मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

अभिभावक र सामाजिक अध्ययन विषय

आइतबार, १८ साउन २०७७
1870 पटक पढिएको

राजेन्द्र भण्डारी

आज सम्पूर्ण अभिभावक, शिक्षक र प्यारा विद्यार्थी भाइबहिनीहरु सबै फरक परिवेशका बीचमा रहेका छन् । अर्थात् नेपाललगायत करिब करिब पूरा विश्व नै कोराना भाइरसको विरुद्धमा संघर्षरत रहेको छ । यो विषम परिस्थितिको अन्त्य कहिले हुने हो ? त्यसको ठ्याक्कै मिति हालसम्म नदेखिए तापनि मानव सभ्यताको विगतको इतिहासलाई हेर्ने हो भने मानवमा रहेको आत्मसविश्वास र विश्वबन्धुत्वको भावनाले निश्चय पनि पराजित गर्नेछ र पुन एकपटक मानव क्रियाकलापहरु हराभरा भएर वसन्तका सुदिनहरु आगमन हुनेछन् ।

आज मुलुकभित्र झण्डै ७० लाखभन्दा बढि बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । हजाराैं शिक्षकहरु विद्यालयका कक्षाकोठाभित्र विद्यार्थीसँग शैक्षिक भलाकुसारी गर्न नपाएको लामो समय भइकेको छ । आज विद्यार्थीहरु एउटा उकुसमुकुस वातावरणका बीचमा तपाईँहरुसँग रहेका अवस्थामा एउटा जिम्मेवार अभिभावकको काँधमा घरलाई विद्यालय बनाउनु पर्ने र अभिभावक स्वयम्लाई समयले एउटा शिक्षकको दोहोरो भूमिकामा उपस्थित गराएको छ । एउटा अभिभावक थोरै मात्र सचेत भइदिँदा विद्यालयभित्र हुने पठनपाठनको तुलनामा कयाैं गुणा प्रभावकारी बन्न सक्ने अवस्था रहेको देखिन्छ । हाम्रा विद्यार्थीहरुले अध्ययन गर्दै आएका कतिपय पाठ शीर्षकलाई घरमा नै बसेर अभिभावकको सहजीकरणमा अध्ययन गर्न सक्ने वातावरण बन्दछ ।

यो लेखको उद्देश्य आफ्ना बाबुनानीहरुलाई सामाजिक अध्ययन विषय कसरी घरमा नै बसेर अध्ययन गर्न सक्छन् र अभिभावकले कुन किसिमबाट सहयोग प्रदान गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेको छ ।

२१औं शताब्दीमा विद्यालय गएर १० बजेदेखि ४ बजेसम्म ८ ओटा विषयहरु पढेर आउने र जाने मात्र होइन, घरमा नै बसेर सिक्ने र ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मान्यता बलियो हुँदै गएको छ । घरमै रहेर अभिभावकको प्रत्यक्ष निगरानीमा पठन पाठन कार्यमा सहभागी भएर ज्ञान हासिल गरी संसारका कयौं मानिसहरु प्रतिष्ठित र उच्च स्थानमा पुगी असल नागरिक बनेको थुप्रै इतिहास हामीसँग रहेको छ ।


एउटा बालकलाई असल, सुसंस्कृत र शिक्षित बनाउनका लागि गरिने सिकाइमा अभिभावकको हात महत्वपूर्ण हुन्छ ।

तसर्थ अबका दिनहरुमा विद्यालयमा पठाउँदैमा र पठन पाठन गर्दैमा ज्ञान हासिल हुन्छ र असल मानिस बन्न सकिन्छ भन्ने भ्रमलाई अभिभावकले त्याग्न सक्नुपर्छ भने शिक्षक साथीहरुले कक्षा कोठा बेगर अर्थात वैकल्पिक तरिका र प्रविधिको माध्यमबाट पठन पाठन गराउँदा व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।

अभिभावकः
भनिन्छ, प्रत्येक बालबालिका त्यही बन्छ जुन अभिभावक, घर र समुदायले बनाउन चाहन्छन् । जसरी बालबालिकाको शिक्षामा विद्यालय र शिक्षकको गहिरो प्रभाव पर्छ ठिक त्यसै गरी घर, अभिभावकका साथै समुदायको प्रभावले बालबालिकाको व्यवहारमा परिवर्तन आउने गर्दछ । अभिभावकको विचार, सिद्धान्त, आस्था, व्यवहार, सम्बन्ध, भाषा, संस्कृति र परम्परा आदिले सिक्ने र सिकाउने कार्यमा असर पारिरहेको हुन्छ । अभिभावक बालबालिकाहरुको शिक्षाको महत्वपूर्ण सक्रिय तथा अनौपचारिक साधन हुन् ।

वास्तवमा त्यही नै अभिभावक हो, जसले आफ्ना बालबालिकाहरुमा रहेको अवगुणलाई हटाएर सद्गुण सिर्जना गर्ने कार्यमा सहयोग गर्दछ । तर वर्तमान समयमा जसले बालबालिकाहरुलाई मिठो मिठो खानेकुरा खुवाउने, नयाँ र महँगा कपडाको सुविधा उपलब्ध गराउने र ठुला ठुला विद्यालयमा लगेर बालबालिकाहरुलाई भर्ना गराउने कार्यमा संलग्न गराउने व्यक्तिलाई राम्रो अभिभावकको रुपमा चिनाइने गरिएको छ ।

तर वास्तवमा उनीहरु अभिभावक होइनन् र त्यसलाई अभिभावकको कर्तव्य भनेर मान्न सकिदैन । अभिभावकको यस्तो भूमिकाबाट बालबालिकाहरु भोगी बनिरहेका हुन्छन् । यसले मानवीय जीवनमा अनेक प्रकारका विकारहरु सृजना गर्नसक्छ । भोगी व्यक्तिले अनेक प्रकारका अवगुणलाई जन्म दिन्छ, भने त्यागी व्यक्ति सदैव सद्गुणको रचना गर्दछ । जसरी कुनै अक्षर अमन्त्र हुँदैन, कुनै जरीबुटी अनौषध हुँदैन ठिक त्यसै गरेर कुनै पनि बालबालिका अयोग्य र असक्षम हुँदैनन् । उनीहरु सबैमा विशिष्ट योग्यता र क्षमताको बाहुल्यता रहेको हुन्छ ।

तसर्थ हरेक अभिभावकले आफ्ना बालबालिकाको नयाँ सिकाइका लागि बहु–आयामिक भएर विचार गर्न आवश्यक छ । साथै उनीहरुको जीवनलाई सद्गुणयुक्त बनाएर सुविचारको मार्गतर्फ उन्मुख गराउनमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजना भएको छ । बालबालिकाहरुको चौतर्फी विकासका लागि घर, परिवार र समाजको अभिन्न भूमिका रहेको हुन्छ । उनीहरुको समग्र विकासमा हातेमालो गर्नु नै अभिभावकको सच्चा कर्म हो । अभिभावकको प्रेरणा र असल संस्कार नै बालबालिकाको सफलताको आधार हो । एउटा राष्ट्र« त्यसबेला मात्र सबल र सक्षम बन्न सक्दछ जुनबेला हरेक घर, अभिभावक र समाज सुसंस्कारयुक्त हुन्छन् ।

अभिभावकहरुले आफ्ना अमूल्य र अथाह अनुभवहरुलाई बालबालिकाको व्यक्तित्व तथा सामूहिक क्रियाहरुकाे सर्वोत्तम विकासका लागि सहजीकरण गर्न सकेमा एउटा असल विद्यार्थी निर्माणमा सहयोग पुग्ने देखिन्छ । खुला आकासको छहारीमा र धर्यशील प्रकृतिको काखमा रहेका बालबालिकाहरुलाई विशेष गरेर प्राकृतिक वातावरणमा नै उनीहरुलाई रमाउने बातावरण तयार पार्र्नु पर्ने देखिन्छ । यो भूमिकालाई साकार पार्नको लागि विद्यालयसँग अभिभावकको समन्वयकारी सम्बन्ध हुन त्यति नै जरुरी छ ।

सामाजिक अध्ययनः
वास्तवमा मानिसले आफ्नो जीवनका आवश्यकताहरु प्राप्त गर्न एक सुयोग्य नागरिकको रुपमा जीवनयापन गर्न सामाजिक तथा भौतिक वातावरणसँग कसरी मिल्ने भन्ने मानवीय अन्तर सम्बन्धको ज्ञान नै सामाजिक अध्ययन हो । सामाजिक अध्ययनमा विगतका दिनहरुबाट सिकी, वर्तमानलाई पर्याप्त प्रयोग गरी भविष्यप्रति ध्यान केन्द्रित गरी समाजको विस्तृत रुपमा अध्ययन गरिन्छ । मानिस एक चेतनशील, विवेकशील र सामाजिक प्राणी हो । ऊ सामाजिक प्राणी भएकै कारणबाट ऊ समाजमा नै रहन्छ साथै जन्मदेखि मृत्युसम्मका समाजका हरेक क्रियाकलापमा संलग्न भएको हुन्छ । समाजमा कुशल रहनका लागि चाहिने आवश्यक कुराहरुबारे ज्ञान, सीप र अभिवृत्ति विकासका लागि समाज मानवको वास्तविक गुरुको रुपमा रहेको हुन्छ । जसबाट समाजका रीतिथिति, चालचलनका साथै सामाजिक मूल्य मान्यता सिक्ने अवसर प्राप्त हुन्छ ।

यी कुराहरु नजानीकन समाजमा रहन कठिन हुने र समाजबाट एक्लै रहेर जीवनयापन गर्न पनि कठिन हुने हुनाले मानव र समाजको सम्बन्धको बारेमा बालबालिकालाई आधारभूत ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्नका लागि अभिभावकले आफ्नाे भूमिकालाई वर्णन गर्न सक्नुहुनेछ । सामाजिक अध्ययनको इपिसेन्टर मानव स्वयम्, मानव निर्मित संस्था र प्रकृतिसँगको अन्तरसम्बन्ध हो । यसले मानवीय सम्बन्ध र संवेदनाको चर्चा र परिचर्चा गर्दछ । सामाजिक अध्ययन विषयको शिक्षण कार्य देश काल, संस्कार, भौगोलिक र अन्य परिवेशका आधारमा गरिनुपर्छ ।


सामाजिक अध्ययन विषयको विकासः
समयको विकासक्रम अनुसार नै सामाजिक अध्ययन विषयको सुरुवात सर्वप्रथम संयुक्त राज्य अमेरिकाबाट भएको हो । त्यसबेला सामाजिक अध्ययनमा इतिहास, अर्थशास्त्र तथा राजनीतिशास्त्र समावेश भएका थिए । पछि गएर भूगोल, मनोविज्ञान, दर्शनशास्त्र जस्ता विषयहरु समावेश गरिएको थियो । सन् १८९२ मा यसलाई सामाजिक ज्ञान नामाकरण गरियो । त्यसपछि यस समूहमा समाजशास्त्र पनि समावेश गरिए तापनि यसले मान्यता भने पाउन सकेको थिएन ।

प्रथम विश्वयुद्ध पश्चात् यो विषय लोकप्रिय बन्दै गयो । अमेरिकी समाज र विद्यालयमा सन् १९२० देखि १९५५ को समय सामाजिक ज्ञानको युगको रुपमा चिनिन्छ । तत्पश्चात् मात्र विश्वका अन्य मुलुकहरुमा पनि यस विषयको लोकप्रियता बढ्दै गएको देखिन्छ । नेपालमा सामाजिक अध्ययनको प्रारम्भ २०११ सालको राष्ट्रिय शिक्षा योजना आयोगको सिफारिसमा उक्त सालबाट नै भएको हो । वि.सं. २०१७ सालमा सामाजिक अध्ययन विषयलाई प्राथमिक शिक्षा पाठ्यक्रममा समावेश गरिएको हो । त्यसपछि वि.संं. २०१८ को सर्वागीण राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि देशभरका सबै विद्यालयमा सामाजिक अध्ययन विषय समावेश गरिएको पाइन्छ । हाल आएर कक्षा १ देखि ३ सम्म मेरो सेरोफेरो र कक्षा ४ देखि ८ सम्म सामाजिक अध्ययन र जनसंख्या शिक्षा साथै ९ र १० मा सामाजिक अध्ययन विषयको रुपमा पठन पाठन हुँदै आएको छ भने कक्षा ११ मा यस वर्षदेखि सञ्चालन गर्ने तयारीमा रहेको छ ।


सामाजिक अध्ययन विषयको क्षेत्रः
परिवार, छरछिमेक, स्थानीयस्तर जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म यसको क्षेत्र व्यापक रुपमा फैलिएको छ । जसले विद्यार्थीलाई आफ्नाे परिवार, समुदाय र अन्तर्राष्ट्रिय स्तरका समस्यालाई बुझ्न मद्दत गर्नुमात्र नभई समस्या समाधानतर्फ उन्मुखसमेत गराउँछ । साथै यस विषयमार्फत समाजोपयोगी असल नागरिक निर्माण, सामाजिक चरित्रको विकास गर्नु र विगतको सभ्यताको अध्ययनबाट वर्तमानलाई स्पष्ट पार्नुका साथै हरेक कुरामा आफ्नाेपनको भावनाको विकास गराउने उद्धेश्य सामाजिक अध्ययन विषयभित्र राखिएको छ ।

यस विषय मार्फत विद्यार्थीहरुमा पारस्परिक प्रेम, आपसी सहानुभूति र भ्रातृत्वको भावना विकास गराउँदै विश्व नागरिकको ज्ञान प्रदान गर्नु रहेको छ । यस सामाजिक अध्ययन विषयको औपचारिक पाठ्यपुस्तक मेरो सेरोफेरोबाट सुरुवात भएर कक्षा ९, १० र ११ मा सामाजिक अध्ययनको रुपमा राखिएको छ । विशेषगरी ९ वटा एकाइमा विभाजित हाम्रो पाठ्यपुस्तकका धेरै जसो पाठ शीर्षकहरु कक्षाकोठाभित्र गरिएको प्रयोगबाट पठनपाठन गरी सिक्नुभन्दा व्यक्ति, परिवार र समुदाय र राष्ट्रसँग नजिक रहेर सिक्दा अझ फलदायी तथा प्रभावकारी बन्ने विश्वास गरिन्छ ।

सामाजिक अध्ययन विषयका पाठ शीर्षकहरुः
सामाजिक अध्ययन विषयको पठनपाठन कार्यक्रमलाई छलफल विधि, अभिनय विधि, प्रयोगात्मक विधि, अन्तरक्रिया विधि, गरेर सिक्ने विधि, श्रवण विधि आदि जस्ता तरिकाहरु कक्षा कोठामा प्रयोग गरी सिकाउँदै आएको अवस्थामा विद्यार्थीहरु आफैले खोज गर्दै, अभिभावकका आफ्नाे अनुभवलाई प्रत्यक्ष कथन तथा अवलोकनको माध्यमबाट सिक्न सक्नेछन् ।

सामाजिक अध्ययन विषयमा रहेका एकाइ तथा पाठ शीर्षकहरु निस्वार्थ सेवा, यसको महत्व, विश्वबन्धुत्व, हाम्रा राष्ट्रिय सम्पदा, पूर्वज तथा जेष्ठ नागरिक सम्मान र कदर, गीत, संगीत तथा नृत्यको माध्यमबाट राष्ट्रियताको पहिचान गर्न, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको बारेमा खोजी गर्न र प्रेरणा लिने, नेपालमा प्रचलित धर्महरु, विविधतामा एकताको रुपमा आफ्नो समुदायमा समाजिक सद्भाव र सहिष्णुता कायम राख्ने कुराहरु, हाम्रा राष्ट्रिय दिवस, हाम्रा प्रचलन, हाम्रा सामाजिक समस्या पहिचान र समाधान, नेपालको हावापानी, हाम्रा आर्थिक क्रियाकलाप, हाम्रा विगत आदि एकाइ वा पाठ शीर्षकहरु छन् । यी विषयवस्तुहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सिक्न र ज्ञान आर्जन गर्ने कार्यमा केही समय संलग्न हुन सक्नु भयो भने कक्षाकोठाको पठन पाठनको तुलनामा घरमा बसेर गरिएको शिक्षण क्रयाकलाप प्रभावकारी हुन सक्दछ ।

अभिभावक र सामाजिक अध्ययनः
भनिन्छ, “हरेक अभिभावक हरेक अनौपचारिक शिक्षक हो र घर उसको अनौपचारिक विद्यालय हो भने समाज विश्वविद्यालय हो ।” अभिभावक र बालबालिकाहरुको घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यस सम्बन्धलाई धैर्यताका साथ निर्वाह गर्दै अगाडि बढेको खण्डमा बालबालिकाहरुका लागि एउटा समुज्ज्वल क्षितिज देखापर्दछ ।

अभिभावकले बालबालिकाको दैनिक जीवनको उदयसँगै हरेक विहान ईश्वरको नमनलाई जोड्दै र जीवनप्रक्रियामा ध्यान र स्मरणको आदत बसाल्न सक्यौँ भने शारीरिक विकासको साथै मानसिक विकासमा सहयोग पुग्न सक्छ । कहिले काँही सञ्चारको माध्यम टिभीमा गाइएको गीत, बजाइएको बाजा र नाचिएको नृत्यलाई कौतुहलताका साथ बालबालिकाहरुलाई अवलोकन गर्न लगाउने र उक्त सन्दर्भलाई अभिभावकले आप्mनो जीवनका आयामसँग जोड्दै लोकगीत, लोकबाजा र लोकनृत्य आदिको बारेमा बालबालिकाहरुलाई अवधारणा बसाल्ने कार्यमा सहयोग गर्न सक्नु हुनेछ ।

अभिभावकहरुले आफ्नाे विवाह, खेतबारीमा काम गर्दा, दुःख सुख, उकाली ओराली, मेलापाता, भोज भतेर तथा उत्सवमा सहभागी हुन जाँदाका अनुभवलाई प्रत्यक्ष गाउँदै, बाबुनानीहरुलाई बाजा बजाउन र नचाउने कार्यमा संलग्न गराउन सक्नुहुनेछ । एकातर्फ यसबाट मनोरञ्जन प्राप्त गर्दछन् भने अर्कोतर्फ नेपाली साहित्यका विभिन्न विधाहरुसँग परिचित हुने सुवर्ण अवसर प्राप्त गर्दछन् । टिभीमा देखाइएका लोकबाजाहरु शङ्ख, मादल, बाँसुरी खैजडी, मुजुरा आदि बाजा बजाउने, गीत गाउने र नृत्य गर्ने कार्यमा अभिभावकले आफ्ना बालबालिकाहरुलाई साथ दिन सक्नुहुनेछ । यहाँ नेर अभिभावकज्यू आफ्ना बावुनानीहरुसँग अत्यन्त नजिक हुँदै यी सम्पदाहरु हाम्रा पुर्खाले हामीलाई दिएका हुन् र यसलाई बचाउन आवश्यक छ । साथै भोलिका सन्ततिलाई हस्तान्तरण गर्नुपर्छ भन्ने ज्ञान दिन सकिएमा बालबालिकाको कमलो मानसपटलमा यसको महत्वको बोध हुन गई यसैको माध्यमबाट राष्ट्र्प्रति प्रतिवद्ध र समर्पित बन्न सिकाउँछ ।

नेपाल बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक मुलुक हो भन्ने कुरालाई छिमेकीहरुले अपनाएका धर्म, बोलेका भाषा र अपनाएका संस्कृति साथै उनीहरुका आस्था र विश्वासका केन्द्र मन्दिर, गुम्बा, चर्च, मस्जिद आदिको उदाहरण प्रस्तुत गर्दै अभिभावकहरुले आप्mना बालबालिकाहरुलाई विविध धर्म, भाषा र संस्कृतिहरुका बारेमा ज्ञान दिन सक्नुहुनेछ । घरमा भएका सम्बन्धित धर्म, भाषा संस्कृतिसँग सम्बन्धित ग्रन्थ पढन् लगाउने र धर्म, भाषा र संस्कृतिले मानव समुदायलाई सिकाएका ज्ञान तथा चेतनाका कुरा बताउने कार्यमा सहयोग गर्न सकिएमा बालबालिकाहरुमा धार्मिक सहिष्णुता, एकता र सह अस्तित्वको अवधारणा विकास हुन जान्छ ।

सबै धर्म, भाषा र संस्कृतिहरु समान हुन् भन्दै एक अर्काप्रति विश्वास, प्रेम र सद्भावको विकासमा समेत सहयोग पुग्दछ । साथै तत्कालीन समयमा मनाइएका चाड पर्वहरुका बारेमा अभिभावकहरुले परम्परादेखिका प्रचलनहरुलाई समावेश गरेर स्पष्टरुपमा धारणा राखिदिन सक्नु भएमा बालबालिकाहरुले यस्ता पर्व तथा दिवसप्रति गर्व गर्न र नम्र बन्न सक्छन् । आफ्ना समुदायमा बसोबास गर्ने विभिन्न समुदायहरु र उनीहरुले बोल्ने भाषा तथा संस्कृतिकाबारेमा संक्षिप्त रुपमा जानकारी गराइदिन सक्नु भएमा उनीहरुमा विविध भाषा र संस्कृतिसँग परिचित हुने सौभाग्य प्राप्त गर्दछन् । सामाजिक अध्ययन विषयले विद्यालयमा पढाइने पाठ्यक्रम वाहेकका अन्य जानकारीलाई शिक्षण कार्यमा जस्तै, समाचार पत्र पढ्नु, समाचार बनाउनु, सम्पादकीय तयार पार्नु, चित्र कोर्नु, पत्र लेख्नु, संवाद लेख्नु, अन्तर्वार्ता लिनु, संस्मरण लेख्नु, चलचित्र हेर्नु आदि कार्यलाई समावेश गरेको छ । यी कुराहरुलाई घरमै बसेर यी विषयवस्तुहरु माथि खोज तथा अनुसन्धान कार्यमा सहभागी गराएर सहयोग गर्न सक्नुहुनेछ ।

जसले गर्दा विद्यार्थीहरुले व्यावहारिक सिप सिक्न सक्छन् र उनीहरुमा स्थानीय कुराप्रति अझै सामीप्यता बढ्न जान्छ । “प्रत्यक्ष अवलोकन वा भ्रमणले दसवटा किताब बराबरको ज्ञान दिन्छ ।” तसर्थ भ्रमण र अवलोेकन गर्ने ठाँउ, उद्देश्य र परिवेशले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विद्यालयस्तरका बालबालिकाहरुलाई आफ्नै स्थानका भौगोलिक, धार्मिक, सांस्कृतिक आदि सम्पदासँग परिचय मात्र गराउने होइन मितेरी समेत लगाउन आवश्यक छ । यस्ता किसिमका कार्यहरु अभिभावकले बालबालिकाको इच्छामा गराउँदा एकातर्फ आनन्द प्राप्त गर्नुको साथै समाजको समग्र सामाजिक परिवेशलाई अर्थपूर्ण तबरबाट बुझ्भ्ने सौभाग्य प्राप्त गर्न सक्छन् ।

यस्तो शिक्षण कार्यबाट बालबालिकाहरुले एउटा सम्पदाको निर्माण र सुन्दरताको संरक्षणमा कति धेरै मानिसहरुको पसिनाको मूल्य रहेछ भन्ने कुरा प्रत्यक्ष देख्न सक्दछन् । एउटा किसानको मिहेनत, एउटा नदीको अविरलता र धर्तीको धैर्यताभित्र सृजित मानवजीवनको रहस्यलाई गहिरोसँग बुझ्ने सुवर्ण अवसर प्राप्त गर्दछन् । परिवारका सदस्यहरु बीचको भावना महसुस गर्ने, अरुको भावना बुझ्ने, अरुको विचारलाई स्वीकार गर्ने साथै अनुभव गर्ने गुणको विकास गराउने कार्यमा अभिभावक र उसको घर महत्वपूर्ण हुन्छ ।

अभिभावकहरुले बालबालिकालाई घरमा नै हाँसोको उज्यालो, दुःखको अँध्यारो पीडा र एकताको बललाई एक अर्कोमा घुलन गराउन सकेमा निश्चय पनि उनीहरुले अरुका पीर, मर्का, भावना, समस्या वा पीडालाई आफ्नै जस्तै गरी बुझ्नेछन् । जसको कारणबाट समानुभूतिका साथै विश्वबन्धुत्वकाे भावनासँग नजिक हुन पुग्छन् । जसले गर्दा शान्ति स्थापना गर्ने अभियानमा एउटा नयाँ कदमका साथ सत्यको आवाज गुञ्जन सक्छ ।

हाम्रा राष्ट्रिय विभूति र योगदानका बारेमा कथा, कविता र सुनेका आधारमा सुक्ति राखिदिनु भएमा उनीहरुले चाडै उत्साहका साथ सिक्नेछन् । एउटा अभिभावकको प्रेरणा, हौसला र प्रोत्साहनका बगैंचामा बालबालिकाहरुले सुन्दर तथा सुगन्धित फूलका बास्नाहरुबाट आह्लादित हुने अवसर प्राप्त मात्र गर्दैनन् कि बरु एउटा असल नागरिक बन्ने अभियानको प्रारम्भ समेत गर्दछन् ।

घर सिकाइको केन्द्र हो र बालबालिकाको प्रतिभा प्रस्फुटित गर्ने र व्यक्तित्व निर्माण गर्ने व्यक्ति अभिभावक पनि हो । आजका हाम्रा बालबालिकाहरुमा राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गर्नु छ । हरेक बालबालिकाहरुमा नैतिकवान, अनुशासित र स्वावलम्बी, सिर्जनशील, चिन्तनशील भई समावेशी समाज निर्माणमा योगदान दिन सक्ने नागरिक बनाउने यात्राको सुभारम्भ गर्नुपर्नेछ ।

बालबालिकाहरुमा पूर्खाको रगतमा सिर्जित माटोमा रोपिएका कला, संस्कृति, सौन्दर्य, मानवीय मूल्य मान्यता, आदर्श, वैशिष्ट्यहरुको संरक्षण तथा संवर्धनप्रति भावको उदय गराउन सक्ने बनाउनु परेको छ । अझै समतामुलक समाज निर्माणका विविध आयाममा सद्भाव जगाउनु र मानवका नैसर्गिक हक र अधिकारप्रति समर्पित हुँदै जिम्मेवारपूर्ण आचारणको विकास गराउनु पनि समयको आवश्यकता बनेको छ ।

विद्यालय प्रवेश गर्नुभन्दा अगाडि नै बालबालिकाहरुले सिंगो परिवार, समाज र राष्ट्रका विविध पक्षहरुसँग परिचित मात्र भएका हुँदैनन् बरु उनीहरुले अनुभव समेत गरेका हुन्छन् । यही सत्यताको साकारको लागि एउटा अभिभावकको अनुभव र एउटा घरको प्रशिक्षण दुरदर्शी बनिदिँदा बालबालिका व्यवहारमा मात्र परिवर्तन आउदैन कि बालबालिकाहरुले हरेक कुरालाई सम्भव पनि देख्छन् । शिक्षा दिने काम विद्यालयमा समाप्त भए तापनि शिक्षा लिने काम जीवनसँग अविरल हुन्छ । एउटा बालकलाई असल, सुसंस्कृत र शिक्षित बनाउनका लागि गरिने सिकाइमा अभिभावकको हात महत्वपूर्ण रहेको हुन्छ ।

सम्बन्धित खबर