मङ्गलबार, २० साउन २०७७
samadhannews
Bardan Online

उद्याेपति पाण्डे भित्र मातृभूमिको भारा तिर्ने हुटहुटी

आइतबार, १८ साउन २०७७
3060 पटक पढिएको


— पूर्वमन्त्री तथा उद्याेपति हरिप्रसाद पाण्डेद्वारा ३ करोड रुपैयाँभन्दा बढी रकमको छात्रवृत्ति घोषणा


— ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक पनि सार्वजनिक

भरत कोइराला
पोखरा

गरिबीले थिचिएको परिवारमा जन्म भयो । दुखजिलो गरी आमाबाबुले एसएलसीसम्म पढाए । त्यसपछि के गर्ने भन्ने थियो । दिमागमा आयो अब प्राविधिक शिक्षा लिनुपर्छ भन्ने । युनाइटेड मिसन टु नेपालले उन्ताकै बुटवलमा खोलेका थियो बिटिआई अर्थात् बुटबल टेक्निकल इन्स्टिच्युट । उनको रोजाइमा पर्‍यो बिटिआई । मध्यमखालको प्राविधिक जनशक्ति जसलाई बजारमा रोजगारीको चिन्तै गर्नु पर्थेन ।

पाल्पा अर्गलीमा जन्मे हुर्केका हीरामणि पाण्डे जो हरिप्रसादका नामले चिनिएका छन् उनैको जीवन कथा हो यो । एसएलसीपछि ४ वर्षे कोर्समा उनी बिटिआईमा भर्ना भए । गरिबी अनि शोषणलाई नजिकबाट नियालेका उनीभित्र क्रान्तिकारी चेत थियो । पढाइसँगै उनी राजनीतिमा आकर्षित भए । राजनीतिमा क्रियाशील भएकै कारण कोर्स सकिन ६ महिना बाँकी छँदै उनी बिटिआईबाट रेस्टिकेट भए ।

पञ्चायतको दबदबा । त्यसमाथि कम्युनिस्ट विचारधाराबाट प्रेरित युवा । पढाइ टुटेपछि उनी कम्युनिस्ट आन्दोलनमै लागेर भूमिगत भए । भूमिगत कालमा मरणासन्न हुने गरी कुटाइ खाए । आफन्त र साथीभाइले त ज्यान बौरिन्छ भनेकै थिएनन् । तै संयोगले बाँचे ।
पढाइको भोक मेटाउन उनी भारतका सहरमा भौतारिए । धेरै सहरका होटेलमा जुठा भाँडा माझे । अहँ उनीको इच्छा पूरा भएन । फेरि बुटवल फर्किए । कतै पढ्न पाइन्छ कि भनेर प्रयास पनि गरे । तर कहिँ कतै भर्ना हुन पाएनन् । काठमाडौं गए सानोतिनो जागिर खाए । ४ वर्षपछि पोखरा आए । साथमा थिए माइला भाइ विष्णु । विष्णु बिटिआईकै उत्पादन । हरिसँग सिप भए पनि सर्टिफिकेट थिएन । विष्णुसँग दुवैथोक थियो ।

साढे ५ हजारको लगानीमा दाजुभाइले माछापुच्छ्रे मेटल एन्ड इन्जिनियरिङ खोले । कामदार राख्न लगानी थोरै थियो । हरि पाण्डे सम्झिन्छन्, ‘मेरो हातमा छिनो हुँदा भाइको हातमा घन हुन्थ्यो, भाइको हातमा छिनो हुँदा मेरो हातमा घन ।’ भर्खरभर्खर पक्की घरको चलन सुरु भएको बेला । झ्यालमा ग्रिल राख्न सुरु भएको थियो अनि फलामका गेट पनि । सामान तयार पारेपछि ट्रयाक्टरमा लैजान महँगो पर्ने । दाजुभाइ मिलेर साइकलमा ठेल्दै घरघरमा सामान पुर्‍याउँदाको दुख हरि पाण्डेले अझै भुलेका छैनन् ।

हरिप्रसाद पाण्डे


त्यतिबेला सुरु भएको माछापुच्छ्रे मेटलले अहिले राष्ट्रिय रुपमै ख्याति पाएको छ । नेपालका साना ठूला हाइड्रो पावरका लागि चाहिने फलामे सामान अहिले पोखराको औद्योगिक क्षेत्रकै माछापुच्छ्रे मेटलमा बन्छ । मेटल इन्जिनियरिङमै मुलुकको १ नम्बर बन्न सफल छ माछापुच्छ्रे ।
सिर्जनशील क्षमताका भाइ विष्णु केही न केही नौलो काम गर्न तम्सिन्थे । बिस्कुट उत्पादन गर्ने अटोमेटिक मेसिन उनकै डिजाइनमा तयार भयो । नुडल्स उत्पादनका लागि पनि स्वचालित मेसिन डिजाइन गरे । अनि सुरु भयो बिस्कुट र चाउचाउ उद्योग । पाण्डे दाजुभाइले व्यवसाय विस्तार गर्दै गए । अहिले उनीहरुको लगानीमा १९ प्रतिष्ठान सञ्चालित छन् ।

व्यवसायमा उतार चढाव त भइनै रहन्छ । २०४५ सालमा भारतले लगाएको नाकाबन्दीले उनको मात्र होइन धेरैको उद्योग व्यवसाय धरापमा पा¥यो । आर्थिक अवस्था टाट पल्टिन आँट्यो । त्यतिबेलै हरि पाण्डेलाई लाग्यो, भारतीय ज्यादती विरुद्ध आन्दोलन नै गरुँ कि भन्ने । तर कसरी गर्ने एक्लै आन्दोलन । आफ्नो मनसँग सोधे । आन्दोलन त गर्ने तर पहिला आफैलाई परिवर्तन गरेर । सकेसम्म स्वदेशी सामान प्रयोग गर्ने । कम खर्चमा जीवनयापन गर्ने र सकेसम्म बढी समय उद्यमशीलतामा बिताउने उनले प्रण गरे ।

२०४६ सालमा पहिलोपटक पत्रकार सम्मेलन गरेर यी ३ विषय आत्मसात गर्ने प्रतिबद्धता सार्वजनिक गरे । त्यसपछि उनको जीवनशैली अचम्मैसम्म फेरियो । उद्योग व्यवसायलाई पनि निरन्तरता दिए । उनले भने, ‘एउटा कोट किन्ने पैसाले तलदेखि माथिसम्म लगाउने कपडादेखि जाडोमा लगाउने स्वीटर आउँदो रहेछ ।’ मन्त्री भएका बेला भने एउटा कोट सिलाएको उनले सुनाए ।

२०४८ सालमा उनी राष्ट्रिय सभामा मनोनीत भए । २०५१ सालमा उद्योग तथा जलस्रोत राज्यमन्त्री हुने अवसर पनि पाए । त्यति नै बेला हो नेपालको आर्थिक रुपान्तरण गर्ने दाबी गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौता रद्द भएको । यसका बारेमा छलफलमा लागि आफू विश्व बैंकका प्रतिनिधिसँग भेट भएर सम्झौताका सर्त हेर्दा त्यहाँ राखिएका बुँदा देख्दा टाउको दुुखेर रिंगटै लागेको उनी सुनाउँछन् । उनले भने, ‘अरुण तेस्रो असफल बनाएको एमालेमाथि ठूलो आरोप छ, खास सम्झौताबाट पछि हटेको म हो ।’ विश्व बैंकसँगको त्यो घाउ पुर्न एसियाली विकास बैंकसँग कालीगण्डकी ए जलविद्युत परियोजनाको सम्झौता गरेको उनले उनले सुनाए ।

उनै हरि पाण्डे २०५९ सालमा एकाएक चर्चामा आए । चर्चामा मात्र आएन समाजले उनलाई ‘पागल’ संज्ञा दियो । कारण थियो त्यतिबेला पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्ति । आफूले धन आर्जन गर्न घूस खुवाएको, मातृभूमिको भारा नतिरेको र यसो हुँदा हुँदै पनि आफूलाई समाजमा प्रतिष्ठित हुँ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने र कारबाही स्वरुप आफू जेल जान तयार रहेको भनाइ उनले सार्वजनिक गरे ।

उद्योगपति, राजनीतिकर्मी हरि पाण्डे त्यो पत्रकार सम्मेलनको भोलिपल्ट मिडियामा छाए । भन्छन्, ‘म आफू आगोको भुंग्रोमा हाम फाल्दैछु भन्ने त थाहा थियो, त्यसले मेरो परिवारलाई पीडा दियो, हरि पाण्डेको परिवार ‘पागल’को परिवार भयो ।’ ५० औं करोड ऋण लिन जाँदा तपाईंले सही मात्र गरिदिए हुन्छ भन्ने बैंकरहरु त्यसपछि ५ लाखको ऋणका लागि गतिलो धितो खोज्न थालेको घटना उनको मनमा ताजै छ ।

उनी हार खाएनन् । जीवनसंघर्ष गर्दै गए । कहिलेकाँहि पत्नी तुलसा पाण्डेसँग ठाकठुक भने चलिरहन्थ्यो । एकोहोरो स्वभावका हरि एउटा विषयमा लागेपछि छाड्दै नछाड्ने । ५ छोरी, १ छोरा । उनीहरुको पठनपाठनमा लाग्नुपर्ने बेलामा, आफूलाई अनि परिवारलाई परिवर्तन गर्नुपर्ने बेलामा मुलुक परिवर्तन गर्छु भनेर हिँड्दा पत्नी तुलसालाई झोंक नै चल्थ्यो । अलिकति आफ्नै मनको चाहना अनि अलिकति तुलसाको चाहनालाई मिसाएर हरि पाण्डे पारिवारिक जिम्मेवारी पनि निभाउँदै अघि बढे ।

अहिले छोराछोरी हुर्के, बढे अनि पढे । अब हरिलाई छोराछोरीको चिन्ता गर्नुपर्ने छैन । एक छोरी दुर्घटनामा गुमाए पनि बाँकी ४ छोरी मेडिकल साइन्स पढेर कार्यथलोमा खटिएका छन् । छोराले उद्योग व्यवसाय सम्हालेका छन् । एक हिसाबले उनी पारिवारिक जालोबाट मुक्ति पाएका छन् । उनकै शब्द सापटी लिने हो भने ‘वानप्रस्थ’ को समय आइसकेको छ ।

उनै हरि पाण्डेले पोखरामा आइतबार जीवनकै तेस्रो पत्रकार सम्मेलन गरे । त्यसमा उनले ३ करोड रुपैयाँभन्दा बढी रकमको छात्रवृत्ति घोषणा गरे । अनि ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक पनि सार्वजनिक गरे । मातृसेवा प्रतिष्ठानको ब्यानरमा भएको कार्यक्रम व्यवस्थापन पाल्पाली समाज पोखराले गरेको हो । हालै दिवंगत बाबु खिमप्रसादको तस्बिर साक्षी राखेर आमा शिवकुमारी पाण्डेको हातबाट पुस्तक विमोचन गरियो । विमोचित पुस्तक पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीमार्फत लोकलाई अर्पण गरेको उनले घोषणा गरे ।

६ अध्यायसहित ६ सय २४ पृष्ठको पुस्तकमा उनले मानव भएर जन्मेपछि समृद्धिको लक्ष्यमा पुग्नै पर्ने तथ्यसहित त्यसका लागि उपायसमेत खुलाएका छन् । प्रशस्त सम्भावना रहे पनि नेपाल विश्व जगतमा जहिले पनि मगन्ते, भीखमग्गा, परनिर्भरको रुपमा चिनिएको छ । यसबाट मुक्ति पाएपछि बल्ल आफू सन्तुष्ट हुने उनले सुनाए । पाण्डेले भने, ‘यो मेरो समृद्धिको सवाल होइन नेपाल मुलुकको समृद्धिको सवाल हो ।’

जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीका लागि उनले अलगअलग छात्रवृत्ति घोषणा गरेका छन् । मातृभूमि छात्रवृत्तिका नाममा पाल्पाका स्थानीय तहमा सबै वडामा उनले प्राविधिक शिक्षाका लागि रकम प्रदान गरिसकेका छन् । अब कास्कीका सबै ७८ वडामा पनि यसै वर्षबाट छात्रवृत्ति कार्यक्रम सञ्चालन हुने उनले सुनाए ।

यो छात्रवृत्तिको व्यवस्थापनको जिम्मा पाल्पाली समाज पोखराले लिएको छ । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले दाताकै चाहना अनुसार निष्पक्ष रुपमा विद्यार्थी छनोट गरी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

पाण्डेले सबैतिर गरी ३ करोड ७९ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष सञ्चालन गरेको सुनाए । उनले भने, ‘उनले भने मैले मातृभूमि र कर्मभूमिको भारा तिर्न यो अभियान थालेको हो, अहिलेसम्म ४ सय २६ जनाले छात्रवृत्ति पाइसकेका छन् ।

सम्बन्धित खबर