बिहिबार, २९ साउन २०७७
samadhannews
Bardan Online

पूर्णबहादुर प्रवृत्ति कहिलेसम्म आइजीसाप ?

शुक्रबार, १९ असार २०७७
80260 पटक पढिएको

गणेशबहादुर थापा

असारको १५ गते साँझको करिब ५ बजेर ३० मिनेट जाँदा म पोखरा महानगरपालिका वडा नम्बर ३२ बाट होटलको स्टाफलाई लिएर पृथ्वीचोक आउँदै थिएँ ।

हरियो प्लेट भएको ग१य ९१० नम्बरको गाडी चलाउँदै गोलघर अगाडि के पुगेको थिएँ, पिपिई लगाएको ट्राफिक जवानले रोके ।

गाडी रोक्नासाथ पास छ भनी रुखो स्वरले हकारे ।

मैले उहाँलाई नम्र भएर प्रतिप्रश्न गरेँ, अब पनि पास चाहिन्छ र ?

उहाँको छोटो उत्तर गाडी साइड लगाउनुस् ।

मैले केही अगाडि आएर गाडी रोकेँ ।

असार १ गतेदेखि सामान्य रुपमा चलिरहेको गाडी भएको हुँदा पक्कै पास चाहिन्न भन्ने मलाई थियो । करिब ३ मिनेटपछि उनै प्रहरी मेरो अगाडि आए ।

फेरि उही खरो र रुखो लवज अपुरो वाक्य फुट्यो, ‘बिलबुक लाइसन्स ।
नम्रै भएर प्रश्न मैले पनि गरेँ, ‘मलाई किन रोक्नुभयो ?

‘आज बिजोर गाडीको पालो हो त्यति पनि थाहा छैन,’ उत्तर कडा स्वरमै आयो ।

सर हिजोमात्र मैले जिल्ला प्रशासनमा सोधेको थिएँ, पोखरा उपत्यकाका लागि कुनै पास जारी गरिएको छैन भन्नुभएको थियो । अनि गाडीहरु पनि नर्मल्ली चलिराखेका छन् एक्कासि किन सर ?

ती सिपाही चर्को स्वरमा एकजना असई ट्राफिकलाई गुहार्न दौडिए ।
मैले बिलबुक र ३२ गतेसम्म लिएको पास दिएँ ।

मैले जिज्ञासा राखेँ, ‘किन भन्ने कारण त सोध्न पाउनुपर्यो नि सर ।’
‘कागजतमात्र होइन सर हामीले चाहे हजुरलाई राख्न पनि सक्छौं,’ असई कड्किए ।

‘सर, मैले गलत गरेको छु भने हजुर मलाई थुन्न पनि सक्नु हुन्छ,’ म बोलेँ ।

मैले जिज्ञासा फेरि राखेँ, ‘यतिमात्र जान्न चाहेको किन कागजात माग्नु भएको यति त सोध्न पाउँछु होला नि ?’

‘बाहिर निस्कनुस्,’ कडा आदेश आयो ।

म गाडीबाट उत्रिएँ । उहाँले फेरि लाइसन्स माग्नुभयो । हातमा बिलबुक र लाइसन्स परेपछि उहाँ गोलघर (ट्राफिक प्रहरी कार्यालयलाई गोलघर भन्ने चलन छ) भित्र प्रवेश गर्नुभयो । मेरो लाइसन्स गाडीको बिलबुक सबै उहाँले एकजना हवल्दारलाई दिनुभयो ।

‘केही कुरा थप्नू’ आक्रोशित नजर मतिर फाल्दै आदेश आयो ।

मैले उहाँलाई एउटै कुरा दोहोर्याएँ, ‘सर मैले हिजोमात्र जिल्ला प्रशासनमा पासका लागि सोधेको थिएँ पोखरा उपत्यकाभित्र मेरो जस्तो सवारी चलाउन पास जारी गरेको छैन । त्यसकारण मैले गाडी लिएर होटल स्टाफ लिएर आएको हुँ ।’

‘हामीलाई केही थाहा छैन सिडिओलाई फोन गरेर र हाम्रो हाकिम ट्राफिक प्रमुख सन्तोष रोकालाई फोन गर्न लगाउनुस्,’ यति भनेर उहाँ प्रमुखको कोठामा पस्नुभयो ।

एकछिनमै कागजात त्यहाँको राजस्व शाखामा फालिदिनुभयो ।

मैले तत्काल जिल्ला प्रशासन कार्यलयमा फोन गरें । अवस्थाको जानकारी गराएँ । उहाँहरुकै सल्लाहमा ट्राफिक प्रमुख सन्तोष रोकालाई भेट्ने अनुमति उनै हवल्दारसँग मागी कार्यकक्षमा पसी प्रमुखलाई नमस्कार गरेँ । आफ्नो कुरा राखेँ ।

ट्राफिक प्रमुख रोकाबाहेक त्यसकोठामा साधारण पोसाकका ४ जना महानुभाव हुनुहुन्थ्यो । टेबलमा खाजा खाइसकेर पनि नउठाएका जुठा प्लेट पनि थिए । मैले मेरा कुरा राखेँ ।

रोकासरबाट उत्तर आउन बाँकी नै थियो । ढोकाको देब्रे कुनामा रहेका एकजना व्यक्तिले मलाई प्रश्न गर्नुभयो ।

तपाईंको सवारी साधन सरकारी वा निजी हो कि भाडाको ?

मैले छोटो उत्तर दिएँ, ‘पर्यटन विभागको अनुमति लिएर होटल सञ्चालन कार्यविधिमा तोकिएको मापदण्ड बमोजिम सञ्चालन गरिएको गाडी हो ।’
मेरो प्रष्ट भनाइ थियो, ‘मेरो गाडी निजी पनि होइन र भाडाको पनि होइन ।’

‘तपाईं बढ्ता बोल्ने तपाईंको गाडी भाडाको हो,’ चर्काे र रुखो आवाजले म झस्किएँ ।

यसरी कड्किने सईसाप पूर्णबहादुर अधिकारी हुनुहुँदो रहेछ । (मैले पछि थाहा पाएको उहाँको नाम र ओहोदा) ।

मेरो गाडी भाडामा चलाउने सवारी हो भनिरहनुभयो । त्यो नै सत्य हो भनेर मैले कबुल्नुपर्ने आशय उहाँको देखियो ।

मैले नस्वीकारेपछि उहाँले धम्काउनुभयो । यी सबै कुरा प्रमुख रोकाले सुनिराख्नुभएको थियो ।

ढोकाको दाहिनेपट्टि कुनामा बस्ने एकजना अधबैंसेले मलाई उहाँ सईसाप हुनुहुन्छ र ट्राफिक इन्जार्ज हुनुहुन्छ भन्दै परिचय गराउनुभयो ।

साधारण पोसाकमा प्रमुख कार्यकक्षमा छेउमा वाकीट्वाकी देखेपछि म उहाँको कुरामा विश्वस्त भएँ ।

तपाईं कुरा मिलाउन आउनु भएको कि झगडा गर्न । उहाँको प्रश्नले साह्रै मन छोयो र मैले भने सर म गलत हुँला तर मैले लागेको कुरा त भन्न पाउनुपर्यो नि । उहाँले मेरो गाडी भाडाको भन्दा हजुरभन्दा कुरा मिल्ने र मेरो कुरा राख्दा गलत हुनु त भएन नि ?

त्यसपछि सई पूर्णबहादुर अधिकारी रिस उठेछ क्यारे कड्किनुभयो, ‘तँ मान्छेको फेला नपरेको होस् । हामी जस्तोसँग पर्छस् अनि थाहा पाउँछस् पख्लास् ।’

सर कुरो मान्छेसँग फेला पर्ने वा नपर्नेसँग होइन । मैले कुरो राख्न पाउने कि नपाउनेँ भन्नेसँग हो ।

तपाईंले भनेको कुरा सहीभन्दा म ठिक हुने हजुरको कुरामा असहमति जनाउँदा म नराम्रो हुने ।

मेरो कुरा सकिन नपाउँदै उहाँ जंगिनुभयो र भन्नुभयो, ‘बाहिर निस्की ।’

म उहाँको धम्कीले डराइनँ ।

बरु यसो भनेँ

सर यो समस्याको समाधानका लागि पस्ने कार्यालय हो तपाईंको निजी निवास हैन । जहाँ तपाईंको मनलाग्दी चल्छ । म यहाँ समस्या लिएर आएको हुँ समाधान निस्केपछिमात्र बाहिरिन्छु ।

त्यसपछि उहाँले मलाई गलत्याएर निकाल्ने कुरा गर्नुभयो ।

मलाई गलत्याएर निकाल्ने उहाँको अठोटलाई स्वीकार गरेँ ।

सर म यो कार्यालयमा तपाईंसँग कुरा गर्न आएको होइन प्रमुखसँग हो, उहाँले जे भन्नुहुन्छ मैले त्यो गर्ने हो ।

पूर्ण सईसापको कुरा इग्नोर गरी सन्तोष सरलाई सोधेँ, ‘म के गरुँ ?’

उहाँको छोटो उत्तर आयो, ‘बाहिर बस्नुस् म भन्छु ।’

यति सुनेर म ढोका बाहिर निस्कँदै थिएँ । सई पूर्णबहादुर अधिकारी यस्तालाई छोड्नु हुन्न सवक सिकाउनुपर्छ भन्दै प्रमुखसँग जाहेरी गर्दै हुनुहुन्थ्यो ।

म बेवास्ता गरी प्रमुखको कक्षबाट बाहिरिएँ ।

करिब ५ मिनेट मैले बाहिर कुरेँ । केही खबर नआएपछि रसिद काट्दै गरेका प्रहरीलाई सोधेँ, ’सर यसबारेमा भित्रबाट केही कुरा आएको छ कि?

छोटो उत्तर आयो, ‘नाई ।’

केहीबेरपछि हबल्दारसाब भित्रैदेखि कराउँदै आउनु भयो, ‘ल यसलाई बैदाम लानुपर्यो को जान्छ ?’

प्रमुखको ढोकाबाट निस्कँदै गर्दाको पूर्णबहादुरको धम्की र उहाँको प्रमुखसँगको जाहेरी सुन्दा नै म निश्चिन्त थिएँ पूर्णबहादुर सईसापको बहादुरी देख्न पाउँछु भन्ने ।

हबल्दार कुर्लेकोमा मलाई कुनै आश्चर्य थिएन । हबल्दारको त्यो लवजले मलाई तुरुन्तै एउटा गाडीको चालकबाट कानुन विद्यार्थी बनाइदियो ।

‘मलाई पक्राउ पुर्जी नदिई र मेरो बिलबुक र लाइसेन्स लिएको प्रमाण (चिट) नथमाई मूल गेटबाट बाहिर निकालियो भने यहाँ नेपालको कानुन होइन पूर्णबहादुरको कानुन चलिरहेछ,’ मलाई बोध भयो, ‘यिनै न्यायाधीश पनि रहेछन् ।’

मैले ती मोटो र छोटो कदका हबल्दारलाई सोधेँ, ‘चिट खै त सर ? चिट भएन भने त पछि मलाई समस्या पर्छ ।’

चिट चाहियो ? रिसाए झै गरी उनी बोले ।

गेटबाहिर पुगेका उनी फरक्क फर्केर झ्यालमा बसेका जुनियरलाई त्यो सेतो चिट काटिदे त भने ।

म पक्राउ पुर्जीबिना पक्राउ परेँ ।

मेरो होटलका एकजना स्टाफलाई त्यहीं उतारे ।

एकजना ट्राफिक सिपाही मलाई पक्राउ गरी मेरै गाडीमा मैलाई ड्राइभिङ गर्न लगाई वडा प्रहरी कार्यालय बैदाम चौकी लगे ।

त्यस्तो भएँ जो थुनामा जान आफैं नै ड्राइभिङ गरी प्रहरी साथमा लिएर चौकी पुग्दैछ ।

पृथ्वीचोकदेखि बैदामसँगको यात्रामा मैले एउटामात्र कुरा सम्झिएँ, ‘मैले आज एउटा कानुनको कक्षा पढ्नु पर्छ, सैद्धान्तिक होइन प्रयोगात्मक । पक्राउबारे कसैलाई जानकारी नदिने ठानेँ । पूर्णबहादुर सईसापको प्रयोगात्मक कक्षामा सामेल हुने अठोट गरेँ ।

गाडीले बिना रोकावट बैदाम चौकीमा प्रवेश पायो । तर पछि कोरोनाको कारण सबै सवारी साधन बाहिर राख्ने सिस्टम अनुसार बाहिरियो ।

गाडीलाई बाटोको किनारमा राखेर स्टार्ट बन्द गरेको मात्र के थिएँ मसँगै बसेका प्रहरीले आफूतर्फको झ्याल राम्रोसँग लगाए र मलाई पनि राम्रोसँग ढोका लक गर्न भने । उनको हाउभाउले म निश्चित भएँ आजको मेरो ड्राइभिङ यहींसम्म ।

देवीको मन्दिर जसको आँगनमा बली दिने ठाउँ पनि हुन्छ, त्यस्तै जस्तो कास्की जिल्ला अदालतकै सामुन्ने बैदाम प्रहरी थान थियो । म अहिले त्यही न्यायालय सामुन्नेको बधस्थलमा प्रवेश गर्दै छु भन्ने महसुस गरेँ । चौकी प्रवेश गर्दा उनै प्रहरी जवानले मन्सिएको जस्तै अवस्थामा रहेँ ।

पक्राउको कुरा कसैलाई पनि भन्ने मेरो इच्छा थिएन । मैले पूर्णबहादुर सईसापको कक्षा पढ्नु थियो । म उनको कक्षा पूरै पढ्न चाहन्थें । त्यसमा केही कमजोरी भए सुधार्ने प्रयत्न पनि गर्नेछु ता कि भविश्यमा यस्तो पूर्णबहादुर प्रवृत्ति निस्तेज होओस् ।

परिवारलाई खबर नगरी कतै नजाने नबस्ने मेरो बानीले थोरै हच्किएँ । दिदी र आमाले मेरो अवस्थाबारे थाहा पाउन् तर ढिलो गरी ।

थुनामा प्रवेशपूर्व मैले एकजना साथीलाई छोटो म्यासेज लेखें, ‘म बैदाम चौकीभित्र ।’ यत्ति म्यासेज सेन्ड गरेर चौकी प्रवेश गरेँ ।

मलाई थाहा थियो म सम्पर्कविहीन भएँ भने मेरो परिवारको बढीमा तेस्रो कल यिनै साथीलाई आउँछ ।

केही समयको अलमलपछि एकजना प्रहरीले मेरो विवरण टिप्नुभयो, नाम ठेगाना, पेसा, वर्ष आदि ।

उहाँ फेरि केहीबेर रोकिनु भयो । सायद मेसमा खाना खान जानुभयो कि करिब २० मिनेटमा फर्कनुभयो । फेरि विवरण टिप्न सुरु गर्नुभयो ।

सूचनाका लागि मैले साथीलाई पठाएको एसएमएसको सूचना एकजना आदरणीय दाजुकहाँ पुगेछ ।

टिप्पणी उठाउने काम सम्पन्न भएपश्चात मलाई मेरो सबै सामान बुझाउन उहाँसँगै रहनुभएको सईसापले भन्नुभयो ।

मैले आफ्नो सामान उहाँलाई बुझाउँदै गर्दासम्म मलाई के कारणले वा के अपराधका लागि पक्राउ गरिएको थाहा दिइएको थिएन ।

मैले विनम्र भएर पक्राउको कारण खुलाइएको पक्राउ पुर्जी माग गरेँ ।

उहाँले मेरो आवश्यक विवरण पक्राउ पुर्जीमा उतारी ठेलीसहितको त्यो पत्र लिएर बाहिर जाँदै गर्दा म थुनुवा कक्ष प्रवेशको तयारीमा लागेँ ।

थुनामा जानुपूर्व निषेध गरिएको वस्तु पेटी खोल्दै थिएँ । वालेट र वालेटभित्रको पैसा गनेर बुझाएँ ।

त्यही बेला टेबुलको फोनको घण्टी बज्यो । मलाई निगरानी गरी बसेका असईले बुझाएको सम्पूर्ण सामान फिर्ता लिनू भने ।

पक्राउ पुर्जीबिना म भित्र पस्न नमान्नेवाला थिएँ ।

मलाई थाहा थियो, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले गरेको व्यवस्था ।

त्यहाँ प्रष्ट भनिएको छ, ‘कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नभए त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण, दसी वा सबुद नष्ट गर्ने मनासिब कारण भएमा त्यस्तो व्यक्तिलाई अनुसूची–९ बमोजिमको ढाँचामा तत्कालै जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरी स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित मुद्दा हेर्ने अधिकारी समक्ष पेस गर्नुपर्नेछ ।’

कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्दा निजलाई पक्राउ गर्नुअघि पक्राउ गर्नुपर्ने कारण खुलाई सम्झाई बुझाई आत्मसमर्पण गर्ने आदेश दिनुपर्नेछ भनेर पनि प्रष्टै संहिताले लेखिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले अर्काे कुरा पनि के प्रष्ट गरेको भने कसैले कुनै व्यक्तिलाई कानुन बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन । र त्यसरी थुनामा राखन वा राख्न लगाउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।

म थुनिनु परेको भए मेरा प्रश्न यिनै कानुनको आधारमा हुन्थे ।

मैले कुन कसुर गरेको छु र भाग्ने प्रत्यन गरेँ ? मैले कुन प्रमाण नष्ट गर्ने थिएँ र तुरुन्तै पक्राउ गर्नुपर्यो ?

तर त्यस्तो केही पनि थिएन ।

यी सबै कानुनी प्रावधान बेवास्ता गर्दै थुन्न लगाउने पूर्णबहादुर अधिकारी सईसापलाई नै बरु मुलुकी अपराध संहिताको दफा २०० आकर्षित हुन सक्थ्यो ।

बदनियतपूर्वक थुन्न लगाउने अधिकारी सईसापलाई कानुनले व्यवस्था गरेअनुसार ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना किन नगर्ने ? जरुर मेरो प्रश्न छ ।

मलाई थुनामुक्त त गरियो ।

तर, बुझिलिने मान्छे बोलाउन भनियो ।

मैले कोही छैन पनि भनेँ ।

पक्राउ गर्दा स्वयं पक्राउ पर्ने व्यक्तिलाई पनि सूचना दिनु नपर्ने पूर्णबहादुरको कानुनमा थुनामुक्त हुँदा चाहिँ बुझिलिने आफन्त चाहिने ? भन्ने मलाई लागेको थियो ।

तर त्यसबीचमै मेरा एक अग्रज आइपुग्नु भयो, उहाँले नै बुझ्ने गरी म छुटेँ ।

भोलिपल्ट त्यही गोलघर पुगेँ, जहाँ बिलबुक र लाइसन्स राखिएको थियो ? ५०० को जरिवाना तिरेर फर्कंदै थिएँ, गेटमा उनै पूर्णबहादुर २÷४ जना प्रहरी जवानसँग थिए । उनलाई भेटेँ । अनि भनेँ, ‘यो पोसाक र अधिकारको राम्रै दुरुपयोग गर्नुभयो मलाई धम्क्याउनुभयो, अनावश्यक थुनामा राख्नुभयो ।’

‘ख्याल गरेर हिँड् अझै पनि थुन्छु मेरो फेला परिस् भने छाड्दिनँ,’ उहाँको रिस अझै मरेको रहेनछ ।

‘गैरकानुनी काम गरिँदैन सर अपराध गरे मलाई छाडिदिनु भन्दिनँ,’ मेलै भनेँ ।

पछाडि नहेरी गेट बाहिर निस्किँ यतिचाहिँ भनेँ, ‘तर सर तपाईं जस्तो कसैलाई पनि निचो व्यवहार गर्दिनँ ।’

उनी अझै गुनगुन गर्दै थिए ।

मैले राम्ररी सुनिनँ र सुन्नपट्टि लागिनँ ।

सायद मलाई ठिक पार्न उहाँ कुनै कानुनका दफा खोज्दै हुनुहुन्थ्यो कि ?

नेपाल प्रहरी मुस्कानसहितको सेवा भन्छ । तर हामी सर्वसाधारण दिनदिन यस्तो सेवा पाइरहेका छौं प्रहरीबाट ।

पञ्चायत फालेर बहुदल हुँदै गणतन्त्र आउँदा समेत प्रहरीमा जसलाई पनि ठेगान लगाइदिने दम्भ बाँकी छ ।

जसले नियमका कुरा गर्छ, आफूलाई किन पक्राउ गर्न लागिएको हो भन्ने थाहा पाउन खोज्छ उसलाई ठाउँको ठाउँ दोषी करार गर्न प्रहरी उद्दत हुन्छ ।

प्रहरीसँग सोध्न खोज्यो कि झगडा गर्यो, वादविवाद गर्यो, दुव्र्यवहार गर्यो भन्यो अनि थुन्दियो ।

जनता त्यति सोझा छैनन् नि अब त प्रहरीले उठ भने उठ्ने र बस भने बस्ने ।

अपराधै गरेको मान्छेलाई त कुनै पनि खाले यातना दिन पाइन्न भने ट्राफिक नियम उल्लंघनै गरेको हो भने पनि जरिवाना लगाउने हो, थुन्ने पक्कै होइन ।

अनि प्रशासनले नै नदिने पास कहाँबाट ल्याएर दिने ट्राफिक प्रहरीलाई ?
प्रशासनकै मातहत हुने प्रहरी प्रशासनले जारी नै नगर्ने पास खोज्छ ।

लकडाउनले यातायात कार्यालय बन्द भएर रिन्यु र जाँचपास गर्न नपाएकाहरुलाई दुवाली थापी थापी पैसा माग्छ भने प्रहरीको नियतमाथि प्रश्न गर्ने कि नगर्ने ?

प्रहरीको काम शान्ति सुरक्षा अमन चैन कायम गर्ने, कानुनको पालना गराउने हो कि निहुँ खोजीखोजी जनतालाई दुख दिने ?

हातमा डन्डा छ भन्दैमा जहाँ पायो त्यहीं डन्डा बजार्न पाइन्छ र ?

यस्तो प्रवृत्ति सिंगो प्रहरी संगठनको होइन, व्यक्तिको हो । तर यस्तो प्रवृत्तिकै कारण सिंगो संगठनप्रति जनताको नजर गिर्छ भन्ने नेतृत्वमा बस्नेहरुले पक्कै बोध गर्नुहुन्छ भन्ने विश्वास गर्छु ।

मेरा प्रश्न
—प्रहरीले शंका मान्न पाउने कुरा जाहेज हो तर शंकालाई सत्य किन ठान्ने ?


—प्रश्न सोध्नु किन अपराध मान्छ प्रहरी ? प्रहरीलाई किनज्यू हजुरको मोह ? खुलेर बहस गर्दा किन अपमानित सम्झन्छन् बर्दीधारी प्रहरी ?


—प्रहरी मर्यादापालक हो कानुनको हरेक हरफको सक्दो पालना गरेर जनतालाई कानुनको पालना गर्न सिकाउने पहिलो पाठशाला हो । तर प्रहरी संगठन हो किन स्वेच्छाचारी बन्दै छ ?


—प्रहरी संगठन आवद्ध जोकोहीमा सहनशीलता जरुरी छ । प्रहरी संगठन बदलाको कुण्ठा पालेर जनतासँग बदला लिने वा धम्की दिने व्यक्तिहरुको गुफा किन बन्दै छ संगठन ?


—मैले अपराध गरेको छु भने अझै पनि मलाई कारबाही होस् ।


—पूर्णबहादुर प्रवृत्ति ठिक हो भन्ने ऐनका दफा उल्लेख गरी पाऊँ हैन भने संगठनको मनोबल बढाउने काममा गलत प्रथाको अन्त गरौं । पूर्णबहादुर अधिकारीलाई पनि कारबाही होस् ।

सम्बन्धित खबर