शुक्रबार, १४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

सधैं कविताको विद्यार्थी भन्न रुचाउँछु

बुधबार, १७ भदौ २०७७

कवि रमेश श्रेष्ठ

साहित्य क्षेत्रमा कतिवर्षको उमेरमा लाग्नु भयो र कसको प्रेरणाबाट ?

कविता त स्कुलदेखि नै लेख्ने गर्थें, तर २०४० देखि अझै सक्रिय रहें । पोखराको सुन्दर वातावरण र मेरो आफ्नै जीवनको आरोह अवरोह मेरो कविता लेखनको अनन्त प्रेरणाको स्रोत हो ।

स्रष्टाको रुपमा पुगेछु भन्ने तपाईंलाई कहिले अनुभूति भयो ?

अरुले कवि भन्छन् र आत्मसन्तुष्टिका आफ्नै पक्षहरू बढ्ने गर्छ । मेरो १२ वटा कविता कृति प्रकाशनमा आइसकेको छ । त्रिवि स्नातक तहको ऐक्षिक नेपाली कोर्समा २०६५ देखि मेरो कविता समावेश भएको छ ।

केही महत्वपूर्ण पुरस्कार र सम्मान प्राप्त गर्ने अवसर पनि पाएको छु । तर म आफूलाई सँधै कविताको विद्यार्थी भन्न रुचाउँछु, किन भने विद्यार्थीले प्रत्येकपल एउटा नयाँ कुरा सिक्ने अवसर पाउँछ ।

साहित्य के का लागि रचना गर्नु हुन्छ ?

आफ्नै लागि लेख्छु, लेखिसकेपछि सबैकालागि भइदिओस् भन्ने कामना गर्छु ।

तपाईं त कलाकार पनि, कलमले कोर्ने र शब्द र कुचीले कोर्ने शब्दमा के भिन्नता छ ?

यी दुबै मनलाई छुने कुराहरू हुन् । कुरा छ भिन्नताको अनुभूत गर्नेको अनुभूतिको उडानमा भर पर्दछ । मैले सधै भन्दै आएको छु, कविता र कला मेरो अनुहारमा भएको दुई आँखा हुन् ।

कलममा बढी आत्मसन्तुष्टि हुन्छ वा कुर्चीमा, कुन बढी मन पर्छ ?

मैले भन्दै आएको छु कला र कविता मेरा अनुहारका दुई आँखाहरू हुन्, तपाई नै भन्नुस् न म कसलाई अन्याय गरुँ ।

कलाकार नभएको भए रमेश श्रेष्ठ कुन क्षेत्रमा बाँच्न सक्थ्यो ?

मैले सानै उमेरमा बाबु आमाको काख गुमाएँ । तर प्रकृतिले मलाई धेरै कुराहरू दिएको छ । म कुनै पनि काम पूर्ण रुपले गर्न सक्छु, त्यसका माध्यमबाट बाँच्न सक्छु भन्ने मेरो विचारले सिकाएको छ । उसो त मलाई पनि भन्न मन लाग्छ – मसँग पनि हार्नकेही छैन जित्नका लागि सार संसार छ ।

कवितामा जीवनको खोजी कसरी गर्नु हुन्छ ?

मेरा लागि कविता जीवन भइसकेको छ । कविता नलेखी नपढी म बाँच्ने कल्पना पनि गर्न सक्दिन तर पनि प्रत्येक दिन चोखो बिम्वसहितको नयाँ आकारमा म बाँचकोसंसारमा प्रेमिल सभ्यता खोज्ने प्रयत्न गर्छु ।

बिम्व भनेको के हो ?

बिम्व भनेको कविताको आत्मा हो । यसले मानिसको मनलाई छोएर धोएर स्निग्ध बनाइदिन्छ ।

कवितामा विम्वले परम्परा भन्दा भिन्न के स्वाद दिन्छ ?

राम्रा कविताका लागि बिम्वको आवश्यकता पर्छ । चोखो र नित नविन विम्वको स्वादको वर्णन म कसरी गरुँ……….।

कविताले भाव वा भावले कविता कुनले डोर्‍याउँछ ?

यी दुवै तत्व कविता निर्माणका लागि अनिवार्य कुरा हुन् । तर कहि कहि अकवितालाई कविता हो भनेर पस्कन्छन् त्यतिखेर म कविता बलात्कृत भएको महसुस गर्छु र हृदय जलेर आउँछ ।

कुन बेला कविताका लागि अनुकूल वातावरण पाउनुहुन्छ ?

निश्चित समय छैन र पनि प्रायः मलाई एकान्तमा कविताले बोलाउँछ । रात मेरा लागि प्रिय समय हो ।

प्रबन्ध काव्य (खण्डकाव्य) र कविता सङ्ग्रह बीच के फरक हुन्छ?

कविता सङ्ग्रहमा प्राय फरक भुल्का भएका रचनाहरू हुन्छन् फरक आवेगहरू हुन्छन् । लामो कविता लेख्न अलि गाह्रो हु्न्छ र दुर्घटना हुने डर हुन्छ । ठूला लेखक, आलोचकहरूले भनेका छन् – लामा कविताहरू जन्मदै अधुरा हुन्छन् ।

कृतिको आवरण तयार गर्दा कृति र भावमा तालमेल कस्तो हुन्छ ?

कृतिको शर्षिक र भित्रि भावसँग आवरण मिले धेरै राम्रो हुन्छ । बजारमा नमिलेका आवरणहरू पनि देख्न पाईन्छन् ।

तपाईले नेपाली कविताको इतिहासमा टिकटमा एकल कविता वाचन सुरु गरेर कविता र स्रष्टाको मूल्यको इतिहास बनाउनु भएको छ । कस्तो कविताले भौतिक मूल्य प्राप्त गर्लान् ?

मानसिक र चैतसिक रुपमा बलिया कविता जस्तै कविताहरू सज्जन पाठकले मन पराउने गर्छन् । जीवनको प्रितिकर पाटाहरू नै यसका मूल्य र मान्यताका कसीहरू हुन् भन्ने मलाई लाग्छ । कतै कतै भजन गाउने समूहको निर्माण र सस्तो वाह वाहले सुन्दर कविताहरूको मन दुख्ने गरेको पनि पाइन्छ ।

जागिरे जीवन र कविता यात्रा बीच संगति देख्नुहुन्छ ?

म पनि सोच्छु कहिलेकाहीँ स्वतन्त्र भएर सिर्जना गर्न पाउँ । हरेकमा धेरै जीवन बाध्यताको डोरीले बाँधिएको हुन्छ । जीवन चलाउँदै लाने चिज रहेछ । आजसम्म म आफ्नै पौरख र पसिना बाँचे, तर मेरो कविले भोकका कविताहरू सुनका कलमले लेख्ने अवसर पाएको छैन ।

संरक्षण कविता यात्राको उद्देश्य ?

संरक्षण क्षेत्र र यस वरपरका जन समुदाय हुँदै समग्रमा कविताको माध्यमबाट प्रकृति संरक्षणको चेतना जगाउनु हो ।

पोखरेली कवि, विम्वकवि हुँदै प्राज्ञसम्मको जीवन संघर्ष कस्तो रह्यो ?

अग्रज, छिमल र अनुजहरूबाट माया र प्रेरणा पाइरहेकै छु । केही देखिन्छन् मै खाउँ मै लाऊँ भन्ने विचारका र आफ्नै कुराहरू मात्र डो¥याई डो¥याई प्रचार गर्ने स्वभावका उनीहरूमा जस्तो त्यस विषयमा मेरो सामथ्र्य छैन । मेरो जीवन संघर्ष वृत्तान्त म आफै के भनु खै, बरु मलाई नजिकबाट चिन्नेहरूसँग सोध्दा अझ स्पष्ट हुन्छ होला ।

कवि, देश र कविता बीच कत्तिको संगति देख्नुहुन्छ ?

कविता मानिसको अभिव्यक्ति कलाहरूमध्येको सबैभन्दा प्रखर विधा हो । कविताले सँधै उज्यालोको कामना गर्छ । कवितात्मक हृदयबिनाको मानिस र मानिस बिनाको देशको कल्पनासम्म पनि म गर्न सक्दिनँ ।

धेरैले साहित्य क्षेत्र अस्वस्थ छ भन्छन् तपाईलाई त्यस्तो अवस्था आई परेको छ कि छैन ?

सोधि हाल्नु भयो……. म सबैलाई र सबैका योगदानलाई माया र सम्मान गर्दछु । उसो त परिश्रम र प्रगति गर्नेहरू आफ्ना दास बनेनन् भने लास पार्छु भनेर लाग्नेहरू सानो सानो झुण्डमायदाकता भेटिन्छन् सायद ।

प्रेमकै लागि समय छोटो भएको यो जुनीमा यस्तो वातावरण र विचार कतै पनि कसैबाट नबढोस् भन्ने कामना गर्दछु म । यतिखेर सवाल मेरो छ । म अरुको काँधमा चढेर सिकार गर्ने कुकुर बन्न सक्दिन । उसो त म आफ्नै लास उधिनेर जन्मेको एउटा अस्तित्व हुँ । मेरो कविलाई लास पार्न सानो प्रयासले सम्भव छैन ।

अन्तमा…?

कवितालाई कविता जस्तै बनाएर नेपाली कवितालाई मायाका साथ अझ माथि उठाउने प्रयत्न गरौं । आमा जस्तो माटो र विचारलाई आफ्नो स्वार्थकालागि अरुलाई बलात्कार गर्न दिएर पद र पुरस्कारमा स्वाभिमान नबेचौं । नेपालै नरहे हामी कहाँ रहन्छौं र भन्ने कुरालाई नबिर्र्साै । अवसरका लागि धन्यवाद ।

सम्बन्धित खबर