सोमबार, ०५ असोज २०७७
samadhannews
Bardan Online

कोरोनाले भन्दा समाजले मार्ने डर

शुक्रबार, २६ भदौ २०७७

विजय परियार

मलाई पढाइएको, मैले पढेको, मैले देखेको अनि मैले बुझेको समाज भनेको म अनि म जस्ता धेरै महरु मिलेर बनेको समूह हो । समाज एकभन्दा धेरै मानिसहरु मिलेर बसेको समुदाय हो । विभिन्न जात, धर्म, वर्ण, लिंग अनि स्तरका मानिसहरु त्यो समाजमा रहन्छन् ।

जिउँदाको जन्ती अनि मर्दाको मलामी समाजको एउटा महत्वपूर्ण विशेषता हो । यहाँ प्रयोग भएको ‘मिलेर’ भन्ने शब्दको महत्व निकै मार्मिक अनि तार्किक छ । वास्तविक समाज यो शब्द बिना अपुरो छ । यो शब्दबिनाको समाज समाज होइन जंगल हो, जहाँ एउटा जनावरले अर्कोेको शिकार गरी आफ्नो अस्तित्व जोगाउने सधै प्रयत्न गर्छ ।

हाम्रो समाज परिवर्तन हुँदै आज आधुनिक अनि वैज्ञानिक युग भनिने एक्काइसौं शताब्दिसम्म आइपुगेको छ । यहाँसम्म आउँदा धेरै परिवर्तनहरु भएका छन् ।

हामीले कल्पना सम्म नगरेका परिवर्तनहरु आज हाम्रो समाजले देखिरहेको छ भोगिरहेको छ । तर हामी प्रकृतिका सचेत जीव भनिने मानिसहरु आजसम्म परिवर्तन हुन सकेका छैनौं । हामी परिवर्तन त भयौैं हामीले हाम्रो समाज पनि परिवर्तन त गर्‍यौं तर हामीले हाम्रो सोचाइ परिवर्तन गर्न सकेनौं ।

हामीले हाम्रो व्यहार परिवर्तन गर्न सकेनौं । हामी आत्म शान्ति भन्दापनि भौतिक अनि देखावटि अनि बनावटी शान्तिको पछि भागिरहेका छौं । हामीले ‘मिलेर’ भन्ने शब्दको परिभाषा नै परिवर्तन गरिदियौ जस्तो लाग्छ ।

प्रकृतिकै सुन्दर देश अनि स्वर्गको टुक्रा भनिने नेपालका भाग्यमानीहरु हामीले हाम्रो प्राकृतिक गहना जोगाउन सकिरहेका छैनो । परिवर्तनको नाममा विकास भन्दा विनास धेरै गरिरहेका छौ ।

गाउँहरुलाई विस्थापित गर्दै छौं अनि सहरहरु बढाउँदै छौ जहाँ मान्छे छन्, घरहरु पनि टन्नै छन् तर समाजको वास्तविकता झल्काउने समाज छैन । शिक्षित मान्छेहरुको कमि छैन तर चेतनशीलहरु सायदै भेटिन्छन् ।
……
बिग्रँदो समाजका केही जल्दाबल्दा उदाहरण निकै झन् हाम्रा अगाडि । बलात्कार गरी हत्या गरिएकी निर्मला हत्याकाण्डमा परिवर्तनले कुनै चमत्कार गर्न सकेन नत जातियतको नाममा ज्यान गुमाएका नवराज अनि उनका मित्रहरुका हत्यारालाई सजाए दिलाउन चमत्कार गर्ला जस्तो देखिन्छ ।

बाढिपहिरोका कारण हजारौंले अकालमा ज्यान गुमाइरहेका छन्, तर उनीहरुलाई मर्नबाट बचाउने खालको परिवर्तन अझै हुन सकेको छैन । न त उनीहरुको परिवारलाई उचित स्थानानतरण हुन सकेको छ । शिक्षामा सबैको पहुँच हुनुपर्छ भनी राज्यले फुक्नुफुकेको छ तर गुरुकुलमा दलितलाई पढाउनुभन्दा आफ्नै ज्यान दिन अगि सर्नेहरुको कमी छैन रहेछ आजको हाम्रो आधुनिक युगमा ।
….
यस्ता विभिन्न समस्याहरुसँग जुधिरहेको हाम्रो समाजको अर्काे शत्रु बनेर आएको छ कोरोना भाइरस । वैज्ञानिक युगको आभास नै नहुने गरी विश्वलाई नै कब्जामा गरेको छ कोरोना भाइरसले । हुन त विश्व नै यो भाइरससँग लडिरहेको छ ।

विभिन्न देशले आआफ्नो तर्फबाट उपायहरु लगाइरहेकै छन् । हाम्रो देशले पनि सक्दो प्रयास त गरेकै छ । तर भ्रष्टचार मौलाईरहेको हाम्रो देशका केहीले यो महामारीलाई अवसरमा बदलेका छन् । अपना काम बन्ता भाँडमे जाए जनता भनेझै । सरकार घरमै बस, बाहिर नजाऔं भन्छ तर दिनभर काम नगरी छाक नटर्नेहरुले के गर्ने ?

सरकार माक्स लगाऊ भन्छ, सेनिटाइजर लगाऊ भन्छ, साबुन पानीले हात धुनु भन्छ तर गरिबीको रेखामुनि रहेका हामीले कसरी सरकारका यी मापदण्डहरु पूरा गर्ने ? खानालाई पानी छैन किन्नलाई पैसा छैन अनि गर्नलाई कुनै काम छैन कसरी पालना गर्ने बन्दाबन्दी ?

हुन त यी सबै कुराहरु असम्भव त हैन तर कोरोना भाइरसभन्दा डरलाग्दो भ्रष्टचार नामको भाईरसले दैनिकि झनै कष्टकर बनाइरहेको छ । भ्रष्टचारलाई छाडेर इमान्दारीलाई अंगाल्न सके त यो शोक शक्तिमा अवश्य बदलिने थियो नि !

हुन त हाम्रो सरकार मात्र होइन केही त हामी पनि खराब निस्किरा छौ । कोरोना भाइरससँग लडिरहेका, हाम्रो लागि आफ्नो ज्यान जोखिममा राखी काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई समेत हामी दुव्र्यहार गरिरहेका छौं ।

अस्पतालबाट घर आउँदा डेरामा ताल्चा ठोकिदिएको छौं । कोरोना भाइरस संक्रमितलाई पनि उस्तै अन्न्याय गरिरहेका छौं । कोरोना भाईरस तपाई हामी जो कोहिलाई पनि लाग्न सक्छ नि ।

यसमा तपाई हाम्रो के दोष तर पनि हामी कोरोना संक्रमितलाई अपराधी जस्तो व्यवहार गरिरहेका छौ ।

जुन व्यवहार हामीले भ्रष्टाचारीलाई गर्नुपर्ने हो, जुन व्यवहार हामीले बलात्कारीलाई गर्नुपर्ने हो, जुन व्यवहार हामीले जातीय विभेद गर्नेलाई गर्नुपर्ने हो, जुन व्यवहार हामीले हत्यारालाई अनि वास्तविक अपराधीलाई गर्नुपर्ने हो, त्यस्तो व्यवहार हामी स्वास्थ्यकर्मीलाई गरिरेहका छौं, स्वयंसेवकलाई गरिरेहका छौं, सुरक्षाकर्मीलाई गरिरहेका छौं‌ ।

साँच्चै भन्नुपर्दा मलाई रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर छ । मलाई कोरोनाले भन्दा पनि तिरस्कारले मरिन्छ कि भन्ने डर छ । मलाई एक्लोपनले पागल हुन्छु कि भन्ने डर छ ।

अझ भनौं म मर्छु कि भन्दा पनि एक्लाएर मार्छन् कि भन्ने डर छ । मलाई मेरो मिलेको समाजको खाँचो छ । मिलेको बस्तीको होइन । मलाई मेरो मन मिल्ने समाजको खाँचो छ । धनले मन किन्नेको होइन ।

मलाई साँच्चीकै सचेत अनि इमान्दार समाजको खाँचो छ । जहाँ जातीय होइन मानवीय व्यवहार होस् , समाज यस्तो सहयोगी अनि प्रेरणादायी होस् कि कोरोना भाइरस जस्ता जतिसुकै भाइरस आएपनि डटेर सामना गर्न सकियोस् ।

सम्बन्धित खबर