सोमबार, ०५ असोज २०७७
samadhannews
Bardan Online

झुट, भ्रम र यथार्थ

बिहिबार, २२ साउन २०७७

प्रा. विश्वराज अधिकारी

२०१९ डिसेम्बरमा हाम्रै छिमेकी मुलुक चीनको बुहानबाट संसारभरि विचरण गरेको कोरोना–१९ भाइरस र यसले विश्वभरि पारेको असर यथार्थभन्दा धेरै झुट र भ्रमको पटाक्षेप विश्व राजनीति र अर्थ व्यवस्थामा परेको सहजै अनुमान लगाउन सकिन्छ ।


शक्ति सम्पन्न समाज र राज्य व्यवस्थाले झुटलाई सत्य यही हो भनेर हजारौँ वर्षदेखि भ्रममा पारेका छन्

मूलभूत कुरा कोरोना भाइरस चीनबाट उत्पत्ति भएको हो र होइन भन्ने बहस यद्यपि जारी छ । फेरि के बाट मानिसमा सर्‍यो ? चमेरो, सालक, सर्प आदि आदि । त्यसैगरी अर्काे झुट भनौं वा भ्रम के छ भने यो भाइरस वैज्ञानिकहरुले प्रयोगशालामा विकास गरेको जैविक हतियार हो; झुक्किएर मानिसमा फैलियो । आजभोलि फेरि यो कोरोना–१९ भाइरस होइन, ब्याक्टेरिया हो भन्ने हल्ला पनि चलेकै छ । अमेरिका भन्छ चाइनिज भाइरस, चीन भन्छ अमेरिकी सफेद झुट के बुझ्ने, के विश्वास गर्ने, कति सत्य, कति भ्रम ।


झुट, भ्रम र यथार्थ जस्ता अमूर्त तर जीवन र जगत्लाई प्रत्यक्ष प्रभाव पार्ने अत्यन्त शक्ति आर्जन गर्ने क्षमता युक्त पदावलीको समसामयिक चर्चा यस लेखमा गर्ने प्रयास गरिएको छ । वास्तवमा झुटको मनोवैज्ञानिक पक्ष के हुन सक्दछ र यसको आवरणमा भ्रम कसरी सिर्जना हुन्छ भन्ने महत्त्वपूर्ण आयाम खुट्याउनु समाजलाई प्रगतिशील बाटोमा दौडाउनु पनि हो ।

अझ भनौं झुट र भ्रमका भकारीलाई सत्य, निष्ठा र आदर्शरुपी व्यवहारले छताछुल्ल पारी वास्तविक यथार्थलाई समाजमा पस्कनु गतिशील, भयरहित, आशातित, भविष्य देखाउने चेष्टा पनि हो । झुट र भ्रम सगोत्रीय हुन् भने यथार्थ अलि टाढाको तर वलिष्ठ अभिभावक हो ।

मेरो विचारमा झुटको पर्याय छल पनि हो । झुट वा छल भनेको कुनै पनि काम, व्यवहार वा अभिव्यक्ति जसले सत्य वा यथार्थलाई लुकाउँछ अनि असत्य विचार र धारणालाई बढवा दिन्छ । यो आशाको, विश्वासको र भरोसाको नकारात्मक परिणति हो । झुटका विभिन्न रुपहरु हुन्छन्; जस्तै छलकपट, बढाइचढाइ, कमजोर आँकलन, लुकिछिपी गर्ने काम, डर धाक, रवाफ आदि आदि ।

हामीले सत्य वा यथार्थका रूपमा ग्रहण गर्दै आएका कतिपय ज्ञानका भण्डारहरू समयको गति सँगै भ्रममा परिणत भएका छन् । शक्ति सम्पन्न समाज र राज्य व्यवस्थाले झुटलाई सत्य यही हो भनेर हजारौँ वर्षदेखि भ्रममा पारेका छन् । यथार्थ अझै पनि कुनै इतिहासको सानो आँखिझ्यालबाट शताब्दियौ देखि समाजलाई एकोहोरो हेरिरहेको छ ।

बुद्ध कहाँ जन्मे ? राम कहाँ जन्मे ? रावणको लंका कुन हो ? शिव र पार्वतीको कैलाश कहाँ छ ? जिसस क्राइस्ट र मोहम्मद साँच्चै मानिस नै थिए ? जस्ता प्रश्नहरु मिथकिय वा ऐतिहासिक झुट र भ्रमभित्र गुजुल्टिएका अनुत्तरित प्रश्नहरुका निरन्तर विवादित विषयहरु हुन् ।

भ्रम झुटले स्थापित गर्ने अनौठो महल हो जसभित्र काल्पनिक, बनावटी, कृत्रिम, चेतनाजन्य विवेक बन्धकमा रहन्छ । भ्रमले यथार्थलाई गलत किसिमले प्रस्तुत गर्न सिकाउँछ, तमाम मानिसहरू झुठो तमासाभित्र रुमलिएका हुन्छन् । हाम्रा इन्द्रियलाई सत्य र यथार्थबाट टाढा राख्न गरिने कुनै पनि तौर तरिका भ्रम हुन जसको महत्त्वपूर्ण साधन भनेको झुट हो ।

हामीले बुझ्दै आएको देश, धर्म, जात, राजनीति अझ भनौ जनता भन्ने विषय नै थोरै यथार्थ र धेरै भ्रममा उभिएका छन् । झुटलाई बेइमानी भन्न सकिन्छ तर यो मनोवैज्ञानिक चरित्रको हुन्छ । कुनै शक्ति आर्जन गर्न, गल्तीलाई लुकाउन, सिद्धान्तलाई कमजोर बनाउन, हल्लीखल्ली मच्चाएर सकेसम्म समाजलाई भ्रमित पार्ने उद्देश्य, झुटको खेती गर्ने सबै प्रिय वा अलोकप्रिय आधुनिक मानव मनोविज्ञान हो ।


बजारमा आक्रमक व्यापार गर्न, राजनैतिक सौदाबाजी गर्न, इतिहासलाई धाराशायी पार्न, विद्वान्लाई मूर्ख बनाउन वा मूर्खलाई विद्वान् बनाउन झुटको साहारा अत्यावश्यक छ । झुट वा छलको साहाराले भ्रम सिर्जना गरी ठीक र बेठिक, राम्रो नराम्रो, असल र खराब, विद्वान् र मूर्ख खुट्याउन नसक्नु, भ्रममा विचरण गर्नु र आफ्ना धारणाहरु बनाई खुसी वा दुःखी हुनु मानिस रुपी सामाजिक प्राणीका दिनचर्याबन्ने गरेका छन् ।

झुटरुपी दिव्य रसले भ्रमित भएका, कान नछामी कागतिर दौडिने प्रवृत्तिका, यावत जीवित र भ्रमित यायावरहरू यथार्थ र वास्तविकताको धरातलमा खडा हुन अवश्य समय लाग्ला तर ढिलो चाडो सम्भव भने पक्कै छ ।

अब लागौँ यथार्थता भन्ने विषय तर्फ । यथार्थवाद दर्शनको विषयवस्तु भए पनि यथार्थता सामान्य अनुभव, चेतना र अध्ययनको विषय हो । अझ सहज रूपमा यथार्थवाद कुनै वस्तु, पदार्थ, घटना आदिलाई बुझ्ने अनि अनुभव गर्ने पद्धति हुन सक्छ तर यथार्थता ती वस्तु वा पदार्थलाई ग्रहण गर्ने वा आत्मसात गर्ने कार्य हो ।

त्यसैले यथार्थवाद सापेक्ष हो तापनि यथार्थता निरपेक्ष हुनु जरुरी छ । व्यक्ति विशेषको ऐतिहासिक, राजनैतिक धार्मिक, भाषिक, सामाजिक आदि धरातल फरक फरक हुने हुँदा उसले देख्ने बुझ्ने, सुन्ने अध्ययन गर्ने जस्ता कार्यहरू पनि फरक फरक हुन्छन् । समय चक्र सँगै उसका जीवन पद्धति र सैद्धान्तिक बाटाहरु समाज सापेक्ष हुन्छन् । निरपेक्ष रहन सक्दैनन् । यही मूलभूत यथार्थलाई आत्मसात् गर्ने हो भने हामीले झुट र भ्रमको साहारा विना नै देश र समाज बदल्न सक्छौँ ।

झुटको साहाराले समाजलाई दिग्भ्रमित पार्नु र भ्रमको आवरणमा रमाउनु सुखद कुरा होइन । भ्रममा पर्ने धेरै कारण मध्ये सशक्त कारण मनोविज्ञान पनि हो । एउटा असत्य कुरालाई सयौ मानिसले विभिन्न माध्यमबाट दोहो्र्‍ याउने हो भने त्यो सत्य साबित गर्न धेरै समय नलाग्दो रहेछ ।

तर झुट र भ्रमको बादल हटाउन, यथार्थ बुझाउन, सुझाउन, बुझ्न र मनन गर्न अति धेरै प्रयत्नको जरुरत पर्दछ । हाम्रा दैनिक जीवनमा घटित घटना, परिघटना समेत भ्रमबाट टाढा रहन नसक्ने हुँदा हामीले चाहेको समाज निर्माणमा बाधा पुगेको छ । हाम्रा सिद्धान्त, दर्शन, राजनीति, इतिहास सबै भ्रम र यथार्थको असन्तुलित, प्रयोगिक तथा प्रायोजित विषय बन्न पुगेका छन् ।


हामीले मानेका सर्वश्रेष्ठ सर्व जनहिताय, सर्वस्वीकार्य राजनैतिक प्रणाली समयक्रममा प्रायोजित र भ्रामक बन्ने बाटो तय गर्छन् कि भन्ने शंका गर्ने ठाउँ देखिएका छन् । हामीले अवलम्बन गरेका गर्दै आएका धर्म, संस्कृति, सभ्यता, बानी, व्यवहार तथा दैनिक कार्य सम्पादन समेत यथार्थ धरातलबाट विमुख, झुट र भ्रम उन्मुख हुने अवस्था आउन नदिन आजको अहम् कर्तव्य हुन आउँछ । झुटको चेन गाडीको चक्का घुमाउने गोलाकार चक्कर जस्तै हो किनभने एउटा झुटलाई स्थापित गर्न र भ्रम सिर्जना गर्न थुप्रै झुटहरुको माखे–साङलो जरुरत पर्दछ ।

एउटा सत्य लुकाउन अनेकौ प्रकारका झुट र भ्रमहरुको खेती नगरी धरै हुँदैन ।

मानिस स्वभावैले स्वार्थी र आत्मकेन्द्रित उच्च क्षमता युक्त सामाजिक प्राणी हो । आफ्नो स्वार्थ परिपूर्ति गर्न उसले आफ्नो बलबुता, ल्याकत, जस अपजस सहज प्रयोग गरी समाजमा आफ्नो प्रभुत्व स्थापित गर्न लालयित हुन्छ ।

तर यसो भन्दैमा केही अपवादमा पर्ने राजनीतिज्ञ, दार्शनिक तथा लोकप्रिय जननेताहरु हामीले सोचेभन्दा धेरै आदर्शवान्, जीवन र जगतलाई सूक्ष्म किसिमले बुझेका त्यागी, सादगी सामाजिक, अभियन्ताहरु नजन्मेका भने होइनन् । त्यसैले इतिहास र वर्तमानमा पनि उनीहरुको उच्च सम्मान र मूल्याङ्कन विश्वभरि नै छ ।

व्यक्तिका अहंकार, अभिमान तथा पागलपन जस्ता प्रवृत्तिलाई ढाकछोप गरी समयानुकूल बनाउन झुट र भ्रम जस्ता अकाट्य अस्त्रहरुको प्रयोग आजको संसारमा देख्न र सुन्न पाइन्छ । सामान्य जनमानस त परै जाओस्, सचेत विद्वान् व्यक्ति पनि झुट र भ्रमरुपी ब्रह्मास्त्रका अगाडि गरुडको छायामा परेको सर्प जस्तै दिग्भ्रमित हुनु समाज र देशका लागि घातक हुने कुराको आँकलन गर्न सकिन्छ । हामी अहिले बाँचेको समाज भ्रमबिनाको झुट हो, यथार्थबिनाको भ्रम हो ।

कुनै पनि व्यक्ति विशेषलाई सहज र स्वभाविक लाग्ने झुट अब झुट हुँदैन यो यथार्थ बन्दछ । किनकि ऊ भ्रममा छु भन्ने अनुभव त गर्दछ तर यही वास्तविकतालाई यथार्थ हो भन्न हिचकिचाउँछ । तसर्थ झुट र भ्रम दुवै यथार्थ भएका छन् । जसको नाटकीय मञ्चन अब खल्लो वा निरर्थक लाग्दछ ।

सम्बन्धित खबर