मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

चैतेहरुको झुण्डबाट कहिले निस्कने ?

बिहिबार, २५ असार २०७७
2770 पटक पढिएको

विष्णु गौतम

अहिले दुई कुराले मलाई निकै तनाव भएको छ । कुनै रातको कुनै प्रहर छैन म बेहोसीमा नचिच्याएको । अघिल्लो हप्तामात्रै संसारकै शक्तिशाली राष्ट्र अमेरिकाका एक दिनको अनुपातमा संसारकै सबैभन्दा बढी ५० हजारभन्दा बढीमा संक्रमण देखियो । यो पहिलो विषयले तनाव दियो ।

किन भने रगतको नाता जोडिएका धेरै जनहरु अमेरिकामा रंगीन सपनाको पानी फोटो खल्तीमा राखेर बासि पाउरोटीको भरमा बाँचेका छन् । नेपालमा यहि हप्ता मेरो सपनाको सुन्दर देश नेपालमा मेरो वर्गीय रगतले वनेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा बीलो लगाएर खाने दाउमा वालुवाटार र खुमलटारमा कसाईहरु सिनोमा गिद्ध लुछाई शैली अपनाएका छन् ।

दुखका साथ भन्नुपर्छ नेकपामा तिम्रो रगतभन्दा धेरै मेरो भावना र रगत सिञ्चित छ । झापा आन्दोलन होस् वा तत्कालीन माओवादी आन्दोलन सबैको मोर्चामा छाती खुल्ला गरेर तोप र बन्दुकको नाल अनि बुटको झड्काको प्रतिवाद गर्न किन्चित पछि नपर्ने म र अन्य अवोध परिवर्तनकामीहरुको आशा र भरोसालाई निहीत स्वार्थमा ढालेर बाँडिचुडी खाने दाउ भनेको अनुमान तपाइँका बाबु र बँचेकुचेका आफन्तको रगत नै हो ।

हाम्रा त को नै बाँचेका छन् र बाँचेको भनेकै वर्गीय नातेदारहरु हुन् । त्यसैले यो विषय अलि बढी माया लाग्यो अनि भावुक पनि बनायो ।

के हामी अझै पनि मेसिन हौं ?

तिमीले जे जे भन्यौ त्यहि त्यहि मान्दै आएको आज २५ वर्ष पूरा भयो । देश र जनताको मुक्तिका लागि घर छोड भन्यौं। अनि स्कुले जीवनको पूर्ण अनुुभव पनि नलिँदै जंगल र गोठको धन्सारमा लुकेर तिमीले भनेको स्थानमा र समयमा आक्रमण ग¥यौं ।

मन नहुँदा नहुँदै अवोध नेपालीलाई सुराकी र सामन्तवादको संज्ञा दिँदै लौरै लौराले हानेर मारेको….. हैट सम्झदा पनि मनै सिरिंग हुन्छ । अनि बेहोसीमै कराउँछु ‘कस्सम मैले मारेको होइन । म त मेसिनमात्रै हो मलाई अपरेट गर्ने मान्छे सिंहदरवार बालुवाटार र खुमलटारमा जुंगामा ताउ लगाएर वसेका छन् ’

चैतेहरुको झुण्डबाट कहिले निस्कने ?

खै मेरो सपना जसको लागि मैले बाबुआमा त्यागें अनि मेरो प्राण नै नेपाली कम्युनिस्टको आन्दोलनका लागि दिए तर अफसोच नै भन्नु भर्छ अहिले कडा क्रान्तिकारीहरुको जन्म भएको छ ।

म त चैते भन्न रुचाउँछु तिनीहरुलाई जो अहिले माओत्सेतुङ, लेलिन र कार्लमाक्स भन्दा बढी क्रान्तिकारी देखिएका छन् । अध्यक्षद्वय अहिले तिनै चैतेहरुले गर्दा यो समस्या आएको हो पार्टीमा । न त दिल्लीले चाहन्छ न ह्वाईटहाउसले नै नाथे नेपालमा उनीहरुको त्यतिविधि स्वार्थ होला र स्वार्थ त बरु ती चैते र तपाईंहरुकै छ नि, मेरो स्वाभिमानलाई टुक्रा टुक्रा पारेर खाने ।

बुढो गोरुले आउँदो बर्खा कटाउला त ?

आज सायद मसँग त्यति बेलाको जस्तो मान्छे मार्ने जोस आउँथ्यो भने के प्रचण्ड, के केपी, के वामदेव, के माधव नेपाल सबका सब एक चिहान बनाउँथे । तर अफसोच प्रचण्ड इसारामा चल्दा चल्दै आज म आफूनै रहिनँ । अनि त्यति बेलाको मेरो हातमा लागेको अवोध नेपालीको रगतले होला सायद हात नै कुँजिएको छ ।

मुटु प्रचण्डले नै लगेछन् कि के हो कुन्नि सामान्य चक्कुसम्म पनि उठाउने आँट छैन । म मात्रै होइन ओली वा पहिलो पुस्ताबाट अब हामीले कुरा सुन्नवाहेक अरु केही पनि सक्दैनौं किन भने तिनीहरु देशको लागि अभिसाप नै भए ।

त्यसैले अब भकारो खाली गरेर नया बहरे गोरुहरु राखिएन भने आउँदो बर्खा बाली लगाउँन सकिदैन ।

भोट हाल्दा औला किन काटेनौ होला है ?

अहिले दिनहुँजस्तो दिउँसो दिनभर केपी शर्माओली पक्ष र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहका नेताहरु छुट्टाछुट्टै बैठक बस्छन् । मानौं भीरबाट खसेको कुनै गोरुलाई कसले पहिला लुछ्ने र कति लुछ्ने भन्ने विषयमा समूह समूहमा गिद्ध शैलीमै छलफल भए ।

ती बैठक ललितपुरको झम्सीखेलदेखि, बालुवाटार, सिंहदरवार र नयाँ बानेश्वरसम्म भए । मानौ एकले अर्काको उपस्थितिलाई नै अवसान पार्ने शैलीमा । सुन्दा पनि अचम्म लाग्ने गरी कसले टाउको खाने कसले शरीर त कसले खुट्टा खाने सम्मको । सायद आजको अवस्थाको अनुमान मात्रै गरिाएको भए पनि म जस्ता लाखौं नेपालीले औंला काटेर फाल्थ्यौ होला तर भोट हाल्ने थिएनौं ।

सबै नाङ्गै त के को लाज ?

छलफलका पनि एउटा मर्यादा त हुन्छ होला नि आफू–आफू नाङ्गै हुने गरी पनि छलफल हुन्छ र ?प्रचण्ड कति पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष, खनाल पनि त्यहि, माधव नेपाल र केपीको पनि यही कुरामा बाझाबाझ हुनु, के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भयो ।

कुनै पनि नेपालीले आजसम्म सोचेका छैनन तिमी कसाई रुपी बुढा गोरुहरुले हाम्रो स्वाभिमान आस्था र भरोसाको शब्द नेकपालाई आफू अनुकुल टुक्रा पारेर खाने छौ भन्नेमा ।

अनि जनचाहना पनि त बुझ्नु पर्ने होला नि हैन र, जनताले चाहेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर हो र ?माफ गर्नु होला उखान भन्ने जिम्मा तपाई कै हो अध्यक्ष ज्यू तर पनि के गर्नु कामै त्यस्तो गर्नुहुन्छ तपाईंहरु ।

के–के कति खानु पर्छ खाउ तर बिन्ती जग नहसाऊ । यत्ति कुरा बुझ्दा राम्रै होला भीरबाट लडेर मरेको सिनो खान कुकुरहरुले गरेको झगडाले आफै भीरबाट लड्नु होला अनि त्यो बेला हामीले भन्ने शब्द पनि रामराम वाहेक हुँदैन, बेलैमा ख्याल गर्नुहोस् पहिलो पुस्ता ।

त्यसैले अब मिल सबै मिलेर भकारो खाली गर त्यसपछि लाग तिमीहरु पनि गिद्ध रेन्टुरेन्टतिर बाँचिन्जेल त्यहि सानले बाँच अनि मरेपछि पनि केहीको ज्यान बचाउन काम लाग्ने छौं । त्यत्ति योगदान त गर्न सक्छौ होला नि । आखिर तिमीहरु पनि त माओ, लेलिन र कालमाक्र्सको योगदानमै रजाइँ गरेका त छौ नि ।

नेताज्यूहरु बहश गर्नुस, संवाद गर्नुस, एकअर्काको कमी कमजोरीहरु केलाउनुस, आत्माआलोचना गर्नुस तर यो महामारी र संकटमा हामीजस्तो कार्यकर्ताहरुलाई तपार्इंहरुकै विरुद्व आन्दोलनमा उत्रन बाध्य नपार्नुस । यो देशमा तपाईं सबैले सत्ताको र पार्टी प्रमुखको स्वाद चाखिसक्नुभएकोछ । तपाईंहरुको नेतृत्व पनि हे¥र्याै र हेरिराखेकै छौ ।

अब तपाईंहरु सबैले गोठ खाली गरेर युवा पुस्तामा हस्तान्तरण गर्नुस । अन्तिम पटक बिन्ती गर्छु, आज सम्म जे जे भयो भयो, जानेर भयो, अन्जानमा भयो, नियतिले भयो वा आवेगमा भयो जसरी भयो भयो । अब म कृपया नेकपाको अरिंगाल बन्न चाहन्छु ।

म केपी, माधव, प्रचण्ड वा वामदेव प्यानल बन्ने कुनै चाहना छैन त्यसैले आजको दिनसम्म पार्टीको सदस्य पनि बनेको छैन ।

मलाई कसैले नेकपाको सदस्य नै दिँदैन दिन्छ त केबल तपाईंहरुको नाम जोडिएको गुटको । गुट बनाउन खप्पिस ओली पुस्ता बाटो खाली गर । भोलिबाट फेरि झोला बोक्न देउ अनि गर्बका साथ भन्ने छु नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ।

सम्बन्धित खबर