मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

शवदाह गृहविरुद्ध रिटको सुनुवाइ सर्यो

शनिबार, १७ साउन २०७७
3040 पटक पढिएको

समाधान संवाददाता, पोखरा

शान्ति वनमा प्रस्तावित शवदाह गृह निर्माण विरुद्ध उच्च अदालत पोखरामा परेको रिट सम्बन्धी सुनुवाइ २३ साउनसम्मलाई स्थगित भएको छ । पोखरा १० को बुद्धचोक वातावरण सुधार समिति अध्यक्ष सम्झनादेवी अधिकारीले ९ साउनमा दायर गरेको रिटमा ११ गते न्यायाधीश विनोदमोहन आचार्यको इजलासले शवदाह गृह निर्माण सम्बन्धी काम रोक्न अन्तरिम आदेश गरेको थियो ।

‘शान्ति वनबाटिका परिसरमा ज्येष्ठ नागरिकहरुको विश्रामस्थल रहेको, बालबालिकाको मनोरन्जन प्राप्ति गर्ने प्रकृतिको उपहार स्थल भएकाले उद्यान वा वनबाटिकाभित्र साउन १६ सम्मका लागि कुनै पनि बोट, वृक्ष नकटाउनू र कुनै किसिमको शवदाह गृह निर्माण नगर्नू नगराउनू,’ अन्तिम आदेशमा भनिएको थियो ।

१६ साउन शुक्रबारका लागि सुनुवाइ पेसी तोकिएकोमा विपक्षी ११ मध्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वास्तविक नाम रिटमा उल्लेख नभएको र प्रधानमन्त्री कार्यालयको म्याद तामेली नभएकाले २३ साउनसम्मका लागि स्थगित भयो । मन्त्रालयको वास्तविक नाम सच्याउन र प्रधानमन्त्री कार्यालयको म्याद तामेली गर्न लगाई सुनुवाइको मिति सारिएको हो ।

पोखरा १० रामघाटस्थित शान्ति (वैरागी) वन मासेर शवदाह गृह बनाउन नहुने भन्दै वातावरण सुधार समितिले विरोध गर्दै आइरहेको छ । बढ्दो जनसंख्या घनत्वको खुला क्षेत्र भएको ठाउँ ज्येष्ठ नागरिकका विश्राम स्थल र बालबालिकाको मनोरञ्जनका लागि उपयुक्त हुने भएकाले शवदाह गृह बनाउने काम समाजघाती भएको दायर रिटमा उल्लेख छ । २०५५ मा तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले शान्ति वनको संरक्षणका लागि रामघाट धार्मिक क्षेत्र विकास समितिलाई २५ र बौद्ध अर्घौ सदनलाई १० रोपनी दिएको थियो । त्यसपछि नै रुख काट्ने र विनास कार्यले तीव्रता पाएको सुधार समितिकी अध्यक्ष अधिकारीले बताइन् । पक्की संरचना निर्माण नगर्ने सम्बन्धी तत्कालीन जिल्ला विकास समितिको निर्देशनलाई बिर्सिएर भव्य संरचना बनाउने कार्यले वनको अस्तित्व नासिने सुधार समितिको भनाइ छ । शवदाह गृह बौद्ध अर्घौ सदनले संरक्षणको जिम्मा पाएको क्षेत्रमा निर्माणाधीन छ ।

‘शान्तिवनमा कुनै संरचना नबनाउने, वृक्षरोपण गरी हरियाली कायम राख्ने निर्णय छँदा छँदै के कुन निर्णयले तपाईंहरुले शवदाह गृह बनाउने अनुमति पाउनु भयो भन्ने प्रश्न राख्दा कुनै निर्णय देखाएनन्,’ रिटमा उल्लेख गरिएको छ, ‘तर, संघीय सरकारको करोडौं आर्थिक सहयोगमा यो काम हुँदै छ भन्ने कुरा बुझिन आयो ।’

संघीय बजेटमार्फत १७ करोड ६ लाखको लागतमा विद्युतीय शव दाह गृह बनाउने योजना हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत उक्त योजनाको निर्माणको जिम्मा सिनर्जी बिल्डर्स प्रालि कुलेश्वर काठमाडौंले १४ करोड १३ लाख रुपैयाँमा पाएको हो । २०७६ भदौदेखि काम थालिएको उक्त योजना २०७८ भदौ २२ सम्ममा सकिने सम्झौता छ ।

निर्माणधीन क्षेत्र पोखरा नगर र बासिन्दाको सौन्दर्य भएको सुधार समितिले रिटमा उल्लेख गरेको छ । सेती नदीको किनारमा पर्याप्त ठाउँ हुँदाहुँदै वनबाटिकामा निर्माण गर्न चाहनुले पोखरालाई प्रदूषणमय बनाउने समितिको तर्क छ । ‘बौद्ध अर्घौं सदनको गुम्बा भवन शान्ति वनबाटिकाको पूर्व तर्फको मूल गेट बाहिर छ र सो भवन गुम्बाभन्दा केही तल सेती नदीको किनारभन्दा केही माथि सुरक्षित ठाउँमा पर्याप्त शवदाह स्थल छ । सुलभ तवरमा दाह संस्कार हुँदै आएको पनि छँदै छ,’ रिटमा भनिएको छ, ‘यस्तो स्थितिमा शान्तिवन बाटिकाको वडा १० मा पर्ने वनबाटिका क्षेत्रमा नै ल्याएर शवदाह गृह बनाउने विपक्षीको कार्यले यो क्षेत्र र वडालाई मात्र होइन पुरै पोखरालाई प्रदूषण गर्ने छ । हाम्रो स्वास्थ्य र सुविधा निकै प्रतिकूल हुनेछ ।’

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख झपट थापाले विद्युतीय शवदाह गृहले वातावरणीय प्रदूषण कम गर्न सघाउने बताउँछन् । काठमाडौंको पशुपति आर्यघाटभन्दा ठूलो क्षमतामा यहाँ बन्न लागेको उनले जानकारी दिए । ‘पशुपति क्षेत्रमा भए जस्तो घरहरुबाट यहाँ टाढा बन्छ,’ उनले भने, ‘धुवाँ वाटरमा प्युरिफाई भएर सेतो धुँवा आउँछ । ३० मिटर अग्लो चिम्नी हुन्छ ।’ स्मार्ट सिटीका लागि चाहिने आवश्यक पूर्वाधार ‘टुल्स’ विद्युतीय शवदाह गृह भएको उनको भनाइ छ ।

सोलिड टेस्ट गरेर मात्र आयोजनास्थल तोकिएको प्रमुख थापाले बताए । ०४५ सालदेखि उक्त क्षेत्रलाई शवदाह गृह बनाउने भनेर छुट्टाइएको उनले सुनाए । आयोजना ३ सय ६० वर्ग मिटर क्षेत्रफलमा २ तले भवन बन्ने छ । निर्माणाधीन क्षेत्रमा लकडाउन अघि माटो खन्ने काम भएको थियो । निर्माणपछि १ पटकमा २ वटा शव जलाउन सकिने, आधा घन्टामा १ शव जलिसक्ने प्रमुख थापाले जानकारी दिए । सेती नदीको मापदण्डबमोजिम ३० मिटर छाडेर आयोजना स्थल यकीन भएको उनले बताए ।

सम्बन्धित खबर