बुधबार, १४ असोज २०७७
samadhannews
Bardan Online

मलाई विश्वास गर, म सुन्दर देश दिन्छु

बुधबार, २१ साउन २०७७

किशोरदत्त बराल

कुनै एउटा राजनीति गर्ने कार्यकर्ताले यसो भन्यो भने हामी उसलाई के भन्छौं होला ? पागल, पदलोलुप, महत्वाकांक्षी, विदेशी दलाल वा अरू यस्तै यस्तै थुप्रै विशेषणहरू । हामी भरमग्दुर प्रयास गरेर उसलाई गाली गर्ने विशेषणहरू खोजिरहन्छौं, खिसीट्युरी गरिहरन्छौं तर इमान्दार भएर कहिल्यै पनि प्रश्न सोध्दैनौं कि उसले यसो किन भन्यो होला ? यत्रो अद्भूत साहस उस्ले‍ कसरी निर्माण गर्‍यो होला ? यसो भन्ने प्रेरणा उसले कहाँबाट प्राप्त गर्‍यो होला ? के यस्तो महान् कुरा गर्ने उसँग कुनै महान् सपना, योजना र कार्यक्रमहरू पनि छन् कि ? तर अरुलाई सधैंभर अविश्वास र घृणा गर्दै हुर्किएका हामीहरूले यसरी सोच्ने कुरा पनि भएन ।

यही कारण हो हामीले सुन्दर देश निर्माणका लागि चाहिने सुन्दर सपना देख्ने मानिस नै जन्माउन सकेनौं । कसैले सपना देखिहाल्यो भने पनि उसको सपनालाई हुर्कन र बढ्न दिएनौं । निरन्तर गाली, अविश्वास, घृणा र द्वेष बर्साइरह्यौं । यसैले म विशेष आग्रह गर्न चाहन्छु कुनै व्यक्ति वा पार्टीले कुनै पनि निर्वाचनमा भोट मागे भने तपाईंले पनि उसँग यो महान् देश निर्माणका लागि उसको विचार, कार्यक्रम र योजना मागिदिनु होला ।


वर्षौदेखि कुनै एउटै तरिकाले ‘कन्डिसनिङ’ भएको हाम्रो सोच र व्यवहारलाई परिवर्तन गर्न त्यति सजिलो अवश्य पनि छैन

आफ्नो घरको दैलोमा दृढतापूर्वक उभिएर आफ्ना छोरा छोरीहरूको भरोसालाग्दो भविष्यका लागि फेरि भनिदिनु होला, हामीले भोट तपाईंलाई दिने होइन तपाईंको विचार, कार्यक्रम र योजनालाई हो । यसो हुन सक्यो भने महान् देश निर्माणको महान् यात्रा यहीँबाट सुरु हुन्छ । के हामी राजनीतिक पार्टी र व्यक्ति विशेषप्रतिको पूर्वाग्रहको जालो च्यातेर यसो भन्ने हिम्मत राख्न सक्छौं ?

मैले यसो किन भनिरहेको छु भने संसारमा जे जस्ता उपलब्धिहरू भएका छन् वा यसरी भनाैं कि हामीले हाम्रो जीवनको प्रत्येक क्षण प्रयोग गरिरहेका प्रत्येक वस्तुहरू कुनै न कुनै व्यक्तिको सपना र विचार शक्तिका उपज हुन् ।

हामीले हेर्ने टेलिभिजन, कुरा गर्ने मोबाइल, सुन्ने रेडियोदेखि कम्प्युटर, हवाइजहाज, मोटरदेखि हामीले आफूलाई बुद्धिजीवी भनाउन वा कहलिनका लागि चर्को चर्को स्वरमा लेखिने, बोलिने वा पढाइने साम्यवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद आदि आदि सिद्धान्तहरू पनि अरू कसैको सपना र कल्पना शक्तिका अद्भुत परिणाम हुन् भन्नेतर्फ ख्यालै राख्दा रहेनछौं ।

यसैले हामी प्रत्येक क्षण कल्पना गर्न र सपना देख्न नै नसक्ने गरी अत्यन्त कमजोर र शक्तिहीन भैसकेका छौं । कल्पना शक्तिको अद्भूत रहस्य हाम्रा लागि अपत्यारिलो बन्दै गइरहेको छ । अरुको कल्पना शक्तिको आधारमा खडा भएका विचार, सिद्धान्त र उपलब्धिहरूमा टेकेर कुरा गर्दा हामी आफूलाई बहादुर ठान्दा रहेछौँ तर बहादुर इतिहास निर्माणका लागि कुनै नेपालीले गर्ने कल्पना भने हाम्रा लागि खिसीट्युरीको विषय बन्नुपर्दो रहेछ ।

यसै भएर होला सपना देख्न र कल्पना गर्न सक्नेहरूले मंगल ग्रहको यात्रा तय गरिसक्दा पनि हामी भने अरुले निर्माण गरेका सिद्धान्त, वाद र सूत्रलाई घोक्दा घोक्दै खिइएर पुड्को हुँदासम्म पनि हामीलाई त्यसको लघुताभास भएको छैन । सिंगापुर, जापान, दक्षिण कोरिया आदि देशहरू अर्को कुनै ग्रहबाट खसेर यो रूपमा खडा भएका होइनन् र यी देशहरूको विकासको रहस्य पनि कुनै व्यक्तिको विचार, कार्यक्रम र दृढ इच्छाशक्तियुक्त योजनाको परिणाम हो भन्नेतर्फ हामीले अलिकति पनि सोच्दा रहेनछौं । लामो समयदेखिको राजनीतिक आग्रह पूर्वाग्रहले हाम्रो सिर्जनाको धार खिइएर भुत्ते भइसकेको रहेछ ।

आखिर यस्तो किन भएको छ त ? यो अत्यन्तै गम्भीर प्रश्न हो । यसका धेरै उत्तरहरू हुन सक्छन् तर मलाई लाग्छ, हामीले आफूलाई नै चिन्न र बुझ्न छोडिसकेका छौं, हामीलाई आफूले हिँडिरहेको आफ्नै खुट्टामाथि नै विश्वास छैन । अरुको वैशाखी हाम्रा लागि प्रिय वस्तु बनेको छ । हामी आफ्नो प्रशंसा र अर्काको गालीभित्र मात्रै आफ्नो खुसी खोज्दा रहेछौं ।

यो बाहेक अन्यत्र कहीँ पनि खुसी हुन नसक्ने हाम्रो खानदानी प्रवृत्तिले हामीलाई यति विघ्न कमजोर बनाएको हो । यो कुरालाई पुष्टि गर्न अब कुनै सामाजिक अनुसन्धान वा अरुले लेखिदिएका ठूला ठूला पुस्तकहरू पढ्न र पढाउन आवश्यक नै छैन । कुनै नेताको आडमा जबर्जस्ती टाँसिएर फोटो खिच्नु, एउटा नेताको विश्वास पात्र हुन अर्को नेतालाई गाली गर्नु, देख्नेहरूले कति लाज माने होलान् भन्नेतर्फ कत्ति पनि हेक्का नराखी विमानस्थलमा होस् वा अन्यत्र कतै लुछाचुँडी गर्दै सबैभन्दा ठूलो माला लिएर गेटमा चौकिदारी गर्नु, नियम मिचेर काम गर्नु गराउनुलाई बहादुरी ठान्नु, आफूले आफूलाई कहिल्यै पनि नपढ्नु, रित्तो भाँडो धेरै बज्दछ भनेझैं आफ्नो मानसिक दरिद्रतालाई लुकाउन चर्को चर्को स्वरमा अरूलाई गाली गर्नु अविश्वास गर्नु, आफ्नो क्षमतामा होइन अर्काको आडमा राजनीति गर्न खोज्नु, मतदान गर्ने समयमा देशलाई अलिकति पनि नसम्झिनु आदि प्रवृत्तिहरू सपना र कल्पना शक्तिका महान् सत्रुहरू हुन् । यी सत्रुहरूको अन्त्य गर्ने इमान्दार संकल्पसँगै देश रूपान्तरणको महान यात्रा सुरु हुन्छ ।

फेरि पनि प्रश्न उठ्न सक्छ, के संकल्पले मात्रै देश बन्छ ? बन्दैन । त्यसो भए के गर्ने ? देश निर्माणप्रतिको सकारात्मक संकल्पलाई हाम्रो सकारात्मक व्यवहार, विचार र योजनाले सुशोभित बनाउने । आफ्नो संकल्पमाथि विश्वास गर्ने र लक्ष्य प्राप्तिमा अविचलित डटिरहने । देश बनाउँछु भन्नेहरूलाई पार्टी, जात, लिंग, भाषा, भूगोल, उमेर र विश्वविद्यालयको प्रमाणपत्रको आधारमा होइन विचार, अनुशासन, कार्यक्रम र कार्यक्रम कार्वान्वयनप्रतिको उसको यथार्थपरक योजनाको आधारमा खोजी गरौं, बहस गरौं र निष्कर्ष निकालौं । आहा ! देश बन्न बेरै लाग्दैन ।

फेरि यसो भनिरहँदा आगो देखेर तर्सिएको कुकुर बिजुली देख्दा तर्सिन्छ भन्ने उखान बुर्लुक्क उफ्रिएर हाम्रो अगाडि आएर आधिपत्य जमाउन खोजिहाल्छ र भन्छ कसैले भन्दैमा त्यसलाई कसरी विश्वास गर्ने ? पहिला पहिला पनि यसै भनिएको त हो नि । आफूलाई चाहिने बेलामा सबैले राम्रै कुरा त गर्छन् नि, आदि आदि । हिजो त भोट माग्नेहरूले भोट माग्ने समयमा राम्रा र चिल्ला कुरा गरे ।

हामीहरूले उनीहरूका कुरा एकोहोरो सुनिरह्यौं तर उनीहरूसँग गुणस्तरीय कार्यक्रम र योजना मागेनौं । माग्यौं त केबल जागिर, सरुवा, बढुवा र अलिकति अगाडि बढेर पाटी, पौवा, मन्दिर, आफ्नो घर वरिपरिको बाटो निर्माण वा मर्मतको लागि आवश्यक पर्ने अलिकति बजेट र तारजालीको कुरा । दिन्छु भन्नेले माग्नेको हैसियत थाहा पाएपछि माग्नेहरू सधै मागी रहन्छन् र दिन्छु भन्नेहरूले यही सुविधामा टेकेर माग्नेहरूमाथि निरन्तर शासन गरिरहन्छन् । अब अलिकति फरक तरिकाले सोच्ने, बोल्ने र व्यवहार गर्ने हो कि ?

वर्षौदेखि कुनै एउटै तरिकाले ‘कन्डिसनिङ’ भएको हाम्रो सोच र व्यवहारलाई परिवर्तन गर्न त्यति सजिलो अवश्य पनि छैन । मानिस परिवर्तन हुन खोजे पनि उभित्र जरो गाडेर बसेको परम्परागत सोच र विचारले उसलाई परिवर्तन हुनबाट रोकिराख्ने त्रास सधैं रहिरहन्छ ।

यसका लागि दृढ इच्छाशक्तिका साथै देश र समाजप्रतिको उच्च आत्मबोध चाहिन्छ । यसैले कसैले मलाई विश्वास गर, म सुन्दर देश दिन्छु भनेर आयो भने उसलाई गिज्याउने नगरौं । उसको विचार, कार्यक्रमलाई चारैतिरबाट गोडेर हेरौं, छलफल र बहस गरौं । उसको विचारलाई फल्न, फुल्न र परिपक्व हुन दिउँ ।

विचार र सपना मरेको हाम्रो समाजमा विचार जन्माउने वातावरण निर्माणका लागि पहल गरौं । हामी जे बन्छौं हाम्रै विचार र सुझबुझले बन्ने हो । विचार नगरी र सपना नदेखी कोही पनि महान् बनेका छैनन् । के थाहा ? हिलोमा कमल फुल्छ भनेझैं सानेपा (नेपाली कांग्रेसको पार्टी कार्यालय) धुम्बाराही (नेकपाको पार्टी कार्यालय) आदि ठाउँमा नभेटिएको ऊ अन्यत्र कहिँ भेटिन पनि सक्छ । विचार र सपना जन्माउने महत्त्वाकांक्षा निर्माण गरौं ।

बराल नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित खबर