।


पिंक सिटीका रुपमा चिनिएको स्याङ्जाको वालिङ नगरपालिकाका मेयर खाँणसँग समाधान न्यूजका कार्यकारी सम्पादक भरत काेइरालाले गरेको भर्चुअल कुराकानीको सम्पादित अंश ।
प्रस्तुति – अनुप पौडेल


सम्बन्धित खबर