आइतबार, ११ असोज २०७७
samadhannews
Bardan Online

राजगोमन सर्पको गुँड जोगाउन पोखरादेखि पर्वतको यात्रा

आइतबार, १४ असार २०७७

ऋषि बराल

बिहीबारको दिन करिब २ बजे मेरो फोनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक नरेश सुवेदी सरको फोन आयो ।

पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा उहाँकी दिदीको घरनजिकैको अलपेश्वर गुफा नजिकै एउटा ठूलो सर्प एक हप्तादेखि बसिराखेको रहेछ ।

मेलै फोटो पठाउन अनुरोध गरेँ । फोटोप्राप्त लगतै मैले राजगोमन (कालीनाग)ले गुँड बनाउँदै गरेको हो भनेँ ।

उहाँले गाउँका मान्छे आवतजावत गरिरहने ठाउँमा नै सर्प बसिरहेको सुनाउनुभयो ।

त्यो सर्प समातेर अर्को ठूलो जंगलमा लगेर छाडिदिन उहाँले अनुरोध गर्नुभयो । स्थानीय विदुर लामिछानेको सम्पर्क नम्बर पनि उहाँले नै दिनुभयो । लामिछानेसँग पनि कुराकानी गरेँ ।

त्यसपछि मैले डिभिजन वन कार्यालय पर्वतका डिभिजनल वन अधिकृत अशोककुमार श्रेष्ठसँग कुराकानी भयो ।

उहाँले राजगोमन उद्घार गरिदिन भनी पत्र पठाउनु भयो । मैले मेरो कार्यालय प्रमुखलाई सम्पूर्ण कुरा जानकारी गरेँ । राजकुमार गुरुङ सरले पनि जान अनुमति दिनुभयो ।

सर्प संरक्षणमा नेपालमा अनुसन्धान र उद्घारमा सर्प संरक्षण समाज, नेपाल छ । म पनि त्यसको आजीवन सदस्य छु ।

संस्थाका पोखराका साथीहरुसँग छलफल गरेँ । म र सर्प संरक्षण समाजको अनुसन्धान र उद्घारकर्मी केशवराज सपकोटा, रोहित गिरी, रोशन गिरी र पोखराका पत्रकार प्रकाशचन्द्र सापकोटा भएर भोलिपल्ट विहान नै गएर बलुकीसम्म पर्कने गरी जाने कुरा भयो ।

पर्वतका डिभिजनल वन अधिकृत र स्थानीय विदुर लामिछानेसँग कुरा भयो । सर्पले गुँड बनाएर अण्डा पारेको भए त्यो ठाउँमा मानिसले बिगार्न नदिने गरी तारबार गर्ने हाम्रो योजना बन्यो । अनि योजना बन्यो क्यामरा ट्र्याप गर्ने । क्यामरा ट्र्यापिङ अध्ययनका लागिमात्रै होइन सर्प जस्तै जंगली जीवजन्तुको सुरक्षा गर्नु पनि हो ।

सर्पमात्र भए त्यसलाई उद्घार गरी त्यस क्षेत्रबाट अन्यन्त्र जंगलमा लागि छाड्ने कुरा गरेँ । गुँडै बनाएर अन्डा पारेको भए त त्यहीं सुरक्षा दिने र स्थानीयलाई यो सर्पको महत्व बुझाउने हाम्रो योजना बन्यो ।

मोटरसाइकलमा जाने कुरा थियो । तर पानी परिरहने मौसम जो छ । सर्प उद्घारमा पहिलाबाटै सहयोग गर्दै आइरहेका होटल क्राउन हिमालयजको म्यानेजिङ डाइरेक्टर आग्रह अर्याललाई अनुरोध गर्यौं । उहाँले हामीलाई लगिदिने बताउनुभयो ।

भोलिपल्ट बिहान ६ बजे हामी पोखराबाट पर्वतका लागि निस्कियौं । हामी ६ जनाको समूह भएर बाटोमा हामी आउँदैछौं भन्ने जानकारी वन कार्यालय र स्थानीयलाई जानकारी गरायौं । हामी करिब ८ः३० बजे पर्वतको दोबिल्ला भन्ने स्थानमा पुग्यौं । त्यस ठाउँमा एउटा चिया पसल खुला रहेछ र हामीले त्यहाँ चिया पसलमा आइपुगेको जानकारी वन कार्यालय र स्थानीयलाई गरियो । हामी आएको खबरले त्यहाँ धेरै भद्रभलामी जम्मा भई त्यस सर्पलाई जसरी पनि लानुपर्छ भने ।

कटुवाचौपारी गाउँमा पुगियो र स्थानीय विदुर लामिछाने हामीलाई लिएर सर्प भएको ठाउँतिर गयौं । उहाँले सामाजिक दुरी कायम गर्नुस् किनभने यस गाउँबाट पनि एकजना कारोना संक्रमित भेटिएको छ भन्नुभयो ।

हामीलाई कताकता कोरोनाको डर लाग्यो । कुश्मा नगरपालिका वडा नं ९, का अध्यक्ष कृष्णप्रसाद लामिछानेले हामीलाई स्वागत गर्दै विषालु सर्पलाई जसरी नि उद्घार गरी अन्त लगिदिनु आग्रह गर्नुभयो ।

गाउँको बिचैको खोल्सामा एक हप्तादेखि बसेको सर्पका कारण मान्छेको जिउज्यान जोखिममा परेको भन्ने उहाँको पिरलो रहेछ । स्थानीयसँग कुरा गरिरहँदा डिभिजन वन कार्यालयको वनरक्षक गणेशप्रसाद चापागाईं पनि आइपुग्नु भो ।

एक हप्ताअघि पर्वतमै मानिसले चितुवा डे¥याएर हिँडेको भिडियो भाइरल भएको थियो । डिभिजनल वन अधिकृत त्यस चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्र, सौराहामा थप उपचारका लागि पठाउन व्यस्त भएकाले सहायक वन अधिकृत आउने हुने चापागाईंले बताए ।

स्थानीय मानिस राजगोमन संसारकै विषालु सर्प भन्ने बितिकै डराएको जस्तो लाग्यो । हामीले पहिले गुँड देखाउन अनुरोध गर्यौं । स्थानीय दुईजनाले गुँड भएको ठाउँमा पुर्याउनु भो । सर्प गुँड बनाइसकेर बसेको भेट्यौं । उसलाई व्यवधान नपुग्ने गरी टाढैबाट तस्बिर लियौँ । त्यसलाई धेरै डिस्टर्ब हुन्छ भनेर सम्पूर्णलाई माथि लगेर सर्प समाउन नमिल्ने भनेर जानकारी गरायौं । त्यसले त्यहाँ गुँड बनाएर अन्डा पारिसकेको थियो । सर्पमध्ये राजगोमन एउटामात्र यस्तो सर्प हो जसले गुँड बनाएर अन्डा पारेर बच्चा निकाल्छ ।

धेरै स्थानीयले यसअघि पनि पर्वतको नगरपालिका वडा नम्बर १० पिपलटारी र वडा नम्बर १२ ठूलीपोखरीमा राजगोमन भेटेको बताए । उद्घारका लागि पोखराबाट सर्प संरक्षण समाजका अध्यक्ष महेन्द्रप्रसाद कतिला र रोशन गिरी आएर फेरि नजिकै घना जंगलमा छाडेको सुनियो ।

स्थानीयलाई जंगलमा छाडेको त्यही सर्प फेरि आएको शंका रहेछ । केहीले सर्प र बाघ एउटै ठाउँमा बस्दैनन् पनि भने । एउटै सर्पले त टोकेर मान्छे मार्ने सम्भावना रहन्छ भने यसका अन्डाबाट निस्केका बच्चाले कतिलाई टोकेर मार्लान् भन्ने अर्काथरीको डर रहेछ । उनीहरुले भने, ‘अब त हाम्रै गाउँमा आएर घरभित्र पसेर हामीलाई डस्छ ।’

त्यस्तो डर वास्तवमा सत्य होइन । यो सर्प एकदमै काम आक्रमक हुन्छ अनि मान्छेसँग सर्प डराउँछन् । आफूलाई आपत परेर प्रतिरक्षा गर्नमात्रै सर्पले डस्छ । हामीले सर्पलाई बाधा नपारे सर्पले पनि हामीलाई डस्दैन ।
एकछिन त्यहाँ बसेर डिभिजन वन कार्यालय पर्वत र वडा अध्यक्षलाई सर्पको गुँड भएको क्षेत्रमा तारबार लगाउने कुरा गर्यौं । करिब ११ः३० मा खाना खाएपछि राजेगोमनको विशेषता सम्बन्धी जनचेतना कार्यक्रम चलाउने भनेर सम्पूर्णलाई घर जान लगायौं ।

अन्नपूर्ण संरक्षण क्षेत्रको दक्षिणी भेगमा सन् २०१६ देखि २०१८ मा राजगोमनको गुँडको पहिलोपटक हामीले अध्ययन गरेका थियौं । ४० डिग्री भिरालो ठाउँमा सल्ला, उन्यू र कटुस आदिका सुकेका पातबाट सर्पले गुँड बनाएको थियो । गुँडबाट ५० मिटर जति टाढा पानी थियो । गुँडमा २५ वटा अन्डा थियो । २३ वटा अन्डाबाट बचेरा निस्केका थिए । यो गुँड पनि गाउँको घरबाट ५० मिटरको दुरीमा मानिस आवतजावत गर्ने गोरेटोबाट १५ मिटरभित्र कटुसको रुखमुनि थियो । बाँस, चिलाउने, भलायो, जामुन जस्ता रुख वरपर थिए । समुद्र सतहबाट ८४२ मिटर उचाइमा रहेको उक्त गुँड ५० मिटर पानीको सानो खोला भएको र दक्षिण फर्किएको अवस्थामा थियो । गुँड छ भन्ने थाहा पाएपछि त्यहाँ दर्शनार्थीको घुइँचो लाग्न सुरु भएको थियो । काठमाडौंका विशेषज्ञ गुरु प्रोफसर करणबहादुर शाहलाई पनि राजगोमनको गुँड पेला परेको सूचना गरायौं । उहाँबाट धेरै जानकारी लियौं । त्यसअघि उहाँले धेरैपटक सर्पका बचेरा हुर्काउन सफलता पाउनुभएको थियो ।

सबैलाई घर पठाएर हाम्रै टोलीका केशवराज सापकोटाका आफन्त उपेन्द्र अधिकारी शर्माको घर पुग्यौं । त्यहाँ खाना खाईवरि सर्पको गुँड भएको ठाउँनजिक अलपेश्वर गुफाको भवनमा राजगोमनको संरक्षण कार्यक्रम गर्यौं । नेपालका सर्पको जानकारी, राजगोमनको महत्व र विस्तृत जानकारी स्थानीयलार्य गरायौं । विषालु सर्पका फोटाहरु र भिडियोमार्फत करिब २ घण्टा कार्यक्रम चलायौं । त्यस कार्यक्रममा स्थानीय, वडा प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि सहभागी रहे । डिभिजन वन कार्यालय पर्वतकी सहायक वन अधिकृत विमला लम्साल र रविआनन्द गोपाली र अन्य २ प्रतिनिधिले पूर्ण रुपमा बसेर सहयोग गर्नुभयो ।

नेपालमा राजगोमन पाइन्छ भन्ने जानकारी सबैभन्दा पहिले चराविद आरएल फ्लेमिङ र आरएल फ्लेमिङ जुनियरले सन् १९७४ मा गराएका थिए । करिब ३५ वर्षअघि नेपालमा कास्कीको नौडाँडास्थित बाँझोगुराँसको जंगलमा राजगोमनको गुँड भेटिएको थियो । त्यसपछि झन्डै ३ दशकमा नेपालमा राजगोमनको गुँड फेला परेन । न कतैबाट सुनियो न त कुनै अध्ययनले नै फेला पारेको उल्लेख छ । ४÷५ वर्षदेखि राजगोमनको गुँड पाल्पा, स्याङ्जा, कास्की, मकवानपुर, दोलखा र काठमाडौं लगायत जिल्लामा फेला परेका छन् ।

पर्वतमा राजगोमन सर्पको गुँड भेटिएको पहिलोपल्ट हो भने राजगोमन यो भन्दा पहिला नै भेटिएको थियो । हामी कार्यक्रम सकेर गुँड रक्षाका निम्ति डिभिजन वन कार्यालय, पर्वतका प्रतिनिधि र केही स्थानीयलाई लिएर तारबार गर्न गयौं । राजगोमलाई त्यहाँबाट पहिला धपायौं र धपाउँदा ऊ निकै आक्रामक भएको थियो । पोथी राजगोमनले अक्सर अन्डालाई पातले छोप्छ वा कहिले आफै गुँडमाथि गुडुल्किएर त कहिले पातको चाङभित्र बस्छ । यो पनि गुँडमाथि गुडुल्किएर बसिराखेको थियो । यसर्थ अन्डा पारेदेखि बच्चा ननिस्कँदासम्म पोथी राजगोमन निराहार हुन्छ । यस अवधिमा बढी आक्रमक हुने गरेको पाइन्छ । सुरुमा निकै आक्रामक भएर गुँडमाथि उभियो तर पछि हामीले विस्तार त्यसलाई धपायौं र नजिकै गएर बसिराख्यो ।

करिब १५ मिटरको टाढाबाट हामीले उत्तरी भेगबाट तारबार गर्यौं । सर्प पनि माथि झप्पै आउन नसकने र मान्छेले ढुंगा हान्दा पनि ढुंगा नछिर्ने गरी तारबार लागाई गुँड रक्षाका निम्ति क्यामरा ट्र्याप जडान गरौं । त्यस कार्य गर्न अलि समय लाग्यो । राजगोमनको गुँड भिराले जमिनमा थियो । करिब साढे २ घण्टा लगाएर उक्त कार्य सकेर अन्तमा डिभिजन वन कार्यालय पर्वतकी सहायक वन अधिकृत विमला लम्सालले त्यसलाई संरक्षण गर्न स्थानीयको भूमिका र सामुदायिक वनको भूमिका निकै ठूलो रहेको र कसैले यसको गुँड भत्काए कानुनी डण्ड सजाय भोग्नुपर्ने जानकारी दिनुभयो । सर्प संरक्षण नेपालका उद्घारकर्मी एवं आजीवन सदस्य केशव सापकोटाले बासस्थान विनासका कारण सबै प्रकारका सरिसृपका प्रजाति संकटमा छन् भन्ने सुनाउनुभयो । पृथ्वी सबैको साझा घर हो र सबैको आफ्नो आफ्नो भूमिका हुन्छ भन्ने पनि उहाँले बुझाउनुभयो ।

स्थानीय घनश्याम शर्मा लामिछानेको जग्गामा त्यो सर्पले गुँड लगाएको थियो । उहाँले कालीनाग भनी पुज्जे हँुदा यसको संरक्षण राम्रो गरी गर्ने र यो बच्चा हुर्काएर गएपछि यस नागले रोजेको ठाउँमा नागको थान पनि बनाउने र सबैजना संंरक्षणमा जुट्ने बताउनुभयो । उहाँले विषालु सर्पको प्रतिविष नेपाल सरकारबाट नै नेपालमा बनाए सबै सर्पदंशबाट जेगिने कुरा पनि दर्साउनुभयो । यो सर्प कहाँकहाँ जान्छ भनेर टेलिमेटी गरेर थाहा पाउने कार्य सुरु गर्नुपर्ने पनि बताउनुभयो ।

हामीले पोखरा पुगेर स्थानीय विदुर लामिछानेलाई सोध्यौं सर्प कतिखेर गुँडमा फर्कियो भनेर । हामी गएको करिब डेढ घण्टापछि गुँडमा नै आएर पहिलाको जसरी बसिराखको उहाँले बताउनुभयो । उहाँले मान्छे हर्न आउने मात्रा निकै भएको पनि सुनाउनुभयो ।

राजगोमनको सम्बन्धी जानकारी
 संसारमा –३५०० प्रजातिका सर्प पाइन्छ । जसमध्ये नेपालमा –८३ प्रजातिका सर्प पाइन्छ । त्यसमध्ये २१ प्रजाति विषालु छन् । ६० प्रजाजि विषालु हुन्नन् । सर्पले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छ, जसले आहारलाई लठ्ठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पु¥याउँछ । सर्पको आहारालाई अशक्त बनाइदिने वा मारिदिने, मुखका ग्रन्थीबाट निस्कने यस्तो रसलाई वैज्ञानिक भाषामा विष र ग्रन्थीलाई विष–ग्रन्थी भनिन्छ । त्यसरी निस्कने विष–ग्रन्थीको रसलाई आहारको शरीरमा प्रभावकारी तरिकाले पुर्याई दिनलाई विष–उपकरणहरू हुन्छन् ।


 राज गोमनलाई अंगेजीमा किङकोब्रा भनिन्छ । राजगोमनको वैज्ञानिक नाम अफियोफ्यस हन्नाह हो । यसलाई नेपालीमा कालीनाग, नागराजा, दराद, अलाद, केंवटा, भैसै डोम जस्ता नामले पनि चिन्निछ । विषालु सर्पका सूचीमा संसारमै घातकमध्ये अग्रणीमा पर्ने यो सर्प हाम्रै वरपर बस्छ । संसारमा हालसम्म यो १९.२ फिट लामो पाइएको छ ।


 यो सर्प नेपालमा ३८ जिल्लामा पाइएको छ । समुद्री सतहबाट २५५० मिटर उचाइमा भेटिएको छ । राजगोमन नेपाल, भारत लगायत दक्षिणपूर्वी एसियाली राष्ट्रका जंगलमा पाइन्छ । राजगोमन एलापिडा परिवारमा पर्ने विषालु सर्पको प्रजाति हो । यो सर्प विश्वको सबैभन्दा लामो र ठूलो विषालु सर्प हो । बासस्थान विनाशका कारण यसको प्रजाति लोपोन्मुख अवस्थामा छ । यसलाई २०१० देखि आइयुसिएनले रातो सूचीमा सूचीकृत गरेको छ । विश्व संरक्षण संघको अभिलेख अनुसार यो सर्प विश्वकै निम्ति लोपोन्मुख सरिसृप प्रजाति हो ।


 राजगोमनको संसर्ग करिब ३ घन्टासम्म चल्छ । संसर्गको करिब ४० दिनपछि पोथी सर्पले दर्जनौं संख्यामा अन्डा पार्छे । एउटा राजगोमन पोथी सर्पले एकपटकमा २० देखि ५५ वटासम्म अन्डा पार्छे ।


 प्रजननको याममा फुल पार्न राजगोमनले चरीले जसरी नै गुँड बनाउँछ । यसले अन्डा ओथार्न गुँड बनाउँछ । सर्पले टाउकोदखि पुच्छरसम्म शरीरको सम्पूर्ण लम्बाइ प्रयोग गरी अन्डा ओथार्छ ।


 यो सर्पको अन्डाबाट वयस्क हुन्जेल सर्पलाई अरु जीवजन्तुको सिकार हुनबाट बँच्न निकै सास्ती हुन्छ ।


 राजगोमन अत्यन्तै आक्रामक हुन्छ भन्ने पुरातन मान्यताविपरीत हामीले यो सर्प निकै भलादमी पाएको छौं । त्यत्तिकै मानिसलाई झम्टिहाल्ने प्रवृत्ति हामीले पाएका छैनौं ।


 नेपालमा अहिलेसम्म राजगोमन सर्पको डसाइबाट मानिसको मृत्यु भएको एउटामात्र घटना हाम्रो जानकारीमा छ । उक्त घटना पनि मृतकले सो सर्प राजगोमन हो भन्ने पहिचान नगरी सर्पलाई पीडा हुने गरी समाएर खेलाउँदा भएको थियो । बासस्थान विनासका कारण सबै प्रकारका सरिसृपका प्रजाति संकटमा छन् । अझै देख्ने बित्तिकै मान्छेले मारिहाल्ने भएकाले सर्प निकै नै असुरक्षित छन् ।


 राजगोमन सर्प चिडियाखानामा १४ वर्षसम्म बाँचेको किताबहरुमा उल्लेख छ । तर जंगलमै कति बाँच्छ भन्ने नेपालमा अध्ययन गरिएको छैन ।


 यसको नेपालमा संरक्षण गर्ने यस सम्बन्धी एउटा १० मिनेको डकुमेन्ट्री पनि बनेको छ ।

सम्बन्धित भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

यसको महत्व

राजगोमनले पनि अरु सर्पले जसरी मुसा खान्छ तर, यसको मुख्य आहारा सर्प नै हो । कास्कीको सराङ्कोटमा राजगोमनले हर्यौ प्रजातिको सर्प खाँदै गर्दा हामी भिडियो खिच्न सफल पनि भएका थियौं ।

जसले के देखाउँछ भने यसले हाम्रो वरपरका अन्य विषालु तथा अविषालु सर्प खाएर वातावरणलाई सन्तुलन गरी अरु सर्पको संख्यालाई नियन्त्रण पनि गर्छ । यसले अरु प्रजातिका सर्पको सिकार गर्छ । गोमन, करेत, ह¥यौ जस्ता विषालु सर्प खाने गरेकाले मानिसका निम्ति यो सर्प हितकर नै मानिन्छ ।

धार्मिक आस्था अनुसार यसको स्थान निकै ठूलो छ । यो सर्प भगवान् महादेवको घाँटीमा रहेको हुनाले यसलाई कालीनाग भनेर हिन्दु परापरा अनुसार नाग पञ्चमीमा पुज्ने गरिन्छ । हिन्दु र बौद्घ धर्म अनुसार राजगोमनले प्रकृति र मानवको हित गर्छ । राजगोमनको विषबाट निकै प्रभावकारी औषधीहरु बनाइन्छ ।

गोमन र करेतको डसाइ कस्तो ?


 करेतको डसाइ सामान्यतया राति सुतेका बेला हुन्छ र डसाइ भएको थाहै नपाउन सकिन्छ ।


 गाह्रो पर्ने हुन्छ, अतः यस्तो भयो भने छिट्टै उपचार गरिहाल्नु पर्छ । गोमनले चाहिँ दिउसो कामको दौरान वा साँझ–बिहान डस्ने गर्छ ।


 करेत गोमन समूहका सर्प (इलापिडी) को डसाइबाट हुने विषाक्तताले व्यापक रूपमा स्नायुघात हुने गर्छ र निम्न लक्षणहरू देखिन्छन् :


 टोसिस हुनु अर्थात हेर्न सक्ने गरी आँखा खोल्न नसक्नु


 मुख खोल्न नसक्नु


 मुखबाट जिब्रो बाहिर निकाल्न नसक्नु


 निल्न नसक्नु


 हात खट्टाका मांसपेशी नचल्नु


 सास फेर्न गाह्रो हुनु


 मुखबाट निस्केको र्यालले घाँटी टालिएर सास अड्किने र फेर्न नसक्ने हुनुका साथै उल्टी आउन खोज्ने अथवा जिब्रो नै नचल्ने पनि हुनु ।


 गोमनको डसाइका मूल लक्षणहरूः घाउ पाक्नु, सुनिनु र टन्कनु, तन्तुहरू (टिस्युहरू) मर्नु हो ।

(बराल राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालय पोखरामा संरक्षण अधिकृत छन्)

सम्बन्धित खबर