सोमबार, ०५ असोज २०७७
samadhannews
Bardan Online

गरिब, दलित र चेपाङ हेप्ने लोकतन्त्र

बुधबार, २१ साउन २०७७

युवराज पौडेल

नेपालमा राजनीतिक परिवर्तनका लागि विगत ७ दशकभन्दा बढी समयदेखि जनताले विभिन्न कालखण्डमा विभिन्न स्वरुपका सघर्ष गरे । २००७ सालदेखि २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्दासम्म मुलुकमा राजनीतिक परिवर्तनका लागि धेरै रगत बग्यो । हजारौं सहिद, घाइते, अपांगहरुको रगतको जगमा टेकेर स्थापित भएका गणतान्त्रिक सरकारहरुले जनताको आकांक्षालाई उपयुक्त ढंगमा समाधान गर्न नसक्दा यतिबेला जनतामा सर्वत्र निराशा छाएको छ ।


के जनयुद्ध यस्तै चेपाङ बस्ती उजाड पार्नका लागि थियो या गरिब वर्गको मुक्तिका लागि थियो ?

यतिबेला नेकपाको २ तिहाइको शक्तिशाली सरकार छ, तापनि समस्या ज्यूँका त्यँयु छन् । जनताको जीवनस्तरमा अपेक्षित सुधार नहुँदा यसप्रति सर्वत्र चिन्ता र चासो बढेको छ । व्यवस्था परिवर्तन भएर पनि वा स्थायी सरकार भएर पनि जनताको जीवनमा परिवर्तन किन आउन सकिरहेको छैन भन्ने विषय आफैमा गम्भीर बनिरहेको छ ।

ठीक यहीबेला चितवन जिल्लाको माडी नगरपालिका वडा नं ९ को कुसुमखोला किनारमा बसेका चेपाङहरुका घर चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सेनाले हात्ती लगाएर भत्काएका छन् । गरिब र अति सीमान्तकृत जनजाति चेपाङ समुदायका १० घरमध्ये ८ घर हात्ती लगाएर भत्काइएको र बाँकी दुई घर आगो लगाएर जलाइएको छ । चेपाङका मकै, केरा लगायत सबै खेतीबाली नष्ट गरिएको छ । मध्य वर्षाद्को समयमा चेपाङ परिवारमाथि राज्यको सम्पूर्ण शक्ति प्रयोग गरी उनीहरुलाई घर न घाटको बनाइएको छ ।

यसभन्दा अगाडि उनीहरुलाई त्यहाँबाट सार्ने भनेर प्रशासनबाट निर्देशन भएपछि उनीहरु तल झर्ने तयारी थाल्दाथाल्दै कोरोना कहरका कारण एक बाली त्यहीँ लगाउने विचार गरेर बसे । तर सरकारले असाध्यै निर्दयी र क्रूर तरिकाले चेपाङबस्तीमा शक्तिको प्रर्दशन ग¥यो र गरिब, सोझा चेपाङको हरिबिजोग बनायो । कतिका नागरिकता पनि जले, कतिले पसिना झारेर कमाएको दुई चार पैसो समेत घरबाट निकाल्न पाएनन् । भित्रका सामान निकाल्नका लागि अनुरोध गर्दा निकुञ्जका कर्मचारीले उनीहरुका कुरा नसुनी घरमा भएका सबै कुरा जलाइदिए ।

उक्त घटनामा स्थानीय चेपाङ दाबबहादुर प्रजाको १० हजार रुपैयाँ र नागरिकता समेत खरानी भयो । ७ वटा बडेबडे हात्तीको लावालस्करले गरिब हतभागी चेपाङ बस्तीमा मैसासुर नृत्य देखाए जुन नृत्यलाई चेपाङहरुले आँखाभरि आँसु मुटुमा भक्कानो पार्दै नहेरी सुखै पाएनन् । स्थानीय चेपाङ काजीमान प्रजा भन्छन्, ‘एक्कासी आगो लगाइदिँदा हामीले घरबाट लुगाफाटा, भाँडाकुँडा लगायत सामान झिक्न पाएनौं ।’ त्यो दिनको दृश्यका कारण कविता चेपाङलाई राति सपनामा पनि हात्तीले तर्साएर डराउने गरेकाले राति निद्रा राम्रोसँग लाग्न छाडेको छ ।

दूधे बालक सहितका महिला, वृद्धहरुमाथि मध्य वर्षाद्मा कोरोनाको महामारीका बिचमा जुन खालको व्यवहार गरिएको छ, त्यो वास्तवमै खेदजनक छ ।

यो घटना हेर्दा सामान्य देखिए पनि यसले दिने सन्देश निकै अर्थपूर्ण र गम्भीर प्रकृतिको छ । जहाँ चेपाङको बस्ती उजाड बनाइयो, त्यो ठाउँ जनयुद्धका सुप्रिम कमान्डर तथा हालका नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो ।

फेरि वन मन्त्री शक्तिबहादुर बस्नेत जसको मातहतमा राष्ट्रिय निकुञ्ज हुन्छ, उनी गरिब तथा सर्वाहाराको हितका लागि जनयुद्ध लडेर स्थापित भएका नेता हुन् । बस्नेतकै निर्देशनमा भएको भनिएको उक्त घटनाले के अर्थ दिन्छ ? यसले जनयुद्ध वास्तवमा कसका लागि र केका लागि थियो त भन्ने यक्ष प्रश्न उठाइदिएको छ ।

के जनयुद्ध यस्तै चेपाङ बस्ती उजाड पार्नका लागि थियो या गरिब वर्गको मुक्तिका लागि थियो ? यो प्रश्नरको उत्तर हिजो जनयुद्धको कमान्ड गर्नेहरुले नेपाली जनतालाई इमानदारी पूर्वक भन्नुपर्छ । त्यतिमात्र होइन, कम्युनिष्ट क्रान्तिकारीहरुको शक्तिशाली सरकार भएकै पालामा नवराज बिकहरुले जातीय विभेदका नाममा ज्यान गुमाएका छन्, जसमा जनयुद्धकै प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत संलग्नता भएको तथ्य बाहिरिएको थियो ।

हिजो दलित विभेदका विरुद्धमा गाउँबस्तीमा शङ्घोष गर्ने क्रान्तिकारी नेताहरुले आज एक्कासी वर्ग परिवर्तन गरेको देख्दा हिजो युद्धमा सामेल ती हतभागी गरिब जनता तीन छक्क परेका छन् । सर्वहारा क्रान्तिकारीहरुकै नेतृत्वमा दलित, आदिबासी जनजाति, गरिब, सीमान्तकृत समुदायप्रति जुन खालको दमन भइरहेको छ, त्यो दमनको शैली हेर्दा लाग्छ, नेपालमा क्रान्ति फगत हात्तीको देखाउने दाँत मात्र हो ।

गरिबको लागि भनेर राजनीति गर्नेहरु आज करोडौका चिल्ला गाडीमा कालो सिसा लगाएर तिनै गरिबका झुपडीमा धुलो उडाउँदै लाजै नमानी हिँड्न सकेका छन् । राजनीतिमा अलिकति पनि नैतिकता र इमानदारी हुन्थ्यो भने वनमन्त्री शक्ति बस्नेतले यो घटनापछि राजनीनामा दिनुपथ्र्याे । तर उनले उल्टो एक दुई वटा गोठ वा मकै कुर्ने मचान भत्काइएको हल्का टिप्पणी दिएर मानवताहीन र संवेदनाहीन व्यवहार प्रस्तुत गरेका छन् ।

के साँच्चै फेरि प्रतिक्रान्ति सुरु भएको हो ? राजनैतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा हिजोका उपलब्धिहरु गुम्ने स्थिति पैदा भएको हो ? के राजनीति धनी, शक्तिशाली, केन्द्रका लागि मात्रै हो ? चेपाङ राउटेहरुले यो मुलुकमा टेक्ने जमिन पनि नपाउने हो भने उनीहरुले यो लोकतन्त्रप्रति किन गर्व गर्ने ? उनीहरुका लागि यी सब कथित परिवर्तनहरुको के अर्थ भयो ? तिनले ‘यो मेरो पनि राज्य’ हो भनेर किन गर्व गर्ने ? जुन राज्यले उभिने एक इन्च जमिन दिँदैन, बस्ने ओत दिँदैन, गरेर खाने रोजगार दिँदैन, छोराछोरीलाई पढ्नका लागि स्कुल दिँदैन भने त्यो राज्यप्रति उनीहरुको अपनत्व कसरी कायम होला ?

राज्य खालि सुकिला मुकिला, सम्भ्रान्त र बोल्न सक्नेहरुका लागि मात्र हो भन्ने कथ्य निर्माण गर्न खोजिएको हो ? होइन भने सरकारले यस्ता घटनाहरुप्रति गम्भीरता देखाउनैपर्छ । वास्तवमा यो घटनाले ‘राज्य गरिबप्रति निर्दयी नै हुन्छ’, ‘परिर्वतन सब भन्ने कुरा मात्र हुन्’, ‘चेपाङ, राउटे आदि उत्पीडित, उपेक्षित, सीमान्तकृतहरुलाई यो मुलुकमा सुखसँग बाँच्ने ठाउँ छैन’ भन्ने विमर्श स्थापित गरिदिएको छ ।

मुखले जति समाजवादी भने पनि यो सरकार चरम पूँजीवादी एलिटहरुको वर्गीय प्रतिनिधित्व गर्ने सरकारकै रुपमा देखिएको छ । ठूलाठूला घोटालामा आँखा चिम्लने, अरबौका खेलहरुमा रमाउने तर गरिब किसान, मजदुर, आदिबासी जनजाति, उत्पीडितहरुको लागि सिन्को पनि भाँच्न नसक्ने, अझ उल्टो मध्यवर्षाद्मा असाध्यै निर्दयी र अमानवीय तरिकाले गरिबका बस्ती भत्काउने सरकार समाजवादी बाटोमा हिँडेको छ भनेर कसरी पत्याउने ?

कोरोनाको त्रासदीका बीचमा सूर्यबहादुर तामाङले भोकले जलेर भारी बोक्ने नाम्लो सिरानीमा राखेर कीर्तिपुरको सडक पेटीमा मृत्युवरण गरे । सप्तरी पथरीका दलित गरिब मुसहर मलर सदाले भोकले छटपटाएर संसार त्यागे । ४ दिनसम्म घरमा चुलो नबलेपछि मलर घरबाट कोदालो र छाता लिएर खाद्यान्न लिन हिँडेको केही बेरमा नजिकैको खेतमा कहिल्यै नब्युँझने गरी ढले ।

रुपन्देहीको देवदहमा मधेशी दलित १३ वर्षीय बालिका अंगिरा पासीलाई कथित उपल्लो जातको व्यक्तिद्वारा बलात्कार भयो । घटनापछि त्यहाँ जे निर्णय भयो, त्यसमा वर्तमान राज्यका प्रतिनिधि वडाध्यक्षको अविवेकी निर्णयका कारण पासीले मृत्युवरण गर्नुप¥यो । यस्ता थुप्रै घटनाहरु छन्, जहाँ राज्यपक्षको दमनकारी शैली र पुरानो सामन्तवादी मानसिकता स्पष्ट रुपमा अभिव्यक्त भएको छ । गरिब, दलित, आदिबासी, महिला, उत्पीडित वर्ग समुदायमाथि दमनका अनेकौं अस्त्रहरु रचिएका छन् ।

अंगिरा पासीहरुप्रति बर्बर रुपमा प्रस्तुत हुने यौनपिपासु पुरुषलाई दण्ड दिनु त कता हो कता उल्टो सरकारी प्रतिनिधिहरुकै रोहवरमा विवाह गरेर हुलिदिने हो भने यो मेरो लोकतन्त्र, यो मेरो गणतन्त्र भनेर उनीहरुले किन भन्ने ? संविधानमा लेख्दैमा लोकतान्त्रिक राज्य हुने हो भने कुरा अर्कै हो नत्रभने यस्तो चरम दमनकारी राज्य कुनै दृष्टिकोणबाट पनि लोकतान्त्रिक हुनै सक्दैन । उनीहरका लागि यो राज्य, यो व्यवस्था दुस्मन हो ।

दलित भएकै कारण सुन्दर जीवन बाँच्न नपाउने राज्य समावेशी चरित्रको हो भनेर कसरी भन्ने ? एउटा गरिब बालकले चार चार दिनसम्म खान नपाएर तड्पिँदा एक गेडो अन्न मुखमा हाल्न नसक्ने सरकार र राज्य कसरी लोकतान्त्रिक ? ‘पानी नचल्ने, सेक्स चल्ने’ संरचनात्मक मानसिकतालाई कायम राख्ने हो भने दश वर्षको कथित जनयुद्ध के का लागि थियो ? त्यत्रा जनआन्दोलनहरु के का लागि थिए ? यी प्रश्नहरुको उत्तर नेपाली जनतालाई सरकार र सम्बन्धित सरोकारवालाहरुले दिने कि नदिने ?

सम्बन्धित खबर