सोमबार, २२ असार २०७७
samadhannews
nepal telecome

शव आकासमा गाड्न मिल्छ ?

बिहिबार, ११ असार २०७७
45330 पटक पढिएको

—सम्पादकीय—
कोरोना भाइरस रोग (कोभिड १९) संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा साह्रै सकस देखिएको छ । स्याङ्जाको अर्जुनचौपारीका ५५ वर्षे संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधबार राति मृत्यु भएपछि बिहीबार उनको अन्त्येष्टिका क्रममा अप्रिय दृश्यहरु देखा परे ।

पोखरा महानगरपालिकासमेतको सहकार्यमा प्रशासनले शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरे, जुन अति अशोभनीय हैन निन्दनीय नै छ । पोखरा ३२ मझुवामा सेती किनार नजिकको खाली जमिनमा शव गाड्न जाँदा सशस्त्र प्रहरीको गाडीका सिसा स्थानीयले फुटाए ।मोटरसाइकल तोडफोडमा मात्रै स्थानीयको उदण्डता सीमित रहेन । कास्की र तनहुँ सीमास्थलको प्रहरी पोस्टमाथि नै आक्रमण भयो । द्वन्द्वकालमा विद्रोहीले गरेजस्तै आक्रमण गरे स्थानीयले प्रहरी पोस्टमा । यसमा छूट दिइयो भने दण्डहीनता थप मौलाउने छ । कानुनी राजको खिल्ली उड्ने छ ।

जन्ती होस या मलामी, बिरामी, सुत्केरी, बालबच्चा, वृद्ध र अशक्तका लागि बाटो छेक्ने होइन छोडिदिने नेपाली संस्कार हो । तर २५ जेठमा कोरोनाकै संक्रमितको मृत्यु हुँदा भलाम र फूलबारी क्षेत्रका स्थानीयले पनि रिठ्ठाघाटमा अवरोधै गरेका थिए । प्रहरीले बल प्रयोग नगरी धर पाएको थिएन । बिहीबार त त्यसभन्दा ज्यादै उल्किएर पोखरा ३२ का सीमित स्थानीयले उपद्रो मच्चाए । नेपाली समाजको चरित्र र संस्कार विपरीत देखिएको यस्तो हर्कतको जति भत्र्सना गरे पनि कम हुन्छ । एकातिर संक्रमण फैलँदो छ, संक्रमितलाई पीडा छ, मृत्यु पनि बढ्दै छ ।

यस्तो बेला सिंगो समाज अनुशासनमा पनि रहनुपर्ने हो । संक्रमितलाई सान्त्वना दिने, हौसला बढाउने भूमिका अरु सबैको हो, तर छिछि र दुरदुरका कुकृत्य समाजका मुठ्ठीभर मानिसहरुले गरिरहेका छन् । मृतकका परिवारलाई परेको पीडामा मल्हम लगाउनुको साटो शवको अन्त्येष्टि गर्नैसमेत नदिने उदण्डता प्रदर्शन गर्नेहरुको अरुले निन्दा र भत्र्सना गरेर मात्रै पुग्दैन प्रशासनले हदैसम्मको कारबाही गर्नुपर्छ ।

सरकारले बनाएको विपद व्यवस्थापन सम्बन्धी कार्यविधिले प्रष्ट भनेको छ, अन्तिम संस्कार गर्ने कार्यमा सहयोग पु¥याउनु हरेक नागरिकको कर्तव्य हुनेछ । यसो भनिरहनै नपर्ने हो नेपालीलाई । नेपालीको संस्कारै आपतविपतमा सहयोग गर्नै हो । तर कानुनी प्रावधान राख्दासमेत यस्ता कुरुप अनुहार उल्किनुले मानवीयताकै खडेरी परेको संकेत गरेको छ । त्यस्तो मूर्खतापूर्ण कार्य अमानवीय र असामाजिक हो ।

विश्व स्वास्थ्य संगठनले अरु विपदमा जसरी नै व्यक्तिको धार्मिक र सामाजिक परम्पराअनुसार कोरोना संक्रमितको शव व्यवस्थापन गर्नुपर्ने भनेको छ । आखिर विपद्मा समाजले हातेमालो नगर्ने हो भने सरकार वा राज्यले मात्रै कुनै उपाय गर्न सक्दैन । संक्रमितको शवबाट संक्रमण फैलने कुराको पुष्टि नभएको पनि विश्व स्वास्थ्य संगठनले जनाएकै छ ।

संक्रमणकै डरले मृतकका परिवारले नै शव छुन नपाउने प्रावधान छ । टाढैबाट हेरेर बिदाइ गर्ने अवसरसमेत त्यस्ता परिवारले पाएका छैनन् । यस्तो अवस्थामा शव गाड्ने वा जलाउने काम कुनै पनि घाट वा ठाउँमा त्यस वरपरका बासिन्दाले नदिने हो भने कहाँ व्यवस्थापन गर्ने राज्यले ? संक्रमितको शव आकासमा गाड्न मिल्दैन । कतै न कतै व्यवस्थापन गर्नैपर्छ । मानव बस्तीदेखि पर र अरु खतरा नहुने ठाउँ खोजी गरेर शव व्यवस्थापन गर्नुको धर छैन । किनभने शव आकासमा गाड्न वा फाल्न मिल्दैन ।

सम्बन्धित खबर