बिहिबार, १८ असार २०७७
samadhannews
nepal telecome

पौराणिक महत्वका वर, पीपल र समी

बिहिबार, २२ जेठ २०७७
1380 पटक पढिएको

एमपी अर्याल

हिन्दु धर्ममा विशेष महत्व राख्ने वर, पीपल र समीलाई पवित्र रुखको रुपमा लिईन्छ । यी रुखलाई आयुर्वेद विज्ञान मा औषधीको रुपमा प्रयोग गरिन्छ । हिन्दु परम्परामा वरलाई पुरुष स्वरुपमा लिइन्छ । त्यस्तै पीपललाई प्रकृति मानिन्छ भने समीले पुरुष जातिको प्रतिनिधित्व गरेको पाइन्छ ।

यी तीनै रुखहरु विष्णु भगवानका अवतार मानेर पूजा गर्ने प्रचलन हिन्दु धर्ममा छ । समीलाई भने शिवको प्रतीक पनि मानिन्छ । नेपालमा चौतारी बनाएर यी ३वटै रुखहरु रोपिसकेपछिविवाह गराउने पौराणिक महत्व अझै पनि मरिसकेको छैन । शीतल ताप्न,गाउँ भेला गर्न र थकाइ मार्न सामाजिक रुपमा यसलाई प्रयोग गर्ने गरिन्छ । पर्यावरणीय महत्वका रुपमा यी रुखहरु मानव र वातावरणका अभिन्न अंग समान रही आएका छन् ।

वर, पीपल र समी चौतारीका पर्याय

सामान्यतया चौतारी भन्नेबित्तिकै वरपीपल र समीको समागमलाई बुझ्न सकिन्छ । हिन्दु धर्ममा धार्मिक रुपमा प्रयोग भएपनि यी तिनै रुखहरुको सामाजिक, सांस्कृतिक, वैज्ञानिक र पर्यावरणीय महत्व एकदम उल्लेखनीय रही आएको छ ।

पूर्वीय सभ्यतासँगै चौतारीको प्रयोग र उपभोग भएको कुरा विभिन्न अध्ययनले पनि देखाउँछ । समाजमा हुने गरेका भेला, छलफल, न्याय, निसाफ, थकाइ मेटाउने प्रयोजन, सुस्ताउने ठाउँ, पशु चौपायाको गोठालो गर्ने काम, भरियाले भारी बिसाउने ठाउँ आदि विभिन्न रुपमा छ ।

चौतारीका छपनीमा बसी पहिलेको समयमा बाघचाल खेल खेल्ने चलन पनि नेपाली समाजमा थियो । हरेक चौतारीहरु समाजको पायक पर्ने स्थानहरुमा बनाइन्थ्यो । चौतारीमा घैंटो हुन्थ्यो । बटुवाका लागि पानी खान वा थकाइ मारेर सुस्ताएकाहरुलाई तिर्खा मेटाउन घैंटोको पानी सहयोगी हुन्थ्यो । यसले के जनाउँछ भने, त्यो बेलाको सिमाजमा भाइचारा, बन्धुत्व र हामी भन्ने भावना व्याप्त थियो ।

त्यस्तै गरेर चौतारी निर्माण गरिसकेपछि हिन्दु प्रचलन अनुसार पूजा, पाठ र विवाह गर्ने गरिन्छ । यसलाई वैज्ञानिक रुपले पुष्टि गर्न नसके पनि भगवानस्वरुप स्थापित प्रकृतिलाई पनि आध्यात्मिक भावनाले एकै बनाउन सकोस भन्ने हो ।

जसरी विवाह पश्चात अपरिचित व्यक्तिहरु पति पत्नी बनेर सामाजिक दायित्व निभाउँछन त्यसै गरी वर, पीपल र समीलाई एक बनाउन विवाह गरिएको भन्ने विश्लेषण गर्न सकिन्छ । यसले समाजमा एकताको सन्देश पनि दिन्छ । बिना वरको समी र पीपललाई हामीले पूर्ण चौतारी मान्न सक्दैनौं ।

त्यसैले जहाँ चौतारी चिनिन्छ त्यहाँ दाहिने पीपलदेबे्र वरसँगै समी रोपेर पूर्ण बनाउने काम गरिन्छ । अझै भन्न पर्दा, पुराना चौतारीहरु नजिकै पानीको मुहान, कुवा धारा पनि पाइन्छ । जुन अहिले लोप हुँदै पनि छ । शीतलसँगै पानी पिलाउनेउद्देश्यले चौतारी नजिक पानीखनिएको हुनु पर्छ ।

घाँसीले कुवा खनेर पानीखुवाएको कथा हामीले बिर्सिएका छैनौं। तर हामी हाम्रो संस्कृति परम्परा चालचलनलाई आधुनिकताका नाममा बिर्सदंै छौं । अतहिन्दु संस्कारले चौतारी (वर, पीपल, समी)लाई धर्मको रुपमा लिएपनि जुनसुकै जात, जाति, धर्म संस्कृति मान्ने मानिसले यिनीहरुको संरक्षण, प्रवद्र्धन गर्नु पर्दछ ।

स्थानीय स्रोत र साधनहरु प्रयोग गरेर बनाइने चौतारीहरु हाल आएर आधुनिक कंक्रिट स्वरुपमा बनाइन्छ । माटो ढुंगा, छपनी, काठ आदि प्रगोग हुने ठाउँमा अहिले आएर सिमेन्ट र रडहरुको प्रयोग गरिन्छ । अझ भन्नुपर्दा चौतारीहरु नै लोप भएर मासिने अवस्थामा पुगेका छन् ।

चौतारी संरक्षण त परको कुरा, भएका चौतारीहरु लाई जरैदेखि डोजर लगाउने, काट्ने, दाउराको रुपमा प्रयोग गर्ने गरिन थालेको छ । जुन एकदम निन्दनीय छ । यसले सामाजिक स्वरुप, भौतक स्वरुपमात्र बिगारेको छैन धार्मिक अपचलनलाई समेत उजागर गरेको छ ।

हिन्दु धर्ममा वर, पीपल र समीलाई काट्नु भनेको निकै ठूलो पाप गरेको मान्ने उल्लेख छ । त्यस्तै गरेर मानिसलाई चाहिने अक्सिजनको मात्रा घटेर गएको छ । यी प्रजातिका रुखहरुले प्रशस्त मात्रामा मानव जातिलाई चाहिने अक्सिजन दिने गर्दछन् भने आयुर्वेद विज्ञान मा एकदमै महत्वपूर्ण स्रोत मानिने रुखहरुको विनाशले मानिसलाई चाहिने औषधीय स्रोतको अस्तित्व लोप गराउन लागेको छ ।

जताततै हरियाली कायम गर्न, स्वच्छ र स्वस्थ हावा लिन, पर्यावरणलाई दिगो र सन्तुलित बनाउनपनि भएका चौतारीहरुलाई संरक्षण र नयाँ धेरै चौतारीहरु निर्माण गर्नुपर्ने आजको आवश्यकता छ । बन्धुत्व, भाइचारा, पर्यावरण, विज्ञान संस्कृति सबैलाई एकै ठाउँमा बाँध्ने चौतारीलाई सामाजिक एकताको प्रतीकका रुपमा विकास गरौं ।

वैज्ञानिक महत्व

वर, पीपल र समीलाई आयुर्वेद विज्ञानमा सर्वगुण औषधीका रुपमा लिइन्छ । यिनीहरुबाट उत्पादित फल, बोक्रा एवं जरालाई औषधीकारुपमा प्रयोग गरिन्छ ।

विशेष गरी एसियन मुलुकहरुमा यिनीहरुको प्रयोग अधिक रुपमा हुने उल्लेख छ । खोकी, पित्त, रगत सम्बन्धी रोग, बान्ता रोक्न, स्वासप्रस्वास, छाला तथा चर्मरोग जस्ता रोगहरुमा वर, पीपल र समीको फल एवं विभिन्न भाग प्रयोग हुन्छन् ।

वरः मधुमेहका लागि वरको बोक्राको जुस प्रयोग गर्न सकिने अध्ययन अनुसन्धानले देखाएको छ । त्यस्तै गरेर वरको पातलाई उमालेर पनि प्रयोग गर्न सकिन्छ । गिजा सुन्निएको वा अन्य सुन्निएको भागमा यसको पात र कलिलो डाँठलाई प्रयोग गरिन्छ । त्यस्तै गरेर काटेको ठाउमा रगत रोक्न पनि वर प्रयोग गर्ने गरिएको आयुर्वेद विज्ञानमा छ ।

पीपल : पीपलको रुखलाई अर्को महत्वपूर्ण औषधी विज्ञानको पाटोको रुपमा लिने गरिन्छ । यसको बोक्रा सुनिएको ठाउँमा, पखलाको उपचारमा,दाँत दुखेकोमा प्रयोग गर्न सकिन्छ । त्यस्तै कलिलो पातहरुलाई उमालेर कानको उपचारमा, छाला तथा चर्मरोगमा प्रयोग गर्ने गरिन्छ । पीपलको फल पनि आयुर्वेदिक औषधीमा अधिक प्रयोगमा आउछ ।

समी : समीको फल, बोक्रा एव‌ं जरालाई उमालेर, पेस्ट बनाएर र प्रशोधन गरेर औषधीका रुपमा प्रगोग गरिन्छ । समी सदावाहार भएकोले यसलाई विभिन्न वैज्ञानिक प्रयोजनमा प्रयोग गरिन्छ ।यसको चोपलाईउमालेर पनिऔषधीका रुपमा प्रयोग गर्नसकिन्छ

अतः प्राचीन समयमा मानिसहरु बोट बिरुवा, खाना, बसोबास हरदृष्टिले रुख बिरुवाहरुमा निर्भर हुने गर्दथे । विशेष गरी वर, पीपल, समीजस्ता जडिबुटीजन्य रुखहरुलाई आयुवेर्दिक औषधीको रुपमा प्रयोग गर्दथे । जतिबेला विज्ञान (आधुनिक विज्ञान)को प्रयोग कमी थियो औषधीहरुको निर्माण प्रशोधन हुँदैनथ्यो भएका यी र यस्तैरुखलाईऔषधीको रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।

धार्मिक एवं सांस्कृतिक महत्व :

धर्म र संस्कृति समाजमा मानिसलाईअनुशासन र अध्यात्ममा वाध्ने कसीहरु हुन्। धर्म र संस्कृतिले समाजमा मानिसलाई एक बनाउने काम गर्दछन् । वर, पीपल र समी विशेष गरी हिन्दु र बुद्घ धर्ममा समाज सेतूका रुपमा छन् ।

यी धर्मका मानिसहरु विभिन्न बार (७ बार) मा चौतारीहरुमा पुगी भगवानस्वरुप वर,पीपल र समीलाईजल चढाउने, पूजा पाठ गर्ने, शान्ति स्वस्ती गर्ने, धूप,नैवैद्य, अक्षता चढाउनेगर्दछन् । जौ, तील, अक्षता, बेसार, पाति, कुश, दूध दुबो, मह र खिर्रोे जस्ता वस्तु तथा पदार्थहरुले चौतारीमा पूजागरेमा मनोइच्छा पूर्ण हुन्छन्भन्ने विश्वास छ ।

मानिसलाई असल बाटोमा डो¥याउन, सही र सकारात्मक विचारले प्रेरित गर्न, धैर्यवान र अनुशासनमा राख्न पनि यिनीहरुको महत्व उत्तिनै छ । अहिले आएर धर्म अनि संस्कृतिलाई फरक ढंगले व्याख्या विश्लेषण गरे पनिपौराणिक कालदेखी यिनीहरु समाजमा एकता, भाइचारा,अनुशासन कायम राख्न धार्मिक र सांस्कृतिक रुपमा प्रयोग र प्रचलनमा आएका थिए ।

वैशाख पूर्णिमा, शान्ति, स्वस्ति पूजा, नवग्रह पूजा, ज्येष्ठ शुक्ल पञ्चमी, दीपावली, श्राद्घ, वार्षिक पुण्य तिथि, कुल पूजा, साउने सक्रान्तिमकर सक्रान्ति, अन्न प्रसन आदी हरेक जस्ता संस्कार र संस्कृतिमा वर, पीपल र समीका पात एवंकाठ समिदाका रुपमा प्रयोग गर्ने गरिन्छ ।

त्यसैले यिनीहरु पवित्र वृक्षहुन् । यिनीहरुको वरिपरि जल लिएर घुम्नाले पनि पापमुक्त भइन्छ भन्ने प्रचलन छ । शनिबार, सोमबार, आइतबार विभिन्न बारमा चौतारीमा गईपूजागर्ने चलन पनि हिन्दु र बौद्घ धर्ममा छ । यी धर्ममा वर, पीपलर समीलाई काट्न हँुदैन । काटे पाप लाग्छ भनि उल्लेख गरिएको छ । त्यसैले चौतारी को संरक्षण र प्रवर्दन गर्नुहामी सबैको दायित्व हो ।

वर, पीपल र समीको सामाजिक सांस्कृतिक, वैज्ञानिक र पर्यावरणीय महत्व अत्यधिक छ । मानव जीवनको परम्परा धर्म र यसको प्रयोग कसरी हुँदै आएको थियो र अबका दिनमा पनि यसको महत्व के कस्तो छ भन्ने कुराले यिनीहरुको भानलाई दर्शाउँछ ।

विभिन्न धर्मर आयुर्वेदमा प्रयोग हुने यस्ता पवित्र रुखहरुको संरक्षण गरी यसको सकारात्मक पाटोलाई मूल्यांकन गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व पनि हो । हाम्रो दैनिक जीवन, चाडपर्व, संस्कार, संस्कृति, औषधीआदिको ज्ञान आगामी पुस्तामा सार्नका लागि पनि यस्ता बहुउपयोगी वृक्षहरुको चर्चा, अध्ययन, अनुसन्धान र निर्माण हुनु पर्दछ ।

समग्र पर्यावरणलाई टेवा पु¥याउन पर्याचक्र प्रणालीलाई सन्तुलित राख्न वरपीपल र समीलाई काट्ने होइन संरक्षण गरौ । आधुनिकता को नाममा संस्कार, संस्कृति, पर्यावरणलाई धुमिल नबनाऊँ । पूर्वीय सभ्यता र आयुर्वेद विज्ञानका धरोहर जोगाउनुमा हाम्रो प्रतिष्ठा छ ।

सम्बन्धित खबर