मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

गण्डकीमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थाले

बुधबार, ३१ भदौ २०७७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरससँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । बुधबार स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष पुष १६ देखि १ सय ५ डेंगु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । बुधबारसम्म प्रदेशका ८ जिल्लामा डेंगु र ४ जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएकाे निर्देशनालयले जनाएको छ ।

१९ जेठमा निर्देशनालयले अद्यावधिक गरेकाे तथ्यांकमा १६ डेंगुका बिरामी र १ जना स्क्रब टाइफसका बिरामी भेटिएको उल्लेख थियो । १९ जेठपछि गण्डकीमा डेंगुका ८९ र स्क्रब टाइफसका ५३ बिरामी भेटिएका छन् । सबैभन्दा धेरै म्याग्दीमा ६४ डेंगु र ४३ स्क्रब टाइफसका बिरामी भेटिएकाे
निर्देशनालयले जनाएको छ ।

कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा ४, नवलपुरमा ३, बागलुङमा २, पर्वत र गोरखामा १/१ डेंगुका बिरामी भेटिएका छन् । त्यस्तै बागलुङमा ६, नवलपुरमा ३ र कास्कीका २ जनामा स्क्रब टाइफस देखिएको छ ।

गण्डकीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । अहिलेसम्म प्रदेशभर ३१ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १८ सय ९९ जना निको भएका छन् भने ३१ संक्रमितको मृत्यु भएको छ ।

डेंगु के हो ? कसरी बच्ने ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । कालो सेतो छिर्का हुने यी लामखुट्टेले मल्टिपल बाइट गर्छन् ।

२० देखि ३० सेन्टिग्रेड यस्ता लामखुट्टेलाई उपयुक्त तापक्रम हो । यो तापक्रममा यो लामखुट्टे निकै सक्रिय हुन्छन् ।३३ सेन्टिग्रेडमा अलिक इनएक्टिभ बन्छ । डेंगु हुनबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्मा गरिएका भाँडा घोप्टयाएर राख्ने र घरवरपर पानी जम्न नदिने गनुपर्छ ।

डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

लामखुट्टेले टोकेर भाइरस शरीरमा पसेपछि १ देखि ५ दिनसम्म निकै सक्रिय बन्छ । ६ दिनपछि शरीरको एन्टीबडीले त्यो भाइरसबिरुद्ध लड्न थाल्छ र १५ दिनपछि मानिस सामान्य अवस्थामा फर्कन्छ ।

के हो स्क्रब टाइफस ?

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय

खेतीवारीमा काम गर्दा, वनजंगल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

सम्बन्धित खबर