मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

पाखामा घर, पहिरोको डर

आइतबार, २८ असार २०७७
5540 पटक पढिएको

ईश्वर देवकोटा
पोखरा

सुस्मिता परियार १९ महिने काखे छोरी च्यापेर शनिबार दिउँसो खराने फाँटमा डेरा खोज्दै थिइन् । शुक्रबार बिहान पोखरा २६ स्थित पैतेडाँडामा आएको पहिरोले सुस्मितालाई झस्काएको छ । उनका छिमेकी दुर्गाबहादुर सुनारको ज्यानै लिएको पहिरोले सुस्मितासहित त्यहाँ बस्ने सबैलाई पिरोलिरहेको छ, अब कहाँ बस्ने ?

डाँडामा बसेका ९० घरमध्ये अधिकांश घरको करेसा, आँगन भासिएको छ । कुनबेला पहिरो खस्छ पत्तो छैन । जिउधन जोगाउन २१ वर्षीया सुस्मिता काखेछोरी च्यापेर दिनभर कोठा खोज्ने ध्याउन्नमा थिइन् । कास्कीकै मादी तप्राङबाट झरेको १० वर्ष भयो सुस्मिताका श्रीमान् मनबहादुरको परिवार । ३ वर्षअघि मात्र उनीहरुको बिहे भएको थियो ।

सासु, ससुरासहित पैतेडाँडामा बस्दै आइरहेका उनीहरुलाई सुतिरहेकै बेला माथिबाट पहिराले किच्छ कि भन्ने डरले सताइरहेको छ ।

‘डाँडा जताततै चिरिएको छ । ठाउँठाउँमा भासिएको छ,’ खराने फाँटमा डेरा खोज्दै १ घरमा पुगेकी सुस्मिताले भनिन्, ‘पहिरो खसेपछि घरमा बस्नै डर लागेर छोडियो । सामान राख्नलाई कोठा खोज्दै आएको हो ।’

सुस्मिता मात्र नभई उनका छिमेकीसहित सबैजसो घरपरिवार विस्थापित हुने क्रममा छन् । शुक्रबार बिहानपछि डाँडाका ४० घरपरिवारलाई रेडक्रस लगायत सामाजिक संस्थाको सहयोगमा नजिकैको अमरज्योति आधारभूत विद्यालयमा राखिएको छ । सबै परिवार डेरा खोजेर बस्न सक्ने आर्थिकस्तरका छैनन् । ज्याला मजदुरी गर्ने भूमिहीनहरु पैतेडाँडामा बस्दै आएका थिए । उनीहरुले घर त जसोतसो बनाएका थिए, तर लालपुर्जा पाएका छैनन् ।

सुस्मिताकै पनि ५ जनाको परिवार नै डेरामा बस्न सक्ने स्थिति छैन । उनी भन्छिन्, ‘बुवाआमा उहीँ बस्नुहुन्छ । नानीलाई त्यहाँ छोड्न डर भयो । सुत्नेबेला राति कोठामा आउने बिहानै उठेर फेरि डाँडामै जाने हो ।’
पैतेडाँडा पहिरो खसेको दिनपछि अँध्यारो छाएको छ । सबैले घरको माया मारेर स्कुलमा गई बसे । डाँडामा सन्नाटा छाएको छ । तर जोगिएका घरमा भएका अलिअलि सामान पनि जोगाउने पिरलो उत्तिकै छ । ‘दुःखमा परेका छौं । त्यहीँमाथि चोर आए,’ सुस्मिताले भनिन्, ‘प्रहरी बोलायौं । उहाँहरुले हेर्नुभयो । तर प्रहरीलाई छक्काएर भागे । बस्ने स्थिति नै भएन । भएको सामान पनि जोगाउनै सकिएला जस्तो छैन ।’

केही दिनलाई मात्र स्कुलमा व्यवस्थापन हुने हुँदा त्यसपछि स्थानीलाई कहाँ राख्ने भन्ने अन्योल देखिएको खराने फाँटकी सामाजिक कार्यकर्ता सीता भण्डारीले बताइन् । राहत र उद्धार तत्कालै केहीबाट जुटेको भएपनि दीर्घकालीन व्यवस्थापनका लागि टुंगो लागिनसकेकाले स्थानीय अझ चिन्तित बनेको उनले सुनाइन् । ‘मेयर, उपमेयर सबै आउनुभएको थियो । हेरेर जानुभयो,’ उनले भनिन्, ‘डाँडाका सबै परिवार विस्थापित भएका छन् । उनीहरुको परिवारलाई कहाँ सुरक्षित गर्न सकिन्छ भन्ने टुंगो लगाउन पाए राम्रो हुन्थ्यो ।’

बर्खा लागेसँगै वर्षेनी खस्ने पहिराले बस्ती नै जोखिममा पारेपछि उचित ‘थान्कोमान्को’ लगाउन स्थानीय तहले ध्यान दिनुपर्ने भण्डारीको भनाइ छ । ०७५ सालमा बर्खाकै मौसममा भारी वर्षासँगै खसेको पहिरोले पैतेडाँडामै एकै परिवारका ४ जनाको ज्यान गएको थियो । भिरालो जमिन, घरमाथि घर, १ घरको आँगन भासिँदा अर्काको छानामाथि पहिरो खस्ने जोखिम पैतेडाँडामा छ ।
….
‘प्रकृतिको बनोट अनुसार निर्माण गर्नुपर्छ’


श्रीकमल द्विवेदी
भूगर्भविद्


कतिपय ठाउँमा हामी आफैंले समस्या सिर्जना गरेका छौं । प्रकृतिलाई हामीले बुझेर प्रकृतिको बनोट अनुसारको संरचना निर्माण गर्नुपर्ने हो । पहाडमा सुरक्षित निर्माणका लागि पहल गर्नुपर्ने हो । हाम्रोमा कस्तो देखियो भने, जे त होस् भन्ने । सुख्खा बेलामा बनाउने । पानी नपर्दा जति काटे पनि के फरक प¥यो र । तर हामीले नदेखेको कुरा प्रकृतिको आफ्नै प्रक्रिया हुन्छ । पानी पर्ने, बग्ने । जमिनलाई कमजोर बनाउने । बाटो गलाउने, बगाउने । समग्रमा हेर्दा माथिबाट बग्यो ।

माथिकालाई केही नहोला तर अहिले खोलामा बाढी आएको त्यस्तै प्रकृतिका संरचना धेरै बन्दा गेग्रान बगाएको हो । हामी अव्यवस्थित किमिसबाट बाटो बनाइरहेका छौं । बाटो भनेको एक्साभेटरले स्लोप खन्यो । खनेको ढुंगामाटो खोल्सोमा फाल्यो । त्यो ढुंगामाटो खोल्सोमा पर्छ । पानी पर्दा त्यो बगाएर खोलामा पु¥याउँछ । पानीको रंगबाट बुझ्न सकिन्छ कि खोलामा फेरिमेन्टल लोड अत्यधिक छ । खोला छेउ सडक निर्माणका कामहरु भइरहेका छन् । अन्य संरचना छन् ।

पहाडी क्षेत्रमा अध्ययन नगरी काम भएका छन् । नेपालमा भौगर्भिक अध्ययन गर्ने चलन नै छैन । पहाड छ भन्ने बित्तिकै इन्जिनियरिङ भौगर्भिक अध्ययन हुनुपर्छ । जस्तै पैतेडाँडाको जस्तो एकमाथि अर्को घर छ भन्ने कुरामा कडा चट्टान छ भने त केही फरक नपर्ला । तर, नरम माटो छ भने पानी पर्ने बित्तिकै स्वाभाविक रुपमा खस्छ ।

पछिल्लो समययता देखिएका पहिरोको घटना हेर्दा अव्यवस्थित, अवैज्ञानिक बसोबास र संचरना निर्माणका कारण देखिएका छन् । केही छिनका लागि मात्र गरेको जस्तो खोला किनारमा लगेर स्कुल राख्देको छ । त्यस्ता संरचना प्रकृतिले थेग्न सक्दैन ।

सम्बन्धित खबर