मङ्गलबार, २० साउन २०७७
samadhannews
Bardan Online

महानगरको फोहोर व्यवस्थापन अभियान : साख जोगाउन कि चर्चामात्रै ?

शुक्रबार, १६ साउन २०७७
2120 पटक पढिएको

जनप्रतिनिधि नभएका बेला टोल विकास संस्थामार्फत पोखरामा टोलटोलमा फोहोर वर्गीकरण अभियान थालिए पनि सफल भएको थिएन

गुजुल्टिएको तार हटाउने, बसमा ई–टिकेटिङ लागू गर्ने, नो हर्न जोन बनाउने लगायतका अभियान सुरु भएको २ महिना नपुग्दै रोकिएका थिए । फोहोर संकलन र बिक्री गर्ने ठाउँको व्यवस्था गर्न सके फोहोर व्यवस्थापन अभियान असफल नहुने दाबी

अनुप पौडेल, पोखरा

६ वर्ष पहिले पोखरा उप–महानगरपालिका फोहोर व्यवस्थापनमा देशकै सर्वोत्कृष्ट बन्यो । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले त्यसबेला पोखरालाई देशकै उत्कृष्टको प्रमाण–पत्र दियो । तर, त्यो खुसी धेरै टिक्न पाएन ।

अर्को वर्ष अर्थात् २०७२ सालमा हेटौंडाले पोखरालाई पछि पा¥यो । मूल्यांकनका १५ सूचकांकलाई हिसाब गर्दा अघिल्लो वर्ष उत्कृष्ट बनेको पोखरा अर्को वर्ष १० औं नम्बरमा पुग्यो । फोहोरमैला व्यवस्थापन केन्द्रले उत्कृष्ट घोषणा कार्यक्रमलाई निरन्तरता दिएको भए पोखराले सायदै दोस्रोपटक त्यो पुरस्कार पाउँथ्यो ।

मूल्यांकनको आधारमध्ये १ थियो, फोहोरमैला व्यवस्थापनमा पूर्वाधार । उतिबेला त्यसमा पनि उत्कृष्ट बनेको पोखरालाई अहिले फोहोरमैला व्यवस्थापनमा चुनौती छ ।

पोखराबाट उत्पादन हुने फोहोर व्यवस्थापन गरिने ल्यान्डफिल साइटको समय अब ४ महिनामात्रै बाँकी छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले उक्त साइट आउँदो पुससम्म हटाउनुपर्ने समयसीमा छ ।

२०३६ सालमा तत्कालीन पोखरा नगरपालिका हुँदादेखि कर्मचारी नियुक्त गरेर पोखरामा सरसफाइ थालिएको हो । त्यसको १० वर्षपछिगाडी ल्याएर फोहोर व्यवस्थापन गरिएको थियो

ल्यान्डफिल साइट हटाउनुपर्ने भएपछि पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने ठाउँको खोजी गरिरहेको छ । ठाउँको खोजीसँगै महानगरले ल्यान्डफिलमा पुग्ने फोहोरलाई घटाउने गरी फोहोर वर्गीकरणको योजना बनाइरहेको महानगरको सहरी योजना आयोग सदस्य सरोज कोइराला बताउँछन् ।

फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान मूल समितिको बिहीबारको बैठक

महानगरले ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान सुरु गर्न लागेको हो । जनप्रतिनिधि नभएका बेला टोल विकास संस्थामार्फत पोखरामा टोलटोलमा फोहोर वर्गीकरण अभियान थालिए पनि सफल भएको थिएन ।

अहिले फेरि त्यही अभियानलाई महानगरले जगाउने प्रयास गरेको हो । कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न प्रोत्साहन गर्ने नीतिअनुसार महानगरले १ सय ४८ सदस्यीय मूल समिति गठन गरेको छ ।

‘अब फोहोरलाई ३ तहमा वर्गीकरण गर्छौं । त्यसमा कुहिने फोहोरलाई घरमै प्रयोग गर्ने, पुनः प्रयोग हुनसक्नेलाई बेच्ने र फाल्नै पर्नेलाई ल्यान्डफिल्ड लैजाने हुन्छ,’ सदस्य कोइरालाले भने, ‘यसको मुख्य उद्देश्य भनेको फोहोर घटाएर ल्यान्डफिल्डको आयु बढाउनु हो ।’

बिक्री गर्न योग्य फोहोरका लागि पछि छुट्टै कार्यविधि बनाइने भएको छ । मेयर मानबहादुर जिसीको संयोजकत्वमा फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान मूल समिति गठन भएको छ ।

समितिको बिहीबार बसेको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने र फोहोर व्यवस्थापन तथा मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा मेयर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए ।

उनले घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।

उनका अनुसार पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्नेलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने छ ।

पोखरामा नयाँ ल्यान्डफिल साइट तयार नभएकाले घरमै फोहोर छुट्याएर बिक्री गर्नुको विकल्प नभएको महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन् ।

‘राम्रोसँग व्यवस्थापन गर्ने हो भने पुनः प्रयोगमा आउनसक्ने फोहोरलाई १ महिनासम्म स्टोर गर्न सक्छौं । त्यसपछि व्यक्तिगत वा सामूहिक हिसाबमा विक्री गर्न सकिन्छ,’ प्रमुख बरालले भनिन् । उनका अनुसार पोखरा–७ को माछापुच्छ्रे महिला क्लबले ४ वटा पानीको बोटललाई १ रुपैयाँमा बेच्दै आएको छ ।

पोखराको ल्यान्डफिलमा अहिले दैनिक १ सय ८२ टनसम्म फोहोर जम्मा हुन्छ । त्यसमध्ये झन्डै ७० प्रतिशत कुहिने खालका हुन्छन्

पोखरामा गुजुल्टिएको तार हटाउने, बसमा ई–टिकेटिङ लागू गर्ने, नो हर्न जोन बनाउने लगायतका अभियान सुरु भएको २ महिना नपुग्दै रोकिएका थिए । फोहोर संकलन र बिक्री गर्ने ठाउँको व्यवस्था गर्न सके फोहोर व्यवस्थापन अभियान असफल नहुने प्रमुख बरालको दाबी छ ।

‘यो भनेको ई–टिकेटिङजस्तो जटिल कुरा होइन । अल्छी नगरे सफल हुन्छ,’ उनले भनिन्, ‘संकलन गरेर राखेपछि व्यवस्थापन गर्न नसके घरबाहिर लगेर फाल्नुको विकल्प हुँदैन । पैसा दिने मान्छेको व्यवस्थापन महानगरले गर्दिन सके यो मोडल फेल हुँदैन ।’

पोखराको ल्यान्डफिलमा अहिले दैनिक १ सय ८२ टनसम्म फोहोर जम्मा हुन्छ । त्यसमध्ये झन्डै ७० प्रतिशत कुहिने खालका हुन्छन् । स्रोतमै फोहोर वर्गीकरण गर्न सके ल्यान्डफिल साइटको आयु बढ्ने योजना आयोगका सदस्य कोइरालाले बताए ।

उनका अनुसार पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर ३ ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । पोखरा–१६, २२ र ३३ मा ल्यान्डफिल साइट निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सदस्य कोइरालाले जानकारी दिए ।

घरबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गर्न सके तरकारी आयात गर्न नपर्ने महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । पोखरामा वार्षिक ७ देखि ८ अर्बको तरकारी आयत हुने गरेको भन्दै उनले घरमा कौसी खेती गर्न सके परिवारको माग धान्न सक्ने बताए ।

उनले भने, ‘हामी विषादी हालिएको तरकारी खान बाध्य छौं । तर भान्साबाट निस्कने फोहोरलाई मलको रुपमा प्रयोग गरेर कौसी खेती गर्न सके ४ जनाको परिवारलाई पुग्छ । अहिले पोखरामा मासिक ५० करोड बराबरको तरकारी भित्रिन्छ ।’

२०३६ सालमा तत्कालीन पोखरा नगरपालिका हुँदादेखि कर्मचारी नियुक्त गरेर पोखरामा सरसफाइ थालिएको हो । त्यसको १० वर्षपछिगाडी ल्याएर फोहोर व्यवस्थापन गरिएको थियो ।

पोखरा उप–महानगरपालिका बनेपछि २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको थियो । त्यसको ३ वर्षपछि २०५९ सालमा साइट तयार भएकोमा २०६१ सालदेखि त्यहाँ फोहोर व्यवस्थापन हुँदै आएको छ ।

उप–महानगरपालिका बनेपछि २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको थियो । त्यसको ३ वर्षपछि २०५९ सालमा साइट तयार भएकोमा २०६१ सालदेखि त्यहाँ फोहोर व्यवस्थापन हुँदै आएको छ ।

सम्बन्धित खबर