बुधबार, १० मङि्सर २०७७
samadhannews
Baba Hardware Header add

सम्पादकीय: गुनी कुकुर, बैगुनी हामी

आइतबार, ११ साउन २०७७

सम्पादकीय

घरेलु जीवन सुरु नगर्दै मानिसले साथ लिएको पहिलो जनावार सम्भवत कुकुर थियो भनिन्छ । सिकार युगमै मानिसले कुकुरलाई साथी बनायो । कृषि युगमा प्रवेश गरेपछि घरमै पाल्न थाल्यो ।

पशुपन्छी जोगाउन र बालीनाली रेखदेख गर्न कुकुरले मानिसलाई सघायो । बफादार हुने गुणले कुकुर मानिसको प्रिय भयो । अचेल त सुरक्षाका लागि मात्रै होइन, सौखले पनि कुकुर पालिन्छ । अपराध अनुसन्धानमा पनि कुकुरको सहयोग लिइरहेको आधुनिक राज्य । भान्छासम्म कुकुरलाई प्रवेश हुन्छ ।

विस्तारासम्मै पनि पुग्न पाउँछ । खेल्ने साथी पनि बन्छ । कुकुर मानिसको जीवनमा यति धेरै अभिन्न अंग बन्यो भन्नेबारे १९ अप्रिल २०१९ मा न्युयोर्क टाइम्स दैनिकले बनेशा उड र ब्रायन हायरको एउटा निबन्ध छापेको छ ।

जसमा कवि म्यारी ओलिभरलाई उद्धृत गरिएको छ । कवि म्यारीको किताब ‘डग संग्स’ मा उनी भन्छिन्, ‘कुकुरबिनाको विश्वबारे सोच्न पनि मुस्किल छ ।’ हो साँच्चीकै कुकुर बिनाको विश्वको कल्पना मुस्किल छ ।

कुकुरप्रति मानिसको लगावलाई झल्काउन निबन्धकारद्वयले पस्केको तथ्यांक पनि गजबको छ । उनीहरुका अनुसार कुकुरमाथि लेखिएका किताब हजारौंको संख्यामा छन् ।

अनलाइन सपिङ पोर्टल अमेजनमै कुकुरबारेका किताब ७० हजार उपलब्ध छन् । त्यतिमात्रै होइन मानिसले कुकुरमाथि थुप्रै उपन्यास लेखेका छन् र फिल्म पनि बनाएका छन् । कतिपयले त आफ्नो प्रिय पाल्तु कुकुरको जीवनी पनि लेखेका रहेछन् । कुकुरमाथि मानिसको चासोकै कारण त्यतिका धेरै किताब लेखिएको हुनुपर्छ । अझ ‘द आर्ट अफ रेसिङ इन द रेन’, ‘ए डग्स पर्पोज’ जस्ता कुकुरमाथि लेखिएका उपन्यासले त झन् पाठकहरूको आँखाबाट आँसु झार्न सफल भए ।

अझ ‘द आर्ट अफ रेसिङ इन द रेन’, ‘ए डग्स पर्पोज’ जस्ता कुकुरमाथि लेखिएका उपन्यासले त झन् पाठकहरूको आँखाबाट आँसु झार्न सफल भए ।

अमेरिकाको कुरा गर्दा त्यहाँ ६ करोड घरमा कुकुर रहेको अनुमान रहेछ । तर नेपालमा यस्तो कुनै आधिकारिक तथ्यांक छैन । अमेरिका वा अरु कुनै विकसित राष्ट्र कुकुर पाल्ने तरिका बेग्लै छ । हामी वर्षको एक दिन कुकुर तिहार मनाएर कुकुरको पूजा पनि गर्छाैं । तर अरु सबै दिन कुकुरको रेखदेखमा ध्यान पु¥याउँदैनौं ।

कतिपयले कुकुर पाल्ने भाँती पु¥याएका हुँदैनन् । कुकुर लिएर मर्निङ वाकमा निस्कने र बाहिरफेरै कुकुरलाई दिसापिसाब गराउने दृश्य निकै बिझाउँछ सहरमा । वा घरमै पालेको कुकुरलाई पनि दिसापिसाब गराउन सडकतिर अथवा अर्काको घरनजिक लैजान्छन् ।

सहरमा गाईभैंसी, कुखुरा वा बाख्रा पाल्नेभन्दा कुकुर पाल्नेको प्रतिष्ठा उँचो मान्ने मनोविज्ञान छ । छाडा पशु चौपायाको जस्तो समस्या विकराल छ, पोखरा लगायत सहरको अर्काे रोग छाडा कुकुरको पनि हो ।

छाडा पशु चौपाया व्यवस्थापनका कुरा सधैं उठिरहन्छन् र कताकति व्यवस्थापनको प्रयास पनि हुन्छ । तर सडकमा छाडिएका कुकुरको व्यवस्थापनपट्टि भने संवेदनशील भएर सरोकारवाला निकायको ध्यान गएको पाइन्न ।

अर्काेतिर घरघरमै भएका कुकुरको पनि उत्तिकै व्यवस्थापन जरुरी छ । ककुरको दिसापिसाब खुला ठाउँमा छाड्ने त्यसले निम्त्याउने रोग भयानक हुन्छ । समयमा खोप नलगाए रेबिजको जोखिम हुन्छ ।

पोखरा महानगरपालिकाका कतिपय वडामा व्यवस्थित कुकुर पालन तालिम सुरु भएको समाचार आएका छन् । वास्तवमा कुकुरको दीर्घकालीन व्यवस्थापनका लागि सबै घरका कुकुरको रेकर्ड राख्ने, तिनलाई वर्षेनि रेबिज विरुद्धको खोप लगाउने र छाडा छोडेको भेटिए कुकुरधनीलाई कारबाही गर्ने नीति पोखरा महानगरले छिटै ल्याएको जाती हुन्छ ।

व्यावसायिक गाईभैंसी, कुखुरा पालन गर्दा कर सरकारले लिन्छ नै । कुकुर पाल्नेमाथि पनि कर लगाउनुपर्छ भन्ने आवाज उठेको छ । यसबारे पनि बहस र छलफलबाट निचोडमा पुगेको जाती ।

मानिस जस्तै र अरु प्राणी जस्तै कुकुरले पनि सम्मानित भएर बाँच्न पाउने हक राख्छ । सडकमा बेवारिस बनाएर उसलाई छोड्नु, रोगी हुन दिनु, भोकै हुन दिनु हुन्न । उचित व्यवस्थापन गर्नुपर्छ ।

नेपाली समाजमा यो निरीह प्राणीलाई हेलाँहोचो गर्ने उखान धेरै छन् । एउटा उखान भने कुकुर जस्तो गुनी र …जस्तो बैगुनी भन्ने पनि छ । तर सहरमा देखिएको समस्या हेर्दा कुकुरजस्तो गुनी र हामी (सरोकारवाला सबै) जस्तो बैगुनी भन्नुपर्ने अवस्था छ । महानगरलाई अनुरोध—कुकुर पालन सम्बन्धी एउटा सहरी नीति छिट्टै बनाऊ ।

सम्बन्धित खबर