मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

उपल्लो मुस्ताङीलाई बाली थन्क्याउने चटारो

बुधबार, ३१ भदौ २०७७

एसके थकाली, जोमसोम

बर्खासँगै उपल्लो मुस्ताङीका महत्वपूर्ण चाडपर्व सकिएका छन् । तिब्बती कला संस्कृतिको प्रभूत्व परेको उपल्लो मुस्ताङमा तिजी र यार्तुङ जस्ता महत्वपूर्ण चाडपर्वले त्यहाँको सांस्कृतिक सम्भयतालाई जोगाएर राखेको छ ।

उपल्लो मुस्ताङी यतिबेला खेतबारीमै व्यस्त छन् । वर्षभरि खेतबारीमा लगाइएको अन्नबाली थन्क्याउन त्यहाँका किसानलाई चटारो छ । बर्सेनि मनाइने यार्तुङ पर्व सकिएलगत्तै यहाँका किसान अन्नबाली थन्क्याउन र नयाँ बाली लगाउन अग्रसर भएका हुन् । उपल्लो मुस्ताङमा वर्षमा एकमात्र बाली लगाउने चलन छ ।

यार्तुङ पर्वको मुख्य महत्वनै बर्खायामको बिदाइ र हिउँदयामको सुरुआत हुँदैछ भन्ने सांकेतिक पर्वका रुपमा लिइन्छ । बर्खायामभरि खेतबारीमा व्यस्त हुने किसानले अन्नबाली घरमा भित्र्याउनु अघि यो पर्व मनाउने गर्छन् ।

यार्तुङ पर्वमा आपसमा भेला भइ मिठो खाने र राम्रो लगाउने अनि सांस्कृतिक सम्यतामा नाचगान गरी रमाउने उपल्लो मुस्ताङी समुदायको मुख्य सांस्कृतिक विशेषतानै हो । विश्वव्यापी माहामारीको रुपमा देखा परेको कोभिड—१९ का कारण यसपटक उपल्लो मुस्ताङीले यार्तुङ पर्व अनौपचारिक रुपमा मनाए ।

संघीयता अघि उपल्लो मुस्ताङमा साविक ८ वटा गाविस थिए । तल्लो मुस्ताङमा पनि ८ गाविस थिए । उपल्लो मुस्ताङका साविकका ८ गाविस अहिले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिका अन्र्तगत पर्छन् ।

यी २ स्थानीय तहमा करिब २५ भन्दा बढी गाउँ छन्, जसलाई उपल्लो मुस्ताङ भनिन्छ । अहिले यी गाउँहरुमा आफूले उत्पादन गरेका रैथानेबाली उवा, फापर, गहुँ, आलु, तोरी र केराउजस्ता अन्नबाली थन्क्याउने चटारो चलेको नाम्डोकका किसान वाङ्दी गुरुङले जानकारी दिए ।

कतिपय किसानले हिउँदयामको जाडोमा पशुचौपायालाई खुवाउने घाँस सञ्चय गर्न व्यस्त छन् । त्यहाँ हरियो घाँसलाई सुकुटी पारेर हिमपात र जाडो याममा पशुचौपायालाई खुवाउने चलन रहेको अर्को किसान पेमा नाम्गेल गुरुङले बताए ।

उपल्लो मुस्ताङमा सुख्खा मरुभूमि भएकाले पातलो बस्ती छ । जहाँका बासिन्दाको मुख्य आम्दानीको मुख्य स्रोतनै कृषि र पशुपालन हो । पशुतर्फ याकचौरी, भेडाच्यांग्रा र गोरु झोपा पाल्ने चलन छ । सयौं हेक्टर पठार जमीन रहे पनि उपल्लो मुस्ताङमा खेतीयोग्य जमिन सीमित छ ।

उपल्लो मुस्ताङको घिलिङदेखि उत्तरी कोरलानाका नजिकको चुमजुङ सम्मका गाउले उत्पादन गरेको अन्नबालीले ६ महिना पनि खान पुग्दैन । त्यहाँका जनतालाई बर्सेनि चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने गरेका पाइएको छ ।

त्यहाँका किसानले उत्पादन गरेको कृषि उपज बिक्रीका लागि नभइ आफ्नै लागि जोहो गर्ने गरेको स्थानीय किसान राजु गुरुङले जानकारी दिए ।

उपल्लो मुस्ताङमा असोज महिना सकिएलगत्तै जाडो सुरु हुन्छ । यसैले यहाँका सरकारी तथा गुम्बा विद्यालय कात्तिक अगावै घुम्ती कक्षा सञ्चालन गर्न बेसी झर्छन् । भदौ र असोजको पहिलो हप्ताभित्र उपल्लो मुस्ताङी किसानले खेतीपातीको कामकाज भ्याएर वैकल्पिक व्यापार तथा जाडो छल्न बेसी झर्ने परम्परा छ ।

प्रत्येक घरमा १÷१ जना घर करुवा राखेर उनीहरु पोखरा, काठमाडाै‌ र छिमेकी देश भारतसम्म व्यापार गर्न पुग्छन् । खेतीपाती सकेर कात्तिकमै झरेका मुस्ताङी गर्मीयाम लागेपछि गाउँ फर्किन्छन् । उनीहरु बेसीमा ४/५ महिना बिताउँछन् र चैत/वैशाखमा गाउँ फर्किने चलन रहेको स्थानीय थाक्पा टसीले बताए ।

यसवर्ष उपल्लो मुस्ताङीहरु जाडो छल्न तथा वैकल्पिक व्यापारका लागि बेसी झर्छन वा झर्दैनन् त्यसको पत्तो छैन । कोरोना भाइरसले विश्व समुदायनै आक्रान्त बनाएको अवस्थामा बेसी झर्दा कोरोना सर्ने डर पनि उनीहरुलाई उक्तिकै छ । त्यसो त गाउँमै बस्दा पनि वर्षभरिको दैनिक जिविकोपार्जनमा समस्या पर्ने देखिन्छ ।

वैकल्पिक आम्दानी तथा जाडो छल्दा कोरोनाका डर र गाउँमै बस्दा हिमपात र जाडो थेग्न नसकिने हो कि भन्ने डर छ । उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले कोरोना भयावह रहे पनि उपल्लो मुस्ताङीहरु बेसी झर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले आफ्ना निर्वाचन क्षेत्रका अधिकाश जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै घुम्ती व्यापारका लागि भए पनि उनीहरु बेसी झर्नुपर्ने अवस्था रहेको जनाए ।

सम्बन्धित खबर