मङ्गलबार, ३० असार २०७७
samadhannews
nepal telecome

मुस्ताङमा परम्परागत याकपालन

आइतबार, १४ असार २०७७
2290 पटक पढिएको

एसके थकाली, जोमसोम

समुद्री सतहको २ हजार मिटरदेखि ५ हजार मिटर अग्लो उचाईमा याकपालन हुन्छ । हिमाली क्षेत्रका बासिन्दाको याक पालन व्यवसाय महत्वपूर्ण मानिएको छ । मुस्ताङको थासाङ, घरपझोङ, बारागुङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकाका विभिन्न गाउमा स्थानीयले याक पालन गरेका छन् ।

मुस्ताङसहित छिमेकी जिल्ला मनाङ र डोल्पामा पनि याक पालन व्यवसाय फस्टाएको पाइन्छ । एउटै प्रजातिको भाले याकलाई याक र पोथी याकलाई चौरी गाई भन्ने गरिन्छ । भाले याक मासुका लागि प्रयोग हुन्छ । याकले भारी पनि बोक्छ । पोथी याकको मासु पनि प्रयोग हुन्छ । यसले पनि भारी बोक्छ । अझ चौरीको दूध, दही, घ्यु, छुर्पी, चिज लगायत तयार गरिन्छ ।

त्यसो त याकको रौ पस्मिना उत्पादन गरी बिक्री हुने गरेको छ । जिल्लाका स्थानीयले बस्तीदेखि माथिको उच्चलेकमा सामूहिक तथा व्यक्तिगत रुपमा याकपालन गर्ने गरेको घरपझोङ पशुपालक किसान भूपिन शेरचनले जानकारी दिए । उनले नमखुलेकमा ५० भन्दा बढी याक पालन गरेको बताए । उच्चलेकमा पालन गरिएका याक हिउँदयामको महिना जाडो बढेपछि बस्ती नजिक स्थान्तरण गरिने र गर्मी बढेपछि पुन लेकमा लैजाने गरेको उनले सुनाए ।

मुस्ताङको थासाङ गाउपालिकामा बर्सेनि वैशाख महिनामा चौरीको आलो रगत खाने मेला लाग्थ्यो । तर यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि रगत खाने मेला हुन सकेन । थासाङको टुकुचेमाथिको लेक मार्चे र बतासे डाँडा अनि घरपझोङ—५ को नमुखुलेकमा चौरीको रगत खाने मेला लाग्ने गथ्र्यो ।

साउनमा हुने मेला समेत प्रभावित हुने निश्चित देखिएको पशुपालक किसान बताउँछन् । मेलामा एक याकबाट सरदर १० गिलास देखि २५ गिलाससम्म आलो रगत निकालिन्छ । गर्दन छेउ सियो रोपेर आलो रगत निकालिन्छ । एक गिलास रगतको २ सय देखि ३ सय रुपैयाँसम्म पर्छ ।

याकको रगत खाने बेलामा छिमेकी जिल्ला तथा पोखरा ,काठमान्डौ लगायतमा सर्वसाधरण मुस्ताङ आउने गथ्र्ये । दीर्घरोगीहरुका लागि निकै लाभदायक मानिने चौरीको रगतले आन्तरिक रोगको उपचार हुने भएकाले सर्वसाधारणमा रगत खाने मोह बढेको हो । हिमालीक्षेत्रमा पालन गरिने याकले यार्सा गुम्बा, पाँचऔंले, निरमसी, जटामसी आदि खाने भएकाले यसको रगत औषधीको रुपमा प्रयोग हँुदै आइरहेको छ । त्यसो त चिसो हावापानीमा हुर्काइने गरेको र लेकमा पाइने वनस्पती खाने भएकाले यसको मासु समेत उक्तिकै स्वादिलो हुन्छ ।

हिमाली क्षेत्रमा पाइने याक तथा चौरीको वजन २ सयदेखि ३ सय किलोसम्म पर्छ । एउटै वयस्क याक १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । मुस्ताङमा बर्सेनि हिउँदयाममा स्थानीयले याकको सुकुटी बनाएर बिक्री गर्ने र आफूले खान्छन् । जिल्लाका कोसेली घरमा समेत याकको सुकुटी प्याकेजिङ गरी बिक्री गर्ने गरेको पाइएको छ ।

२ वर्षअघि मुस्ताङमा भारी हिमपातले चरनक्षेत्रमा रहेका याक र चौरी मर्दा किसान लाखौं रुपैयाँ घाटा व्यवहोर्न बाध्य भएका थिए । त्यसबेला गण्डकी प्रदेश सरकारले याक पालक किसालाई सम्बन्धित स्थानमै पुगेर राहत वितरण गरेको मुस्ताङका प्रदेश सांसद इन्द्रधारा बिष्टले बताए ।

सम्बन्धित खबर