मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

नेपाल भारत सम्बन्धका आधार

आइतबार, १८ साउन २०७७
1990 पटक पढिएको

उपेन्द्र सुवेदी


पछिल्लो समय नेपाल भारत सम्बन्धमा उतार–चढाव देखिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमिलाई लिएर २ देशबीच सुरु भएको कचिंगल घृणा, द्वेष, क्रोध र ओठे जवाफको लडाईंका रूपमा रुपान्तरित भएको छ । समुदायस्तरमा सामाजिक सञ्जालमा व्यक्त गरिएका पोस्ट हुन् वा सञ्चार माध्यममा प्रसारित समाचार (जी न्युजले प्रसारण गरेको समाचार ओलीकी इस्कियाँ ) ले गर्दा पत्रकारिताको मूल्य, मान्यताको हद पार गरेको छ ।

केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघमा दिएको अभिव्यक्ति र हाल आएर नेपालका प्रधानमन्त्री ओली र भारतीय केही जिम्मेवार नेताका अभिव्यक्तिले भूमि विवादलाई विषयान्तर गरिदिएको छ ।

नेपाल र भारत छुट्टाछुट्टै सार्वभौमसत्ता सम्पन्न राष्ट्र भए पनि दुवै देश साँस्कृतिक, वैदिक, पौराणिक र दार्शनिक रूपमा समान पृष्ठभूमि र आधार बोकेका मुलुक हुन् । दुवै देशका जनताबीच रोटीबेटीको सम्बन्ध मात्र हैन आदिम कालदेखिनै नेपाल भारत सम्बन्धको फेहरिस्त तयार गर्ने सकिन्छ । चाहे त्यो राम र जानकीको रूपमा होस् वा गौतम वुद्धको मार्गको स्वरुप, चाहे ज्ञान प्राप्तिको विषय होस् वा वौद्धिक आदान प्रदानको विषय जसले गर्दा आजसम्म पनि २ देशबीच सुमधुर सम्बन्ध कायम गर्नका लगि आधार मिलिराखेको छ ।


भूपरिवेष्ठित राष्ट्रका रूपमा रहेको नेपालको सामुद्रिक पहुँच स्थापनाका लागि भारतको के भूमिका रहन सक्छ ?

नेपाल भारत सम्बन्धको मूल कडी पौराणिकनै हो । आधुनिक विश्वमा समेत सबै भन्दा बढी ज्ञानको भन्डार र सबै भन्दा धेरै रहस्यमयी दर्शननै पूर्वीय दर्शन हो । पछिल्लो समय वैज्ञानिक अनुसन्धानको प्रमुख आधार र क्षेत्र रहेको यो दर्शनको प्रादुर्भाव नेपाल र भारतकै भूमिमा भएको हो । यही दर्शनको महत्वपूर्ण वैभवको रूपमा महाभारत र रामायण रहेका छन् । दुवै देशका राजनीतिज्ञ तथा कुटनीतिज्ञहरूले आधार, प्रमाण, उदाहरण र दृष्टान्तका रूपमा यिनै कृतिहरुको उच्चारण गर्ने गर्दछन् ।

महाभारतमा एउटा प्रसंग छ । जहाँ कौरव र पाण्डव दिनभर युद्ध मैदानमा होमिन्छन भने र बेलुकी एक अर्काको समुहमा सहभागी भएर छलफल गर्दथे । युद्धकै समयमा कुन्ती कौरव सेनापति कर्णसँग सौहार्दपूर्ण रूपमा छलफल गर्दछिन् त्यति मात्र होइन युद्ध समाप्त भएपछि पनि मृत्यु शड्ढयामा रहेका भीष्म पितामहसँग पाण्डवहरू बसेर धर्मको उपदेश प्राप्त गरेका थिए । यो अद्भूत पृष्ठभूमिमा हुर्किएको यी २ देश बीचको पछिल्लो तिक्ततापूर्ण सम्बन्ध अत्यन्त उत्ताउलो, सतही, र तर्कका लागि तर्कको बीच अगाडि बढिरहेको छ ।

उपेन्द्र सुवेदी

महाभारत र रामायणमा उल्लेखित दुवै युद्ध सत्य र असत्य बीचको द्वन्द्व हो । यी युद्ध घृणा र द्वेषका थिएनन् । यी युद्धले भावावेश र क्रोधको पक्षपोषण गरेनन्, यी युद्धले व्यक्तिगत लाभ र पदीय स्वार्थको पृष्ठपोषण गरेनन्, सामाजिक विद्वेषको भावना श्रृजना गरेनन्, युद्धको समयमा समेत सौहार्दपूर्ण परिस्थिति निर्माण भइरह्यो तर त्यसको ठिक विपरीत अहिले नेपाल र भारत सिमा विवाद बाट उत्पन्न परिस्थितिले घृणा र क्रोध तथा द्वेषको पक्षपोषण गरिरहेका छन् ।सामाजिक सञ्जालमा एकले अर्काप्रति कटु वचनहरू वमन गरिरहेका छन् । सञ्चार माध्यममा त्यस्तै सामग्रीहरूको प्रसारण भएका छन् र जिम्मेवार राजनीतिज्ञ र पदिय भूमिकामा रहेका व्यक्तिहरू समेत यो वाक युद्धमा होमिँदै गएको प्रतीत हुन्छ । यो अवस्थाले एउटा प्रसंगको सम्झना गराउँछ ।

एक पटक फ्रान्सका एक दर्शनशास्त्रका प्रोफेसरले विश्व विद्यालयको कक्षामा गएर भने, विश्वको सबैभन्दा ठूलो मानिस म हुँ । विद्यार्थीले हाँस्दै चुनौती दिए, तपाईँ वकवास गर्दै हुनुहुन्छ, यस्तो तपाईँ कसरी भन्न सक्नुहुन्छ ? प्रोफेसर भन्छन् यो मैले मात्रै भनेको हैन, म प्रमाणित गर्न सक्छु । विद्यार्थी प्रश्न गर्छन् कसरी ? तत्कालै प्रोफेसरले विश्वको नक्सा देखाउँदै भने, विश्वको सर्वश्रेष्ठ देश कुन हो ? सबै बच्चा फ्रान्सेली थिए । निर्विकल्प हुँदै भने यो त फ्रान्सनै हो । प्रोफेसर भन्दछन् पक्का हो ? सबैको एउटै स्वर थियो हो । फेरि प्रोफेसर सोध्छन्, फ्रान्सको सर्वश्रेष्ठ नगर कुन हो ? सबै विद्यार्थी पेरिसका थिए र यो राजधानी शहर पनि थियो बिना हिच्किटाहट भने त्यो त पेरिस हो । प्रोफेसर भन्दछन्, सर्वश्रेष्ठ देशको सर्वश्रेष्ठ नगर पक्का पनि दुनियाको सर्वश्रेष्ठ नगर हो । सबै विद्यार्थी सहमत भए ।


प्रोफेसर फेरि सोध्छन्, फ्रान्समा सर्वश्रेष्ठ स्थान कुन हो ? विद्यार्थी उत्तर दिन्छन ज्ञानको केन्द्र, विद्याको मन्दिर यो त पक्का पनि विश्वविद्यालय नै हो । फेरि प्रोफेसर सोध्छन्, विश्वविद्यालयको सर्वश्रेष्ठ विषय कुन हो ? सबै विद्यार्थी दर्शनशास्त्रका थिए स्वाभाविक उत्तर दिए दर्शनशास्त्र । यो पनि ठिक छ भन्दै प्रोफेसर फेरी सोध्छन्, त्यसो भए दर्शनशास्त्र विभागको अध्यक्ष को हो ? त्यो त तपाईँ नै हो । त्यसो भए विश्वको सर्वश्रेष्ठ व्यक्ति म नै हुँ । विद्यार्थी अवाक हुन्छन् ।

यसले के प्रमाणित गर्दछ भने मानिस आफ्नो घमण्ड र अहंकार प्रमाणित गर्नका लागि जुनसुकै र जस्तोसुकै बाटो पनि तय गर्दछ । नेपाल र भारत दुवै देश अहिले यही परिस्थिति र पथबाट गुज्रिरहेका छन् । यो प्रक्रियाले आत्मरतिमा रमाउनको लागि सहयोग गर्ला र दुवैले आआफ्ना स्थानमा बसेर यही ढंगबाट आफूलाई प्रमाणित गर्न सक्लान्, अनर्गल प्रचार प्रसार गर्न सक्लान, आफ्नो घमण्ड र अहंकार प्रमाणित गर्न सक्लान तर के यो समाधानको विकल्प बन्न सक्छ ? के यस्तो तरिकाले निकास निस्कन सक्छ ? के पूर्वीय दर्शनको पृष्ठभूमिमा रहेर यस्ता छुद्र र संकुचित भावको पृष्ठपोषण जिम्मेवार तहबाट हुन हुन्छ ? के अहंकार पुष्टिका लागि, तर्क का लागि तर्क, व्यक्तिगत लाञ्छना र इतिहास बंग्याउन जरुरी छ ?

यी अहम् सवाल नै अहिलेका चुनौती हुन् । यदि यही परिस्थितिमा खुम्चँदै अगाडि बढ्ने हो र अहिलेको सम्बन्ध समयमै व्यवस्थापन गर्न नखोज्ने हो भने नेपाल भारत सम्बन्ध दुर्घटनाको स्थितिमा पुग्न सक्ने आँकलन गर्न सकिन्छ । त्यसो भए कसरि समस्याको समाधान गर्न सकिन्छ त ?

नेपाल भारत सम्बन्धलाई समय सन्दर्भ अनुसार पुनर्परिभाषित गर्दै सीमा समस्यालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्दछ । दुबै देशले छिमेकी फेर्न सकिँदैन भन्ने मुल मर्मलाई आत्मसात गर्दै सिमा समस्याको समाधानका लागि दुवै देशका आवश्यकता र वास्तविक अवस्थाको विश्लेषण गर्न जरुरी छ । बदलिँदो परिवेश अनुसार नेपाल भारत सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो सम्बन्ध विकसित गर्न खोजिएको हो भन्ने कुरा छिनोफानो हुन जरुरी छ । भारत विश्वकै ठूलो जनसंख्या भएको र सबै भन्दा धेरै जनसंख्या भएको प्रजातान्त्रिक मुलुक पनि हो । तथापि वर्तमानमा भारतको छिमेकीसँगको सम्बन्ध तनावपूर्ण देखिन्छ चाहे नेपाल होस् वा चीन, पाकिस्तान, श्रीलंका, मालदिभ्स वा अन्य तर भारतको नेपालसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध जस्ताको तस्तै तुलना गर्न सकिँदैन भनेर दुवै देशले स्वीकार गर्नुको मूल मर्म के हो ? त्यसको परिभाषीकरण कसरी गर्ने हो ? उच्च स्तरीय रूपमा पहिचान गरिनु पर्दछ ।

निश्चय पनि उग्र राष्ट्रवाद आजको प्रमुख चुनौती हो । जसका लागि दुवै राष्ट्र अत्यन्त शालीनता र जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुन र नागरिकस्तरसम्म पुगेर दोषारोपण गर्ने स्तरबाट माथि उठ्न जरुरी छ । भारत अन्तर्राष्ट्रिय क्षेत्रमा उसको उपस्थिति थप सशक्त र मजवुत बनाउने बाटोमा अग्रसर छ । यस्तो सन्दर्भमा एक छिमेकीका नाताले नेपालको भूमिका के रहन सक्छ ? यसको खोजी हुन आवश्यक छ । त्यसै गरी संयुक्त राष्ट्रसंघ तथा क्षेत्रीय संगठनमा नेपाल र भारतको समान वैदेशिक नीति अनुसार मिलेर जान सकिने पक्षहरू केके हुन सक्दछन् ? र के कस्ता रणनीति हरू तयार गर्न सकिन्छन् विचारणीय पक्ष बन्न आवश्यक छ ।


त्यस्तै विकासोन्मुख राष्ट्रका रूपमा अगाडि बढ्न खोजेको नेपालका लागि भारतीय भूमिका कस्तो रहनु पर्ने हो ? भूपरिवेष्ठित राष्ट्रका रूपमा रहेको नेपालको सामुद्रिक पहुँच स्थापनाका लागि भारतको के भूमिका रहन सक्छ ? एउटा ठूलो र शक्तिशाली राज्यले खेल्नुपर्ने अभिभावकीय भूमिका र सबैभन्दा ठूलो प्रजातान्त्रिक राज्य र उसको जिम्मेवारी खोजीका विषय बन्न सक्दछन् । समग्रमा भन्दा सीमा विवादलाई मूल चुरो स्वीकार गर्दै त्यसको सेरोफेरोमा रहेर नेपाल भारत सम्बन्धको वृहत्तर दृष्टिकोण निर्माण गर्ने, विवादित र निर्विवादित सबै पक्षको समावेशिताको आधारमा सम्बन्ध सुदृढ गर्न निरन्तर वार्ता, संवाद र कुटनीतिक प्रयास नै समस्या समाधानका निर्वैकल्पिक प्रक्रिया हुन् ।

सम्बन्धित खबर