मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

महिलालाई अझै किन अन्याय ?

सोमबार, २९ भदौ २०७७

मुगादेवी सुवेदी

प्राचीन काललाई अपवादको रुपमा राखेर हेर्नेबाहेक पूर्वीय दर्शनले महिलाका सन्दर्भमा अलि कडा विधिविधान बनाएको छ भन्ने कुरालाई नकार्न सकिँदन । हुन त समग्र विश्वका महिलाको स्थिति तुलनात्मक रूपमा पुरुषको भन्दा धेरै दयनीय नै छ, त्यसमाथि पूर्वीय दर्शनका वेद र वेदान्तहरूले त सदैव महिलाहरूलाई दोस्रो दर्जाको नागरिकसरह ठानेको छ । शिक्षित वा अशिक्षित सबै स्त्रीहरूको साझा काम चुल्होचौकामै सीमित छ । आजको एक्काइसौँ शताब्दीका महिलाहरूमा पनि यो समस्या यथावत नै छ । झनै अहिले पढेलेखेका र जागिरे महिलाहरू त भातभान्साको कामदेखि लिएर स्कुल, कलेज, तथा अन्य कार्यालयहरूमा व्यस्त रहनुपर्दछ ।


सामाजिक अभियन्ता पुरुषले पनि महिला अधिकारमा ऐक्यवद्धता नजनाएका भने होइनन् तर ऊनीहरूको दहीचिउरे चरित्र कायम नै छ

महिलाको प्राकृतिक तथा नैसर्गिक अधिकार क्षेत्रभित्र पर्ने छोराछोरी जन्माउनेदेखि लिएर तिनको स्याहारसुसार, हुर्काउनु, बढाउनु, पढाउनु सबै कार्यक्षेत्र उनीहरुकै जिम्मामा रहन्छ । समान कार्यमा कार्यरत पुरुष भने घरायसी यावत कुराहरूमा छुट्कारा पाउँछ, उसलाई थकाइ लाग्छ, आरामको जरुरत पर्दछ तर महिला भने स्कुल तथा कार्यालयबाट आउनेबित्तिकै पोसाक बदल्न पनि आतुरी हुन्छ, उसको काँधमा छोराछोरीले के खान्छन् ? तरकारी के पकाऊँ ? खाजा के गर्ने ? जस्ता जिम्मेवारीवोध महसुस हुन्छ । तसर्थ जतिसुकै महिलामुक्ति र अधिकारका कुरा गरे पनि पुरुषले जबसम्म महिलाको अधिकारवोध गर्दैन तबसम्म केही हुनेवाला छैन । यसका लागि केही पुरुषहरु अपवादका रूपमा हुनसक्लान्, समग्रमा हेर्दा त्यस्तो देखिएको छैन ।

सुन्दर कोमलभाव भएका, दयालु, मायालु, सहनशील शिष्ट तथा सभ्य, मर्यादित, चेली, छोरी, बुहारी, आमा, नन्द, सासू, आमाजू, जेठानी, देबरानी, नातिनी, भान्जी सबै महिला तथा स्त्री वर्ग हुन् । यीमध्ये कुनै पनि बिच्किए भने परिवार, समाज र देश नै भाँडभैलो, लथालिंग, भताभुंग हुन्छ भन्ने मान्यता रहेको छ । हाम्रो दर्शनले द्वैध चरित्र अपनाएको भान हुन्छ । एकातिर महिला वा नारी घरकी लक्ष्मी हुन् यिनको मर्यादा राख्नुपर्छ भनिएको छ तर व्यवहारमा त्यो पटक्कै पाइन्न । व्यवहार र सिद्धान्तबीच मेल नखाएको अवस्था छ । अहिलेका कामकाजी महिलाहरू त दोहोरोतेहोरो चपेटामा पिल्सिएका छन् ।

एकातिर घरायसी काम अर्कातिर कार्यालयमा पनि महिलालाई त्यस्तै पेलान् । जतिसुकै प्रतिभावान् भएपनि उसलाई हेरिने दृष्टिकोणमा भिन्नता पाइन्छ । पद्दोन्नतिका कुरामा विभेद गरिन्छ । उसका कार्यहरूमा अनेक प्रकारका दोष देखाएर हीनताबोध गराइन्छ जसका कारण उसमा अगाडि बढ्ने ऊर्जा दबिएर जान्छ । श्रमजीवी महिलाहरू जो खेताला तथा मजदुर गर्छन् तिनले पाउने पारिश्रमिकमा भारी अन्तरले फरक छ ।

जे.अदाम्स (सन् १९६३) को न्यायिक सिद्धान्तअनुसार जेन पर्सनले स्टेट युनिभर्सिटीबाट लेखा विषयमा स्नातक गरेपछि अन्तर्वार्तामा प्रथम स्थान हाँसिल गरेर देशकै प्रमुख लेखा अफिसअन्तर्गत बोस्टन अफिसमा काम गर्न थालिन्, ऊनलाई काम गर्ने प्रशस्त अवसर र सुविधा थिए तापनि ऊनको जागिरको अनुभवसँग अरू नयाँ व्यक्तिले ऊनले भन्दा बढी सुविधा पाए, क्षमतावान् हुँदाहुँदै पनि महिला भएकै कारण ऊनको पदोन्नति हुनसकेन र त्यसपछि ऊनी असन्तुष्ट भई अर्कै जागिरको खोजीमा लागिन् । यसरी, अदाम्स्को न्यायिक सिद्धान्तअनुसार, जुनसुकै क्षेत्रमा कार्यरत महिला वा पुरुष जो भएपनि आफ्नो क्षमताअनुसार समान सुविधा र अवसर पाउनुपर्छ तबमात्र कुनैपनि कामदारहरू त्यस कार्यप्रति उत्प्रेरित हुन्छन् । चाहे त्यो राजनीति होस्, खेलकूद होस्, उद्योगमा काम गर्ने ज्यालादारी किन नहोस् !! भर्खरै मात्र अमेरिकी अदालतले महिला खेलाडीलाई पुरुष खेलाडीसरह पारिश्रमिक दिने भनी फैसला ग¥यो । यो महिलाहरूका लागि अति नै प्रशंसनीय पक्ष हो ।

अपवादका रूपमा केही मुलुकहरूलाई छाडेर विश्वमै अझै पनि महिलाहरू अधिकारबाट वञ्चित छन् । ऊनीहरूलाई उच्च पदमा दाबी गर्ने छुट छैन । दाबी गर्ने अधिकार दिएपनि महिलाको समर्थनमा भोट आउँदैन । अमेरिकामा राष्ट्रपति पदका लागि महिला भएकै कारण हिलारी क्लिन्टन्ले हार्नुप¥यो । अरू विकसित मुलुकहरूमा पनि नगन्य मात्रामा महिलाहरू उच्च पदमा आसिन छन् । साउदी अरब, इरान, इराक जस्ता अरेबियन मुलुकहरूका महिलाहरू भने वर्तमान परिप्रेक्ष्यमा पनि एक्लै यात्रा गर्न नपाउने, चालकअनुमति पत्र नपाउने, खेलकुद, राजनीति जस्ता कुनै पनि अवसरमा दाबीसमेत गर्न पाउँदैनन् । ऊनीहरू घरबाहिर निस्कँदा बुर्का लगाउनुपर्छ । यस्तो पुरुषवादी चिन्तन हावी भएको अवस्थामा कसरी महिला पुरुषको प्रतिस्पर्धामा जान सक्छन् त ?

तुलनात्मक रूपमा पाश्चात्य मुलुकमा भन्दा पूर्वीय मुलुकमा महिलाहरू बढी नै पिछडिएका छन् भन्ने कुरामा दुई मत छैन । कुनै पनि चाडबाडहरूमा विभिन्न परिकार बनाउनेदेखि सम्पूर्ण तयारी कार्यमा महिलाहरू नै जुट्नुपर्छ, मानौं चाडपर्वको रमाइलो पुरुषका लागि मात्र हो ! यस्ता कयौं बाध्यता छन् जुन महिला चाहेर पनि बाहिर निस्कन पाउँदैनन् । निस्कनै मन लागेमा घरको काममा फुर्सद लिएर मात्र !

अबको अवस्थामा भने नेपालको कानुन महिला अधिकारसम्बन्धमा थोरै उदार देखिएको छ। जसअनुसार नेपालको इतिहासमा महिला अधिकारसम्बन्धी राष्ट्रिय महिला आयोगलाई (२०७२ को संविधान संसोधन अनुसार) संवैधानिक आयोगका रूपमा स्थापना गरेर उत्कृष्ट संविधान निर्माण भएको छ । महिलावंशका आधारमा सन्तानको पहिचान, राजनीतिमा ३३ प्रतिशत जसअनुसार महत्वपूर्ण पदहरू मेयर, उपमेयर, सभामुख, उपसभामुख, जस्ता पदहरूमा एउटा एउटा महिला हुनैपर्ने नियम राखेर यो संविधान महिलाहरूका हकमा अग्रगामी संविधानका रूपमा प्रस्तुत भएको छ । नागरिकताका सन्दर्भमा पनि समानता हुनुपर्छ। संविधानले उदारता देखाएर मात्रै हुँदैन महिलाले आफूलेआफैंलाई पुरुषसरह क्षमतावान् बनाएर ऊनीहरूकै प्रतिस्पर्धामा जान सक्नुपर्छ ।

अधिकारको पूर्णतया सदुपयोग गरेर अनुशा सित ढंगबाट आफूलाई सशक्तीकृत र परिष्कृत बनाउँदै लैजान सक्नुपर्छ । आरक्षण र भत्ता खाने हामी महिलाहरू पुरुषभन्दा कमजोर छौँ भन्ने तीतो यथार्थबाट मुक्त हुनुपर्छ ।

अतः पुरुषहरूले महिलाहरूलाई घरको चार घेराभित्र सीमित नराखी स्वतन्त्ररूपमा सामाजिक, आर्थिक कार्यहरूमा बिनारोकतोक सहभागी हुन दिनुपर्छ । चुल्होचौको र परिवार महिलाका पेवा हुन् भन्ने मानसिकतालाई हटाएर पुरुषले पनि त्यसको समान दायित्वबोध गर्नुपर्छ। भातभान्साका हरेक कार्यहरूमा महिलापुरुष आलोपालो हुनुपर्छ । महिलाले बाहिर निस्कन अतिरिक्त समय पर्खनु नपरोस् ।

महिलाबिना चुल्हो बल्दैन, चुल्हो नबलेपछि परिवारका सदस्य भोकै पर्छन् भन्ने कुरालाई मिथ्यासाबित तुल्याउन सक्नुपर्छ । आमाले पनि आफ्ना छोराछोरीलाई शिक्षादेखि हरेक कोणबाट समान नजरले हेर्नुपर्छ । छोरीलाई बढार्नका लागि दिईने कूचो छोरालाई पनि दिन सक्नुपर्छ, छोरीलाई दिइने भान्साको तालिम छोरालाई पनि दिनुपर्छ। लुगा धुनेदेखि प्रत्येक घरायसी कार्यहरूमा छोराछोरी दुवैलाई समान रूपमा यो, त्यो नभनी पारंगत तुल्याउन सक्नुपर्छ । अझै पनि विभिन्न समाचार सुन्नमा आएअनुसार गर्भमा छोरी भएको जानकारी हुनेबित्तिकै गर्भपतन गराउने चलन छ । भारतका कतिपय राज्यहरूमा यो स्थिति अहिले पनि ताजै छ ।

पुरुषलाई मात्रै के भन्नु नारीले नारीकै अस्तित्व मेटाउने प्रयत्न यहाँ धमाधम भइरहेकै छ। यसका लागि पुरुषभन्दा महिला बढी जिम्मेवारी छन् । सृष्टिक्रम चलाउन छोरै चाहिन्छ भन्ने छैन, छोरी भएपनि सृष्टिलाई निरन्तरता दिन सक्छिन् । ‘दुई सन्तान ईश्वरका वरदान’, छोरा वा छोरी जे भएपनि हुन्छ भन्ने सकारात्मक सोच मानसपलमा रहन सक्नुपर्छ । यसो भए मात्र हाम्रो सामाजिक संरचना अग्रगामीतर्फ उन्मुख हुनसक्छ ।
तसर्थ पुरुषभन्दा शारीरिक बनावटमा थोरै कमजोर महिला अवश्य हुन्छन् तर मानसिक रूपमा कदापि हुँदैनन् । ऊनीहरूले अवसर पाएका कुनैपनि उच्च ओहोदाका पदहरूमा सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका प्रशस्तै उदाहरणहरू हामीसमक्ष छन्।

खुसी, विजय कुमार (२०७१) का अनुसार ‘नारीले पुरुषजस्तो हुन जरुरी छैन, पुरुषजत्तिकै स्वतन्त्रता र अवसर पाउन जरुरी छ । पुरुष र महिला भनेर लैंगिक विभाजन गर्नुसाटो पुरुषोचित र स्त्रैण गुणमा बढी विश्बास गर्नुपर्छ। हरेक पुरुषभित्र नारी र नारीभित्र पुरुष लुकेर बसेको हुन्छ ।’ वास्तवमा यिनीहरू दुवै एक अर्काका अस्तित्वमा बाँचेका हुन्छन्, ‘एउटा सिक्काको दुई पाटा’, यिनीहरू दुवैले दुवैको भूमिकालाई स्वीकार्नुपर्छ । यति हुँदाहुँदै पनि महिलाहरू समाजमा विभिन्न तरिकाद्वारा यातनाका सिकार बनिरहेका छन् ।

सम्पत्तिको प्रलोभनमा बुहारी मार्ने, एकतर्फी प्रेमको नाटक गरेर एसिड आक्रमण गर्ने, निर्लज्ज ढंगबाट चेलीबेटीलाई यौनहिंसा गर्ने जस्ता आपराधिक क्रियाकलाप झनै बढेको अवस्था छ । यस मामिलामा पुरुषले उल्टै महिलाहरूलाई दोष थोपरिरहेका छन् । ‘महिलाले लगाउने उत्ताउला बस्त्रका कारण यसो भएको’ भनेर ! बस्त्र भन्ने कुरा आफूलाई आरामदायी महसुस हुने लगाउनुपर्छ, भनाइको तात्पर्य पारदर्शी बस्त्रको वकालत गरेको अवश्य होइन, रूचिअनुसारका सभ्य र शिष्ट देखिने लगाउनु भन्ने हो । यो त महिलाको निजी मामिला हो यसमा पुरुषले किन सरोकार राख्ने ? के प्रत्येक कुरा महिलाहरू पुरुषकै इशारामा नाच्नु भन्ने कतै लेखेको छ ? पुरुष आफू आत्मसंयम तथा आत्मानुशासनमा बस्नुप¥यो ।

जुनसुकै कुरामा महिलाको लवाइखवाइको आलोचना किन ? अर्को कुरा एउटी महिलाले खराब चरित्र देखाई भने सबैलाई सोही श्रेणीमा राख्ने सोच समाजमा विद्यमान् छ । ‘जुन औंलामा विष लाग्यो त्यही झर्छ’, किन अरू दोषी ? यो त व्यक्तिगत गुणमा आधारित हुने कुरा हो ।

अचेल महिला जागरण बढिरहेको छ । अबका महिलाहरूले एकाध घटनाबाहेक पुरुषद्वारा दिइने जुनसुकै तिरस्कार एवं अपमान सजिलै सहनेवाला छैनन् । विगतमा झैँ अबका महिलाहरू पुरुषको चेपुवामा परेर आफ्ना अधिकारबाट बन्चित हुने छैनन् । अहिले महिलामुक्तिका आवाजहरू उठिरहेका छन् । स्वय महिलाहरू विभिन्न संघसंगठनमा आबद्ध भएर महिलाअधिकारको वकालत गरिरहेका छन् । केही सामाजिक अभियन्ता पुरुषहरूले पनि यो कुरामा ऐक्यवद्धता नजनाएका भने होइनन् तर ऊनीहरूको दहीचिउरे, चरित्र कायम नै छ । बाहिर महिलामुक्तिका ठूलाठूला नारा दिने घरकी श्रीमतीलाई ‘मुख छँदाछँदै नाकले पानी खानु ठिक होइन’ भन्दै बन्धनमा राख्ने प्रचलन हावी छ । त्यसैले अब हामीहरू चुप लागेर बस्नुहुँदैन, घरघरबाट आवाज उठाउनुपर्छ । भनिन्छ, अन्याय गर्नेभन्दा सहने बढी दोषी हुन्छ, हामीले आफ्ना अधिकार खोसेर लिन सक्नुपर्छ । यसका लागि हामी दुई कदम अगाडि बढ्नै पर्छ !

अन्तमा, चुल्होचौको र महिला, मात्रै होइन कि ‘चुल्होचौको र महिलापुरुष’ भनेर नामकरण हुनुप¥यो । यसलाई दुवैले साझा काम भनी ठान्नुप¥यो । महिला सामाजिक काममा निस्केको अवस्थामा घरमा आउँदा भान्सामा खाएका जुठाभाँडा यत्रतत्र फालिएका र भुइँमा पोखिएका भातका खट्टे परेका सिता ततेर्नु नपरोस् ! तबमात्र महिलाले आराम पाउनुका साथै आत्मासम्मानको अनुभूति गर्न सक्छिन् । अनि मात्र ऊनी निर्बाधरूपमा अघि बढ्न सक्छिन् । सबैको ध्यान यसतर्फ जाओस् ।

सम्बन्धित खबर