सोमबार, ०५ असोज २०७७
samadhannews
Bardan Online

सिकाइ र सहयोगः व्यावहारिक शिक्षाको ऐना

सोमबार, १५ भदौ २०७७

खगराज बरालको सिकाइ र सहयोग पुस्तकमा २५ ओटा अनुभव समेटिएका पाठहरू छन् । प्रत्येक अनुभवले सम्बन्धित क्षेत्रमा भएका कमीकमजोरीलाई औँल्याउदै लेखकले सुधारका अपेक्षा गरेका छन् ।

पुस्तक समीक्षा–माधव दाहाल

शिक्षा मानव जीवनको आधार हो, शिक्षाले जीवनपर्यन्त प्रभाव पार्छ । सम्रगरुपमा शिक्षा मानव जीवनको सैद्धान्तिक, व्यवहारिक ज्ञान एंव सीपको आधारशिला हो । शिक्षालाई सैदान्तिक र व्यवहारिक सीप दुवै पक्षबाट आर्जन गरिनुपर्छ ।

शिक्षाको सैद्धान्तिक ज्ञान आर्जन गरी व्यवहारिक सीपमा परिणत गर्न सकिएन, दैनिक जीवनमा उतार्न सकिएन भने शिक्षाको गुणस्तरमा प्रश्न चिह्न खडा हुनसक्छ । अहिलेको नयाँ पुस्ताका कतिपय व्यक्तिहरूमा समाजले उठाएको प्रश्नहरू पनि यही नै हो । हामीले विद्यालय तथा विश्वविद्यालयमा सिकेका सिद्धान्त एवं ज्ञानलाई व्यवहारमा परिणत गर्न सक्नुपर्छ । तब मात्र हामी समाज बुझन सक्छौँ, हाम्रा सभ्यता बुझ्न सकिन्छ ।

शिक्षा प्रशासनमा वृत्ति विकास गरेका स्रष्टा खगराज बरालले आफूले विभिन्न समय परिस्थितिमा भोगेका र अनुभव गरेका घटना विशेषलाई ‘सिकाइ र सहयोग’ नामक पुस्तकमा समेटेका छन् । लेखकले आफ्नो सैद्धान्तिक ज्ञानअनुसार व्यवहारमा परिणत गर्न खोज्दा कतिपय परिस्थितिमा आफूलाई अप्ठ्यारो परेको यस पुस्तकमा समेटिएको छ ।

जस्तै ‘नाता र सम्बोधन’ मा हाम्रो परम्परागत रूपमा बुझिने ‘बाबा’ भनेको ‘पिता’ नै हो उल्लेख गर्दै लेखकले अचेल आधुनिकताका नाममा पारिवारिक नाताको सम्बोधनमा अर्थको अनर्थ अभ्यास भएको उदाहरण दिदै लेखकले असहमति जाहेर गरेका छन् । पारिवारिक नाता सम्बन्धका लागि प्रयोग गरिने शब्दको गलत अभ्यास हुँदै जाँदा यस्ता शब्दको मर्म नै मर्न जाने र बिस्तारै शब्द लोप हुने कुरामा लेखकले चासो दिएका छन् ।

अझ नयाँ पुस्ताका केटाकेटीहरु आफ्नो काका÷ठूलो बुबाका छोराछोरीलाई कजिन भन्छन् । जब कि अंगे्रजी कजिन भनेको नाता सम्बन्ध मात्रै हो । एकै परिवारका सदस्यहरू दाजुभाइ, दिदीबहिनी हुन् । हाम्रो सभ्यतामा कजिन शब्दले टाढाको नातालाई सम्बोधन गर्ने हो । यस प्रकार लेखकले हाम्रो पारिवारिक नाता तिनको सम्बोधन बिग्रन दिन नहुन जोड दिएका छन् ।

लेखकले ‘निम्ता र निम्तालु’ शीर्षकको लेखमा आफ्नो अनुभवलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । हाम्रो प्रचलनमा कसैले कुनै सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष समारोहमा बोलाएपछि जानुपर्ने हाम्रो कर्तव्य रहन्छ । छरछिमेक, नातागोता, इष्टमित्र, चिनजान भएकालाई बोलाउनुपर्ने हाम्रो समाजको मान्यता पनि यही हो । तर यसरी निम्ता गरेपछि निम्ता गरिएको ठाउँमा आफूलाई बेवास्ता गरियो भने आत्म सम्मानमा चोट पुग्छ । त्यसैले बोलाउने बित्तिकै जानु हँुदैन । हामीले पनि लेखकले जस्तै निम्ता गर्नेको वर्गीकरण गरेमा मात्र आफूलाई र निम्ता गर्ने दुवैलाई सहज हुन्छ । यसै निम्ताको प्रसंगमा १ राजनीतिज्ञले आफ्नो छोराको विवाहमा तत्कालीन राजा वीरेन्द्रलाई निम्ता गर्दा राजा वीरेन्द्रले निम्ता अस्वीकार गरेको सन्दर्भ सुनेका थियौं ।

त्यस्तै ‘आचरण र व्यवहार’ मा लेखकले प्रस्तुत गरे झै हामीमा पदीय हिसाबले अभिवादन गर्ने, सानोलाई आदर गर्न नगर्ने, नमस्कार गर्दा पनि पदीय हैसियतलाई विचार गर्ने आम प्रवृत्ति छ । यस प्रवृत्तिलाई गलत भन्दै लेखकले अभिवादन जसले पहिला देख्छ उसैले सुरु गर्नुपर्छ भन्ने धारणा पेस गरेका छन् । आदर हाम्रो परिचय हो । हामी सबैले सबैलाई आदर गर्नुपर्छ । कसले पहिला नमस्कार गर्ने भन्ने कुरा पर्खने होइन, जसले पहिला देख्छ उसले नै सुरु गर्ने हो भन्ने सन्देश आचरण र व्यवहार लेखमा प्रस्तुत गरिएको छ ।

‘बुझाइ र अनर्थ’ मा रोचक अनुभव छ लेखकको । भाषाले लेखकलाई मात्रै होइन हामी सबैलाई कुनै न कुनै घटनामा अप्ठ्यारो पारेको परेको अनुभव हुनुपर्छ । शब्द र भाषा परिवेशअनुसार फरकफरक हुन सक्छन् भन्ने कुरा बरालको अनुभवबाट सिक्नु पर्छ । अन्यथा भाषिक परिवेश नबुझिकन शब्न प्रयोग गर्दा असजिलोमा पर्न सकिन्छ । भनिन्छ शब्द आर्यघाटमा ‘विरक्त’ पिकनिकमा ‘झक्कास’ अनि रत्यौलीमा ‘छाडा’हुन्छन् ।

खगराज बरालको सिकाइ र सहयोग पुस्तकमा २५ ओटा अनुभव समेटिएका पाठहरू छन् । प्रत्येक अनुभवले सम्बन्धित क्षेत्रमा भएका कमीकमजोरीलाई औँल्याउदै लेखकले सुधारका अपेक्षा गरेका छन् । यस्तो सुधार हुनाका लागि सर्वप्रथम व्यक्तिले महसुस गर्नु पर्छ भन्ने लेखकको जिकिर छ । सिकाइ र सहयोग पुस्तकमा समेटिएका विषयहरू सरसर्ती पढ्दा बरालले आफ्ना गन्थन मात्र लेखेछन् भन्ने लाग्न सक्छ तर पुस्तकका प्रत्येक अनुभव पढिसकेपछि एक चिन्तनशील पाठकले हरेक पाठमा अवश्य पनि उक्त घटनामा आपूmलाई उभ्याउने अवस्था आउँछ । कतै मलाई पनि त्यस्तो भएको त थिएन ? भनी मनमनै प्रश्न गर्ने अवस्थामा पुग्छ । पुस्तक पढ्दै जाँदा पाठक पनि सँगसँगै हिँडे जस्तो लाग्छ । कतिपय घटना लेखकले समाज परिवेशलाई नकारात्मक अवस्थामा बुझेका त छैनन् भन्ने जस्तो लाग्न सक्छ ।

शिक्षक, प्रशिक्षक हुँदै नेपालका प्रायः सबै स्थानमा पुगेका लेखक बराल सरकारका सचिव पदमा कार्यरत खगराज बराल (श्रमिक बराल) शिक्षा क्षेत्रका क्याडर हुन् । शिक्षा नै बरालले आफ्नो उर्जाशील समय व्यतित गरेको क्षेत्र हो । शिक्षाका विषयमा चिन्तन गरिरहने व्यक्ति हुन् लेखक । शिक्षाले समालोचनात्मक चेतको अपेक्षा गर्दछ र सिजनात्मक रूपमा समस्याको समाधान खोज्छ । त्यसैले बरालले यस सिकाइ र सहयोग पुस्तकमा कसैको पनि निन्दा गरेका होइनन् र छैन । मसिनाभन्दा मसिना विषयलाई लेखनको विषयवस्तु बनाएर सुधार साना साना क्षेत्रबाट थालनी गरेमा दिगो र स्थायी हुन्छ भन्ने मान्यतालाई लेखकले स्थापित गर्न खोजेका छन् ।

अगिल्लो वर्ष सिकाउने शैली पुस्तक लिएर नेपाली पाठक सामु आएका बरालले यो वर्ष सिकाइ र सहयोग लिएर आएका छन् । नयाँ पुस्तक पठनीय छ, सङ्गहणीय छ । खगराल बरालको नयाँ नयाँ सिर्जनाले निरन्तरता पाओस्, बराललाई शुभकामना !

सम्बन्धित खबर