मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

मुस्ताङमा स्याउ टिप्न सुरु, उत्पादन २० प्रतिशत कम

शुक्रबार, २६ भदौ २०७७

एसके थकाली
जोमसोम

हिमाली जिल्ला मुस्ताङमा यस सिजन फलेको स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैंचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो ।


यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ ।

यसवर्ष विश्व व्यापी माहामारीको रुपमा सिर्जित कोभिड—१९ को कहरका कारण मुस्ताङ सुनसान जस्तै छ । तर, स्याउ धनीको निवेदन पत्रका आधारमा स्थानीय तहले उपलब्ध गराएको सिफारिसपत्रका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्याउ व्यापारीका लागि जिल्ला आउजाउ गर्ने अनुमति खुला गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालका अनुसार २ साताअघिको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को निर्णयपछि करिब ३ दर्जन व्यापारी मुस्ताङमा स्याउ खरिद गर्न आइसकेको जानकारी दिए । उनका अनुसार स्याउ संकलनका लागि आउनेमा अधिकांश धादिङका छन् । केही नवलपरासी, कास्की, बाग्लुङ र म्याग्दीका व्यापारी छन् । जिल्ला प्रशासन कार्यालयले मुस्ताङमा अझै थप स्याउ व्यापारी आउने क्रममा रहेको जनाएको छ । यसअघि समितिले स्याउ व्यापारी मुस्ताङ आउँदा विभिन्न शर्त पालना गर्नुपर्ने निर्णय गरेको थियो ।

मुस्ताङका ३ स्थानीय तह स्याउ उत्पादनले प्रसिद्ध छ । घरपघझोङको मार्फा, चिवाङ, छैरो, स्याङ, ठिनी र जोमसोम, थासाङ गाउँपालिकाको टुकुचे, सौरु र कोबाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, फल्याक, छेङ्गुर, धाकार्जुङ फल्याक, ताङ्बे र छुसाङ लगायत गाउँमा यतिबेला स्याउ टिप्ने चटारो छ । स्याउ व्यापारीहरुले बगैंचा धनीकै निगरानीमा क्वारेन्टाइनमा बसी बगैंचामा भौतिक दुरी कायम गरेर स्याउ संकलन गरिरहेका छन् ।

जोमसोमका स्थानीय तेज गुरुङको बगैंचामा स्याउ संकलन गर्न आएका धादिङका व्यापारी बमबहादुर तामाङले यस वर्ष मुस्ताङ आउँदा निकै समस्या परेको बताए । उनले स्याउ संकलन गर्न आउँदा ठूलो खर्च बढ्यो तर यसबाट फाइदा हुने नहुने डर लागेको सुनाए ।

धादिङका अर्को व्यापारी प्रेम तामाङका अनुसार चिसो मौसममा हुर्काइएको मुस्ताङको स्याउको छुट्टै विशेषता रहे पनि भारतीय स्याउसँग मुस्ताङको स्याउले अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले दुबै स्याउ हेर्दा उस्तै हुने र मुल्यमा भारतीय स्याउ सस्तो पर्ने भएकाले तलका व्यापारीले मिसाएर बिक्री गर्ने गरेकाले मुस्ताङको स्याउ ब्रान्डलाई असर पुर्‍याएको उल्लेख गरे ।

यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ । घरपझोङको मार्फा, चिमाङ र छैरोमा पनि आंशिक स्याउमा स्क्याप रोग देखा परेको स्थानीय किसान दीपक लालचनले दिए । स्याउमा स्क्याप देखा परेसँगै यस वर्ष गुणस्तरीय स्याउ नफलेको उनको भनाइ छ । जिल्ला स्याउ जोन मुस्ताङले यस वर्ष २० प्रतिशतले स्याउ उत्पादन घट्न सक्ने जनाएको छ । जोनले स्याउ धनीको बगैंचा अवलोकन गरेपछि यस्तो बताएको हो ।

स्याउ जोन मुस्ताङका कार्यालय प्रमुख सुधीर थापाले यस वर्ष करिब १५ सय टन स्याउ घट्ने अनुमान गरे । कोरोना कहरका कारण उचित बगैंचा व्यवस्थापनमा कमी र निरन्तरको वर्षा र हुस्सुले उत्पादन घट्न सक्ने उल्लेख गरे । जोन कार्यालयका अनुसार यस वर्ष स्याउ प्याकेजिङ कार्टुनका लागि १० लाख बजेट विनियोजन भएको जनाएको छ । स्याउ कार्टुन ढुवानीको क्रममा रहेको र आएपछि ५० प्रतिशत अनुदानमा वितरण हुने बताएको छ ।

यस वर्ष जिल्लामै फुटकर बिक्री हुने २० प्रतिशत उत्पादित स्याउ कोरोना कहरका कारण बिक्री नहुने भएको छ । कोरोनाकै कारण गत वर्षको भन्दा किसानले १० प्रतिशत कम मूल्यमा स्याउ बिक्री गरेको पाइएको छ ।

स्याउ जोन मुस्ताङको वार्षिक प्रगति पुस्तिकाका अनुसार मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय हेक्टरमा लगाएको स्याउ बिरुवाले मात्र उत्पादन दिने गरेको पुस्तिकामा उल्लेख छ । जोनका अनुसार एक हेक्टर जमिनमा ३ सय १४ बिरुवा रोपण गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा मुस्ताङमा ६५ सय टन स्याउ उत्पादन भएको थियो भने अघिल्लो वर्ष ५८ सय टन स्याउ फलेको थियो । मुस्ताङका किसानले एकघर धुरीले कम्तीमा ३ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्ने गरेको पाईएको छ । स्याउ खेतीबाट मनग्ये आम्दानी हुने भएपछि मुस्ताङका किसान स्याउ खेती विस्तारतर्फ आकर्षित भएका छन् ।

मुस्ताङमा स्याउ खरिद गर्न आउने व्यापारीले सुरुआतमा केही पैसा पेस्की दिने र स्याउ बिक्री गरेपछि बाँकी भुक्तानी दिने चलन छ । मुस्ताङबाट हरितालिका तीजदेखि दसैं तिहारसम्म बाहिरी जिल्लामा स्याउ निर्यात हुने टुकुचेका स्याउ किसान राजन शेर्पाले जानकारी दिए ।


सम्बन्धित खबर