मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

भुल्नै नसकिने अरुण

सोमबार, ०५ साउन २०७७

मोती भुजेल

थोरै गीत गाएर धेरै प्रसिद्धि कमाउने केही कलाकारमध्ये एक हुन् अरुण थापा । राष्ट्रले सम्झन नसकेको तर संगीतप्रेमीले भुलूँभुलूँ लागे पनि कहिल्यै भुल्न नसकेको कलाकार हो अरुण । कोलकातामा जन्मेका अरुणले स्कुल तहको शिक्षा जेपी हाइस्कुल क्षेत्रपाटी काठमाडौंबाट सुरु गरे । पछि दार्जिलिङमा १० सम्मको पढाइ सकेर जेपी हाइस्कुल क्षेत्रपाटी काठमाडौंबाट एसएलसी दिए ।


—२१औं अरुण थापा स्मृति दिवस—

उच्च शिक्षा अध्यन गर्न पृथ्वीनारायण क्याम्पस पोखरा पुगे । नेपाल बैंक पोखरा तेर्सापट्टीमा अरुणका बुबा गुन्जबहादुर थापा शाखा प्रमुख भएर पोखरा आए पछि, चिम्सा आँखा, सिल्की कपाल र माछापुच्छ्रेजस्तै सफा हृदय भएको मंगोलियन फेसको २१ वर्षे ठिटो अरुण थापा पनि पोखरा आए । नेपाल बैंककै क्वाटर हाल फिस्टेल हस्पिटल नजिकै उनको बास बस्ने ठाउँ बन्यो ।


पोखरेली युवा सांस्कृतिक परिवारकै पहलमा ‘कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुनु ठूलो छ संसार’ गीत रेकर्ड भएको थियो


२०३० सालदेखि केही वर्ष पोखरा बसेका अरुणलाई आफ्नै बाबाले नातिकाजी र शिवशंकर जस्ता हस्ती संगीतकारहरुसँग भेट गराए । गीत संगीतमा खुब रुचि राख्ने अरुणले पृथ्वीनारायण क्याम्पसमा हुने विभिन्न कार्यक्रममा गितार बोकेर गीत गाउन थाले । कहिले आफ्नै गीत गाए त कहिले ख्याती प्राप्त गायकहरुको कालजयी गीतहरु गाए । चलचित्र ‘आराधना’मा कलाकार किशोर कुमारले गाएको गीत एक दिन क्याम्पसको स्टेजबाट अरुणले आफ्नो स्वरमा गाए । रेडियोमा किशोर कुमारको स्वरमा सुनेको गीत

कोरा कागज था
ए मन मेरा मेरा मेरा
लिख लिया नाम इस पे तेरा

दुरुस्तै सुने पृथ्वीनारायण क्याम्पसमा त्यतिबेला पढ्ने विद्यार्थीहरु सबैले । ताली पिटे ओन्समोर, ओन्समोर भन्दै धेरै युवा युवतीले हात हल्लाएर अरुणलाई हौसला दिए । त्यही हुलमा थिइन् एक युवती । चार दसकभन्दा आगाडि गैह्रापाटन, पालिखेचोक, नदीपुर वरिपरि खाली चौर थिए । गैह्रापाटन (जहाँ अरुण बस्थे)बाट पालिखेचोक नजिकै पर्छ । प्राय त्यही चोक हुँदै पृथ्वीनारायण क्याम्पस जाने आउने क्रममा देखेको एउटा ठिटोलाइ पहिला खासै वाल नदिए कि ती युवती अरुणको मिठो स्वरमा गीत सुनेर फिदा भइन् । तिनै स्थानीय नेवार जातकी युवतिले प्रेम प्रस्ताव राखिन् । अरुणको ‘आँखाको निद खोसी लाने’ तीनै युवतीसँग पृथ्वीनारायण क्याम्पसको डिलमा बसेर काली खोलाको सुसेली सँगै गीत गाइरहन्थे अरुण ।

अरुणलाई गायक बनाउनुमा प्रेमिकाको ठूलो हात थियो । सुरुआतीका दिनमा प्रेमिकाको लागि ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ भन्दै सेती नदीको डिलमा बसेर शीतल पवन खाँदै प्रेमिकाको हत्केला र औंला समातेर पवित्र गंगासँग तुलान गरे । अरुण भन्ने गर्थे प्रेमिकालाई मेरो जन्म भएकै तिम्रो सिउँदोमा सिन्दुर भर्न हो । जीवन भर सँगै जिउने मर्ने कसम खाएकै हुन् । तर जीवनमा आफूले चाहेको भन्दा नचाहेको धेरै हुन जान्छ ।
अहिले जस्तो रेकर्डिङ स्टुडियो नभएको बेलामा स्वर परीक्षा दिनु पर्थ्याे । पोखराका केही साथीहरुले अरुण तिम्रो स्वर राम्रो छ तिमीले स्वर परीक्षा देऊ भनेपछि रेडियो नेपालमा स्वर परीक्षा दिए ।

२०३२ सालमा स्वर परीक्षा पास गरेपछि पोखराको एउटा पुरानो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा अरुण थापालाइ पोखराबाट पठाएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारकै पहलमा ‘कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुनु ठुलो छ संसार’ गीत रेकर्ड भएको थियो । तर खासै लोकप्रियता पाएन । ‘२०३४ सालमा पोखरेली युवा साँस्कृतिक परिवारको स्थापना भएको हो । पोयुसाप स्थापना हुनुमा अरुणको पनि योगदान थियो ।
संस्था स्थापनाकै वर्ष पोयुसापले तत्कालीन नगर प्रशिक्षण केन्द्रमा विविध सांस्कृतिक कार्यक्रम ग¥र्यो । कार्यक्रममा अरुणले गीतकार विनोद गौचनको गीत ‘जति माया लाए पनि जति कसम खाए पनि’ गाए ।’ गीत निकै हिट भएको सम्झन्छन् पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सचिव सरुभक्त । राजेन्द्र रिजालको शब्द, राम थापाको संगीतमा ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ र २०३६ सालमा विक्रम गुरुङको शब्द र संगीतमा ‘भुलूँ भुलूँ लाग्यो मलाई सपनीमा मिठो लाग्दैन विपनी’ गीत गाए पछि उनको चर्चा देशविदेश सर्वत्र भयो । र उनी सांगीतिक क्षेत्रको एउटा चम्किलो नक्षत्रको रुपमा नेपाली आकाशमा उदाए । जातभातको कुरालाई लिएर अरुण बाट प्रेमिकालाई छुट्टयाउन लागेको कुरा थाहा पाए पछि अरुणले आफ्नी प्रेमिकालाई पोखरा बाट भगाएर काठमाडौं लगेर राखे । खानदानी परिवारकी सुपुत्रीसँग प्रेम गर्नु नै अरुणका लागि अफाप सिद्ध भयो ।

सुटुक्क विवाह गरेर अरुण र उनकी प्रेमिका परिवारसँग भाग्दै र लुक्दै केही समय त बिताए तर यसरी सधैं टिक्नेवाला थिएन । केही दिनका लागि छोरीलाई पोखरा पठाइदिन भनेर परिवारले अनुनय विनय गरेपछि अरुणले आफ्नी प्रेमिकालाई केही दिनको बसाइपछि काठमाडांै फर्कने बाचा सहित पोखरा पठाए ।

छिटै आउने आशामा रहेका अरुणको मन धेरै दिनसम्म पनि पे्रमिका फर्केर नआउँदा पिरोलिन थालिसकेको थियो । अरुणको मन त्यतिबेला छिया–छिया भयो जतिबेला उनले आफ्नो प्रेमिकाको विवाह अरुसँग भएको थाहा पाए । प्रेमिकाले परिवारको दवावमा अर्कैसँग विवाह गरेको थाहा पाएपछि विक्षिप्त बनेका अरुणले आफूलाई सम्हाल्न नसकि आफूलाई सम्हालने नाममा नशालु पदार्थको सहारा लिन थाले । भावुक हृदयका अरुणलाई यो घटना मुटु हजारौं टुक्रा बनाउन काफी थियो । मुटु टुक्रिँदा निस्केको आवाज

‘जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

मुटु रेटेर गाएको गीत कति मार्मिक हुन्छ, अरुण थापाको स्वर सुन्दा थाहा हुन्छ । थोरै गीत गाएर पनि कसरी कालजयी हुन सकिन्छ भन्ने बलियो प्रमाण पनि हुन् अरुण । अरुणको जिन्दगीमा २०३६ सालबाट सुरु भएको पीडाको शृंखला त्यत्तिकैमा सकिँदैन । वियोगको यो घडीले विक्षिप्त बनेका अरुण नशाको संसारमा रमाउन थाले ।

मुटुको भित्री कुना खोस्रेर निस्केका उनका गीतहरुले एकपछि अर्काे गर्दै बजार पिट्न थालिसकेको थिए । उनका प्रशंसकहरु बढिरहेका थिए । अघिल्लो प्रेमको असफलतापछि डराइ डराइ अरुण दोस्रो प्रेममा परे । नशाको संसारबाट अरुणलाई बाहिर निकाल्ने दोस्री प्रेमिकाको प्रयासले पनि सफलता पाउन सकेन ।

गायनमा त अरुण सफलताको शिखरमा पुगी सकेका थिए । अरुणको जादुमय स्वरकै कारण सन् २००३ को बिबिसीको विश्वव्यापी गीत सर्वेक्षणमा उनको गीत ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ सातौं स्थानमा पर्नुले पनि पुष्टी गर्छ । तर व्यावहारिक जिन्दगीमा उनी निरन्तर असफल सावित हुँदै थिए । २०३७ देखि २०३९ को दुई वर्षको अन्तरालमा बुबा गुन्जबहादुर थापा र आमा शान्ति थापाको देहवसानपछि अझ विरक्तिए ।
अरुणको अव्यावहारिक जिन्दगीका कारण दोस्री प्रेमिकाकाले पनि अरुणलाई छाडेर गइन् । अरुणको जिन्दगीमा अब छेकबार गर्ने कोही भएन । कुलतलाई छाड्नै सकेनन् । पोखराको माटोले अरुण थापालाई गायन क्षेत्रमा चर्चाको शिखरमा चढायो र यही पोखराको माटोले नै उनलाई कहिल्यै नभुल्ने चोटहरु पनि दियो ।

संयोग नै मान्नुपर्छ पोखरामा बसेको पहिलो प्रेमको दुःखद अवसान भएपछि उनले कयौं कालजयी गीतहरु ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध’ ‘दोष कसैलाई दिन चहन्न पिउने छु बरु आँखाको आँसु’ ‘साँझको जुनसँगै’ ‘अरुसँग नजोख मलाई’ ‘जिन्दगी के छ र आखिर’ गाए । तर दुःखद पक्ष यो पनि थियो कि यही वियोगका कारण उनी जीवनलाई कहिल्यै सकारात्मक सोँच राख्न नसक्ने गरी ‘जिन्दगीका यात्राहरु’बाट कहीं कतै हराए ।

अन्ततः २०५६ सालको साउन ५ गते अरुणलाई के ‘लाग्न थाल्यो जीवनमा’ र गेस्ट हाउसको एउटा कोठामा अरुण थापाले गीतारसँगै अन्तिम सास फेर्नु दुई दिनअघि दीपेश श्रेष्ठ र रवि श्रेष्ठले लिएको अन्तर्वार्ता नै अन्तिम बन्यो । अन्तिममा अरुणलाई अन्तिम प्रश्न ‘अरुण दाइ गीत गाउन सकुन्जेल ताली बजाउने तर अहिले बिरामी परेर एक्लै हुँदा वास्ता नगर्ने नेपाली स्रोतालाई के भन्नु छ ?’

अरुणको अन्तिम क्षणको बोलीमा आएको उत्तर, त्यसपछि हामी नेपालीहरुले अरुणको कुनै आवाज सुन्न सक्दैनौं ।

‘जीवनमा सबथोक पाएर
मैले फेरी सबै गुमाएँ
कहाँ पुग्नु थियो मलाई
कहाँ हो कहाँ पाइला बढाएँ
तर म यस्तै अन्योलमा रमाउने मान्छे
मलाई रुखो सहानुभूति नै प्यारो छ
यहाँ पिर बिसाउ नै गाह्रो छ ।

उहाँहरु सबैजना प्राय मेरो चाहनेवालाहरु नै हुन त्यसमध्येमा पनि कति प्रसेन्ट त मेरो फ्यान्ज्हरु नै होलान् म सबैलाई हार्दिक अभिवादन गर्दै भनु उहाँहरुको शुभकामना व्यक्त गर्दै उहाँहरुसँग म विदावरी माग्न चाहन्छु ।’
पछिल्लो समय बलिवडमा वास्तविक घटना र कसैको जीवनमाथि आधारित भएर फिल्महरु निर्माण भइरहेका छन् ‘भाग मिल्खा भाग’, ‘दंगल’ ‘सुल्तान’ ‘धोनी’ ‘सञ्जु’ जस्ता फिल्महरु अत्यधिक रुचाइएपछि निर्माता र निर्देशकहरु आकर्षित भएका छन् । नेपालमा भने उति धेरै बायोपिक फिल्महरु बनेका छैनन् । तर अब बन्लान । बन्नु पनि पर्छ अरुण थापाको बायोपिकमा लभस्टोरी फिल्म ।

सम्बन्धित खबर