शुक्रबार, ३० साउन २०७७
samadhannews
Bardan Online

बालापनको उमेर…

शनिबार, १० साउन २०७७
2100 पटक पढिएको

सुरेन्द्र थापामगर

सबैको बाल्यकाल हुन्छ । बाल्यकाल रमाइलो र जिवनभरि सम्झन लायक हुन्छ । त्यसमाथि गाउँघरमा हुर्केको जीवनले अझ बढी प्रकृतीसँग घुलमिल हुन पाएको हुन्छ । तीनै सम्झनाका तरेली उधिन्दै छु आज । मैले आफूले थाहा पाउने भएपछि गाउँघरको परिवेशसँग साँच्चै नजिक रहेँ । मेरो समय कालमा श्रीपञ्चमीको दिन अक्षर चिनाउने चलन थियो ।

आमाले कालो पाटीमा कखरा लेखेर हात समातेर कपुरी क, खाटे ख, गाईगोडे ग भन्न लगाउनुभयो । मैले आमासँगै नेपाली वर्णमालाका सग्ला अक्षर पढें । खरीपाटीलाई अँगारले कालो बनाइन्थ्यो । अहिले जस्तो ल्यापटप तथा मोबाइलमा किबोर्ड थिचेर अक्षर बन्ने चलन थिएन ।

किबोर्ड थिचेर अक्षर लेखिने विधि थाहा पाउनु भएको भए आमा कति खुसी हुनुहुन्थ्यो होला । यति बेला पनि आमालाई भन्न र देखाउन पाएको छैन यी वैज्ञानिक उपलब्धिहरु। खरिपाटीमा कपुरी क देखि ज्ञानी ज्ञ सम्म लेखेर आमालाई देखाउँदा संसार सबै जानेजस्तो मन औधी खुसी लाथ्यो । एकापट्टि कखरा अर्कोपट्टि अंक लेख्ने गरिन्थ्यो ।

पछि स्कुल जाने बेला भएपछि आमाले बुनिदिनु भएको थर्कती (परालले बनेको चकटी ) लिएर गइयो । स्कुलमा ठूलो कालोपाटीमा त्यै वर्णमाला पढियो । गुरु ढोकामा बस्नुहुन्थ्यो हामी विद्यार्थीले हातमा लठ्ठी लिएर पालैपालो कालोपाटीमा अक्षरमा छुँदै पढाउने र पढ्ने गरिन्थ्यो । पछि नेपाली वर्णमालाको किताब पढ्न पाइयो ।

त्यो रंगीन किताब लिन पाउँदा मन फुरुँग हुनथ्यो । त्यो खुसी अहिले कसैगरी पाप्त हुन सक्दैन । त्यो किताबको लेखकको नाम साइँला दाइ थियो । ती साइँला दाइ कोहुन् आजसम्म चिन्न पाएको छैन । मजस्तै धेरैले ती साइँला दाइले लेखेको नेपाली वर्णमाला पढेर आएका छन् ।

रातो कलमले गुड पाउनुत्यतिबेला महाभारत नै थियो । गुरुको गुड पनि कसैलाई सानो र कसैलाई ठूलो हुन्थ्यो । ठूलो गुड पाउँदा कक्षाभरिमा सबैलाई जिते झैं लाग्थ्यो ।

त्यो वर्णमालामा नेपाली सग्ला अक्षर, अंक, दुना र सायद २रु३ वटा प्रतिनिधिमूलक कथा थिए । बाठो कागको कथामा माटोको घैंटोको तल रहेको पानी कागले ढुंगा टिपेर घैटोमा भित्र हाल्दै पानीको सतह माथि बनाएर तिर्खा मेटाएको रोचक कथा थियो । त्यो कागको बुद्धि सारै ठूलो लाग्थ्यो । पछि झोला भिरेर स्कुल जान पाइयो ।

अ, आ, इ देखि कखरा घोक्ने बानी सबैको थियो । नहेरी सबै स्वर र व्यञ्जन कन्ठस्थ भन्नसक्दा ठूलै विद्वान भए जस्तो लाग्थ्यो । पछि सामइ क कन्दनी का शिरबिन्दु कँ सम्म जान्दा त भूइँमा खुट्टै हुन्थेन । स्वर र व्यञ्जन मलाई त्यही नेपाली वर्णमालाले सिकायो । खरीपाटीमा लेख्न सिकेको हातले हात्ती छाप कापीमा लेख्न पाउँदा मन कति खुसी हुन्थ्यो कति ।

गुरुले ब्ल्याकबोर्डमा लेखेको अक्षर सिसा कलमले उस्तै गरेर कापीमा सार्न कम दुख थिएन । गुरुले हेरेर गुड लेखिदिनुहुँदा कहिले घर गएर आमालाई देखाउने भन्ने आतुरी हुन्थ्यो ।

रातो कलमले गुड पाउनुत्यतिबेला महाभारत नै थियो । गुरुको गुड पनि कसैलाई सानो र कसैलाई ठूलो हुन्थ्यो । ठूलो गुड पाउँदा कक्षाभरिमा सबैलाई जिते झैं लाग्थ्यो । पछि स्कुल सबल भएपछि बेन्च बन्यो । हामी चकटीबाट बेन्चमा बस्ने ठूला विद्यार्थी भयौं ।

प्राथमिक तहसम्म नेपाली, अंक गणित, सामाजिक शिक्षा, नैतिक शिक्षा, कक्षा ४ देखि अंग्रेजी किताब थियो क्यारे । ती किताबमा के के थिए के के पढियो अहिले मलाई याद छैन । एउटा कुरा याद छ मलाई हिसाब ज्यादै अप्ठेरो लाग्थ्यो ।

मैले कखरा सिकेको जनता विद्यालयमा अहिले १२ कक्षासम्मको पढाइ हुन्छ । मलाई मेरो विद्यालयको नाम जनता निकै मन पथ्र्यो । हेड सर भनेपछि हामी विद्यार्थी सारै डराउथ्यौं । उहाँ बनारसबाट शास्त्री पास गरेर आउनु भएको थियो । प्रष्टवक्ता लीलाराज रेग्मी गुरु त्यतिबेला हेड सर हुनुहुन्थ्यो ।

उहाँ आएपछि सबै विद्यार्थी चुपचाप हुन्थे । हामी कक्षा कोठामा निकै हल्ला गथ्र्याै । के भनेर हल्ला गरिन्थ्यो त्यो पनि याद भएन् । स्कुल जाने बेलामा हातमुख धोएर कपालमा तोरीको तेल लगाइन्थ्यो । जाँगे र कमिज लगाएर झोला भिरेर खाली खट्टा हामी स्कुल जान्थ्याै‌‍ । अहिलेका बाबु नानीको जस्तो ड्रेस त कहाँको पाउनु नि ।

अहिले बिहान बिहान स्वास्थ्यका लागि खाली खुट्टा हिड्न पर्छ भन्छन् । त्यतिबेला हामी खाली खुट्टा घर स्कुल वनपाखा गर्‍यौं । हाम्रो खुट्टाको पाइतालाले सानो तिनो काँडा पनि भाँच्थ्यो । पछि गाउँघरतिर लाहुरेले बाटा चप्पल ल्याए । सहर बजारमा भक्कु चप्पल आयो ।

आजकलका बाबुनानीले जस्तो जन्मँदै खुट्टामा जुत्ता लाउने चलन थिएन त्यतिबेला । त्यतिबेला जुत्ता लाउने रहर कहिलेकाहिँ केराको सुप्लाको जुत्ता बनाएर मेटियो । आजकल यो कथाजस्तो लाग्न सक्छ । तर हाम्रो पुस्ताले भोगेको समय हो ।

पछि अक्षर छिचोल्ने र वाक्य पढ्ने भएपछि लाहुरेको चिठी पढिदिने र लाहुरनीहरुको चिठी लेखिदिने मेरो नौलो काम थपियो । गाउँघरमा चिठी पढिदिने र लेखिदिने मान्छे सितिमिती पाइँदैनथ्यो ।

त्यतिबेला आजकल जस्तो किचनमा ग्यास चुलो हुन्थेन । घर घरमा अँगेना हुन्थ्यो,ओदान हुन्थ्यो । अहिले ग्यास चुलोमा प्याट्ट गरे आगो बल्छ । त्यतिबेला आगो माग्न पथ्र्यो । अगेनामा मुढालाई खरानीले छोपेर आगो राख्ने चलन थियो । अगेनामा आगो नभए वल्लोपल्लो घरमा दिउरी लिएर आगो माग्न जाने चलन थियो ।

बारीमा वा घरबाहिर काम गर्न जाँदा आगो लान पर्‍यो भने झुम्रो बटारेर आगो सल्काइ लगिन्थ्यो । ककड खानेहरुले चक्मा पार्ने गर्थे । चक्मामा फलाम र दर्शन ढुंगा रगटेर केराको सुप्लाको झुस र च्याउमा आगो सल्काइ भुसा खाएको मैले देखेको छु । ‌

पछि अक्षर छिचोल्ने र वाक्य पढ्ने भएपछि लाहुरेको चिठी पढिदिने र लाहुरनीहरुको चिठी लेखिदिने मेरो नौलो काम थपियो । गाउँघरमा चिठी पढिदिने र लेखिदिने मान्छे सितिमिती पाइँदैनथ्यो ।

प्राय लाहुर (इन्डिया) बाट आएको चिठी हामीले स्कुलको हुलाकबाट सम्बन्धित व्यक्तिकोमा लगि दिन्थ्यौं । आफ्नो चिठी आएको खबर पाएपछि सम्बन्धित व्यक्तिको खुसीको सीमा हुदैनथ्यो ।

चिठ्ठी खोलेर भाका मिलाएर पढिन्थ्यो । चिठीमा खसमले श्रीमती (पत्नीलाई ) मेरो प्रिय श्रीमती तिमीलाई प्यार माया वा आमालाई सेवाढोग छ भनेर सम्बोधन गरेको हुन्थ्यो । यताबाट चिठी लेख्दा स्वस्ती श्री छ श्री आगे त्यहाँ राज गरी बस्नुभएका स्वामी जीमा सेवा ढोग छ । म अभागी पत्नीको तर्फबाट.. जस्ता वाक्य रहन्थे ।

चिठी लेखेपछि, पढेपछि सेतो मगमा चिनी हालेको चिया पुरस्कार पाइन्थ्यो । महिना दिन सम्म परदेशबाट चिठी आएन भने बाबा आमा तथा श्रीमतीको अनुहार मलिनो हुन्थ्यो । तेतिबेला सञ्चारको एउटामात्र माध्यम चिठीपत्र थियो । आज जस्तो मेसेन्जर, इमेल, भाइवर, इमो सामाजिक सञ्जाल भएको भए कति तडपिएका मनहरुले आफ्ना खसमलाई मनका कुरा लेख्ने थिए ।

गाउँघरमा बेलाबखत लाहुरेहरुले पार्सल चियापत्ती, मसला, पैसा पठाउथे । पार्सललाई चलन चल्तीको भाषामा नासो भनिन्थ्यो । गाउँघरमा नासो छोड्न जानेले ठूलै मेजमानी पाउथे । त्यतिबेला देशबाट बाहिर जाने सबैलाई लाहुर जाने भनिन्थ्यो ।

भारतमा दरवान, कुल्ली जे गरे पनि आखिर लाहुरबाट आउँदाको सुवासबेग्लै हुन्थ्यो । मुख्यतया मलाय र इन्डिया आर्मीमा भर्ती हुने चलन मात्र थियो । आजकल जस्तो गल्फ कन्ट्री, मलेसिया कोरियामा रोजगारी थिएन । सिमित देशमा मात्र रोजगारी गर्ने चलन थियो ।

यसभन्दा अगाडि म सम्झन्छु बाल्यकालको कुरा जहाँ हामी सबै यसरी नै रमाएका थियौं । हामी झुम्राको भकुण्डो खेल्थ्यौं । अहिलेको महंगो भलिबल खेल्दा भन्दा त्यै झुम्रोको भकुण्डो खेल्दाको आनन्द लाखौं गुणा बढी थियो । हात्तीछाप कापीको पन्ना च्यातेर जहाज बनाएर उडाउँदाको आनन्द अहिले जेट चढेभन्दा बढी थियो ।

आशामारा चुरोटको खोलबाट चिठ्ठा बनाएर खुब खेलिन्थ्यो । गुच्चा खेल्ने, गोटा खेल्ने, खोपी खेल्ने, डण्डीबियो, पांग्राजस्ता रैथाने खेलहरुको मिठो अनुभूति हाम्रो पुस्ताले चाखेको छ । अहिलेका पुस्तालाई यी शब्द पनि नौलो लाग्छ होला । हाम्रो समयको यी रैथाने खेलहरु आजको भिडियो गेम र पप्जीले खाइदियो ।

हामीसँग आजकालजस्तो वालेटमा एटिएम कार्ड हुँदैनथ्यो । हाम्रो खल्तीमा चुरोटको खाली बट्टाबाट बनाएको चिठ्ठा पकेट भरि हुँदा हामी बिलगेट्स भन्दा धनी हुन्थ्याै‌ँ ।

साँच्चेै त्यतिबेला हामीसँग के थिएन ? मोटर थियो, जहाज थियो, पैसा थियो, सबै चिज थियो, भलै ती खेलौना मात्रै किननहुन् । गाउँघर तथा बालकालमा हामीले भोगेका कतिपय कुराहरु यतिबेला विस्थापित भइसके ।

वर पीपलका चौतारीहरु हराउँदै छन् । पर्म लाउने चलन, दाइँ हाल्ने, ओहोरा खाने (वनभात) प्रचलन विस्तारै लोप हुँदैछ । अमृतजस्तो मिठो पानी खाने पँधेराघरघरको धाराले विस्थापित ग¥यो ।

गाउँघरमा विस्थापित भएका धेरै चिजहरु यति खेर मेरो मनमा आइरहेछ । गाउँको चौतारीमा बसेर सभा गर्ने, गाउँको बारेमा छलफल गर्ने चलन थियो ।

ढिकी जाँतो अब म्युजियममा मात्र देख्न पाइने भयो । चुँदाराले दार, कटहरको रुखको ठेकी कुँदेको दृश्य बहुत रोचक लाग्थ्यो । कहाँ गए ती सिपालु चुँदाराका सिपहरु। हेर्दा हेर्दै काठकोमुढा ठेकीबनेको अनौठो दृश्यबारीको कान्लामा बसेर हेरिन्थ्यो । यति बेला इलेक्ट्रिक मेसनबाट दही मुछेर घिउ बनाउने भाँडा छन् ।

ठेला हानेर जित्ने मान्छेको नाम वरिपरि खुब प्रचार हुन्थ्यो । ठेलो हानेर जित्ने मान्छेलाई सिरपाउ, फेटा लगाएर दिउँसो त्यै बजार घुमाइन्थ्यो । आजकल चुनावको विजय र्‍यालीजस्तै । यो जीत कसको ? फलनाको भन्दै हिँड्थे समर्थकहरु ।

हामीसँग मोही पार्दा हुने कसरतले हामीलाई कति स्वस्थ्य बनाएको रहेछ भन्ने कुरा प्यारालाइसिस हस्पिटलमा गएर हेर्दा थाहा भयो । त्यहाँ मोही पारेर, जाँतो पिनेर गर्ने कसरत सिकाइदो रहेछ ।

जुन कसरतबाट प्यारालाइसिस बिरामीको उपचार गरिँदोरहेछ । हिजो हामीले दैनिकरुपमा गरेका काम हाम्रै स्वास्थ्यका लागि धेरै लाभदायक रहेछन् ।

गाउँघरको सम्झनामा गाउँघरमा लाग्ने हाटबजारको आफ्नै रमाइलो पन थियो । स्याउलाले बेरेका, चित्राले घेरेको प्रत्येक दोकानमा गाउँलेहरु पसल थाप्थे । प्राय सबै पसलमा सेलरोटी पोलेर बिक्री गरिन्थ्यो । वरिपरि गाउँघरमा मानिसहरु हाटबजारमा जम्मा भएर रातभर नाचगान गर्थे । दिउँसो ठेलो हान्ने चलन हुन्थ्यो ।

ठेला हानेर जित्ने मान्छेको नाम वरिपरि खुब प्रचार हुन्थ्यो । ठेलो हानेर जित्ने मान्छेलाई सिरपाउ, फेटा लगाएर दिउँसो त्यै बजार घुमाइन्थ्यो । आजकल चुनावको विजय र्‍यालीजस्तै । यो जीत कसको ? फलनाको भन्दै हिँड्थे समर्थकहरु ।

राति गाउँगाउँको झुण्ड झुण्ड भएर नाच गान गर्थे । यसरी हाट मेला जाँदा तरुनीहरुले झोलामा रक्सी, रोटी र अचार लिएर जान्थे । नाच गानकै समयमा केटाहरुलाई अर्नी भनेर ती परिकार दिइन्थ्यो । खोइलाको बिर्को भएको बोत्तलको रक्सी खाएपछि केटा पक्षले आफ्नो गच्छे अनुसार रुपैयाँ (पैसा) को बिर्को लगाएर बोत्तल फिर्ता गरिदिन्थ्यो ।

तरुनीहरुलाई केटा पक्षले प्राय चुरोट खान दिने चलन थियो । त्यसो त अलि पहिले गाउँघरमा ठिटा हरुले तरुनीलाई खुर्पेटो दिने र तरुनीले ठीटाहरुलाई बुट्टा भरेर रुमाल दिने चलन थियो । आजकलजस्तो भ्यालेन्टाइनको दिन गुलाफको फूलदिने चलन थिएन् । आजकल त स्टिकरको पूmल दिने चलन छ क्यारे ।

हिजो बिहानको माया प्रेम पवित्र थियो । आजकल माया प्रेमलाई बजारले निर्धारण गर्छ । हिजो मायाका चिनोमासाच्चै माया प्रेम मिसिएको हुन्थ्यो आजकोगिफ्टमा माया प्रेम हुँदैन मात्रचिज, वस्तु हुन्छ ।

हाम्रो पुस्ताले भोगेका ती रमाइला दिनहरु अब फर्केर कहिल्यै आउँदैन । समय क्रममा हाम्रो आनिबानी प्रविधिले व्यापक परिवर्तन गरिदिएको छ । हामीले के खाने, के बोल्ने, कता जाने सम्पूर्ण ज्ञान र चित्त बजारले निर्धारण गरेको छ । हामीले गाउँ छोड्यौं, प्रकृतिबाट टाढा भयौं ।

हामीले हिँड्ने बाटाहरु, हामीले पानी खाने कुवा धारा, ऐसेलु, खनियो, चुत्रो सबै हामीदेखि बिराना भए । बिउ कुहियो भन्ने चरा आजकल कता गयो होला कुन्नि, को हो ? को हो ? भन्ने चराले हामीलाई खोज्दो हो कि नाइँ । आज सम्झन्छु कहाँ गए ती रमाइला दिनहरु ।

सम्बन्धित खबर